बलबहादुरको कथा

यतिञ्जेल
बलेले आफ्नो अनुहार
राम्ररी नियाल्नै भ्याएको छैन
एकदिन नागरिकता बनाउँदा
फोटो खिच्ने बेलामा एकछिन
आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो
अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि
फाँटवालाले दिएको नागरिकतामा
आफ्नो फोटो सरकारी छापसितै
नारिएको देखेर मुस्कुरायो
उपरान्त उसले हाँसेको देखिएन
विचराले हाँसोस् पनि कतिबेला
भारीले सधैं थिचेको चिच्यै छ
साहुको रिनले किचेको किच्यै छ
यही झोंकमा कहिलेकाही बले
गोरुलाई चुट्नु चुट्छ र पछि
पछुताउँदै सुम्सुम्याउँछ

बलबहादुर बेलाबेला
नागरिकतामा तस्वीर दोहोर्याएर हेर्छ
कुनै नायक भन्दा कम देख्दैन आफूलाई
इतिहासका पुस्तकमा छापिएका तस्वीरझैं
सुन्दर देख्छ ऊ आफ्नो तस्वीर
तर पनि कसैलाई भन्दैन
व्यक्त गर्दैन आफ्ना भावना
बरु भीरको टुप्पोमा चढेर
भारीमा तोक्मा लाउँछ र लामो सुसेल्छ
आफू हिंडेका बाटो र नदीलाई सुनाउँछ–
हेर म यहाँसम्म आइपुगें !

आजभोलि जीऊमा
बलबहादुरको बल हराउँदै गएको छ
उसलाई आफ्नै तस्वीरले पनि गिज्याउन थालेको छ
कहिले सुन्तलीको बट्टे ऐना माग्छ र हेर्छ आफूलाई
छाया देख्छ, आँखा देख्छ, नाक देख्छ, पहेंला दाँत देख्छ
अनि मनमनै हाँस्छ र लजाउँछ आफैसित
तर कसैलाई प्रश्न गर्दैन बलबहादुर
किन विकृत भयो अनुहार
किन विरानो भयो तस्वीर
भनेर

यसरी
सगरमाथाको फेदमा
कुनैदिन ऊ जन्मियो
कथासितै हिंड्यो ब्यथासंगै बाँच्यो
आफ्नो अपूर्णतामा कैंयौं सुन्दरता देख्यो
अनि जीवनलाई अमूक सिर्जना बनायो
बाँचेर पनि ऊ अनेकपटक म¥यो तर
आखिर मरेर पनि अझैं बाँचेको छ
रोएर पनि हाँसेको छ बलबहादुर
सगरमाथा जस्तै ।

माघ १९, २०६८ विराटनगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.