साहित्यमा साइबर

डा. गोविन्दराज भट्टराई

प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै छिन् हेर्न मन लागेको छ र एकैचोटि नेपाली साहित्यका डटकमहरू सम्झिन थाल्छु । त्यससँग जोडिएका नेपाली साहित्यघर डटकम, आईएनएलएस ओआरजी सम्झिन पुग्छु । सरस्वतीले दैनिक सञ्चारमा प्रयुक्त बेग्लै वाणी स्विकार्न थालिन् होलाजस्तो लाग्छ, किनकि हामीले ती नवीन शब्द र डिजिटल संकेतले उनीसित संवाद गर्दै छौँ । यी संस्था मिलेर श्रीपञ्चमीको दिनमा अनलाइन विश्व वेबक्याम प्रतियोगिता गरेछन् । यो देखेर म एक वैकल्पिक धार सम्झन्छु । अनलाइन स्विच अन गर्दा पनि उनै मातालाई सम्झेँ, यो साइबरमा पनि ती पसिन् । तीन दशकयता विश्ववाङ्मयमै अनेक प्रकारका समानान्तर धारहरू पलाउँदै, विकसित हुँदै छन् । हिजो अस्तित्वमा नआएका विकल्प मार्ग छुट्टिदै छन् । नेपाली पनि यसबाट भिन्न छैन । तीमध्ये एउटा छ छेलिएको जगत् अर्थात् मार्जिनल विश्व ।

अर्को छ प्रविधिले ल्याएको समानताकारक विश्व । अझ अर्को छ— आदानप्रदान अनुवाद सम्पर्क आदिले खोलेको ज्ञानको नयाँ विश्व । यी सबैमा नेपाली जाति पसेका छन्, यसको वाङ्मय पस्तै छ । सारांश के हो भने हाम्रा प्रत्येक कर्मको विकल्प स्थापित भइसक्यो र समानान्तर मार्गहरू खुलिसके । अब एकद्वारे नीतिको अस्तित्व रहनेछैन, अब वान् वे ट्राफिक नचल्ने भइसकेको छ । साहित्य मार्गमा विभिन्न प्रकृतिका वाहन एकैसाथ चारैतिर पुग्न चारैतिर कुधेका छन् । यसबेला वीणा पुस्तकधारिणी माताको छेउमा कसरी पेन्टिअम फोर राखौँ— म सर्माएको छु । देवीदेवताले समेत वैकल्पिक धार रोज्नुपर्ने दिन आएजस्तो । म अलिक छक्क पर्छु । एउटै राष्ट्रभित्र एउटै साहित्यमा लेख्ता पनि उही भाषाको प्रयोग गर्दा पनि विविधतापूर्ण सिर्जना आउँछन् । प्रत्येक बेग्लै व्यक्तिगत क्षमता, आकाङ्क्षा र मनोदशा बोकेर, प्रत्येकको सिर्जनाभित्र अलिकति व्यक्ति, केही वर्ग, केही जातजाति, केही धर्म र अन्य आस्थाहरूको पुञ्ज बोकेर । त्यसकारण यतिखेर यो विविधस्वरूपको साहित्यभित्र मल्टिकलर दृश्यहरू भरिएर आउने हुँदा अर्थ दिन मुस्किल भएझैँ लाग्छ । हाम्रा पूर्वनिर्धारित मूल्याङ्कन ढाँचामा त्यो नअट्ने हुन्छ— अर्कातिर हामी चाहन्छौँ त्यसलाई परम्पराले नै हेरौँ, जुन कुरा असम्भव हुँदै गएको छ । यतिखेर मेरो मन विद्युतीय साहित्यतिर उड्दै छ । परम्परित लेखन प्रकाशनको वितरणको माध्यमलाई तहसनहस पार्दै बिजुली उठेको छ । कृष्ण बजगाईंले बेल्जियममा बसेर नेपाली साहित्यका अनेक स्रष्टासँग समकालिक एवम् समस्थानिकजस्तो भई गरेको ‘डिजिटलवार्ता’ मा काम गरिरहेको बेला टाइमस्पेस मेटिएको जस्तो भएको छ । यो बेला कति कुरा अविश्वसनीय लाग्छन् । तर यथार्थ यस्तै छ । एक दशक भर्खर नाघ्यो तर विद्युतीय माध्यमले सबै पुरानोलाई छेल्दै छ । बेलाबेला मनमा भ्रम उठ्छन्— हाम्रो साध्य यही हो कि ? हाम्रो साहित्य नै यही हो कि ? तर होइन, यी झल्का केवल माध्यम हुन् । साहित्य होइन केवल निर्जीव अक्षर र ती ओसारपसारका जादूहरू । हालै प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई-बेलायतले श्रीपञ्चमीको दिनलाई डेडलाइन दिएर नेपाली गजल प्रतियोगिताको लागि आह्वान गरेको थियो । यो पहिलो घटना होइन । यस संस्थाले गरेको यो तेस्रो वर्षको सूचना हो । पृथ्वीको कुनै अगम्य स्थानमा बसेर विश्वासदीप तिगेलाले यस्तो कर्म थालेका थिए । दिनभरि कवाज खेल्दै, बन्दुक पुछ्तै, युद्धयानमा उड्दै, बुट्यानमा लुक्तै रातको समय उनी यन्त्रमा पस्थे । यो साधनको सुगमताले नेपाली साहित्यप्रति उठेको त्यागको र सेवाको अदम्य उत्साहले उनले संसार जोड्ने कलाको विकास गरे त्यसरी जोडिरहेका छन् । उनले अघिल्ला दुई वर्ष लगातार अन्तर्राष्ट्रिय स्तरका वेबक्याम नेपाली कविता प्रतियोगिता गराए ।

बेलायतको धेरै तल फ्रान्सको पारिपट्टि फोकस्टनको डिलमा बसेर, समुद्रको चिसो हावा लाग्ने चौरी नजिकै, चिसो स्याँठ चलेको खप्तै, डरलाग्दा छाल उर्लेको हेर्दै सिगल्स कराएको सुन्दै आफ्नो कोठामा संसार आवतरण गराए । उनको सूचनाले भन्यो— विश्वव्यापी वेबक्याम प्रतियोगिता । साइटमा पसेर २०६४ सालमा त्यो पढ्थेँ तर म अनभिज्ञ थिएँ— के होला यो वेबक्याम ? कसरी होला विश्वप्रतियोगिता ? बेलायतमा उनी छन् ‘दृश्यमा आउने गरी सस्वर वाचन’ भनेका छन् । म सोचिरहेको मात्र थिएँ । केहीपछि एउटा खबर आयो— विश्ववेबक्याम प्रतियोगितामा नेपालका नवराज सुब्बा प्रथम । सबैसबै नयाँ पुस्ता उर्लेर त्यहाँ पसेको थियो । म छक्क परेँ । मलाई सबै अर्थ नखुली थियो । माधव घिमिरे, भानुभक्त पोखरेल, मोहन कोइराला, अरू कविहरू, अग्रजहरू के-कसो गर्दा होलान् । कसरी प्रविधिले एकथरीलाई निर्ममतापूर्वक मेट्न थाल्यो तिनीहरूलाई असहायझैँ एक्लै छोडेर । मेरो मनमा निकै ठूलो भय पनि उत्पन्न भयो । एकमन सम्झेँ पनि कृष्णचन्द्रसिंह प्रधान वा मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम वा अरू यस्ता शिखरहरूको निमित्त यसले के फरक पार्छ ? उनीहरूको उचाइ छुन पचास कम्प्युटर जोडेर लेखे पनि साइटमा कुधाए पनि सम्भव छैन । यी झल्का साहित्य होइनन् किनकि साहित्य सिर्जनाता सिर्जनाको शक्तिमा, ऊर्जामा, क्षमतामा, नवीनतामा छ, एक प्रकारको बरदानमा छ । सोच्तासोच्तै कम्प्युटर सिंगैलाई म एउटा प्रतिरोधीजस्तो देख्न थालेँ— एन्टागोनिस्ट अथवा गि्रसेली नाटकको महानायक, ठूलाठूला स्रष्टा ढाल्न उभिएको राक्षस, जो उफ्रिन्छ रोबोट झैँ । म छक्क पर्दै त्यो वर्ष बित्यो । अर्को वर्ष फेरि २०६५ को लागि सूचना प्रकाशित भयो । देखेँ— दोस्रो विश्ववेबक्याम कविता प्रतियोगिता । साइटमा पसेर घुम्दै थिएँ— त्यो वर्षका चार निर्णायकमध्ये एकमा मेरो नाम अंकित थियो । अनि एक दिन मलाई नेपाली साहित्यघर डटकमको इमेल पनि प्राप्त भयो । म अलिकति डराएँ । डर अरू ता होइन, मेरो अज्ञान खुल्ने भो भन्ने भयो । त्यसपछि कम्प्युटर पुछपाछ गरेर इन्टरनेट तैनाथ गरेर केही साथीभाइ गुहारेँ— कसरी हुन्छ वेबक्याममा विश्व कविताको ओहोरदोहोर ? एउटा ‘साइबरकल्चर’ पल्टाएर हेरेँ— वेबक्याम भनेको त्यसतो डिजिटल क्यामेरा हो जसले गतिशील र स्थिर दुवैप्रकारको दृश्यहरू त्यस्तो फम्र्याटमा खिच्न सक्छ जसलाई इन्टरनेटमा पठाउन मिल्छ । कतिकति वेबक्याम साइटले अनेकौँ सहरका सडक र अन्य दृश्यहरू पनि देखाउँछन् । अनि मैले वेबक्याम किने, त्यस्तो ल्यापटप हेरेँ देखेँ, चलाएँ र एउटा आश्चर्यको अन्त्य भयो । विश्वकविता प्रतियोगिता सम्पन्न भएपछि ती सबै कवि, सशरीर मेरोमा आइपुगे । माइक सामुन्ने उभिएर हात हल्लाउँदै उज्याला नेत्रसँग जोसले कविता भन्दै गरेका, सिनेमा हेरेजस्तो हो हुन त । कति मधुरा अलिक मलीन आवाज । संसारभरिका नेपालीले भाग लिएका ती प्रतियोगी कविता एक सय शब्दभित्रका, १७ मुलुकमा बसोबास गर्ने नेपाली नरनारी १२५ जनाका । यो व्यापकता र विशालता आश्चर्यलाग्दो हो । भौतिक उपस्थिति असम्भव भए पनि परोक्षरूपले सबै एकै ठाउँमा भेट भएको, संवाद गर्न मिल्ने छुट्टनि मिल्ने कत्रो आश्चर्य । मलाई उदेक भो । यस प्रतियोगिताले मलाई प्रविधिको नयाँ विश्वमा परिचित गरायो । नयाँ पुस्ताका लागि यस्ता कर्म सामान्य र स्वाभाविक भएका छन् । उनीहरू यस्तैले जोडिएका छन् । अघिल्लो पुस्ताका कम्प्युटर छुने र नछुनेबीचमा एउटा खाडल छ । जो यतिखेर मेट्न नसकिने छ । आखिर हाम्रो लक्ष्य ता सिर्जना नै हो तर केवल माध्यमले पनि फरक पर्न थालेको छ । सिर्जनालाई टिप्ने उठाउने माध्यम देख्ता पनि सिर्जना नै हो कि जस्तो लाग्दो रहेछ । त्यो वर्षका कविताको निर्णय भयो— पाठकले साइटमै मतदान गरेर छान्ने कत्रो निरपेक्षता । जम्मा ८५ जना प्रतियोगीमा ६२० मत ल्याएर बेलायतका गोपीकृष्ण प्रसाईँ  प्रथम भए । दोस्रो र तेस्रोमा अमेरिकी साधना शर्मा र बेलायती लीलासेलिङ माबो थिए । ती कविताको विविधता, शैलीको विषयको, स्तरीयताको, माध्यमको आश्चर्य लाग्दो नै थियो । सम्झेँ भित्रभित्रै एउटा विश्वएकेडेमीको निर्माण हुँदै छ ।

सम्पूर्ण विश्वको नयाँ पुस्ता त्यही छ । प्रार्थना गरेँ, हे बाग्देवी, अब हामीलाई खरीपाटी कलम कापीबाट मुक्त गरिदेऊ । महावीर पुनहरू जन्मिसकेका छन् । हाम्रा दुर्गम गाउँका नानीहरूले पनि ल्यापटप स्क्रिनबाटै अक्षरारम्भ गरून् । त्यही अक्षरको छाया नाचेको देखून । तिमीसँग आज नयाँ भाषामा बोल्दै छौँ— इल्युमाइन अस थ्रु द साइबर वल्र्ड, ओ न्यु गडेस शारदे !
काठमाडौ, माघ २२ – २०६६, शनिवार, कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.