जीवन मेरो शब्दकोशमा नवराज सुब्बा (रविमान लम्जेल)

विषय प्रवेशः
नेपाली कविता यात्रामा उल्लेखनीय नाम भएर पनि उल्लेख नभएको नाम हो नवराज सुब्बा । यसका विविध कारणहरूमध्ये केही हुन सक्छन् (१) मोफसलमा बसेर साहित्य साधना गर्नु (२) कविता रचेर पनि डायरीमैं थन्क्याउनु (३) केन्द्रीय स्तरका पत्रिकामा प्रकाशित नगराउनु (४) साहित्यिक सम्पर्क माध्यम सीमित स्तरमा हुनु इत्यादि ।

पृष्ठभूमिः
वि.स. २०१८ असोज १५ गते हाङपाङ आठराइ, ताप्लेजुङ मेची अञ्चल (२०३३ पूर्व तेह्रथूम जिल्ला) मा जन्मनु पुगेका नवराज सुब्बाले स्वदेशमा विभिन्न जिल्लाका भू-भागहरू र विदेशसमेत अध्ययन र तालिमको क्रममा भ्रमण गर्ने अवसर पाएर मनग्गे अनुभव सङ्कलन गरेका छन् । सिर्जनाको क्षेत्रमा चाहिँ २०३५ सालदेखि सम्लग्न भए तापनि पुस्तकाकार रूपमा २०६३ मा जीवन मेरो शब्दकोशमा ३१ वटा कविता र १६ वटा गीतहरूको संयुक्त सङ्कलन लिएर देखा परेका छन् । कविता क्षेत्रमा २०३५ सालदेखि नै देखापरे तापनि सिर्जनामा एकरूपता छैन । कुनै वर्ष निकै र कुनै वर्ष कवितै लेखेका छैनन् । ढिलै भए तापनि आफ्ना कमजोरी महसुस गर्दै साहित्यको विशाल फाँटमा आफ्ना लेख्य सामग्री सँगालोको रूपमा लिएर आउनु साहित्यप्रेमीहरूलाइ खुशी लाग्ने कुरा हो ।

विस्तारः
नवराज सुब्बा आफ्ना कवितामा जीवन र जगतप्रति सकारात्मक दृष्टि राख्दै जीवन मूल्यको खोजमा ध्यान केन्द्रीत गरेर गाउँले परिवेशको जीवन्त तस्वीर खिच्न आकषिर्त भएता छन् । मानव जीवनका सुख दुःखका उतार-चढावलाई सिर्जनामा कुँदेर प्रस्तुतिको नयाँ बान्की दिएका छन् । विभिन्न बुँदाहरूमा उनका प्रमुख विशेषताहरूलाई खोतल्ने चेष्टा यहाँ गरिएको छ ।

(१) जीवन मूल्यको खोजीः
जीवन सामाजिक धरातलमा आरोह अवरोहहरूको सामना गर्दै कहिले पराजय स्वीकार गर्दै कहिले विजयभावले हषिर्त भई निरन्तर अघि बढ्न चाहन्छ । आफ्नो बेग्लै पहिचान सामाजिक जीवनमा स्थापित गर्न चाहन्छ । यो मानिसको नैर्सर्गिक स्वभाव हो । उनी जीवनको मूल्य खोजी गर्दै लेख्छन्-
सबै आकाङ्क्षा अट्ने शब्दावली
हुनुपर्छ यो जीवनको
यही मलाई मनपर्ने
शब्दार्थ हो जीवन
(जीवन मेरो शब्दकोशमा पृ.३)

सम्पूर्ण आकाङ्क्षा र जिजीविषा नअँटाउने जीवन मन पर्दैन कविलाई व्यापक र र्सवदेशीय जीवन मूल्यको खोजीमा तल्लीन देखिन्छन् । उनी अर्को ठाउँ लेख्छन्-
रगतमा अनुवाद भएर
जीवन खोजीरहेछन्
शब्दहरू
खोसिएका अर्थहरू खोजिरहेछन्
(जीवन मेरो शब्दकोशमा पृ. ४)

यसबाट के देखिन्छ भने कवि नवराज सुब्बा जीवन मूल्यको खोजमा जीवनवादी बनाउन दृढतर देखिन्छन्- यो उनको सबल पक्ष हो ।

(२) राष्ट्रिय असन्तोषको प्रस्तुति
देशमा असहज परिस्थिति सिर्जना गरेर निर्धा निमुखाहरूको गाँस खोस्ने र अदना नागरिकलाई आतङ्ककारीको संज्ञा दिएर गोलीले उडाउने भ्रष्ट निरङ्कुश एवम् लाछी सरकारको नपुङ्सकताबाट उत्पन्न प्रतिक्रियास्वरूप समाजमा छाएको हत्या, हिंसा र नैराश्य, असुरक्षाले निम्त्याएको कालो बादलबाट कवि आक्रोशित बन्दै लेख्छन्-
मायै माया फुल्ने
मायाको बेनी बजारमा
आज हिंसा फक्रिएछ
(बेनीको बजार, पृ. ८)

अशान्तिको काँडा उमारेर जनतालाई भेंडा बाख्रा बनाउने शासकको दुर्नियतिको योभन्दा धमिलो चित्र अरू हुन सक्दैन । वर्तमान राजनैतिक अन्यौलप्रति आक्रोशित बन्दै गएको शासक वर्गको नाङ्गो चित्र खिच्छन् कवि । यस्तो भयभीत वातावरणमा मान्छे मान्छेलाई विश्वास गर्दैन । मान्छे-मान्छे बीच असमानताको दूरी तन्किएर अविश्वासको खाडल गहिरिएको छ, त्यसैले उनी मानवता मर्दै गरेको उद्घोष गर्छन्-
आज सुनिन्दैनन् भाइचारा, मानवताका लयहरू
गुञ्जिन्दैनन् किन समुन्नति, इमानका तालहरू
(हामी कता गएरहेछौं, पृ ३६)

हो, मान्छे आफ्नो स्वभाव र चरित्र बिर्सेर अर्काको बास बस्ने झोपडी भत्काएर बाँदर चरित्रमा पुनरावृत्ति हुन खोज्दैछ तर यो चरित्र स्वयम् पतनको पूर्वाभाग हो । यसमा सबै सचेत भएर बाँदर स्वभाव त्याग्नु पर्ने कविको जिकीर छ- यो ज्यादै राम्रो कुरा हो ।

(३) गाउँले परिेवेश र माटाको मायाः
जन्मेको ठाउँ कसलाई मन पर्दैन र ! मन परे पनि गुजारको निम्ति मुटुमाथि ढुङ्गा बिछ्याएर, हृदय भक्कानिएर टाढाटाढा अपरिचित गाउँमा गएर जीविकाको खोजमा जीवन गुजार्नु परे तापनि नवराज सुब्बाले आफ्नो गाउँको सजीव चित्र खिचेका छन्-
चाँगे र छिन्ताङसँगै
मरक्कै धान नाचिरहेछ,
(मेरो हाङपाङ, पृ.३४)

कविले आफ्नो गाउँको साँस्कृतिक पक्षलाइ पनि सम्झेका छन् । बा-आमाको सपना -पृ. ३७) मा कवि वेदनाले छाती चिरिएर मुटुमा गाँठो पार्दै लेख्छन्-
ती छोराहरूलाइ
तिम्रा वाचा पर्खने बा-आमा
साहुका ऋणमा डुबे भनेर
बन्धकी परेको सपना
लिलाम हन लाग्यो भनेर…

सुब्बाका कविताहरू मध्ये यो सशक्त कविता हो । यसमा धन कमाएर, घरगाउँ सिंगार्न विदेश हिँडेका छोराहरू फर्केर नआउँदै वन-पाखा जङ्गलले ढाक्यो, बाबु बूढा भएर घरको छानो छाउन असमर्थ भए, साहुको ऋणमा डुबेर बारीखेत लिलाम हुन आँटे । यस्तो दुर्दशा देखेर कविको छाती चरक्क चिरिन्छ । गाउँका कुख्यात राक्षसजस्ता कालले बिर्सिएर चुत्था साहुहरूको षड्यन्त्र र शोषणमा न्यूनता आएन, त्यसैले कवि विदेश गएका छोराहरूलाई कसैले फर्काइ दिए हुन्थयो भनेर आफ्नो विश्वास प्रकट गर्छन् । यो गाउँले जीवनको मायाले भरिएको हृदयस्पर्शी कविता हो ।

(४) आत्मविश्वास र दृढता
जीवन संघर्षको अर्को नाम हो । संर्घष्ा गर्दै गयो भने अविश्वासको पहिरो चर्कन्छ, शंकाको पहाड टुक्रन्छ र षड्यन्त्रको चट्टान चोइटिन्छ । जीवन हार वा जीतको माला भए जस्तै कोही हिंड्दा हिंड्दै हराएर, समयको दाउपेच र राजनीतिसँगै कोही लुछिन र लुटिन सक्छ तर धूलोमा बेहिसाब मेटिन हुँदैन । जिन्दगी यात्रा हो । यसमा दृढ हुने आशा व्यक्त गर्छन् उनी-
आशाका किरण भर आँखामा
अनि साहस भर्नु छ मुटुमा
तयार होऊ यो यात्रा हो,
(यात्रा, पृ.२४)

यो दृढता कविको कालजयी यात्राको आभास हो- यसमा सबैले निरन्तरता दिइरहनु पर्छ । त्यस्तै म नहराएको सूचना -पृ. २६) मा पनि कवि अनुकूल परिस्थितिको खोज छन् । महान र अथक योद्धाले अध्याँरो चिर्दै अघि बढ्न झाडी पन्छाउँदै, गोरेटो खोज्दै अघि बढ्नु पर्छ, केही समय आफू अल्मलिएर गन्तव्य पुग्न विलम्प भए तापनि खुट्टा नथाकेको र इच्छा नमरेको आत्म-विश्वास प्रकट गर्छन्-
पर्ख म आउँदैछु
बिहानी मुहार लिएर
हराएका मुस्कान लिएर,

यस अर्थमा हेर्दा सुब्बा आस्थाका यात्री हुन्- उनी कोलम्बसलेझैं यात्राको किनारा खोजरहेछन् । यो बस्ती अविश्वासको कुहिरोले ढाकेर मान्छेमान्छे नचिनिने बनाइ दिएको छ । गाउँमा शान्ति मुर्दा-शरीरझैं थकित छ । यस्तो अवस्थामा कवि प्रतिज्ञा गर्दै आशावादी बनेर दृढता प्रकट गर्छन्-
सिर्जनाको यो नीलो आकाशमा
मान्छे-मान्छे नचाहिने
अविश्वासको कुहिरो छिचोलौं
(जागृतिका परेवाहरू, पृ.३५)

यसको लागि कवि आफ्नो प्रतिवद्धता जाहेर गर्छन्-
मनको कम्पास छामेर
सधैँ पूर्वाभिमुख भइ विश्वास गर्नु
विहान सूर्य झुल्कि छाड्छ
(प्रतिवद्धता, पृ. २१)

मान्छे जव दृढ निश्चयी बनेर अग्रगामी निकासको लागि जिन्दगीलाइ नयाँ क्षितिज दिन चाहन्छ- अवश्य नै उसको अगाडि अवरोधमा चट्टान झुक्छन्, सगरमाथाको शिर निहुरिन्छ, उसलाइ हजार सफलताको मृदु मुस्कान छोड्दै गालामा चुम्बन बर्सन्छन् । त्यो बेला कर्मशील मान्छे हषिर्त हुँदै आफ्नै परिश्रमप्रति अगाध आस्थाले पग्लन्छ ।

नवराज सुब्बा समसामयिक धाराका उल्लेखनीय कविको रूपमा उज्यालो मुहार लिएर उदाएका छन्- पाठकीय इजलासमा । अब उनको पाठकको अभिरुचिलाइ ध्यानमा राखेर देश र जनताका जल्दा बल्दा विषयमा कलम चलाएर वाङ्मयको श्रीवृद्धिमा दत्तचित्त भएर साधनामा क्रियाशील रहन प्रतिवद्ध रहनुपर्छ । यो नै उनको सफलताको अजेय आस्थाको पूर्वाभास बन्न सक्छ । आयामेली कवि प्राज्ञ वैरागी काइँलाको शब्दमा ‘जीवनप्रति आस्थावान र आशावादी कवि हुन् र जीवनलाई निरन्तर यात्रा ठान्दछन्’ । मेरा दृष्टिमा पनि जीवनलाई निरन्तर यात्रा ठानिरहुन् र आफ्नो आस्थाको उज्यालो साहित्यको माध्यमबाट बाँडिरहुन् । आगामी दिनमा उनले कलात्मक शिल्प र प्रस्तुतिमा नविनता दिने चेष्टा गर्नुपर्दछ ।

(माइबेनी स्मारिका, कर्मचारी मिलन केन्द्र इलाम, २०६६)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.