नवराज सुब्बाको मनको मझेरी (हरिप्रसाद बराल)

साहित्यकार नवराज सुब्बा विचारको आँधी भएर साहित्यिक संसारमा बेजोड गतिमा अघि बढ्दैछन्, आशाका केन्द्रविन्दु बनेर निराशाको परखाल भत्काइरहेछन् । जातीय अहमलाई डाँडापारी छाडेर डाँडावारि आएका छन् । उनी काव्यमा सरल छन्, सरस छन्, न कुनै विचारले डामिएका नै छन्, न कुनै आग्रहले उनलाई छोएको छ । नवराज सुब्बाको कवितामा मेला पसेका बेला हामी शरदको फूलवारीमा हुन्छौं, वसन्तको हरियालीमा खेल्छौं । हामीले भोगेका युग उनका कवितामा ब्यूँझेर बोल्न सक्छ, आफूभित्रको पीडा बाहिर ल्याएर फाल्नसक्छ ।
तर आज हामी उनको निबन्धात्मक कृति ‘मनको मझेरी’का संसारमा विचारको खोजी गर्न मेला पसेका छौं, उनीकहाँ कसरी हामीजस्ता पाठकलाई लिएर जाँदैछन्, उनले तयार पारिदिएको खाली ठाउँमा हामी कसरी विचारको माला हुन्छौं, त्यो नै यस लेखको उद्देश्य हो ।
जबजब निबन्धरुपी रेलको यात्रा शुरु हुन्छ, सबैभन्दा पहिले नयाँ नेपालको चित्रमा हामी पुग्छौं । आजको नारा पनि यही भएकाले पहिलो स्टेशनमा हाम्रो पाठकले निकैबेर घुमफिर गर्नुपर्ने हुन्छ । लेखकले एउटा गोष्ठीमा आयोजना गरि निबन्धबाट घाँटी तन्काएर नयाँ नेपाल हेर्न सकिने पारेका छन् । त्यसपछि हामी तस्वीरमा कविता पढ्छौं, हामी शब्दले कविता लेख्नेहरू भन्दा तश्वीरले बोकेका कविता अझ सुन्दर भएको अनुभव हुन्छ । तेस्रो स्टेशनमा एकजना लिम्बूनीलाई श्रद्धाञ्जली टक्र्‍याउने काम हुन्छ । ठूलाबडाका विषयबाट दिमाग बाहिर नल्याउनेका लागि यो स्टेशन नयाँ पाठ भएर देखिएको छ । आमा एउटा यस्तो कुरा, जसलाई एउटै शब्दमा राखेर व्याख्या गर्न सकिंदैन, हामी आमाका विभिन्न रूपहरूमा उनिन पुग्छौं ।
अर्को स्टेशन छ, जहाँ तरकारी बेच्नेको आन्तरिक संसारमा लेखकले हामीलाई पुर्‍याएका छन्, जहाँ गरिबी छ, पीडा छ, आँसु छ अनि निराशाको कालो बादल मडारिएको छ । त्यसपछि पल्लो स्टेशनमा पुग्दा नेपालीको झर्रोपनाले भरिएका हाक्पारे संगीतले हाम्रो मनमा रहेको कसर उठाउँछ, हामी झन् फुर्तिला हुन्छौं । त्यसपछि अर्को स्टेशनमा पुग्दा त गीत र संगीतभित्र जीवन र देश कसरी बाँच्दोरहेछ, त्यो थाहा हुन्छ । त्यसपछि एकजना जन्तरेसरकहाँ टक्करी ट्वाक्कले लेखकको बाल्यकाल ब्युँझाउँछ । लेखकले ती सरको कुटाइलाई यसमा ब्यङ्यात्मक रूप दिएका छन् । जाँदाजाँदै अर्को स्टेशनमा एकजोडी परेवा भेटिन्छन् । भाकल गर्दा परेवा चढाउने र शान्तिको प्रतीक बनाएर उडाउने कुरालाई लिएर लेखकले पाठकलाई एउटाको आस्थालाई अर्काले कसरी कुल्चिन्छ त्यसको संकेत गरेका छन् ।
अर्को स्टेशनमा पुगेपछि कृष्ण धरावासी अतीतको हर्पेबाट हामीलाई घिउ बाँड्नु आउनु हुन्छ । फेरि अलि पर पुग्दा दाहाल यज्ञनिधि हामीसँग मुस्कुराउँदै जदौ भनेर भेट गर्नुहुन्छ । त्यसपछि साहित्यकारको इमान्दारितामा पुग्दा हाम्रो मन साँच्चै रमाउँछ । स्रष्टा र समाजबीचको आत्मीय सम्बन्धको स्टेशनमा हामी पुग्छौं । स्टेशनमा हामी वैज्ञानिक युगमा पुग्छौं टेलिफोन गर्न । अर्को स्टेशनमा पशुहरूको हामीसंग सम्वेदनशीलता मुद्रामा आफ्नो बाँच्न पाउने अधिकार खोजिरहेका हुन्छन् । अर्को स्टेशन हुन्छ पुस्तकालय जहाँ धेरै किताव पढ्न जाने कहाँ हो, पाठकलाई थाहा हुन्छ । त्यसपछि त्यो रेल बैंकक पुग्छ र त्यहाँ उनलाई कोइलीले स्वागत गर्छ । फेरि लेखक स्वदेश फर्केर तेह्रथूम मोराहाङमा प्रधान बा कहाँ आइपुग्छन् । त्यसपछि अर्को स्टेशनमा लेखकीय भोगाइ र हाम्रो भोगाइबीच भेटघाट हुन्छ । त्यसपछि अन्तिममा तालुको आलुको प्रसंगमा हामी पुग्छौं ।
यी त रेलमा यात्रा गर्दा आँखाले खिचेका दृश्यहरू हुन् । रेलबाट उत्रेर अलिक पर जान सकेको भए झन धेरै कुरा देखिने थिए । वास्तवमा निबन्ध यस्तो विधा हो जसमा धेरै ठाउँबाट धेरै विचारहरू उठेर एकैठाउँमा जम्मा हुन्छन् । यस कृतिलाई लेखकले मनको मझेरी भनेका छन्, म त भन्छु तन, मन र धनको मझेरी । किनभने यस कृतिमा हाम्रा आँखा छन्, जसबाट टाढा देख्छौं, खुट्टा छन् टाढा पुग्न सक्छौं, मस्तिष्क छ धेरै कुरा बुझन सक्छौं । धेरै पाठकको मन यस कृतिले जितेको छ । भाषा सरल भएकाले सबैका लागि कृति पढुँ पढुँ लाग्छ, त्यस्तै यो लेखकलाई अमर बनाउने साधन हो तर्सथ यस कृतिलाई ठूलो धन मान्नर्ुपर्छ ।
जीवनलाई नैतिक परिधिमा बाँधेर प्रस्तुत कुतिले हिंडाएको छ, जीवनलाई सिद्धान्तको चापबाट यसलाई बचाएको छ, भावुकताको भेलले पाठक ठगिनु पर्दैन, परिस्कृत बुद्धि हाम्रो चेतना सामू छ । तर्सथ यो पनि कृतिको उपलब्धि हो । लेखकले संस्मरण नै संस्मरणको माला उनेर पाठकलाई लगाइदिन्छन्, आफ्नो अनुभवको कसीले धेरै कुराको परीक्षण गर्छन् अनि मात्रै लेखक हामीसंग आउँछन् ।
नवराज सुब्बालाई वाणी प्रकाशनले हामी सामू उभ्याएको छ । सुब्बाभित्रको विचारको आगोलाई बाहिर ल्याइदिएको छ । एक सफल र्सजकलाई परिभाषी गरेर नयाँ कुराको खोजीमा पठाइसकेको छ । हेरौं उनले कति प्रमिथसको इतिहास पढेर चिन्तन गरेका छन्, त्यो कुरालाई मनन् गरि भालि के के कुरा लिएर आउनेछन् । नवराज सुब्बाको व्यक्तित्व पढ्दा उनले ब्रम्हाण्डभरि ज्ञानको अनुभव अवतार लिएर घुमेझैं लाग्छ, त्यति ठूलो ज्ञानविज्ञान झ्ण्ड्याएर हिंड्न सक्ने प्रतिभालाई साहित्यमा राखेर सबै पाठककहाँ पुर्‍याएको वाणीले नै हो । हामी उनलाई वाणीदेखि नै चिन्दै आएको पनि हो । कविता र चिन्तनपरक लेखदेखि निबन्धमा आइपुग्दा उनी धेरै फराकिला भएका छन् । बधाइ छ हामी सबै पाठकको ‘मनको मझेरी’मा लेखक नवराज सुब्बालाई ।
उद्घोष, २०६४ चैत्र २३ शनिवार । साहित्य/विविध

उद्घोष, २०६४ चैत्र २३ शनिवार । साहित्य/विविध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.