सुन्दर कविताहरूको सँगालो (जगत प्रेक्षित)

नवराज सुब्बा नेपाली साहित्यमा कवि र निबन्धकारका रूपमा परिचित नाम हो । “जीवन मेरो शब्दकोशमा” (कवितासङ्ग्रह- २०६३) र मनको मझेरी (निबन्धसङ्ग्रह- २०६४) प्रकाशन गरेर साहित्यिक जगतमा पृथक पहिचान र प्रभाव देखाउन सफल नवराज सुब्बाले “बीच बाटोमा ब्यूँझेर” (कवितासङ्ग्रह- २०६५) पाठकसमक्ष पस्केका छन् । विक्रम सम्बत् २०६३ मा लेखिएका ७६ ओटा लामा छोटा कविताहरूलाई कवि सुब्बाले यस सङ्ग्रहमा सानवेश गरेका छन् । “बीच बाटोमा ब्यूँझेर” नामक कविताबाट सुरु भएको कवितात्मकसँगालो ‘गाली-सराप बगाऔं’ मा पुगी समापन भएको छ । नेपाली राजनीति, समाज, अर्थतन्त्र आदि क्षेत्रमा व्याप्त समस्याहरूलाई कलात्मक स्पर्शपूर्वक काव्यिक अभिलेखन गरिएका कतिारचनाहरू यस सङ्ग्रहमा सङ्कलित छन् ।

समाजशास्त्र र जनस्वास्थ्यलाई कर्मक्षेत्र बनाएर नेपालका विभिन्न भूगोलमा पुगेका कवि सुब्बाले जहाँ जे देखे, जे जस्तो अनुभूति गरे, तिनै कुरालाई भावभूमि बनाएका छन् यस सङ्ग्रहका कविताहरूमा । यस सँगालेभित्रका कविताहरूमा कविले कोरा कल्पना होइन, जीवन र जगतलाई प्रस्तुत गरेका छन् । उनले साहित्य साहित्यका लागि होइन, साहित्य जीवनका लागि हो भन्ने मान्यता संवरण गरेका छन् । उनी स्वस्थ जीवन चाहन्छन् र त्यसका लागि सुसंस्कृत, सहिष्णु, सह-अस्तित्वयुक्त, शान्त र समुन्नत समाजको काव्यिक परिकल्पना गर्दछन् ।

कविले चाहेजस्तो, सोचेजस्तो र कल्पेजस्तो समाजको सिर्जनामा बाधक तत्वका रूपमा जरा गाडेर बसेका राजनीतिक-सामाजिक-सांस्कृतिक विकृति-विसंगति, आर्थिक शोषण-उत्पीडन, हिंसात्मक द्वन्द्व। ग्रिबी, अभाव, रोग आदिजस्ता कुरूप यथार्थहरूमाथि कठोर प्रहारसमेत कवि सुब्बाका यी कविताहरूमा गरिएको पाइन्छ । जातीय दृष्टिले सीमान्तीकत पर्ूवका सतारदेखि पश्चिमका राउटेसम्म, आर्थिक दृष्टिले शोषित सुकुम्बासी र कमैयासम्म अनि सामाजिक-सांस्कृतिक भेदभावको दुश्चक्रमा प्रताडित दलितदेखि बोक्सी प्रथासम्मलाई जीवन्त र मर्मस्पर्शी ढङ्गले कवि सुब्बाले कवितात्मक रूप दिएका छन् ।

वास्तवमा “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहमा सँगालिएका कविताहरू पढ्दा कवि सुब्बाले आफ्नो भूमिका-मन्तव्यमा पाँचओटा ‘म’ लाई लेखनको आधार मानेको जो आत्मस्वीकृति जनाएका छन्, तिनै पाँच ‘म’ प्रत्येक कवितामा अनुभू तिगर्न सकिन्छ । उनले भनेझैं पहिलो ‘म’ वा हामी, दोस्रो ‘म’ – माटो वा देश, तेस्रो ‘म’ – मावनवता वा आत्मिकता, चौथो ‘म’ – मृत्यु वा युद्ध र पाँचौं ‘म’ – माथि बसेर लेख्ने र जीवनजगतलाई सधैं माथि उचाल्ने भावभूमिमा यी कविताहरू रचित छन् । कवि सुब्बाको रचनाकारदृष्टि कतै अतीतका स्मृतिछालहरूमा तरङ्गिएको छ, कतै दार्शनिक बनेर अस्तित्वको खोजी गरिरहेको छ, कतै जताततै व्याप्त विकृति-विसङ्गतिमाथि कटाक्ष गर्दै छ त कतै द्वन्द्व र हिंसात्मक युद्धको तीव्र विरोध र मानवताको खरो वकालत गर्दै छ । यसरी विषयगत विविधताका पृष्ठभूमिमा मानवीय सन्देशमूलकता कवि सुब्बाको यस काव्यसङ्ग्रहको विशेषता हो ।

प्रत्येक कवितामा नवीनता र त्यसले वाठक वा भावकलाई रम्यताको आस्वाद गराउनु वपन यस सङ्ग्रहको अर्को महत्वपूर्ण पक्ष हो । गद्य जा मुक्त लयमा लेखिएका भए पनि अन्तः साङ्गीतिक झङ्कारले युक्त यी कविताहरू आयातनका दृष्टिले लामाछोटा जस्ता भए पनि कवित्वको ओजले भरिपूर्ण छन् । युगीन यथार्थको कलात्मक अङ्कनका रूपमा अभिलिखित यी कविताहरू साँच्चै नै बालकृष्ण पोखरेलले भनेझैं अर्थवह, प्रतीकवह र भावोद्वेलक छन् । यी कवितामा निराशा, कुण्ठा, मृत्यु र पलायन होइन संघर्ष, आशा, जीवन र गतिको सन्देश पाइन्छ । परजीविता र भाग्यको सहारामा कर्मविमुख बन्दै गएको नेपाली मानसिकतामा परिवर्तनको सन्देश दिने यी पङ्तिहरू कविभित्रको बिद्रोही चेतनाका साक्ष्य पनि हुन् ।
उफ् ! मलाई बाहिर निस्कन देऊ
देखाउँदिन कसैलाई आफ्नो हस्तरेखा
ज्योतिषमय यो परिवेशबाट फुत्केर
म चिर्छु हत्केला
आफै कोर्छु हातका रेखाहरू ।
‘रेखाहरू’ कविता पृ. ११० ।

समग्रमा कवि नवराज सुब्बाको “बीच बाटोमा ब्यूँझेर” कवितासँगालो भित्रका कविताहरू विषयका दृष्टिले प्रगतिशील मानवतावादी र कलात्मकताका दृष्टिले सुन्दर, उच्च कोटीका एवम् सशक्त छन् ।

साभारः मधुपर्क, साउन २०६७, वर्ष ४३, अङ्क ३, पुर्णाङ्क ४९४, पृ. २१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.