गीतकार नवराज सुब्बाको व्यक्तित्व: सहिदलाइ सलामका विशेष सन्दर्भमा (प्रा.डा. टङ्कप्रसाद न्यौपाने)

संरचना भत्कँदा­ भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै ठूला कविको पहिचान भइसकेको थियो तर २०३० का दशकपछि नेपाली कविताले कविताको मौलिक स्वरूप प्राप्त गरिसकेको छ । यसबाट के प्रमाणित भएको छ भने सिर्जना मर्दो रहेनछ । कविता एउटा सुन्दर भाषिक सिर्जना हो, यसैले अमर छ भनेर प्रमाणित गर्ने, नेपाली कवितालाई पाठकका माझ मीठो परिचय गराउने समसामयिक धाराका कवि कृष्णभूषण बल, दिनेश अधिकारीहरूकै उत्तरवर्ती पुस्तामा चिनिएको नाम हो- नवराज सुब्बा । जीवन मेरो शब्दकोशमा (२०६३), बीच बाटोमा ब्युँझेर (२०६५) दुइ कविता सङ्ग्रह, मनको मझेरी (२०६४) निबन्ध सङ्ग्रह, सहिदलाई सलाम (गीत सङ्ग्रह) तथा देशको माया (२०६६), नवराज सुब्बाको प्रतिबिम्ब – भाग-१, (२०६७)  तथा गजलको एल्बम लुकेको रहर (२०६७) प्रकाशित गरिसकेका नवराज सुब्बाका सहिदलाई सलाम (गीत सङ्ग्रह-२०६७) र लुकेको रहर (गजल, एल्बम) माथि छोटो टिप्पणी गर्न प्रस्तुत भएको छु ।
साझा प्रकाशनबाट प्रकाशित यस सहिदलाई सलाममा गणेश रसीकको भूमिका र पाँच किसिमका अन्ठाउन्न गीतहरू छन् । यी गीतहरूलाई स्रष्टा आफैंले पाँच शीर्षकमा बाँडेको पाइन्छ देशभक्ति र मानवतावादी गीत, बाल गीत, लोकलयमा आधारित गीत, लुडाङ्ज्यू भाका, हास्य गीत र आधुनिक गीत । यीमध्ये आधुनिक नेत्रहीनको गीत-१, २, सालिकको गुनासो, माया, शुभकामना समेतलाई लिँदा यसमा सबैभन्दा बढी राष्ट्रप्रेमको सुगन्ध छरिएको छ । सहिदलाई र्समर्पण गरेर सञ्चयन गरिएका कविताको प्रारम्भ पनि सहिदलाई सलाम शीर्षक गीतबाट गरिएको छ र यसकै आधारमा पुस्तकको नाम पनि राखिएको देखिनाले पनि गीतकार नवराज सुब्बाले यसलाई विशेष महत्त्व दिएको बुझिन्छ । उनी सहिदलाई यसरी अभिनन्दन गर्दछन् :
सिङ्गो जीवन बलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । (‘सहिदलाई सलाम’ बाट)
अहिले विभिन्न जात, जाति र जनजातिहरूमा स्वपहिचान र अधिकारका कुराहरू जति सुनिँदै छन्, त्यति नै देश भत्किने आशङ्कामा पीडाका स्वरहरू पनि गुन्जिंदै छन् । यी सबै हाम्रा, हामी नेपालीका भावना हुन्, संवेदना हुन् । यहाँ कोही गलत छैन । यिनीहरूका बीचबाट नयाँ नेपालको पुनः संरचना गर्नुछ । अबका साहित्यले साबातको बैला उत्सव मनाउनाका सट्टामा देउसीभैलो खेल्ने, असारे गीत गाउने, लुङाज्यूसँग हात मिलाएर पालम गाउने, ढोल बजाएर च्याब्रुङ नाच्ने र माधव घिमिरेका कल्पनाझैँ खेतका खला खलामा धाननाच नाच्ने आवश्यकता छ भन्ने कुरा नवराज सुब्बाका कविले राम्ररी बुझेको देखिन्छ । त्यसैले उनका कवितामा गाग्री र ढाकर आएका छन् । फूलबारीको एक थुङ्गा फूल सतारलाई पनि चिनाएका छन् नवराज सुब्बाले । लिम्बू जातिमा विशेष प्रचलित पालमका भाकामा नवराज आफैँ पनि गायक भएका छन् । । कवितामा बोरोम बोरोम, आम्बी जस्ता नेपालेली शब्दहरू बोल्न थालेका छन् । अबको नेपाली साहित्यले प्राप्त गरेको यो नयाँ दिशा हो ।
नवराज सुब्बाका गीत र कविताको उल्लेखनीय पक्ष नेपाल र नेपालीप्रतिको अत्यन्तै प्रेम हो, राष्ट्रभक्ति हो । उनलाई सबैभन्दा धेरै देशको माया लाग्छ । नवराज सुब्बाले के राम्ररी बुझेका छन् भने देशको माया गर्नु भन्या आफैंलाई चिन्नु रैछ । आफैंलाई चिन्ने भन्या आफू बाँचेको समाज चिन्ने हो । हाम्रो नेपाली समाज विषमरूपी छ । यहाँ कुनै यस्तो ठाउँ छैन जहाँ एउटा जातिको मात्र बसोवास होओस् । त्यसैले ती सबै जात, जाति र जनजातिलाई समावेश गरेर एउटै मालामा उन्नु नै आजको स्वर हो । नवराज सुब्बा गाउँछन् :
उर्ली आयो सललल समावेशी स्वर
जनताको शक्ति अहा कति सुन्दर । (‘आफ्नो भाग्य’बाट)
बहुलता भनेको यही हो । एउटै रङ्गको फूलबारीभन्दा रङ्गीबिरङ्गी फूलको फूलबारी नै सुन्दर देखिन्छ :
जति धेरै फुल्छ फूल उति राम्रो फूलबारी
सबै स्वर एक भए सुनिन्छ है मीठो बोली । (‘एकताको गीत’बाट)
समावेशन भनेको कसैको निषेधन वा अग्राधिकारको कुरा होइन, सबैको समानुपातिक विकास कुरा हो । समावेशनको अर्थ विखण्डन होइन, विभाजन होइन, अखण्ड नेपालका रङ्गीन सौन्दर्यको पहिचान हो भन्ने कुरा देशको माया नामका एल्बम र सहिदलाई सलाम गीतहरूबाट स्पष्ट उच्च स्वरमा सुनिन्छ । हाम्रो राष्ट्रियता अझै कमजोर छ, त्यसैले नवराज सुब्बा कलमबाट र साजन राई, नितू गोस्वामी र सरिता राईका गलाबाट भन्छन् :
हिमाल पहाड, तराई, माटाको रङ्ग एउटै छ
शर्मा वा सेर्पा, थारू वा राई रगतको रङ्ग एउटै छ ।
मेचीको घाम झुल्किँदा कालीको शीत पग्लियोस्
हिमाल पग्ली झरेर मैदान सारा भिजाओस् । (‘हामी नेपाली’बाट)
यसरी विचारका दृष्टिले नवराज सुब्बालाई अत्यन्तै सकारात्मक चिन्तन भएका कविका रूपमा चिनेको छु । अहिले यस्ता स्वरहरू बढी घन्किनुपर्ने बेला हो । यस समयलाई सुब्बाले राम्ररी चिनेको पाइन्छ ।
गीत भनेकेा निश्चय पनि स्वर, सङ्गीत र शब्दको त्रिवेणी हो तर सङ्गीत र स्वरले शब्दलाई ढाकिदिँदा रहेछन् । गीतअनुकूल शब्दविन्यास नभए पनि त्यसै रचनाले सङ्गीत र स्वरका माधुर्यको रङ्ग पोतिएपछि त्यो गीत बन्दोरहेछ । सिद्धिचरण श्रेष्ठका वखलढुङ्गा कविताका केही अंश गीत अनुकूल कोमलकान्त पदावलीमा सजिएका छैनन्; जस्तै :
जब म चढेर भावको डुङ्गा
सयर गर्छु प्रीतिको प्रिय गङ्गा
स्वप्नगगनबाट सुशीतल जल
सुखस्मृतिको बर्सन्छ रिमझिम ।
रूपक अलङ्कार तत्सम शब्दका भारीले थिचिएको यो अंश गायक र सङ्गीतकारका कलाबाट सिंगारिना साथ मीठो गीत भएको छ । यस कारण प्राध्यापक बालकृष्ण पोखरेलले पनि गोरखापत्रका समाचार गीत बन्नसक्ने विचार सहिदलाई सलाम गीत सङ्ग्रहका विमोचन समारोहमा अभिव्यक्त गर्नुभएको थियो । स्रष्टा नवराज सुब्बाका कही गीति रचनाहरू पनि यस्तै हुन पुगेका छन् । केही गीतको संरचना गीतितत्त्वअनुकूल सुगुम्फित भएको देखिँदैन किनभने गीतका भावअनुकूल गुण भएको शब्दसज्जा पाइँदैन, जस्तै : शान्तिको गीत शीर्षकका गीतमा प्रत्येक चरणमा आठ आठ अक्षरमा विश्राम छ, यो गायनका निम्ति राम्रो आक्षरिक संरचना मानिन्छ तर अन्तिम गेय अनुच्छेदका पहिला पङ्क्तिका दोस्रा चरणमा यति भङ्ग भएको अनुभूति हुन्छ, जस्तै :
कसैले बोकी ल्याउन्न हामीले चाहेको संसार ।
यस अंशको पठन गर्दा अन्तिम चरणमा नौ अक्षर हुन्छन्, फलस्वरूप यति भङ्ग भएको अनुभूति हुन्छ तर गायकले यसलाई मिलाइहाल्छ । त्यसैले गीतका संरचनापक्षमा टिप्पणी गर्न कविताको भाषा, सङ्गीत र गायनकला सबैमा निपुण व्यक्तिको आवश्यकता पर्दछ । यस्ता प्रतिभा विरलै हुन्छन् । कतिपय संरचनाहरू गीत वा कविता के हुन् भनेर छुट्याउन पनि समस्या पर्दछ । मलाई लाग्छ ः गीत पनि कविताकै एउटा शैलीय भेद हो । सामान्यतया गीतमा यी विशेषताको अपेक्षा गरिन्छ :
– कविताको सङ्गीतमय स्वरूप वा लेख्य स्वरूपमा अन्तःसाङ्गीतिकता,
– अनुप्रासबाट सिर्जित लयमाधुर्य,
– लयसंरचनाका निम्ति आक्षरिक सन्तुलन वा नियमितता
– विचार / दर्शनभन्दा पनि भावविभोरता,
– सहज प्रवाहमय शैली र
– भाषामा सरलता
– व्यक्तितत्त्वको प्रधानता ।
नवराज सुब्बाका सहिदलाई सलाम गीत सङ्ग्रहका गीतहरूमा सामान्यतः यस्ता विशेषताहरू सुरक्षित पाइन्छन् । सहिदलाई सलाम, आफ्नो भाग्य, शान्तिको गीत, नडराऊ, स्वाभिमान, बचेराको भोकप्यास, एउटा गीत गाऔं जस्ता अधिकांश गीतहरूमा प्रथम दुइ पङ्क्ति कथ्य भएर आएका छन् जुन गीतका लागि उपयुक्त मानिन्छ । सबै गीतहरूमा सरल शब्दहरूको स्वाभाविक प्रयोग पाइन्छ । यी सबै गीति अनुच्छेदहरूका अन्तमा यसका पुनरावृत्तिले लयमाधुर्य पनि थपेको छ । गीतमा अपेक्षित यी विशेषता र भावानुकूल शब्दचयनको क्षमता विस्तार हुँदै जाने सम्भावना सुब्बाका गीतकार व्यक्तित्वमा पर्याप्त देखिन्छ ।
यसै सर्न्दर्भमा लुकेको रहर (२०६७: गजल, एल्बम) का सम्बन्धमा पनि छोटो टिप्पणी गर्न चाहन्छु । सङ्गीतकार शक्तिबल्लभका सुमधुर सङ्गीत, नरेन्द्र प्यासी, जगदीश समाल, सुरेश मानन्धर, अञ्जु पन्त, शिशिर योगी, सुमित खड्का, स्वरूपराज आचार्य माण्डवी त्रिपाठी र भीम चापागाईका स्वरमा सजिएका लुकेको रहर शीर्षकको विद्युतीय चक्कामा गजलहरूको सङ्कलन छ । देशको माया एल्बम वा सहिदलाई सलामका तुलनामा लुकेको रहरका गजलहरूमा सुब्बाको कवित्व राम्ररी प्रस्फुटित भएझैं लाग्दछ । उदाहरणका लागि हेरौं :
तिमीलाई माया गर्दा मत रित्तो प्याला भएँछु
हराइ चाबी बाटोमा म त बन्द ताला भएँछु । (‘तिमीलाई माया’ बाट)
मेरो एउटा घर छ, लुकेको रहर छ
आफन्त बिछोडिंदै गएको सहर छ ।
पुरानो जो थोत्रो सायद म एक हुँ
थालिन बाँकी केवल एक प्रहर छ । (‘मेरो एउटा घर’ बाट)
सम्भवतः सहिदलाई सलाम र यसका गीति एल्बमका भाव तथा लुकेको रहरका भावमा निकै भिन्नता भएकाले पनि यस्तो अनुभव भएको हो । जे होस्, अन्तमा म नवराज सुब्बाकै गीतबाट कवि तथा गीतकार नवराज सुब्बालाई यो शुभकामना दिन्छु ः
सगुन थमाएँ तिमीलाई
पहिराएँ फूलका माला
बढून् पाइला लक्ष्यतिर
चुमून् उच्च चुचुरा । (‘शुभकामना’बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.