झरी र रित्ता गाग्रीहरू

‘हरहर महादेव पानी देऊ देऊ
यत्तिले पुगेन अलि थपिदेऊ’ भन्दै
रित्ता गाग्रीहरूको जुजुस हिड्यो सडकमा
कैलाशमय कान छिचोल्न
गगनभेदी बन्दूक पड्काइयो
र मागियो झरी यसपाली खडेरीमा
पानी छिट्याएको देखेर
खुसीमा उफ्रिदै सबैले नुहाए
झरी रोकिएन
बाढी जताततै बग्यो बाटाबाटामा
डिल भत्कियो अनि भास्सियो सडक
हो, एकसाथ घर र मनहरू चर्किनसम्म चर्किए
हेर्दाहरेर्दै धेरैका घरबास बगायो झरीले
झाडापखाला महामारी फैलियो
त्यहीँ छेवैमा आगो र चिताका खरानी सुँघ्दै
धमिलो पानीमा रमाउँदै थिए माछाहरू
घरघरमा जाल बुन्दै थिए कोही
छेलिएर कोही बल्छी हाल्दै होलान् बाढीमा
यत्तिकैमा यसपालिको मनसुन थामियो
तर भेलचाहिँ घरघरमा पसिरह्यो र डसिरह्यो
उर्लिनु उर्लियो अन्तरविरोधी लहरहरू
मनमनमा !
अचम्म !
छट्पटाउँदै अतृप्त प्यासहरू
सडकमा अझै ओहोरदोहोर गर्दैछन्
धत्तेरी ! यसपालीको झरीले पनि
भरिएनछन् रित्ता गाग्रीहरू
न त घैंटोमा घाम नै लागेछ ।
प्रकाशोन्मुख “यात्रा आधा शताब्दीको” कवितासङ्ग्रह २०६८ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.