हारमोनियमको नशा (संस्मरण)

हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे । मैले एक कप चिया र एक अंगालो मायाले उनलाई स्वागत गरें । हाल म आफ्नो गीतसंगीत यात्राको चर्चा गरिरहेको बेलामा एकजना उपयुक्त पात्रसित गाँसिएको एउटा मीठो संस्मरण पनि सान्दर्भिक हुन सक्ला कि ! भनेर केही कोर्दैछु ।

उप्रेतीजी हालसालै ताप्लेजुङ पुगेका रहेछन् । यात्राको विवरण मलाई सुनाउने क्रममा भावुक भएर उनले भने– “नवराजजी जब ताप्लेजुङबजारबाट मैले मेरो जन्मस्थान फटेङ्ग्रे, ढुङ्गेसाँगु र हाङपाङ हेरें तब मेरा आँखाबाट आँशु अनायास बरर झरे यार !” केहीबेर अघि हाँसेर बोलिरहेका साथीको अनुहार एकाएक गम्भीर देख्दा म पनि भावुक बनें । हामी दुवैको स्वर एकछिन् लरबरायो । उनी भन्दै थिए– “के गर्ने हामीले चिनेका त्यहाँ कोही रहेनछन् मलाई त आफ्नै गाउँठाउँ र ताप्लेजुङबजार पनि अर्कै ठाउँजस्तो बिरानो लाग्यो…” उनले यी कुरा बताइरहँदा मेरो मन भने अतीततिर डोरिइरहेको थियो ।

वि.स. २०३० सालमा उमेरका हिसाबले म १२ वर्षको थिएँ । सरस्वती माद्यमिक विद्यालयमा हामी पढ्दथ्यौं । पढाईमा म कक्षाको पहिलो विद्यार्थी भए पनि मेरा थुप्रै कमीकमजोरी थिए । मलाई बाल्यकालमा अरूको लहलहैमा लाग्ने बानी सुधार है भनेर बाआमाले पनि बेलाबेला सम्झाउनु हुन्थ्यो । मलाई कसैले अलिकति फुर्क्याए भने फुरुक्क फुर्केर जे पनि गर्न तम्सन्थें । सम्झन्छु, उसबेला मलाई हारमोनियम बाजा बजाउने रहर खूब जागेको रहेछ । स्कूलको हारमोनिय कहिलेकाहिँ बजाउन पाइन्थ्यो । तर यसले धित मर्नुको साटो अझ बढेको जस्तो लाग्दथ्यो । त्यसबेला मलाई नयाँ नयाँ गीतको धून बजाउने रहर लाग्दथ्यो ।

हारमोनियमप्रतिको मेरो यही कमजोरी बुझेर होला यिनै ओमनाथले मलाई एकपटक मजाले सुर्याएका थिए । उनले मलाई भने “साठी रुपैया बोक, एउटा पुरानो काम चल्ने हारमोनियम मिलाइदिन्छु” । उनको गाउँ ढुङ्गेसाँगु पुग्न त्यसबेला हामीलाई तीनचार घण्टा हिडेर जानु पर्दथ्यो । एकजना कामीदाईकोमा सायद कसैले मर्मत गर्न ल्याएको र त्यत्तिकै छाडेको पुरानो हारमोनियम पङ्खा प्वालैप्वाल परेको अवस्थाको रहेछ त्यसलाई यसो टालटुल गरेर जोडले दम दिंदा अलिअलि बज्ने हारमोनियम भेटियो । मेरो लागि यो पनि लाटाले भेटेको पापा जस्तै भयो अर्थात् मलाई भने त्यसले मनग्गे काम चल्ने नै भयो । उक्त हारमोनियम त्यसबेला साठी रुपैयामा किनेर पालैपालो बोकेर घर ल्याइयो । बूबालाई थाहा नदिई आमालाई पैसा मागेर लगेको थिएँ । पछि बूबाले सोध्दा ओमनाथको हारमोनियम हो बजाउन ल्याएको भनेर ढाँटे ।

धेरैदिनसम्म स्कूल छुट्टी भएपछि घरको तलामाथि चढेर एकान्तमा सानो स्वरमा हारमोनियम बजाएँ । अलिपछि अलि जान्ने भएपछि कोठैमा ल्याएर बजाएर सक्दो घन्काउन थालें । मैले हारमोनियम बजाएको हेडसर गणेशबहादुर राई जो मेरो छिमेकी पनि हुनुहुन्थ्यो वहाँले पनि सुन्नुभएछ । पछि एकदिन वहाँले मलाई साँस्कृतिक कार्यक्रमको रिहर्सल गर्दा आफूले नभ्याएको बेलामा “नवराज आज तँ हारमोनियम बजा है” भनेर रिहर्शल गर्ने आदेश दिनुभयो । यसरी मैले हारमोनियम बजाउन खुरुन्दार गरेको काम लागेछ कि भन्ने अनुभूति त्यसैबेला गरेको थिएँ । यसपछि हारमोनियम बजाउने क्रम विद्यालयमा आयोजित विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा सुरु भयो र यो क्रम मेरो क्याम्पस जीवनसम्म चल्यो ।

जब किबोर्डको चलन आयो तब मैले पनि एउटा सानो किबोर्ड पनि किनें र बेलाबेला बजाएँ । तर २०३१ सालतिर मेरा फुपाजुले हङकङबाट ल्याइदिनु भएको चाइनीज कापोक गितार जसलाई म जता जता सरुवा भए पनि सँगै लिएर जान्थे । एक दिन किरा लागेर भित्रभित्रै गितारको काठ काम नलाग्ने भएर फाल्नु पर्दाको क्षण मलाई अत्यन्तै नरमाइलो लाग्यो ।

तीनदशकभन्दा लामो अवधिसम्म मलाई दुःखसुःखमा साथ दिने गितारलाई बारीमा विसर्जन गर्दा मनमनै धेरै कुरा सोचें– “के धमिराले गितार खाएजस्तै मेरो सांगीतिक आकांक्षालाई पनि समयले चकनाचुर पारेको हो त ?” यही सवालले मभित्र एउटा शक्तिको जन्म दियो । गीति एल्बम निकालेर मेरो पुरानो सांगीतिक आकांक्षा तथा रहरहरू पूरा गर्ने जोश र जाँगर चल्न थाल्यो । एकदिन विर्तामोड र काकडभित्तामा फेरि नयाँ हारमोनियम, गितार र मादल किनें । अनि फूर्सदमा सांगीतिक सिर्जनामा डुब्दै अलिअलि रियाज गर्न थालें ।

जुन बेला मेरो स्वरमा ताजापन, युवापन र जोश थियो त्यसबेला मसित उही थोत्रो हारमोनियम थियो र आज मसित नयाँ हारमोनियम र गितार भएको बेला मेरो स्वर भने पुरानो, थोत्रो र धोद्रो भैसकेको रहेछ । उसबेला पुरानो हारमोनियमको पङ्खा टालेर काम चलाए जस्तै यो खिया परेको घाँटीको आवाजलाई आज पनि टालटुल पारेर यसो गाइटोपल्दै छु । सांगीतिक साधना र सिर्जनालाई निरन्तरता दिंदैछु ।

लाग्छ, यही हारमोनियमको धून मेरो गीतिलेखन र सांगीतिक सिर्जनाको गर्भ हो, रचनाको आत्मा हो र म भित्रको आत्मबल हो । मसित गीत, संगीत, कला र साहित्यको चेतना नभएको भए सायद मेरो निम्ति यो संसार कारागार हुने थियो होला । आज मेरी पत्नीलाई मेरा के के कुरा मन पर्छन् त्यो त म भन्न सक्दिन तर उनलाई मैले हारमोनियम बजाएको र गाएको असाध्यै मनपर्छ, त्यो कुरा पटक पटक उनले मलाई भनेकि पनि छिन् । कहिलेकाहीँ घरमा उनको फर्मायस पूरा गर्छु, कहिले आफ्नै रहर पूरा गर्छु । आम श्रोतामा भने मेरो स्वर नपुगे पनि अन्य कलाकारको सहयोगमा मेरा भावनालाई सांगीतिक चेतना घोलेर पस्कने क्रममा नै छु र यसमा म जानीनजानी बाल्यकालदेखि नै लागेको रहेछु, जस्तो लाग्छ ।

हामीले कल्पना गरेको स्वर्गको परिकल्पना योजनाकारले नभई कुनै साहित्यकार वा कलाकारले गरेको हुनुपर्छ । कुनै वैंशालु युवति जसरी श्रृङ्गार गर्दा ऐनामा उभिएर आफैलाई हेरेर दङ्ग पर्छिन् उसरी नै यो उमेरमा म कहिले काहिँ आफ्नै सिर्जनाहरूको बीचमा आफूलाई पनि देख्छु र दङ्ग पर्छु । यसबेला एउटा भाव आउँछ– आहा ! गीतसंगीत, आहा ! कला साहित्य ! म तिमीसितै बाँकी जिन्दगी पनि बिताउन चाहन्छु ।

चैत्र २०६८ विराटनगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.