रोकेर रोकिन्नन् हातका कलमहरू ! (नवराज सुब्बा)

भनिन्छ, सन्तान र सिर्जना उस्तै-उस्तै हुन् यिनको माया बराबरी लाग्छ । तर साहित्य र कला क्षेत्रमा सिर्जनाबारे गहिरिएर हेरेमा केही मूलभूत अन्तर भेटिन्छन् । बर्तमान नेपालमा दुइमात्र सन्तान इश्वरका बरदान भन्ने गर्दछौं । यसको पछि विश्व जनसंख्या नीति र असल घरब्यवस्थापनको कुटनीति लुकेको छ । त्यसैले दुइभन्दा बढी सन्तान नहुन बन्ध्याकरण गरिन्छ वा परिवार नियोजन गरिन्छ । यसका ब्यवहारिक पक्ष जस्तै थोरै सन्तानलाई उचित लालनपालन, शिक्षादीक्षा दिन वा औषधोपचार, घरमा शुखशान्ति जस्ता मूलभूत सवालहरूबारे बुझाएर परिवार नियोजनको लागि उत्प्रेरित गरिन्छ- जनतालाई । तर सर्जकहरूले धेरै सिर्जना गरेर साहित्य बिगारेको वा समाज बिगारेको मैले देखे-सुनेको छैन । हो, हिजो यहि देशमा सिर्जनामा नियोजन गर्ने शासक थिए, दुःखको कुरो तिनको स्वरुप आज बद्लिएको छ शहरशहरमा । एउटा स्रष्टाले अर्को स्रष्टाको सम्मान गर्नु त कता हो कता अरुका सिर्जनामा ऊ जब नियोजन गर्न खोज्छ तब साहित्यको साधनावृत्तिभन्दा ऊ आधिकारोन्मुखी प्रवृत्ति वा सामन्तवादी प्रवृत्तिलाई आफूभित्र हुर्काएको लख काट्न सकिन्छ । मेरो मनमा आज सवाल उठ्छ, सिर्जनाको स्तर जाँच्ने को हो ? मलाई लाग्छ, पाठक, समालोचक र समयले नै कुनै पनि सिर्जनाको उचित मूल्याङ्कन गर्नेछन् । आज कुनै ब्यक्ति वा संस्थाले अनाधिकृत रूपमा यी तीनैको प्रतिनिधित्व आजै एक्लैले गर्ने घृष्ठता नगरे हुन्छ । हेक्का राखौं, हामी सबै आज समकालीन साहित्यजगतमा मात्र हैन निरपेक्ष नेपाली बाङमय र इतिहासको मैदानमा उत्रिसकेका छौं ।

आज कतिपय सवालमा साहित्यजगत आफैभित्र र साहित्यकारहरू आफैमा अन्यौलग्रस्त देखिन्छन् । मान्छे मान्छे जोड्ने साहित्य र कला जगतमा प्रसस्तै विकृतिहरू पनि छन् । यति सुन्दर जीवन र फराकिलो जगतमा पर्खालैपर्खाल ठड्याएर कुवाकुवामा विभाजित भइ ट्वार्ट्वार्र गरेझैं सुनिन्छन् कतिपय साहित्यकार र कलाकारहरूका ध्वनि । कल्पनालाई खेती र वाह-वाहीलाइ फल ठान्दै आत्मरतिमा रमेमा छन् यिनीहरू । सायद यसैले घरपरिवारमा कोही सदस्य कवि वा कलाकार भएर निस्कियो भने अभिभावकद्वारा शंकाले हर्ेर्ने गरिन्छ कतै असामाजिक वा अब्यवहारिक भएर जीवनमा गरि नखाला कि भनेर । एकछिन म आफूतिर र्फकन्छु, हिजो मैले तीसवर्षको कालखण्डमा रचेको कवितासंग्रह “जीवन मेरो शब्दकोशमा” निकालें । धेरैले अचम्म मान्दै सोधे किन यति लामो कालखण्डमा प्रकाशित गर्नुभो ? यतिन्जेल के हेरेर बस्नुभो ? किन बेलैमा कृति निकाल्नु भएन ? आदि इत्यादि । केही वर्षअघि एकवर्ष अवधिमा लेखेर “बीच बाटोमा ब्यूँझेर” कवितासंग्रह निकालें । यो साल एकै वर्षमा “सहिदलाई सलाम” गीतसंग्रह र “यात्रा आधा शताब्दीको” कवितासंग्रह गरि दुइ कृतिहरू प्रकाशित भए । फेरि मलाइ प्रश्न तेर्स्याइन्छ यति छिटो छिटो कसरी निकालियो ? म कसरी बुझाउँ कृति भनेको बच्चाजस्तो परिवार नियोजनको साधन प्रयोग गरेर दुइतीन वर्षा बिराएर जन्मने सन्तान होइन रहेछ । यो कहिले तीसवर्षमा, कहिले एक वर्षमा, कहिले छ महिनामा पनि जन्मँदो रहेछ । जो पूर्ण रूपमा स्रष्टाको बसमा मात्र बस्दो रहेनछ । जेजस्तो जन्मोस् कुनै सिर्जना साहित्यजगत र समाजको लागि उपहार नै हो । सबै उपहार सबैलाइ मन पर्नै पर्छ भन्ने मान्यता कतै छैन । तपाई यसलाइ कसरी लिनु हुन्छ त्यसैमा धेरैकुरा भर पर्छ ।

मलाइ लाग्छ कुनै सफल कृति कुनै स्रष्टाको “टिप अफ दि आइसबर्ग” हो, जो हामीले देख्यौं, भेट्यौ वा पढ्यौं तर त्यसको फेदमा कति हिंउँ वा पानी होला भनेर लख काट्ने जमर्को हामी गर्दैनौं । कत्रो साधनाले बल्ल कृति जन्मियो होला भनेर सोच्दैनौं । केवल सिर्जनाको “फेस भेल्यु” सितमात्र हामी सरोकार राख्दछौं । पसलमा सुनको ढिक्का देखेर सुनखानीमा पनि ढिकाजस्तै सुन एकैचोटि खोजेमा त्यो मूर्खतापूर्ण हुनेछ । खानीमा पुगेर मसिना मसिना बालुवा चालेर सुनका कण जम्मा पारेर अन्ततः सुनको ढिक्का बनाइन्छ । जसरी देवकोटालाई एक दुइ कृतिले मात्र उनलाई जोख्न मिल्दैन त्यसरी नै कुनै एक कृतिले स्रष्टाको सम्पूर्णता झल्काउँदैन । होला, कोही मानिस एउटै कृतिले पनि प्रसिद्ध भए होलान् कोही थोरै लेखेर पनि नामी भए होलान् ती केवल भाग्यमानी हुन् वा संयोग मात्र हुन् जो दिगो नरहन सक्छन् ।

के सिर्जनाको सीमा हुन्छ ? के लेख्नु भनेको नाम वा दाम कमाउनलाई मात्र हो ? के आफूले भोगेका अनुभव र अनुभूति अभिब्यक्त गर्ने कोटा हुन्छ ? मेरो लागि साहित्यक्षेत्रमा वा कलाजगतमा लाग्नु भनेको साहित्यको निस्वार्थ सेवा र कलाको पवित्र साधना हो । यसमा सेवारत रहँदार् इश्वरको नजिक पुगिन्छ भन्ने चाहिँ थाहा थियो तर दानवीय प्रवृत्तिको पनि सामना गर्नुपर्ने रहेछ । हुन त इष्र्या मानवीय गुण हो यसलाई सकारात्मक ढंगले प्रयोग गरे उन्नति र नकारात्मक ढंगले उपयोग गरे अवनति हुन्छ । मेरो लेखनप्रति कतिपयले डाह भएको कुरा मेरै अघि अभिब्यक्त गरेका छन् । कोही धेरै लेखेर अथवा किताबका चाङ थपेर केही हुँदैन भनेर पनि उपदेश दिन्छन् । साहित्य, कलाको सेवा एवम् समाज र देशको सेवा गरेर मैले कतिपय पुरस्कार, सम्मान पाएँ तर त्यो नै मेरो लक्ष्य कदापि थिएन । यसैले यति पुरस्कार पाएपछि वा उति कृति लेखे पछि मेरो साहित्य र कलासाधनाप्रतिको तिर्सना किन मेटिएन भनेर ममाथि प्रश्न गर्ने अधिकार मेरो त छैन भने अरु कसैले त्यो अधिकार नचिताए हुन्छ । यसमा मलाइ विचलित गर्न गराउन खोज्ने आग्रह वा पूर्वाग्रहलाई “नो थेंङ्क्स” धन्यवाद दिनेछु । किनभने म आफुलाई कुनै आग्रह र पूर्वाग्रहभन्दा माथि बसेर लेख्न खोज्ने, सिर्जना र सेवामा समर्पित सर्जक ठान्दछु ।

अन्तमा, कसैका सिर्जनामा बरु सुन्दरता भेटिए त्यो ग्रहण गरेर आफू अनि जीवन र जगतलाई पनि सुन्दर बनाउने प्रयत्न गरौं । हालै अरब मरुभूमिलाइ आफ्नो कर्मभूमि बनाउने कुनै एक अभागी भनौं या भाग्यमानी नेपाली जेहोस् एक कविसित मेरो सर्म्पर्क भयो फेसबुकमार्फत् । त्यहाँ उनको दिनचर्या, भुक्तमानी र दशासहितका उनका टीकाटिप्पणी र रचनाहरूले मलाइ उनी नजिक पुर्‍यायो । उनका शब्दहरु टेक्दै भाव छिचोल्दै म उनको रेगिस्तानमा पुगें । त्यहाँ उनका पीडालाई मैले पनि अनुभूत गरें । उता उनको रेगिस्तान र यता मेरो बासस्थानबीचको दूरी केलाउँदै कोरें एउटा कविता- “रेगिस्तान” । के अब म यस्ता संवेदनशीलता छाम्न छोडौं ? भावना अभिव्यक्त गर्न रोकौं ? या कविता लेख्न छाडौं ? माफ गर्नुस् महाशय ! यो असम्भव छ बिलकुलै असम्भव । नपत्याए छाम यो मेरो हृदयको ढुकढुकीमा उम्रने सिर्जनाहरू जो कसैका कर्केनजरले ओइलाउने छैनन् । कुनै तानाशाही प्रवृत्तिको इशारामा चल्ने वा रोकिने छैनन्- यी हात र कलमहरू ।

श्रावण २५, २०६८ बिराटनगर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.