सहिदलाई सलाममा विविध सन्दर्भका गीत (ध्रुव मधिकर्मी)

यता केही समयदेखि गीत, कविता र निबन्धमा सक्रियतापूर्वक सिर्जनारत भइरहेका स्रष्टा हुन् नवराज सुब्बा । यी तीनै क्षेत्रमा आफ्नो परिचय स्थापित गर्दै आइरहेका श्रष्टा नवराज सुब्बाको पछिल्लो कृति सहिदलाई सलाम गीतसंग्रह भर्खर साझा प्रकाशनबाट प्रकाशित भएको छ । श्रष्टा सुब्बा स्वयम् गायक र संगीतकार पनि हुन् । उनको पहिलो क्षेत्र गीतिजगत नै हो । तर उनले गीति क्षेत्रका साथै सिर्जनाको अध्यायलाई कविता, निबन्ध र गजलमा पनि विस्तार गरेका छन् ।

सहिदलाई सलाम गीतसंग्रहमा देशभक्ति र मानवतावादी, बालभावना, लोकलय लुङाज्यू भाका, हास्य र आधुनिक विषयका गरी ५ खण्डमा ५८ वटा गीत छन् । संग्रहमा देशप्रतिको माया र कर्त्तव्यबोध, बालबालिकालाइ कर्म गर्न प्रेरणा र संस्कृतिको जानकारी, मायाप्रेम र वियोगको अवस्था, मानवीय संवेदना, भावुकता, हार्दिकता र प्रकृतिसित जीवनको तादात्म्यता आदि विषयका गीत छन् । यी गीतहरु सरल र सहज ढंगले कवितात्मक रुपमा लेखिएका छन् । सरल शब्दहरुको संयोजन गरेर लेखिएका गीतहरु हार्दिक र सहजै संप्रेष्य हुन्छन् । गीतकार सुब्बाका गीतहरुले जीवनका सन्दर्भहरुलाई अत्यन्त परिचित ढंगले प्रस्तुत गरेका छन् । यहाँ थाम्नै नसकिने खालको कुनै आदर्श र दर्शनको विषय छैन । उनी देशलाई माया गरौं, हाम्रो माटो एउटै हो त्यसैले यसको रक्षा हामी आफै गरौं, माया गरेकालाई सम्झिरहनु, कसैलाइ बिझ्नेगरी नबोल्नु, चुपचाप आफ्नो प्रेमलाइ व्यक्त गर्नु जस्ता सरलता नै उनको विशेषता भएको छ ।
देशभक्ति र मानवतावादी खण्डमा १८ वटा गीत छन् । यहाँ गीतकार सुब्बाले नेपालीहरुको भावना, सहिदको बलिदानको मर्म, सबै जातजातीबीच भातृत्वप्रेम, मेलमिलाप, एकताको भावनालाइ बलियो पार्ने, युवाहरुको सक्रियताको आवश्यकता आदि विषयसित राष्ट्रियतालाइ जोडेर हेरेका छन् । संग्रहको शीर्षकसमेत रहेको गीत सहिदलाई सलाममा देशको मुहार फेर्न, जनताको हक अधिकार स्थापित गर्न सहिदले गरेको त्याग र बलिदानको प्रशंसा गर्दै अभिनन्दन गरेका छन् । एउटा गीत गाऔंमा मान्छेहरु सबै एउटै भन्ने सन्देश प्रसार गर्दै सबैलाई आफ्नो भन्नसक्ने अवस्थाको सिर्जना गर्नमा जोड दिएका छन् । यस गीतमा रहेका  बहिराले पनि सुन्न सक्ने यस्तो गीत गाऔं र अब अन्धाले नि देख्ने एउटा चित्र बनाऔं पंक्तिमार्फ गीतकारले सबैलाई समेट्ने र सबैलाई स्वीकार्य हुने भावनाको सकारात्मक पक्षलाई उजागर गरेका छन् । जसलाई सुन्दर अभिव्यक्तिका रुपमा लिन सकिन्छ । बचेराको भोकप्यासमा माउले खाना टिप्न गएको र बचेराहरु प्रतीक्षारत रहेको सन्दर्भलाई कामको लागि विदेश गएकाहरुको प्रतीक्षासंग जोडेर नयाँ दृष्टिकोणमा प्रस्तुत गरिएको छ ।
हामी नेपालीमा मधेसी, तागाधारी र जनजाती एउटै माटोका भएको र तराइ हिमाल र पहाड एउटै माटोको हो भन्ने बोध गराइएको छ । देशको मायामा देशको माया गर्नु भनेको आफैलाई चिन्नु, स्वार्थलाई त्याग्नु गरिखाने परिश्रमी हातलाई नछेक्नु र देशको विकासमा लगनशील भएर लाग्नु हो भन्ने भावना अभिव्यक्त छ । सबैभन्दा धेरैमा देशकै माया बढी लागेको विचार प्रस्तुत गर्दै परदेश नजाने अठोट गरिएको छ ।
म त जान्नँ परदेश  गाउँघर बिर्सी
जन्मिएको हुर्किएको देशबाट उठी  (पे.५)
गीतकार सुब्बाले लेखेका यी गीतहरुमा देशप्रति र राष्टियताप्रति परंपरागत विचार मात्र व्यक्त गरिएका छैनन् । परम्पराका साथै यहाँ पछिल्लो समयको अनुभूतिलाई पनि समेटिएको छ । पछिल्लो समयमा लेखिएका हुनाले यी गीतमा मुलुकको पछिल्लो समयको भावना पनि अभिव्यक्त भएको छ । आफ्नो भाग्य, हिजो भन्दा आज राम्रो, हे जन्मभूमि आदि गीतमा नयाँ अनुभूति र भावना आएको छ ।
आफ्नो भाग्य आफै लेख्ने दिन आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ (पे.७)
आफ्नो भाग्य शीर्षकको गीतमा मुलुकमा देखा परेको नयाँ स्थितिको चित्रण छ । मुलुकमा गणतन्त्र घोषणाले जनता अझ सशक्त भएको, आफूले चाहे जस्तो संविधान आउनलागेको, हिमाल पहाड र तराइतिर सम्बोधित हुन लागेको जस्ता भावनाहरु इस गीतमा व्यक्त भएको छ । आफ्नो गीत आफै लेख्ने बेला आएको छ भन्ने पंक्तिले त्यही विश्वासलाई इंगित गर्दछ । हिजो भन्दा आज राम्रो गीतमा पनि भोल्रि्रतिको आशालाई नै व्यक्त गरिएको छ । हे जन्मभूमिमा मुलुक बहुल भाषा र बहुल संस्कृति भएको स्वीकार्दै अगि बढ्नुपर्ने आग्रह छ ।
नडराऊ, स्वाभिमान र यो  देशमा शीर्षक गीतमा विचार र अनुभूतिमा त्यति नयाँपन छैन । देशलाई बचाउन युवा अघि बढ्ने, वैरीसित खोजीखोजी लड्ने जस्ता विषयमा कुनै नयाँपन छैन ।
लोकलयमा आधारित लुडाज्यू भाकाका ४ गीत, हास्य विषयक २ र बाल मनोभावनाका दुइ गीत छन् । बालगीतमा तिहारमा खेलिने देउसी, असारको महिमा र पशुपन्छीहरुले गुँड लाएको र हुर्काएको विषयका बारेमा लेखिएको छ ।
लुडाज्यू भाका कुन जातिको लोकलय र यसको शाब्दिक अर्थको बारेमा यहाँ केही भनिएको छैन । लुडाज्यू भाकाका गीतमा मायाप्रेमको अनुभूतिलाई स्थानीय प्रकृतिसित जोडेर अभिव्यक्त गरिएको छ । यहाँ मायाको लागि उडेर आउने भावुकता, माया विशाल भएको हार्दिकता र मनको बहले आकाश घन्काउने जोश प्रस्तुत गरिएको छ ।
बगेको खोला लाएको माया देखिन नभन
हुनेमा भए दिल खोली दिन्थें ढाँटेको नभन (पे.३७)
आधुनिक खण्डमा ३० वटा गीत छन् । जीवन छोटो भएको, प्रेमको अधुरो कथालाई बिर्सने प्रयत्न, हुरीबीच चरीको बास बेठेगान भएको, आँगनमा ओर्लेको जून दिलभित्र नपसेको, सागरभन्दा गहिरो भएको मायाको परिभाषा, दुनियाँले जे भने पनि मायामा एकोहोरिने बानी , कसैको यादमा आँसु बहाइरहने जस्ता हार्दिक र भावुकताले भरिएका प्रसंगहरु यहाँ आएका छन् । यहाँ प्रायः लेखिने गीतहरुमा हुने विषय नै आएका भए पनि त्यसबाहेका विषयमा पनि गीत रचिएका छन् । हार्दिकता र भावुकता बाहेक जीवनको यथार्थबोध गरिएका विषयमाथि पनि गीत लेखिएका छन् । मन, मैले माया गरें, जीवनयात्रा, उनको यादमा आदि गीत केही फरक ढंग र नयाँ अनुभूतिले युक्त छन् । कतिपय गीत लयात्मक कविता जस्ता पनि छन् । छोटा छोटा लयात्मक वाक्यमार्फ जीवनको अनुभूतिलाई चिटिक्क पारेर प्रस्तुत गरिएका छन्, जुन निकै प्रभावकारी छन् ।
नहिंडेको बाटो पनि
अघिअघि बढें
तिमीलाई नसोधी नै
मैले माया गरेँ (पे.६६)
प्रायः गीत गजलमा शीर्षक दिइंदैन । गीत गजल मनको अनुभूति र भावनाको आवेगमा प्रस्तुत हुने हुनाले शायद त्यहाँ कुनै शीर्षकको खाँचो हुँदैन । गीत गजल आफै नै परिचय भएकोले शीर्षकको शायद खाँचो नभएको होला । गजलमा त विषयको व्याप्तिले शीर्षक दिने कठिनाइका कारण पनि प्रायले शीर्षक दिने आवश्यकता महसुस गर्दैनन् । तर शीर्षक दिइएपछि रचनाको न्वारान हुने र फलानो शीर्षकको रचना भनेर चिनाउन सजिलो हुने अवसर जुट्छ । यहाँ गीतकार सुब्बाले गीतमा पहिलो पंक्तिबाट केही शव्द झिकेर अथवा गीतभित्रकै कुनै शब्द झिकेर शीर्षक दिएका छन् यसले गीत चिन्नलाई सजिलो भएको छ ।
पुनर्जागरण साप्ताहिक (सिर्जना अभिव्यक्ति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.