कवि नवराज सुब्बा बीच बाटोमा ब्यूँझेपछि (दधिराज सुवेदी)

सामयिक धाराका कथा, कविता, निबन्ध एवं गीत-गजल विधाका चंकिला तारा हुन्- नवराज सुव्वा । सधैं प्रसन्न मुद्रामा देखिने रसिला, हँसिला, चम्किला र क्रियाशील व्यक्तित्वका साथै सिर्जनशीलताका धनीमानी यी व्यक्तिले “जीवन मेरो बब्द कोशमा” (२०६३) “मनको मझेरी (२०६४) “बीच बाटोमा ब्यूँझेर” (२०६५) जस्ता केही ओजपूर्ण कृतिहरु लेखेका छन् ।

“पहिलो अनलाइन वेभक्याम विश्व कविता प्रतियोगिता” (२०६४) मा प्रथम पुरस्कार जितेर सन्सारभर छरिन पुगेका यी सर्जकले बोलेर, मुसुक्क हाँसेर, शिष्ट र विनम्र ब्यवहार गरेर अनि समसामयिक चिन्तन धाराका सिर्जनात्मक कृतिहरु लेखेर आफूलाई शिखरमा उठाइसकेका छन् । मलाई लाग्छ – उनी पछिल्ला पुरस्कारका प्रतिनिधि चिन्तक हुन् र यो “बीच बाटोमा ब्यूँझेर” उनका बौद्धिकताको पारख गर्ने प्रतिनिधि ग्रन्थ हो । जसभित्र विचारोत्तेजक सतहत्तर, मीठा, रसिला र कला-भावपूर्ण कविताहरु समेटिएका छन् । हिजैको परिवेसमा जन्मिएका भए सिद्धिचरण श्रेष्ठ, हरिभक्त कटुवाल र भूपि शेरचनहरु पछिका पंक्तिमा यिनको नाम दरिने थियो । त्यसैले आज यिनी चर्चाको शिखरमा छन् ।

प्रा.डा. गोविन्दराज भट्टराइका विचारमा “बीच बाटोमा ब्यूँझेर” नवराज सुब्बाबो जीवनवादी कविता संग्रह हो । यसभित्र समावेश गरिएका सुन्दर, कलात्मक र साधारण पाठक वा श्रोताले कविता पढ्दा वा सुन्दा कविताको थिम नबुझे पनि उसको हृदयलाई र्स्पर्श गरेर आनन्दले अनुभूति ग्रहण गरेको हुनुपर्दछ । यस्तो कविता असल वा उत्तम कविता मानिन्छन् र कालजयी पनि हुन्छन् । मलाई लाग्छ – यस्तैछन् नवराज सुब्बाका धेरै कविता । उनी थोरै विगत र धेरै वर्तमान केलाएर कविता लेख्ने कवि हुन् । उनी मान्छेका दुःख दर्द र वेदना बुझेर आँसु पुछिदिने प्रयत्न गर्दछन् । बाल, विधवा र वृद्धहरुका वारेमा ओकिल भएर बहस गर्छन् । मान्छे बुख्याचा भएर उभिएकोमा उनको मुटु दुख्छ । भूत, प्रेत, पिसाचका हृदयमा मानवताको झोल घोलेर पिलाउने प्रयत्न गर्दछन् । जुनकिरीलाई अँध्यारो र ओसिलो परिवेशबाट निकालेर पूणिर्माको टहटह जूनसँग खेल्न सिकाउनु उनको काव्यात्मक अभिष्ट हो । त्यसैले म भन्छु – उनी कालजमी कवि हुन् र उनका कविताले गन्तव्यको राजमार्ग मातिसकेको छ ।

युगबोध, जीवनबोध र राष्ट्रबोध थियो र नै देवकोटा महाकवि बने । विश्वपरिवेश पनि भ्याए । सधैं पूर्वबाट पश्चिम फर्किएर “मैं हुँ” भन्नेहरुलाई ललकारे । उनकै कारणले नेपाली वाङ्मयको परसम्म पहिचान भयो र नै आज हामी छौं र नवराज सुव्वाहरु पनि पछ्याइ रहेछन् । हिमाल मुस्कुराइरहेछ, हामी हाँसिरहेछौं । हो, हामीसँग आफ्नै प्रकारको दुःख, दर्द, व्यथा, वेदना र पीडा पनि हुन सक्त्तछन तर यी व्यक्तिगत दुःख र दर्द भनेका औंशीका रात हुन् । शुक्ल पक्षको सम्मावित उज्यालोले यस्ता अँध्याराहरु क्रमशः निस्तेज हुँदै जाने सन्देशहरु पनि “बीच बाटोमा ब्यूँझेर” नामक कवितासंग्रहले दिएको छ । त्यसैले म भन्छु – नवराज सुव्वाका काब्यिक चिन्ताको भविष्य सुन्दर छ । सूर्योदयले सम्पूर्ण चराचरलाई स्पर्श गर्न भ्याए झैं नवराज सुव्वाका साहित्यिक चिन्तनले सबै मानव मुटुलाइ सुम्सुम्याउन सकेको छ र उनका केही कविताहरु कालजयी बन्ने क्रममा देखिन थालेको सन्दर्भ पुनः दोहोर्‍याउँदै यो “सतारको सम्बोधन” कवितांशका साथ विश्राम लिन्छु –
“… मेरो हिड्ने बाटो नै
भूगोल जोडने मेचीपुल तरेर
परदेश लागेपछि
म आदिवासी सतार !
तारा झैं झरें, मेचीनदी तरें”…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.