जति माया लाए पनि… (नवराज सुब्बा)

“जति माया लाए पनि जति कसम खाए पनि…” बोलको गीत लोकप्रियताको शिखरमा थियो । जुन गीत रेडियो नेपालको फर्मायसी गीत कार्यक्रममा हरेक दिनजसो बज्ने गर्दथ्यो । हाम्रा साथीहरुका जीभ्रामा झुण्डेको थियो यो गीत । बाँसुरी बजाउन सिक्ने साथीहरु यहि गीतको बाँसुरीको धूनमा अभ्यास गर्ने गर्दथे ।

यस्ता लोकप्रिय गीतका स्रष्टा अरुण थापाका एकजना समकालीन कलाकार साथी जो त्यसबेला रेडियो नेपालमा काम गर्दथे, उनीसंग मेरो भेट भयो । उनी पनि उत्तिकै सशक्त कलाकार थिए । मैले अरुण थापाको बारेमा उनीबाट जान्न खोज्दा उनले मलाई भने- “अरुण थापा सुत्दाखेरी ओछ्यानमा पिसाब फेर्दो रैछ, त्यसैले उसकी स्वास्नीले छोडेर गएछ, अनि यस्तो गीत गाएछ ।” यो सुनेपछि म पनि अल्लारे न परें साथीभाइको हाँसोमा हाँसो थप्दै उडाएँ अरुण थापालाई पनि । आफ्ना समकालीन साथीले पाएको लोकप्रियताबाट उत्पन्न इर्ष्यावश भनिएको हो कि भन्ने कुराको शङ्कै गरिन मैले उसबेला ।

तैपनि मलाई उनका केही गीतको संगीत अर्थात् संगीत संयोजनले भने कताकता तानिरहन्थ्यो । उनले गाएको गीतको कुनै कुनै ठाउँमा बहने उनको स्वरलहरीले मलाई मोहनी नै लगाएको थियो । तर साथीको कुराले मेरो मनमा उब्जाएको पूर्वाग्रहले मभित्र उनीप्रति अझै उति श्रद्धा भने जागेको थिएन । होला, कुनै संयोगवश उनका गीतहरु लोकप्रिय भए होलान् जस्तो मात्र लाग्या थियो ।

यसरी धेरै वर्षरू बिते, धेरै गीतसंगीत पनि सुनियो तर उनको जस्तो स्वरभित्रको दर्द, गहिराइ र गायकीमा बहने जुन आकर्षक बहावको स्वाद छ त्यसको अभाव नेपाली संगीतमा पाउन थालेपछि भने मैले उनका क्यासेटहरु किनें । र सुनें । अझै सुन्दैछु ।

बी.बी.सी. नेपाली सेवाको विश्वव्यापी नेपाली लोकप्रिय गीतको सूचीमा पहिलो स्थानमा उनले गाएको “ऋतुहरूमा तिमी हरियाली वसन्त हौ…” बोलको गीत परेको जब थाहा पाएँ त्यसपछि भने मभित्र उनीप्रति साँच्चै श्रद्धा जाग्यो । मलाई उसबेला “ओछ्यान मुतुवा” भनेर घृणा जगाइदिने मेरा मित्रप्रति नै उल्टो एकप्रकारको नकारात्मक धारणाको विकास भएको अनुभूति गर्दैछु अहिले ।

मान्छे मरेपछि मात्रै सम्मान पाउँछ भनेको हो रहेछ जस्तो लाग्यो । समयमा मान्छे नचिन्ने मरेपछि मात्रै घैंटामा घाम लाग्ने खालको मान्छेमा म पनि एउटा लठुवा रहेछु यो जगतमा । जे होस् म उनलाई कहिल्यै बिर्सन सक्दिन जसरी नेपाली संगीत जगतले गायक तथा संगीतकार अरुण थापालाई सदा सम्झने छ । आज नेपाली संगीत जगतसंगै म पनि उनलाई सम्झेर श्रद्धाको एक थूँगा फूल यी शब्दहरुमार्फ चढाउँछु र भन्न चाहन्छु- “अरुण ! यो दुनियाँ आज पनि उत्तिकै निष्ठुर छ जतिबेला तिमी यहाँ थियौ ।”

हो, म साँच्चै भन्दैछु, अरुण थापाका केही गीतहरु मलाई असाध्यै मन पर्छन् । जसलाई म फूर्सदमा संगीतको उच्च आनन्द लिने क्रममा गम्भीरतापूर्वक सुन्ने गर्दछु । नेपाली गीतसंगीतप्रेमी मन आकाशमा सदा चम्किरहने अमर स्रष्टा अरुण थापाको बारेमा अध्ययन अनुसन्धान आज हुँदैछ र भविश्वमा पनि हुनेछ । मानसिक स्वास्थ्यको दृष्टिले हेर्दा बाल्यावस्था पार गरेपछि पनि निद्रामा ओछ्यानमा पिसाब गर्नु एक मनोवैज्ञानिक रोग हो जसको उपचार सम्भव छ । यस रोगलाई मनोरञ्जनको विषय बनाएर कसैको व्यक्तित्वलाई होच्याउने प्रवृत्ति निश्चय नै परिपक्व सोंच होइन । तैपनि थापाको त्यो बानी यथार्थ हो कि वा उनका कुनै समकालीन कलाकारले इर्ष्यावश चलाएको हल्ला मात्र हो, एउटा अध्ययनको विषय हुनसक्छ भनेर पनि यो कुरा यहाँ मैले कोट्याएको हुँ । उनीप्रति नकारात्मक भाव पैदा गर्नलाई भने किमार्थ होइन । यदि उनको त्यो बानी असत्य रहेछ भने, उनीजस्ता प्रतिभाशाली स्रष्टालाइ तत्कालीन उनका साथीहरुले कत्तिसम्म निम्नस्तरमा झरेर इर्ष्या गरेका थिए, भन्ने निष्कर्ष निकाल्न सजिलो हुनेछ ।

श्रावण ६, २०६७ विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.