कवि सुब्बाको “यात्रा आधा शताब्दीको” (चक्रपाणि खनाल)

कवि नवराज सुब्बा आफ्नो चौथो कवितासंग्रह “यात्रा आधा शताब्दीको” लिएर नेपाली साहित्यमा पाठक सामु उदाएका छन् । यस पहिले नै उनका “जीवन मेरो शब्दकोशमा २०६३” “बीच बाटोमा ब्यूँझेर २०६५” तथा “सहिदलाई सलाम २०६७” शीर्षकको गीतसङ्ग्रह प्रकाशित छन् । उनको रचना “मनको मझेरी २०६४” नामक निबन्धसङ्ग्रह प्रकाशित छ भने उनका गीति एल्बम्, भिडियो एल्बम्, गजल एल्बम्हरू पहिले नै प्रकाशित छन् । उनी लोकगीतहरूका संकलक, गायक र प्रशारक पनि हुन् ।

कविमा कल्पनाशक्तिको प्रचुरता हुन्छ । यस्तो कल्पनालाई शब्दहरूमा सजाएर, कविता बिधाको विशिष्ट संरचनाको साँचोमा ढालेर पाठकहरूलाई लोभ लाग्ने बनाएर पस्किने काम पनि कवि तथा गीतकार नवराज जस्ता सर्जकले नै गर्न सक्छन् ।

 

प्रस्तुत कवितासङ्ग्रहमा पहिलो रचना “म लाटोकोसेरो” रहेको छ । यस कवितामा कविले कल्पनाका सुन्दर भावहरूलाई पृष्ठभूमिमा राखेर यथार्थको धरातलमा आफूलाई उभ्याउँदा “म पात्र” ले आफूलाई लाटोकोसेरो ठान्नपुगेको छ । कविता स्पर्शी छ, भित्रसम्म हुँडल्छ, यथार्थ समाज भौतिक परिप्रेक्ष्य पाठकसामू कठोर ब्यङ्ग्य भएर आइदिन्छ । कुनै ब्यक्ति मीठो कल्पना गर्छ, स्वर्गकी परीसित नाच्छ र अमृतको स्वाद चाख्छ,बिपनाको यथार्थमा यो कुरा उल्टो भइदिन्छ र उसले यस्तो देख्छ– आजकल म ऐनामा आफूलाई ठ्याक्कै लाटोकोसेरो देख्छु ।

 

कविले आफ्नो जन्मभूमि शान्तिभूमिलाई पराइभूमि र युद्धभूमि बनेको देखेका छन्, विद्यालयहरूलाई बङ्करमा परिणत भएको देखेका छन् र स्वागत गर्ने फूल उचाल्ने हातहरूले हतियारै हतियार बोकेको देखेका छन् । यस्ता विपरित दृष्यप्रति कवि हृदयको प्रतिक्रिया तीव्र छ – उफ् यो सब् म के देख्छु । उनैका शब्दमा “मेरा ठूल्ठूला आँखा छन् मात्र दृष्टि छैनन्, छ स्वतन्त्र आकाश फगत गन्तव्य छैनन् ।” यस्ता परिस्थितिले गर्दा

 

“ऐनामा म आजकल

सायद अरु हैन, आफू नै देख्छु

अचम्म टीठलाग्दो उल्लु देख्छु ।” पृ. २)

 

यस कवितामा कठोर ब्यङ्ग्य छ कविको तर्फबाट विद्रोह छ । एउटा कुरा छैन– त्यो हो पलायन । यस कविताले भावमा “पागल” का देवकोटालाई र संरचनामा भूपी शेरचनलाई पचाइदिएको छ ।

 

यस कवितासङ्ग्रहमा विविध भावका कविता छन् । एक कवितामा बैंककको उत्तरपट्टि सुनामीले पालेकी आमाको शिशुको वेदना छ भने अर्कोमा लण्डनको बीचमा बग्ने टेम्स नदीलाई काठमाडौंको मध्यभागमा बग्ने बागमती नदीलाई पठाएको सन्देश छ । केही कवितामा कवि आफ्नो बैंसमा फक्रिएका सुन्दर दृष्य उतारिएको छ, अर्कोमा बौलाहाको बकबक भनी नेपाली समाज राजनीतिमा बेमेल कुरा प्रस्तुत गरिएको छ ।

 

सङ्ग्रह राम्रो कागजमा सचित्र सजावटसहित प्रकाशित छन् । सङ्ग्रहका धेरै कविता राष्ट्रिय भावधाराले ओतप्रोत छन् । सामयिक समाजका क्रियाकलापलाई कविले आफ्नो भावमा पुनःसृजन गरेका छन् । कवि नवराज सुब्बाका कविता कस्ता छन् ? उनैका शब्द लिएर (पृ. ६४) भन्नु पर्दा—

”कविता सुनेर म तीनपटक हाँस्छु

यसैले म कविता खोजी खोजी सुन्छु” ।

 

साभारः जनआवाज साप्ताहिक, वर्ष २९, अंक ४४, पृ. ५, २०६८ साउन ३० गते सोमबार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.