विष्टबाको सुन्तला र संगीत (संस्मरण) नवराज सुब्बा

बाल्यकाल विद्यालयमा साथीभाईको लहैलहैमा लागेर मैले अनगिन्ति उपद्रो गरेकोछु । सुन्तला पाक्ने मौसममा चाहे बोटमा झुलेको होस् वा सडकमा बेच्न सजाइएका सुन्तला हुन्, सुन्तला देख्यो कि मलाई अतीतको तीतो तर अहिले सम्झँदा मीठो लाग्ने एउटा घटनाको याद आइरहन्छ ।

कुरो त्यस्तै २०३० सालतिरको होला जुनबेला म १०/१२ वर्षको थिएँ र सरस्वती माद्यमिक विद्यालय हाम्पाङमा ६/७ कक्षामा पढ्दै थिएँ । हुन त त्यसबेला सुन्तला गाउँमा किन्ने बेच्ने त्यति चलन थिएन । प्रायः हाटमेलामा मात्र सुन्तला किनबेच हुन्थ्यो । तर हाम्रो विद्यालयकै अलि माथि कामाहाङ लिम्बूको ठूलो सुन्तलाबारी थियो । त्यसबेला साठी नाघेका जस्ता देखिने उनी आफूलाई सूर्ती, मसला किन्न अलिअलि सुन्तला घरमा आउने विद्यार्थीहरूलाई बेच्दथे । त्यसबेला सुन्तला रुपैयाको तीसदेखि चालिस दाना पाइन्थ्यो, त्यसमा अझ एकदुई दाना थप पनि पाइन्थ्यो ।

मंसिर महिना लागेपछि प्रायः दिनहुँ सुन्तला खाइन्थ्यो । एकदिन टिफिनमा सुन्तला खान भ्याइएन । हाङपाङ हुलाक भवन बनेको थियो तर ठेकेदारले सरकारलाई हस्तान्तरण नभएकोले होला भवन प्रयोगविहीन अवस्थामा थियो । जुन भवन मेरो घर, विद्यालयबाट एकदमै नजिकै थियो । घरमा भेला भएर बेलुका पढ्नु भन्दा अलि बेग्लै घरमा स्वतन्त्रपूर्वक पढ्ने हेतुले हामी ३/४ जना विद्याथीहरू घरमा खाना खाएर राती भेला भएर त्यहाँ पढ्ने गर्दथ्यौं । उमेरका हिसाबले मेरा तीनैजना साथीहरू म भन्दा अलि छिप्पिएका थिए । किशोरकुमार विष्ट जसलाई भुसतिघ्रे भनेर गाली पनि गरिन्थ्यो हेर्दैमा पहलमान जस्ता, केटी जिस्काउन पछि नपर्ने, गुरुसंग विवाद गर्न नहट्ने तर सटफूट र फूटबलका राम्रा खेलाडी थिए । यति मात्र हैन उनको घरमा हलैंण्डमा बनेको ६ ब्याट्रि लाग्ने फिलिप्स रेडियो पनि थियो । रेडियोमा बज्ने नयाँ नयाँ गीत उनी टिप्दथे र हामीलाई सुनाउने गर्दथे । अर्का थिए दिलबहादुर लिम्बू साइनोले मेरा काका, कक्षामा पनि मभन्दा वरिष्ठ थिए तर उनी प्रायः हाटबजार नटुटाउने र रातभरी धान नाच्ने अनि कक्षामा निदाउन खोज्ने तर फूटबल, भलिबलमा अग्रणी थिए । अनि अर्का थिए मभन्दा एककक्षा वरिष्ठ पराशर रिजाल उनीसँग मेरो स्वभाव अलि मिल्दथ्यो । सोझो, कम बोल्ने तर मजाले जिस्कने जे भने पनि मान्ने कहिल्यै नरिसाउने भएकाले पछि मैले उनीसित मित पनि लगाएँ । हामीलाई नजानेको सिकाइदेओ हामी अलिअलि खानपीन गराउँला यस्तै लोभ देखएर हो कि कसरी हो ती २ जना बलिया साथीहरूको वीचमा हामी फूच्चे दुई भाईहरू सम्झौता गरेर बस्यौं । ती दुई भाई जतिसुकै बलवान भए पनि सहपाठी किशोरकुमारले मबाट केही सिक्नुपर्ने भएकोले होला मसित नम्र व्यवहार गर्दथ्यो ।

एकदिन पढ्दापढ्दै रातको १०/११ बज्यो । हामीलाई तिर्खा लाग्यो । खानेपानीको ब्यवस्था कोठामा थिएन । राती कसैलाई उठाएर पानी खाने आँट पनि आएन । दिउँसो सुन्तला खान नपाएको कुरा पनि भरखरै गरिएको थियो । यत्तिकैमा किशोरले भन्यो — “हिंड मसित तिमीहरूलाई म सुन्तला खुवाउँछु !” यसअघि पनि कहिलेकाहिँ किशोरले कुखुराको अण्डा उसिनेर बाटामा लुकाएर राख्थ्यो र हिंड मसित भनेर लगेर उसिनेको अण्डा खुवाउँथ्यो । नून नपुगेर उसिनेका अण्डा खाँदा निकैचोटि अड्केर निक्कै अप्ठेरोमा परेका थियौं । यस्तै होला भनेर हामी बाँकी तीनै भाईले सहमति जनायौं र उनको पछि पछि लाग्यौं । “नडराइकन मेरो पछिपछि आओ है !” भन्दै किशोरकुमार र दिलबहादुर अघिअघि अनि म र पराशर पछिपछि हिड्दै भरखरै बारीमा कोदोे काटिएको नलका ठूटाले खुट्टा घोच्दै गरेता पनि हामी उत्सुकतापूर्वक अलिअलि जूनको टहकमा उनीहरूको पछिपछि लाग्यौं । बेलाबेलामा हामी गुनगुन बोलेको बेलामा “चूप चूप” भनेर हामीलाई चोरजस्तै सुस्तरी हिंडाइयो ।
हिंड्दाहिंड्दै जब हामी हाम्रो छिमेकी विष्टबाको सुन्तलाबारीनेर पुग्यौं मलाई अलि शंका र डर पनि लाग्यो । तापनि विष्टबा र किशोरकुमार नातेदार भएकाले ठूलोबाआमासित मागेर कतै लुकाइ राखेको होला कि भन्ने पनि लाग्यो । पराशर र मलाई चर्पीको छेऊनेर बसि राख्ने आदेश दिएर उनीहरू अर्थात् किशोरकुमार र दिलबहादुर टर्च बोकेर नबालिकनै अँध्यारोमा अलप भए । अलि पछि सुन्तलाको बोटमा टर्च पिलिकपिलिक बलेको देखियो । तब मात्र पत्ता लाग्यो कि यी बजियाहरू त सुन्तला चोर्न पो गएछन् । तब मात्र हामी सुन्तला चोर्न अर्काको बारीमा छिरेका रहेछौं भन्ने पक्का भयो । हामी जाडो र डर दुवैले भित्रबाहिर काप्न थाल्यौं । यत्तिकैमा विष्टबाको घरभित्र बत्ती बलेको ढोकाको च्यापबाट देखियो । हामी सशंकित भयौं । एकछिन पछि भित्र गड्याङ गर्दै चुक्कुल खोलेको पनि सुनियो । अब भने डरले हाम्रो सातो उड्यो । उता बोटमा हे¥यो साथीहरू बोटमैं सुन्तला टिप्न ब्यस्त छन् । बोट घरको छेऊमै छ । सुन्तलाबोट तिरकै ढोका पनि केहीबेरमा खुल्यो । अब भने म र पराशर भाग्यौं खोल्सातिर कोदोघारी माड्दै उफ्रदै । हतारमा पराशरको त एउटा चप्पलै खुस्केछ कोदोबारीमा । भाग्दाभाग्दै सोच्यौं दुईजना साथीहरू कुमार र बहादुर पनि हामीजस्तै भागे होलान् । खोल्साछेऊको बाटोमा पुगेपछि हामीले बल्ल लामो सास फे¥यौं र विरालोको चालमा उभों डेरातिर लाग्यौं । हामी डेरामा पुगेको केहीबेरमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै दुई साथीहरु दौरा र कमिजको फेरमा सुन्तला लिएर आइपुगे ।
सुन्तला तास्दै कपाकप खाँदै हामी मरिमरि हाँस्न थाल्यौं । किशोरकुमार भन्दै थिए “मलाई सुन्तला बोक्न अप्ठेरो भइरराखेको थियो त्यसैले ए ! थाप थाप भनेर भनेर टुक्रुक्क बसेको मान्छेलाई तिमीहरू होलाऊ भन्ठानेर बोलाउँछु त बोल्दैनौ, यसो टर्च बालेर हेरेको त विष्टबा पो दिसा गर्न बसेका रहेछन्, बाफ रे ! टाप कस्यौं नि हौ ! त्यहाँबाट खै कसरी आइपुगियो पत्तै भएन” भनेर लामो सास ताने पछि हाम्रो हाँसोको फोहरा झन् फुटेको थियो ।

हाम्रो चोरी पक्राउ हुने क्रम यसरी त्यहीँबाटै सुरु भएको हामीलाई त्यसबेला थाहा भएन । हामी त सकुसल फर्कियौं भन्ठानेर विजयमिश्रित हाँसो गुन्जाएर गफ हाँकि रह्यौं हुलाकघरको एउटा कोठामा रातको एकदुई बजेसम्म । त्यो दिन तिथीको हिसाबले पन्चमी परेको रहेछ । हरेक पन्चमीको दिन तल मिचिरिङमा पंचमी बजार लाग्दथ्यो र कहिलेकाहिँ हाम्रो घरमा दोकान भएकाले राति बूढापाका भेला भएर जूवा पनि खेल्ने गर्दथे । विष्टबा जूवा खेल्न सारै रुचाउँथे । राती हल्लाखल्ला सुनेर कतै जुवा पो चल्यो कि भन्दै दिसापिसाव गरिसके पछि उनी दोकानतिर उँभो उक्लिएका रहेछन् । दोकानघरमा पुग्न अघि बाटैमा हामी बसेको हुलाकघर पर्दथ्यो । दोकानघरमा जूवा नचलेको देखेपछि फर्कने बेलामा हाम्रो कोठामा बत्ति बलेको र हल्लाखल्ला पनि सुनेर झ्यालबाट चियाउँदा खेरी पो सुन्तलाको राग ह्वास्सै नाकमा आए पछि विष्टबाले केहीबेर अघि मुखमा टर्च देखाएको घटना सम्झेछन् र आफ्नै घरको सुन्तला पो चोरेर खाएछन् कि भनेर अनुमान गरेछन् ।

त्यस्को भोलिपल्ट बिहान त्यस्तै आठबजेतिर होला, मलाई हेडसर गणेशबहादुर राईले वहाँको क्वार्टरमा बोलाउनु भयो । डरले लुरुलुरु गएँ । कोठामा छिर्नासाथ देखें विष्टबा हातमा सधै बोक्ने डण्ठेलौरी तेस्र्याएर बसेका छन् । हेडसरले मलाई पहिले सोध्नुभो — “भन् हिजो राति के के ग¥यौ, को को थियौ ?” म डरले बोल्न नसक्ने भैसेको थिएँ । रोउँ रोउँ लागेर आयो । मलाई फकाएर सोध्न थालियो “नढाँटीकन भन्, तँ सोझो र इमान्दार छस् भनेर तलाई नै सोधेको हो, भनिस् भने केही पनि सजायँ हुँदैन” भनेर धेरै सम्झाए पछि अलिअलि गरेर सबै बताइदिएँ । विष्टबा अरूसित भन्दा आफ्नै भतिज किशोरकुमारसित आक्रोसित हुनुभो र झ्वाँक्किदै हेडसरको क्वार्टरबाट बाहिरिनु भयो । यसरी चोरीको सबै अपजस किशोरकुमार माथि खनियो । किशोरकुमार पनि केहीदिन विद्यालय आएन पछि मधेशतिर झ¥यो । हाम्रो पनि केही दिन शिर झुक्यो । तर जन्तरेबाले मलाई कहिल्यै पनि कुदृष्टिले हेरेनन् नराम्रो व्यवहार पनि गरेनन् जबकि त्यो घटनाको दोषीमध्ये एकजना म पनि थिएँ ।
आज किशोरकुमार विष्ट जोसंग भेट नभएको लगभग चालीस वर्ष भयो । नमरी बाँचे दैवले साँचे एकदिन भेट होला । तैपनि म उनलाई सुन्तला देख्दैपिछे सम्झिन्छु । बाल्यकालमा राम्रा राम्रा नेपाली आधुनिक गीतहरू मैले उनैबाट सुनें— “म पत्थरको देवता होइन चँुडिएर जोडिने…”। अनि उनले गाएको “साइलीबरी चिया बारीमा…” बोलको गीत अझै मेरो मनमा गुन्जिरहेको छ । गाउँमा लाहुरेहरूले टेपरेकर्ड बजाउँदै हिंड्ने चलन थियो हामी टेपरेकर्डमा गीत गाउन तँछाडमछाड गर्दथ्यौं तर हरि संग्रौलाले “बचाई राख हृदयभित्र म मर्दै मर्दिन…” भन्ने दिलमाया खातीको गीत अत्यन्तै सुरिलो स्वरमा गाएर हामीलाई मंत्रमुग्घ बनाएका थिए ।

यसरी गीतसंगीतप्रतिको मेरो मोहलाई प्रगाढ बनाइदिने अतीत र अतीतका ती पात्रहरू आज म एकसाथ सम्झिरहेछु । आज विष्टबाको सुन्तला संझदा जसरी मलाई चोरी गर्दा हुने दुस्परिणामको बारेमा सचेतना गराइयो यसैगरि त्यो घटना सुन्तलाको बोक्राझैं तीतो भए पनि आज भने त्यो अतीत सुन्तलाको केस्राझैं स्वादिलो र रसिलो लाग्छ । हामी सबैबाट धेरथोर उपद्रो भयो जसको परिणाम हामी सबैले भोग्यौं यद्यपी बितेका तीतो पनि आज सुन्तलाको स्वादझैं हरेक साल ताजा र मीठो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.