विराटनगरमा बढ्दो साहित्यिक चहलपहल (यज्ञप्रसाद शर्मा)

विराटनगरमा केही समयदेखि साहित्यिक क्रियाशीलता बढेर गएको छ । गएको असार महिनालाई मात्र हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । साहित्यिक सिर्जना गर्ने र साहित्यिक प्रतिभाको सम्मान गर्ने दुवै किसिमले असार महिना चर्चित रहेको छ । साहित्यले मानिसलाई मनोविज्ञान बुझाउँछ । यसले समाजमा घुलमिल गराउने एकअर्काको भावना गाँसेर आत्मीय बनाउने काम गर्दछ । त्यसैले साहित्यिक क्रियाशीलताले समाजलाई सिर्जनात्मक एकाताको सिंढी चढाउनो काम गर्दछ ।

अझ यसो भनौं, सामाजितक सुसम्बन्धमा ज्यान भर्ने र बिभिन्न कारणले बिगतमा खल्बलिएका सामाजिक तन्तु जोड्ने काममा यहाँका साहित्यकारहरू जुटेका छन् । आपसमा भेला भएर जिर्ननाहरू वाचन गर्ने, समीक्षा वा टिप्पणी सुन्ने गर्दछन् । एउटा नयाँ साथी उपस्थित भयो भने उसको सम्मानमा कविता गोष्ठी गर्ने र अर्को साथी विदा भयो भने उसको विदाइमा कविता, गजल एवम् गीत रच्ने र गुन्गुनाउने गर्छन् । मान्छेको मनै त हो आखिर भावनाको सिन्कोले गाँसिदिए पछि दुना चाहे टपरी बन्दोरहेछ र माला पनि बन्दोरहेछ । विराटनगरको साहित्यिक गतिविधिलाइ अगाडि बढाउनमा वाणी प्रकाशनको भूमिका अहम् छ । त्यसले हरेक पन्द्र दिनमा कवि गोष्ठी गराउँछ । विराट साहित्य संगमले पनि हरेक महिनाको अन्तिम शनिबार साहित्यिक माहोल खडा गर्छ र उतार्छ साहित्यकारहरूलाइ मञ्चमा । मोतिराम साहित्य प्रतिष्ठान अर्को जौडे संस्था निस्किएको छ । पाक्षिक रूपमा एउटा नयाँ माध्यमिक विद्यालय खोज्छ र विद्याथीहरूबीच कविता प्रतियोगिता गराएर नवप्रतिभाहरूलाइ गोड्ने काम गर्दैछ । त्यो पनि नीजिस्तरबाट संचालित विद्यालयहरूमा ।

साहित्यिक जमघटहरूमा मात्र होइन साहित्यिक प्रकाशनहरूमा पनि जागरण देखिएको छ । वाणी प्रकाशन यसमा अग्रणी स्थानमा छ । धेरै स्रष्टाहरूका कृति प्रकाशित गरेको छ यसले । यसै क्रममा असार महिनामा सविता गौतम दाहालको नीलो सीमाना भव्य समारोहबीच लोकार्पण गर्‍यो । यसै महिना विराट साहित्य संगमले संगम अभियानको चौथो शृङ्खला पस्कियो भने मोतिराम राष्ट्रिय प्रतिष्ठानले मोनालिया नामको प्रकाशन थाल्यो असारमैं । यसबाहेक प्रतिभा पुरस्कार प्रतिष्ठान, भानु कला मन्दिर, डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले स्रष्टाहरूलाई सम्मान गरेर साहित्यिक चहलपहल बढाएका छन् । डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले आफ्नो मुखपत्र प्राग्ज्योतिलाइ अर्धवाषिर्क बनाएको छ यसै वर्षेखि ।

बालकृष्ण पोखरेल, स्व. महानन्द सापकोटा, भानुभक्त पोखरेल, देवकुमारी थापा, स्व. डा. नरेन्द्र चापागाइ, स्व. गणेश भण्डारी, दधिराज सुबेदीजस्ता नेपाल भाषा साहित्यका हस्तीहरूको गृहनगर विराटनगर बीचको समयमा अलि सुस्ताएको थियो । त्यो बेला गुराँस पुस्तकालय, देवकोटा पुस्तकालय, भानुकला केन्द्र, विष्णुमाया पुस्तकालय जस्ता केही संस्थाहरूले धानेका थिए । तर परशु प्रधान जागिरबाट सेवा निवृत्त भएर विराटनगर आएपछि खोलिएको वाणी प्रकाशनले साहित्यिक व्यक्तित्वहरूलाई सङ्गठित गरेर अगाडि बढाउने काम गर्‍यो । त्यसपछि बिस्तारै साहित्यिक गतिविधिमा एक किसिमको जागरण देखियो । अन्य संस्थाहरू पनि चल्मलाउन थाले, ठीक त्यसरी नै जसरी प्रचण्ड गर्मीमा सुस्ताएको मानिस चीसो हावा चल्नासाथ चल्मलाउन र जीवनको अनुभूति गर्न थाल्छ ।

कसैले नयाँ कामको थालनी गर्‍यो भने अर्कोले पनि थाल्छ । चाहे देखासिकी गरेर होस् वा आरिस् । नयाँ चहलपहल र तीव्रता देखिएको छ । थुप्रै कृतिकार ओथारो बसेझैं छन् कृतिहरू कोरल्ने क्रम बढेको छ । नजानिदो किसिमले प्रतिस्पर्धात्मक वातावरण बनेको छ । वर्तमानको विराटनगरको सुन्दर पक्ष यही हो । यहाँका दैनिक अखबारहरूमा हरेक हप्ता प्रकाशित हुने सामाग्रीहरूले पनि विराटनगरको साहित्यिक माहोलमा वर्तन थप्ने काम गरिरहेका छन् ।

जेहोस् अहिले विराटनगर साहित्यिक कृयाशीलताको हिसाबले नित्यअग्रसर देखिएको छ । नवराज सुब्बा, देवी पन्थी, ज्योति जंगल, मधु पोखरेल, हरि प्रसाद बराल, विवश पोखरेल, खेम नेपाली, बलराम पोखरेल, ऋतु आशिकहरूले पछाडिबाट पुल्ठो लगाउने काम गरिरहेका छन् । तर नाम अनिरुद्र तिम्सिना र कृष्णभूषण बलहरूकै छ, शीर्षभागमा । आजीवन प्राज्ञ बालकृष्ण पोखरेलका साथमा प्रज्ञा प्रतिष्ठानको सदस्य भइ प्राज्ञ उपाधि पाउने उनीहरूनै छन् । हुनसक्छ विराटनगरले पनि वर्तमानमा उनीहरूकै गृहनगरका रूपमा परिभाषित हुन खोजिरहेको होस् ।

विराटपथ दैनिक, साउन ७, २०६७, वर्ष २ अंक ३२९ पुर्णांक ६८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.