स्रष्टालाई सलाम (नवराज सुब्बा)

मलाई जीवनमा सारै नराम्रो लागेको क्षण मध्ये एउटा क्षण थियो- वरिष्ठ कलाकार तथा संगीतकार भक्तराज आचायको जीब्रो काटिएको समाचार । लेखकको औंला काटिनु र गायकको जीब्रो थुतिनुमा के नै फरक छ र ! तर कहिलेकाहिँ अखवार पढ्दा आनन्द पनि आउँछ । आज बिहानको चियासितै जब मेरा आँखा भक्तराज आचार्यलाई लाइफटाइम एचिभमेण्ट एवार्ड दिइएको समाचारका हरफमा पुगे तब म हर्षले गदगद् भएँ । म यस अवसरमा बरिष्ठ स्रष्टा आचार्यलाई बधाई र शुभकामना दिन चाहन्छु । र सम्मान गर्ने व्यक्ति वा संस्थालाई पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु । त्यो एवार्ड कुनै आयोजक वा प्रायोजक मात्रले दिएको नभई उनका सबै शुभचिन्तकहरूको शुभेच्छा सहित दिइएको होला भन्ने पनि म ठान्दछु ।

मेरो यो खुशीसित निकट भविश्यमा विमोचन हुन लागेको मेरो गजल एल्बम “लुकेको रहर” सित यसलाई गाँसेर हेर्न चाहन्छु । एल्बममा रहेका गजलहरू मध्ये एउटा गजलको रचना गर्दा मैले कताकता वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यलाई पनि सम्झेर गजलका शेरहरू कोरेको थिएँ, बिभिन्न अर्थमा । पछि संगीत गर्ने र रेकर्डको चाजोपाजो मिलाउने बेलामा मैले यो गजल स्वरुपराज आचार्यलाई नै गाउने ब्यवस्था गरियोस भन्ने मेरो चाहना मैले संगीतकारसमक्ष राखेको पनि थिएँ ।

प्रस्तुत गजल रेकर्ड गर्ने बेलामा स्टुडियोमा स्वरुपराज आचार्यले ट्रयाकमा संगीतकार शक्ति बल्लभसामु अन्तिम पटक रियाज गर्दाको क्षण म बिर्सन सक्दिन जुनबेला उनको गायन सुन्दासुन्दै मेरा आँखा रसाएका थिए । सायद त्यसबेला मलाई यो गजल लेख्दाका पलले घोच्यो होला, बिझायो होला । गजल रेकर्ड गर्न स्टुडियोमा छिर्न अघि ‘यो गजल मैले भक्तराजजीलाई मनमनै समर्पित गरेको छु है भाई !’ भनेर उनैका सुपुत्र स्वरुपराज आचार्यलाई पनि बताइ दिएको थिएँ । उनी गजल गाउन स्टुडियो छिरे, रेकर्डिस्ट धनपाल गुरुङसित कन्ट्रोल रुममा बसेर संगीतकार शक्तिबल्लभजी र म बसेर उनको गायनलाई सदाको लागि विद्युतीय माद्यममा स्वराङ्कन गर्न तल्लीन भयौं । संगीतकार ताल, सुर, भाव, आरोह, अवरोह र गायकको गीतसंगीतको आन्तरिकीकरणलाई मध्यनगरमा राखेर गायकलाई निर्देशन दिइरहनु भएको छ । म शब्दको उच्चारणपक्ष, गाउँदा अप्ठेरो लाग्ने वा सुनिने शब्दको विकल्पको लागि तयार भएर बसेको छु । गजलको भूत, वर्तमान र भविश्य सोचेर रोमाञ्चित बनेको थिए, उसबेला म ।

नेपाली गजलको इतिहास केलाउने हो भने सेतुरामले बि.स.१९६५ मा “यता हेर्यो नजरमा राम प्यारा छन्…” ले नेपालीमा गजलगायनको सुरुवात गरेको देखिन्छ । आधुनिक गजल गायन विधालाई नेपालीपनमा ढालेर सशक्त र ओजपर्ूण्ा ढंगले संगीतबद्ध गरि गायन गर्नेमा भक्तराज आचार्यलाई अग्रस्थानमा राख्नुपर्ने हुन्छ । मोतिराम भट्टको गजल “…न यता भए न उता भएँ” मात्रको गायकी र संगीतले नेपाली गजलगायनलाई उनले उपल्लो उचाइसम्म पुर्‍याएको देखिन्छ ।

जेहोस्, आज नियतीले ठगेका तर कालजयी स्वर र सिर्जनाका धनी भक्तराज आचार्यलाई यो गजल समर्पित गर्दै विदा हुन्छु ।

(गजल)

त्यो मृत्युको आभास आइरहन्छ किन

कतै बोलाएझैं गीत गाइरहन्छ किन ।

म गीत गाउँदा गाउँदै ढलिजान सक्छु

हरपल संगीत दिलमा छाइरहन्छ किन ।

लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ

केवल दुखिरहने शव्द पाइरहन्छ किन ।

सबैलाई बाँड्न रैछ यही मुटु प्यारो

फकाई कसैले हरदम खाइरहन्छ किन ।

(‘लुकेको रहर’ गजल एल्बम)

विराटपथ दैनिक, वर्ष३, अंक १०४, पूर्णांक ८०९, मिति मंसिर २५, २०६७, पृ.३

Audio Click>>> http://www.box.net/shared/qok64zpez9

One thought on “स्रष्टालाई सलाम (नवराज सुब्बा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.