गीतको माया (अनुभूति) नवराज सुब्बा

गीत लेख्नुको आनन्द वा गीत सुन्नुको आनन्दको मात्र कुरा गरियो । अब गीत लेख्नुको पीडा पनि कोट्याँउछु है !

निकै वर्ष अघि विराटनगरको एकजना साहित्यकारले मसित एउटा गीत मागे— कुनै एक बालकलाकारको एल्बम निर्माणको लागि । मैले द्वन्दकालीन अवस्थामा बालबालिकाहरूद्वारा विद्यालयलाई शान्तिक्षेत्र बनाइयोस्, कृपया खेलमैदान परेडमैदान नबनाइओस् भन्ने आव्हान भएको बालगीत उनलाई दिएँ ।

केही वर्ष अघि एक बालकलाकारको एल्बम इटहरीमा विमोचन भएको समाचार सुनें । जसले अघि मलाई गीत मागेका थिए गीतकारहरु मध्ये उनको नाम सुनें तर मेरो आएन अर्थात् त्यस एल्बममा मेरो बालगीत परेन । विस्तारै त्यो कुरा मैले थाहा पाएँ तर मैले उनलाई सोधिन— मेरो बालगीत एल्बममा प¥यो, परेन वा किन परेन भनेर । उनले पनि बालगीत एल्बममा परे नपरेको जानकारी मलाई दिन आवश्यक सम्झेनन् । सबै कुरा मैले मनैमा राखें यतिञ्जेल ।

एकदिन इटहरीको रिभ्स डिजिटल स्टूडियोमा कुनै गीत रेकर्डिङको सिलसिलामा पुगें । रेकर्डिस्ट धिरज श्रेष्ठले मलाई भन्नुभो— “खै सरको हो कि कस्को हो एउटा गीतको डमी मसित त्यसै अलपत्र परेको छ ।” मैले “खै सुनौं त !” भनें । कम्प्युटरमा रहेको डमी मेरै बालगीतको डमी रहेछ । संगीतकार भाई एकजना भुटानी शरणार्थी रहेछन् जो अहिले अमेरिका गइसकेछन् । कुनै दिन रेकर्ड गर्न परे तपाइसितै गराउँला भनेर मैले त्यो संगीतको डमी कपी गरिदिन उनलाई अनुरोध गरें र त्यो डमी हात पारें । जुन गीत र संगीत अहिले मसित सुरक्षित छ ।

आज विहान अचानक मणिकमल क्षेत्री दाईले फोन गर्नुभयो । मैले हिजो भेटमा ‘सहिदलाई सलाम’ पुस्तक वहाँलाई उपहारस्वरुप दिएको थिएँ । त्यसको कुनै गीतमा संगीत गर्नलाई अनुरोध गरेको थिएन । मैले हिजो यत्ति चाहिँ भनेको थिएँ— “दाईसित सांगीतिक सहयात्रा गर्ने इच्छा छ” यसो भन्दा वहाँ अत्यन्तै सकारात्मक र उत्साही देखिनु भएको थियो । आज विहान एक्कासी मसंग वहाँले त्यस गीतसंग्रह भित्रका बालगीतलाई संगीत गर्ने अनुमति मसित माग्नु भयो । मैले वहाँलाई तत्काल सहर्ष अनुमति र शुभकामना दिएँ ।

मैले लेखेका धेरै गीतको भीडबाट मलाई एउटा गीतले घरिघरि घोच्छ । गीतको स्थायी दुई हरफ दोहो¥याउँदा मलाई सारै आनन्द आउँछ । सोच्दा कताकता लाग्छ यो मेरो मात्र हैन म जस्ता धेरैको आत्मा हो यो गीतको बोल । वास्तवमा गीत सामान्य छ तर मेरो लागि विशेष छ । गीतबारे अलिकति छनक मैले फेसबुकमा दिएक छु । यसलाई अझै केही समय म मेरै कम्प्यूटरमा मात्र सीमित राख्न चाहन्छु । यसका साथै आजकल म यो गीतको संगीत गर्ने भरपर्दो संगीतकार र मेरो मन छुने संगीतको खोजीमा छु ।

यद्यपि मलाई धेरैले गीत माग्छन् तर म माग्ने वित्तिकै गीत दिन उत्ति हतार गर्दिन । हुन त रहर हुँदाहुँदै पनि सन्तानस्वरुप मेरो छोरी भएनन् । छोरी हुँदाको आनन्द र छोरी हुर्कदा वा परायघर दिंदाको पीडा प्रत्यक्षरूपमा मलाई अनुभूति छैन । तापनि मेरो गीतरचना कसैलाई दिंदा आफ्नो सन्तान अर्थात् छोरी नै कसैलाई दिए जस्तो लाग्छ । र चिन्ता अनि कौतुहल दुवै जाग्छ कतै छोरीलाई उचित स्याहार, माया र इज्जत मिल्ने हो कि होइन भनेर । जसरी मेरो एउटा बालगीतले कुनै स्टूडियोमा डम्पिङ भएर बस्नु परेको थियो त्यस्तो नियति मेरा अन्य गीतरचनाले भोग्न नपरोस् ।

(बैसाख १०, २०६९ विराटनगर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.