स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

स्रष्टालाई प्रविधिले पाठक, दर्शक र श्रोतासामु पुर्‍याएको छ । प्रविधिमैत्री हुन नसकेर आज पाठकलाई मात्र हैन धेरै स्रष्टालाई प्रविधि चुनौति भएको छ । तर यसले स्रष्टा र पाठक दुवैलाई अवसर पनि थपि दिएको छ । अत्यन्त द्रुतगतिमा विकसित भएको सूचना प्रविधिका साथ लागेर आज धेरै स्रष्टाहरू उन्नतीको भर्‍याङ उक्लिरहेछन् र सजिलै विश्वव्यापी भइरहेका छन् । स्रष्टाहरूका लागि सिर्जना गरेर मात्र अब नपुग्ने भएको छ, समयसापेक्षित रूपमा सूचना प्रविधिलाई आत्मसात गर्नु पर्ने अवस्था आएको छ ।
हिजो कुनै कृति प्रकाशन गर्नु परेमा छापाखानाको अभाव थियो । त्यसको लागि छिमेकी मुलुक जानु पर्ने स्थिति थियो । आज उन्नत प्रविधियुक्त छापाखाना  स्वदेशमैं छन् । अब केही जोहो गरेर भए पनि कृति प्रकाशित गर्न सक्ने स्रष्टाहरूलाई यसले अवसर दिएको छ । आजकल साहित्यिक समारोह र भेटघाटमा पुस्तकहरू उपहारस्वरुप दिइने वा लिइने चलन आएको छ । एकआपसमा कोसेली आदानप्रदान गर्दा पुस्तक उपहार दिनु राम्रो चलन हो । यसले लेखक र पाठक, लेखक र लेखक, तथा लेखक र समालोचक बीच सेतुको काम गरेको छ । साहित्यिक बजारमा आजकल कृतिको परिमाणमा बृद्धि भएको छ जो स्वागतयोग्य कुरो हो । अब कृतिहरूको गुणस्तरमा पनि ध्यान दिने बेला आएको छ । लेखन र प्रकाशनलाई लहडबाजीका रूपमा मात्र लिइयो भने यसले स्तरीयतालाई नकारात्मक असर पुग्छ र यसबाट ब्यवसायिकताको विकासमा अवरोध उत्पन्न गर्छ । यति मात्र हैन यसले सिङ्गो साहित्यिक कृतिहरूप्रति पाठकमा  नकारात्मक छाप छाड्ने र साहित्यप्रति नै पाठकमा वितृष्णा जगाउन सक्ने सम्भावना रहन्छ । आज साहित्यिक कृतिलाई व्यवसायिक दृष्टिले पनि अघि बढाउने प्रयत्न गरिएको छ । स्तरीय सामग्रीहरूको विक्रीवितरण गर्दै व्यवसायिकता ल्याएर यो क्षेत्रको दिगो विकास गर्न सकिन्छ ।

विद्युतीय सूचना प्रणालीमा हेर्ने हो भने एफ.एम. स्टेशनहरूको संख्यात्मक विकास भएको छ । समाचारको माध्यमबाट जनतालाई सुसूचित र जागरुक बनाउन यसले महत्वपूर्ण भूमिका खेलेको छ । हिजो कुनै सांगीतिक सिर्जना गर्नु वा सुनाउन परे रेडियो नेपाल जानु पर्दथ्यो या त रेडियो खरसाङ छिर्न पर्दथ्यो । उसबेला गीत रेकर्ड गर्न वा प्रसार गर्नका लागि स्थापित हुनु पर्दथ्यो या पहु“च पुग्नु पर्दथ्यो या चाकरी गर्नु पर्दथ्यो । यो स्थितिमा पनि आज आमूल परिवर्तन भएको छ । आफ्ना सांगीतिक सिर्जना रेकर्ड गर्न आज सहर-सहरमा रेकरि्डङ स्टूडियो खुलेका छन् जहा“ कम खर्चमा रेकर्ड गरेर स्थानीय तहमा खुलेका एफ.एम. स्टेशनबाट प्रशारित गर्न सकिने भएको छ । यो अवसर यही सूचना र प्रविधिको विकासले ल्याएको हो ।
तर एफ.एम. प्रसारणले गीतसंगीतको विकासमा केही योगदान गरेको छ तर स्रष्टाहरूको नाम भने मेटिदिएको छ । एफ.एम. स्टेशनमा

 डिजिटल प्रणालीमा कार्यक्रमहरू बनाइन्छन् र बजाइन्छन् । कम्प्यूटरमा हेर्ने हो भने त्यसमा स्रष्टाका नामहरू फायलमा अङ्कित हुँदैनन् केवल गीतको बोल वा गायकसम्मको नाम मात्र प्रायः हुनु, गीत बजाहुँदा स्रष्टाका नाम नलिइनु यसका नतिजा हुन् । आजकल दुइ कार्यक्रमबीचको सेतुको काम सिग्नेचर ट्यूनले गर्छ, एकजना कम्प्यूटर प्राविधिकले स्टेशनको सम्पूर्ण प्रसारण चलाइदिन्छ । आज दुइ कार्यक्रमहरूका बीचमा उद्घोषकको भूमिका हटाइएको छ । यही मोडलमा कार्यक्रममा पनि गीतसंगीत बजाइन्छन् । कार्यक्रम संचालकलाई क-कसको शब्द, संगीत र स्वर बजाए“ भन्नेसित सरोकार छैन । कुनै सिर्जनाको स्रष्टाबारे कुनै श्रोताले यदी जान्ने जिज्ञासा राखेमा त्यो जान्न पाउने हक पनि खोसि दिएको छ आजको सञ्चारमाध्यमले । एफ.एम.स्टेशनले सिडि वा क्यासेट उति किनीरहनु पर्दैन, स्रष्टाले नै ल्याइदिन्छन् भनिन्छ । सायद यसैले गीति सिर्जनालाई हेप्ने प्रवृत्तिको विकास भएको हो कि ! जे जस्ता कारणले स्रष्टा र सिर्जनाको सम्मान गर्न चुकिएको हो त्यो प्रवृत्तिको तुरुन्त अन्तः गरिनुपर्छ । 
आज एकातिर सूचना प्रविधिको विकाससितै विकसित भएको पाइरेसीको मारले क्यासेट र सिडी बिक्री नहुने स्थिति आएको छ, इन्टरनेटबाट सजिलै निःशुल्क डाउनलोड गर्न सकिने भएपछि स्रष्टाहरू सिर्जनाबाट पलायन हुने अवस्था आएको छ । त्यसमाथि सञ्चार माध्यमले पनि सिर्जनालाई सस्तो रूपमा हेरिदियो भने यसले सिर्जना तथा गीत संगीतप्रति अन्याय मात्र होइन अपराध हुनेछ । स्रष्टाहरूको अपमान हुनेछ । सिर्जनात्मक सम्पत्तिको संरक्षण गर्न नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी ऐनको व्यवस्था भएकोले कुनै पनि सांगीतिक प्रस्तुति वा प्रसारणमा स्रष्टाको प्रतिलिपि अधिकार अन्तरनिहीत रहन्छ भन्ने कुराको हेक्का राखौं ।
एफ.एम. कार्यक्रम मूलतः सांगीतिक धरातलमा नै निर्माण गरिन्छन् तर यसका निर्माता वा प्रस्तोतालाई गीतसंगीतप्रति के कतिको अभिरूची छ, गीतसंगीतको इतिहास, स्रष्टाहरूको बारेमा के कति ज्ञान र अध्ययन छ, भन्ने कुरामा ध्यान दिन जरूरी छ । यसमा काम गर्ने प्राविधिकहरूलाई पनि स्रष्टा र सिर्जनाको अन्युन्याश्रति सम्बन्धका बारेमा जानकारी दिन अत्यावश्यक छ । स्रष्टाहरूको सम्मान नहुने समाजमा कसरी असल सिर्जना सम्भव होला – जनताको सुसूचित हुने हक र अधिकारको लागि सदा सचेत सञ्चारजगत स्रष्टाहरूको हक र अधिकारप्रति पनि सचेत हुन अत्यन्त जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.