साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा (मधु पोखरेल)

पृष्ठभूमि
वि.सं. २०५३/५४ सालतिर हामी एउटै संगठनभित्र थियौं– म चाहिं बिराटनगरमा, नवराज सुब्बा सायद धनकुटामा । क्षेत्रीय गोष्ठीहरूमा, सभा-सम्मेलनहरूमा भेट हुन्थ्यो । त्यतिबेलाको क्षणिक भेटहरूले यति गाढा र घनिष्टताको आकार ग्रहण गर्ला भन्ने कहाँ थाहा थियो र ! तर भयो यस्तै । अन्यन्त शालीन, मृदुभाषी र गम्भीर व्यक्तित्व नवराज सुब्बा । साहित्य र संगीतप्रतिको अभिरुचिले नै हामी दुईलाई यति नजिक पारेझै लाग्छ । सायद २/४ भेटमा नै साहित्यप्रतिको झुकाव र केही सामग्री तैयार गरिसकेको जानकारी प्राप्त भयो । त्यसबेला म मेरो स्वास्थ्य क्षेत्र छोडेर स्थानीय विकास अन्तर्गत विराटनगरमा कार्यरत थिएँ र नवराजजी पनि जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखमा विराटनगर नै आएका थिए । केही वर्षको विछोड पछि पुनः हाम्रो मिलन भयो । वि.सं २०६०/६१ तिर भेटका क्रममा साहित्यप्रतिको उनको झुकाव र म पनि केही दशकदेखि साहित्यिक अनुरागी भै केही कृति प्रकाशित गरिसकेको र नवराजजीले पनि कविता/गीतहरू लेखि सकेको तर छपाउन मात्र नसकेको अवस्था रहेको बताउँदा साहित्यिक गोष्ठीहरूमा भाग लिन र कृति प्रकाशनका लागि प्रेरणा त हैन मित्रवत् सुझाव सल्लाह दिएको सम्झना अझै ताजै छ ।

नवराज सुब्बा- मेरो जानकारीमा नेपाली साहित्यिक धरातलमा सायद दोश्रो हुन पुगेको व्यक्ति हुन् कि जस्तो लाग्छ । साहित्यिक हिसाबले पहिलो व्यक्तित्व, पूर्वाञ्चलबाटै उदाएका डबल सुब्बाका सुपुत्र तिलविक्रम नेम्बाङ अर्थात बैरागी काइँला । जसको छत्र–छायाँमा आज नेपाली साहित्यको धरातल उभिएको छ । जसलाई हामी साहित्यका अनुरागीहरूले नेपाली भाषा र साहित्यको उन्नयनका लागि बलियो आधार स्तम्भ मानेका छौ । त्यसरी नै राजनैतिक पृष्ठभूमिमा सुवाशचन्द्र नेम्वाङ, जसलाई हामी ३ करोड नेपालीको भाग्य र भविष्यको निर्णायक मानेका छौ र तेश्रो व्यक्तिको रुपमा नेपाली जनताको स्वास्थ्य र दीर्घजीवनको जिम्मेवारी काँधमा बोकेर पनि मानवीय भावना र स्वच्छ एवं स्वस्थ्य नेपाल निर्माणका लागि अहोरात्र लागि पर्ने साहित्यिक व्यक्तित्व- नवराज सुब्बा ।

जसरी उच्च एवं सम्भ्रान्तवर्गले मात्र आफ्नो वर्चस्व कायम राख्दै आएको साहित्य क्षेत्रमा आफ्नो एकछत्र प्रभूत्व कायम गर्दै आएको उच्च वर्गको धरातललाई पहिलो धक्का दिने बैरागी काइँला भए भने मोफसलमा बसेर पनि लावण्यमय नेपालदेशको साहित्यिक सत्ताका दावेदार देखिएका छन्- २१औं शताब्दीका नवराज सुब्बा । जसरी स्वस्थानी व्रतकथामा बर्णित मोफसलका नवराज ब्राह्मण क्षेत्री वंशले मात्र राजा हुन पाइने परम्परालाई तोडेर लावण्यदेशका राज्यसत्ता हात पार्न सफल भए त्यसरी नै हाम्रा नवराज सुब्बा पनि हाम्रो लावण्यमय देशको साहित्यिक सत्तामा आफ्नो दर्हो उपस्थिति कायम राख्न सक्नेछन् भन्ने संकेत देखिन्छ ।

हुन त काइँला पनि मोफसलकै उपज हुन् र पनि सत्ता कब्जा गर्न त राजधानी नै धाउनु पर्ने नियतिले उनलाई पनि छोडेन । मोफसलमै प्रतिष्पर्धा गरेरै राजधानी भित्रिएपछि नै सुवास नेम्वाङ्ग पनि राजनैतिक सत्ताको उच्च ओहोदामा पुग्न सफल भए । तर… यी नवराज मोफसलमै अझै छन् र साहित्यिक एवं साङ्गीतिक सत्ता कब्जा गर्नु परेको छैन र पनि संभ्रान्त एवं उच्च वर्गको वर्चस्वलाई पछि पार्दै लावण्यमय देश नेपालको साहित्यिक सत्ताको माला आफसे आफ उनको उनको गलामा आइपुगेको अनुभूति भइरहेको छ ।

नवराज सुब्बा शालिनताका प्रतिमूर्ति, मृदुभाषी, एवं मैत्रीपूर्ण व्यवहारका धरोहर । यस्ता व्यक्तित्वका बारेमा कलम चलाउन पाउँदा आफैलाई अपूर्व आनन्दको अनुभूति भइरहेको छ । यसरी नवराजका विशिष्टतालाई स्वैरकल्पनाले मात्र अथवा कुनै निहित स्वार्थले मात्र उचालेको भान पर्न सक्तछ( यतिखेर पाठकहरूमा । किन र के कारणले भन्ने थुप्रै प्रश्नहरूको झटारो पनि बज्रन सक्छ- म माथि । यसको समुचित जवाफ दिनै पर्दछ, नदिने हो भने नवराज सुब्बाका बारेमा मैले लेख्ने आधार मभित्र सुरक्षित रहन सक्तैन र एउटा स्रष्टाले अर्को स्रष्टाका बारेमा फूलबुट्टा भर्न पनि किमार्थ सुहाउँदैन ।

माथि नै उल्लेख गरे वि.सं. २०६१/६२ सम्म नवराजका कुनै कृति पाठक सामु पुग्न सकेका थिएनन् । तर … उनीभित्र ज्वारभाटाझैं उम्लिएका अनेकौं संवेदनाका ज्वालामुखीहरू मानवीय मूल्य र मान्यताप्रतिका असंख्य लहरहरू एवं आफ्नो जन्मभूमि मातृभूमि र राष्ट्रियताका प्रकम्पनहरू यतिसारो मन, मुटु र मश्तिष्कमा मडराइरहेका रहेछन् भन्ने यथार्थ विगत ७ वर्ष भित्रका उनका प्रकाशित साहित्यिक, साङ्गितिक र जनस्वास्थ्य सम्बन्धी कृतिहरूले स्पष्ट पार्दछन् । उनले सर्वप्रथम जीवन मेरो शब्दकोशमा (२०६३ कविता सङ्ग्रह), मनको मझेरी (निबन्ध सङ्ग्रह- २०६४) बीच बाटोमा ब्यूँझेर (कविता सङ्गह-२०६५) देशको माया (गीति एल्वम्- २०६६), सहिदलाई सलाम (गीतसङ्ग्रह- २०६७), लुकेको रहर (गजल एल्बम- २०६७), नवराज सुब्वाको प्रतिविम्व (भाग – १ र भाग २ भिडियो), यात्रा आधा शताब्दीको (कवितासङ्ग्रह– २०६८), अमूल्य जीवन (आधुनिक गीति एल्वम- २०६८) जनस्वास्थ्य पाटा बाटा र अनुभूति (लेखसङ्ग्र्रह- २०६३), जनस्वास्थ्यका सवालहरू ( लेखसङ्ग्रह- २०६४) जस्ता झण्डै १ दर्जन कृतिहरू यति छोटो अवधिमा प्रकाशन गरी नेपाली साहित्यिकाशमा समर्पण गर्नु शान्त, सुन्दर सागरमा आएको ज्वारभाटा नै हो भन्ने मेरो ठम्याई छ । जनस्वास्थ्य जस्तो अत्यन्त संवेदनशील कार्यक्षेत्रमा तनावपूर्ण र व्यस्त जीवनलाई व्यवस्थापन गर्दे साहित्य सिर्जनामा एकलव्यको भूमिका निर्वाह गर्नु चानचुने कुरा मान्न सकिन्न ।

अब लागौं उनका कृति र योगदानका बारेमाः
१. जीवन मेरो शब्दकोशमा (२०६३) यसै कविता सङ्ग्रहबाट कवि नवराज सुब्बा साहित्यिक क्षेत्रमा पदार्पण गरेका हुन् भन्न सकिन्छ । वाणी प्रकाशन जस्तो मोफसलको साहित्य एकेडेमी भन्न सुहाउने यो प्रकाशन साहित्यको श्रीवृद्धिमा र स्तरीय साहित्य प्रकाशनमा अतुलनीय योगदान पुर्याउन समर्थ संस्थाको रुपमा परिचित छ । त्यसैले पनि यो प्रकाशन संस्था तपाई हामी सबैको साझा धरोहरको रुपमा मान्न सकिन्छ । अब संक्षेपमा कवि, गीतकार, निवन्धकार एवं गजलकार नवराज सुब्बाको कृतित्व को संदर्भमा केही परिचय दिने जमर्को गदैछु ।

१. कविता यात्रामा नवराज –
वाणी प्रकाशन, विराटनगरद्धारा प्रकाशित जीवन मेरो शब्दकोशमा उनको पहिलो कविता सङ्ग्र्रह हो । हुन त साहित्यप्रति झुकाव राख्नेहरूको प्रारम्भ नै कविताबाट हुने गर्दछ । त्यसबाट विमुख नवराज किन हुन्थे र? र तत्कालिन वातावरण पनि सायद त्यही थियो । त्यस अघिदेखि नै नवराज विद्यालय स्तरको कविता । निवन्ध प्रतियोगितामा भाग लिई विभिन्न पुरस्कार हात पार्न सफल लेखक हुन् भन्ने उनका वारेमा स्नातकोत्तर विद्यार्धी वा शोद्यार्थीहरूको शोधकार्यबाट पनि अवगत गर्न सकिन्छ । शोधपत्रको आधारमा र मेरो सान्निध्यताको धरातलमा नवराजलाई मुल्याङ्कन गर्नुपर्दा उनका साहित्यिक प्रवृतिहरूको आंकलन गर्न सकिन्छ ।

१. सामाजिक यथार्थवादी प्रवृति
२. मानवतावादी प्रवृति
३. विसङ्गति÷विकृति विरुद्धको प्रवृति
४. अस्तित्ववादी दृष्टिकोण
५. प्रकृतिप्रेम
६. जीवनवादी दृष्ट्रिकोण
७. सरल विम्वको प्रयोग
८. राष्ट्रवादी स्वर
९. प्रणय भावको उद्वोधन

माथि नै भनियो, नवराजको पनि पाठकीय दृष्टिमा कविता नै मूल प्रवृति हो । उन त विद्यालय स्तरका उनका गीत र गायन, एवं कविता झण्डै संगसंगै हुर्किएको पाइन्छ । तथापि जनसमक्ष प्राप्त उनको कृति कविता कृति नै हो । जीवन मेरो शब्दकोशमा नवराजजीले सार्वजनिक गर्नु भएको पहिलो कविता कृति हो । २०६३ को प्रारम्भमा प्रकाशित यस कविता संग्रहलाई हालका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईलाको भूमिकाले विशेष महत्व राख्दछ । कुलपति बैरागी काइँला आफ्नो भूमिकामा नवराजका कविता कृतिको यसरी मूल्याङ्कन गर्नु हुन्छ( “समय र स्थानको भिन्नताले उनका कवितामा वैभिन्यता ल्याएको भए पनि सारतत्व भने जीवन र जगतप्रति उनको चिन्तन र धारणा नै मुख्य हो भन्न सकिन्छ ।”
साँच्चै कविताकृतिको शिर्षक नै जीवन मेरो शब्दकोशमा उल्लेख हुनुले पनि मानव मात्रको वर्तमान जीवनको भोगाई, उसका जिजिविष, दृष्टि, स्वर्श, स्वाद र गन्ध अनि शब्द, भाव, स्वाद, सुवाश र धडकन नै जीवनको परिभाषा हो भन्ने कुरालाई कलात्मक र सरल रुपमा प्रस्तुत गरेका छन्( कवि नवराज सुब्बाले( आफ्नो पहिलो कविता कृतिमा । ३१ वटा लामाछोटा कविता र १६ वटा गीतहरूको सङ्गालो हो- जीवन मेरो शब्दकोशमा ।

वि.सं. २०३५ देखि २०६२ सालसम्मका सिर्जनाहरू समावेश यस पहिलो संगालोभित्र मानवीय संवेदना, जीवन र जगत प्रतिको सकारात्मक दृष्टिकोण, सामाजिक यर्थावादी विषयवस्तु, राष्ट्रप्रेम, जन्मभूमिप्रतिको अगाध माया प्रणयका शिष्ट एवं स्निग्ध स्वारहरू, हत्या, हिंसा र युद्धको विभिषिका, अनिकाल, गरिबी र अभावका चित्रहरू जस्ता समसामयिक एवं सान्दर्भिकतालाई आफ्नो कवितामा उतारेको छन्- कवि नवराज सुब्बाले । यस कृतिमा कतै मानवतावादी स्वर उरालिएको पाइन्छ कतै पूर्वी पहाडको र जन्मभूमिको प्रकृति वर्णन, कतै विकृति( विसङ्गति विरुद्धका जोशिला स्वारहरू छन् भने कतै गीत सुमधुर भाकामा प्रणयका दीपशिखाहरू पनि छन् अनि सबै भन्दा बढी उनका कविताहरूमा सामाजिक यथार्थवादी जीवन दर्शन पाइन्छ ।

त्यसपछिको दोश्रो कविता कृति हो बीच बाटोमा ब्युँझेर । मोर्डन बुक्स्द्धारा प्रकाशित यस सङ्गालोभित्र कृतिकारले २०६३ सालभित्र सिर्जना गरेका कविताहरू छन् । धेरै लामो अन्तरालपछिको यो साल कविका लागि अन्यन्त उर्वरकाल हो भन्न सकिन्छ । यो सङ्गालो प्रकाशित भएपछि यस कृतिलाई धेरै पत्रपत्रिकाले र समालोचकहरूले पनि आ(आफ्ना कलम तिखारेका छन्, दृष्टिकोण प्रस्तुत गरेका छन् । पहिलो कृतिभन्दा धेरै नै माझिएका, परिष्कृत र उच्च भाव संवेगहरूले भरिएका यो सङ्ग्रह पछि नै नवराज सुब्बाको स्थान निर्धारण भए झै लाग्दछ मलाई । सुदूरपूर्व देखि राजधानी सम्मका पत्रपत्रिका, एफ.एम. र टेलिभिजनहरूमा यस कृतिका वारेमा र स्वयम् नवराजका अन्तर्वार्ता, कविताहरू प्रकाशित, प्रशारित हुनुले पनि “बीच बाटोमा ब्युँझेर”को महत्ता र सान्दर्भिकता स्पष्ट हुन्छ ।

अझ यस सङ्ग्र्रहलाई नेपाली भाषा एवं साहित्यका धरोहर कुलपति बैरागी काईलाद्धारा लोकार्पण हुनु पनि यस सँगालोको वैशिष्ठ्य रहेको देखिन्छ भने भूमिकामा उत्तर आधुनिकता (?) का हिमायती बरिष्ट भूमिकाकार डा. गाविन्दराज भटराई आफ्नो भूमिकामा भन्नु हुन्छ “यो हो मार्जनलता लेखन ।” नवराजका कविता सिमान्तकृत, मार्जिनल जीवनका छन् (सिमान्तकृत भनेपछि मार्जिनल नभन्दा पनि हुन्थ्यो कि) छेलिएका दुःखी, वयोवृद्ध, कुष्ठरोगी, अपहेलित र निन्दितका आवाज हुन् । यो सरलताले नै धेरै नयाँ सर्जकलाई तान्ने छ, बाटो देखाउने छ, नवराजलाई राम्ररी स्थापित गराउने छ ।

त्यसैगरी यस कविताकृति माथि आफ्नो धारण यसरी ब्यक्त गर्नु हुन्छ- प्रा. बालकृष्ण पोखरेल । ‘बीच बाटोमा ब्युँझेर’ बाट थालिएर ‘गाली सराप बगाऔं’ मा पुगी समापिने यस काव्यिक पाइलोमा हामीले अचेल भोग्दै आएका राजनीतिक, सामाजिक आर्थिक, राष्ट्रिय आदि समस्याहरूलाई एक मानवतावादी कविका चस्माले हेर्नु भएको छ ।

यसरी नै यस सङ्ग्रहमा पूर्व प्राज्ञ दधिराज सुवेदी, डा.कष्णभूषण बल एवं आख्यानकार परशु प्रधान लगायतले आफ्नो छोटो एवं सटिक मूल्याङ्कन गर्नु भएको छ । त्यतिमात्र होइन उनको यस कृतिका वारेमा अध्ययनको आलोकमा बीच बाटोमा ब्युँझेर भन्ने समालोचनात्मक कृतिमा २१ जना समीक्षक एवं प्रशंसकहरूबाट यस कृतिका वारेमा आ आफ्ना धारणा वा दृष्टिकोण प्रस्तुत गरे । लेखक/सम्पादक डा. कृष्ण प्रसाद दाहालद्धारा लिखित तथा संकलित यस पुस्तकले पनि यस कविताकृतिको मूल्याङ्कन एवं गरिमा प्रस्तुत गरेको स्पष्ट देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईला, प्राज्ञ डा. बेञ्जु शर्मा, डा. तुलसी प्रसाद भटराई, डा. कृष्ण प्रसाद दाहाल, डा. बद्रीविशाल पोखरेल, शैलेन्द्र साकार लगायतले यस कविता कृतिका वारेमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्नु भएको छ ।

यसरी यस सङ्ग्रहले कवि नवराज सुब्बालाई नेपाली साहित्यको धरातलमा आफ्नो पहिचान कायम गर्न समर्थ तुल्याएको छ भन्न समिन्छ । सरलतामा पनि भाव गाम्भिर्यता, बोधगम्यता भित्र पनि कलात्मकता आधुनिकता भित्र पनि आफ्नो जननी र जन्म भूमिप्रतिको आन्तरिक प्रगाढता वैयक्तिकता विरुद्धको पाँच म अर्थात हामी , माटो वा देश, मानवता वा आत्मिकता, मृत्यू वा युद्ध वा द्वन्द्व र पाचौ ‘म’ ले जीवन र जगतलाई सधै माथि उचाल्ने प्रयत्न यस्तो मार्गदर्शन बोकेर नेपाली भाष एवं साहित्यको उन्नयनमा लागिपर्ने कवि नवराजको लेखनीले पक्कै पनि कुनै दिन आफ्नो लक्ष्य भेदन गर्न समर्थ हुनेछ भनेर पत्याउन सकिन्छ ।

हुन त कवि नवराजको माइलो सन्तानका रुपमा मनको भझेरी निबन्ध सङ्ग्रहले पनि ख्याति नपाएको होइन । तर पनि कविताको क्षेत्रमा बीच बाटोमा ब्युँझेर ले जुन उँचाइ प्राप्त गर्न समर्थ भयो त्यसलाई कविको बैशिष्ठ्य नै मान्नु पर्ने मेरो ठम्याई छ ।

जीवन मेरो शब्दकोशमा प्रकाशित हुँदा नै पाठकहरूका जिज्ञाशाहरू ओइरिए । तपाई आजसम्म कहाँ हराउनु भएको थियो ? यस्तो अनेको प्रश्नहरूको जवाफका रुपमा यस संङ्ग्रहको आफ्नो भनाइमा कवि प्रष्ट्याउँछन् एकलव्यको नियति जस्तै मेरो साहित्यिक साधनामा म कुनैबेला स्व. गोपाल प्रसाद रिमालको एक युगमा एक दिन आउँछ” भन्ने आन्मोक्तिसितै आसाको दियो बाल्दै थिएँ । मैले लेखे, राखे, कुनै दिन यिनै सिर्जनालाई सबै सामु प्रकाशित गर्ने उपयुक्त दिनको प्रतिक्षा गर्दै ।

स्वस्थ्य शरिरमा नै स्वास्थ दिमाग रहन्छ भन्ने आफ्नो कर्मक्षेत्र नेपाली जनताको स्वास्थ्यसंग सम्बन्धित हुँदाहुँदै पनि, प्राविधिक क्षेत्र नै आफ्नो हातमुख जोर्ने साध्य हुँदा पनि आफ्नो कर्मक्षेत्रका अनुभव र अनुभूतिलाई, सामाजिक क्षेत्रमा देखिएका विकृति, विसङ्गतिलाई र जातिगत एवं रङ्गभेद र विपन्न र संभ्रान्तबीचको विभेदलाई, आफ्नो जन्मदाता र जन्मभूमिलाई, नयाँ नेपालको भविष्यलाई र गाउँ र शहरका कथा व्यथालाई नै आफ्नो कविता ठानेका छन्, आफ्नो सिर्जना मानेका छन् । विभिन्न प्रतीक र बिम्वहरूलाई सौदर्यात्मक जलपले सिंगारेर पनि देशको यथार्थ बोलेका छन्, जनताका पीडा र आकांक्षा ओकलेका छन् र सामाजिक धरातलमा उभिएर उनले नयाँ नेपालको निर्माण खोजेको छन् आफ्ना कविताहरूमा ।

उनका यस सङग्रहभित्रका प्रत्येक कविताहरूको केस्राकेस्रा केलाउन मेरो अभिष्ट होइन । कतिपय कविताहरू सर्जकका भाव गाम्र्भियता र उद्देश्यलाई जस्ताको तस्तै सम्बोधन गर्न सायद कुनै पनि टिप्पणीकार समर्थ हुन्छ जस्तो लाग्दैन । तसर्थ यस आलेखमा कवि नवराज सुब्बाको अलिकति प्रवृतिको, अलिकति भावनाको र केही उनले नेपाली कविता साहित्यमा  पुर्याएको योगदनको मात्र चर्चा गर्ने जमर्कै गरे झै लाग्दछ, मलाई ।

यतिले मात्र पनि नवराजको कलम रोकिएन नरोकिनु नै तपाई हामी साहित्यानुरागीले दिनु पर्ने शुभकामना ठानेको छु मैले । कविता विधामा उनको अर्को साहित्यिक कृति वा कविता कृति जन्मियो यात्रा आधा शताब्दीको । सायद अहिलेसम्मको सबै भन्दा कान्छो र जीवनको आधा शताब्दी पार गरिसके पछि वि.स. २०६६/०६७ भित्र रचित कवितालाई यस सँगालोभित्र सजाएका छन् कविले । ५० वटा कविताको यो विटोले नवराजको कविता यात्रामा थप एक पाइलो अघि बढेको पाइन्छ । द्वन्द्व पीडित बालबालिकाहरूमा समर्पित यस संङ्ग्रहले पनि आफ्नो विशिष्ट आयतन ओगटेको छ ।

कविको अर्धशताब्दी उमेरले सायद कविलाई उत्तरार्धको अनुभूति भयो क्यार ! र नै अब त थोरै समयमा धेरै काम गर्ने बाँकी छ भन्ने अन्तर चेतले घच्घच्याएर यो कृति पाठक सामु आउन प्रेरित गरे झै लाग्यो यात्रा आधा शताब्दीको पुस्तकमा प्रकाशित सङ्ग्रको पहिलो कविता नै विम्वात्मक शैलीमा छ । नेपाली जनताको प्रतिनिधित्व गर्दै कविता अघि बढेको छ । नेपाली जनताको चाहना र भावना फगत सपनामा मात्र केन्द्रित छ । तर… विपना… ठ्याक्कै उल्छो भइदिएको छ । आजको नेपाल जस्तो र जनता उल्लु वा लाटोकोसेरो बन्न बाध्य छन् । सपनामा कविले वा नेपाली जनताले देखेका विद्यालयहरू विपनामा बङ्कर र ब्यारेक भएका छन् । जन्मभूमि र शान्तिभूमि पराईभूमि र यद्धभूमिमा परिणत भएका छन् । सपनामा फूलैफूल बोक्ने हातहरू विपनामा हतियारले लैश भएका छन् भन्दै कविले हिजोको द्वन्द्वरत नेपालको सटिक चित्रण गरेका छन् यस कविताम ।

यस्तै र अनेकौ सरल एवं बोधगम्य बिम्बहरूको प्रयोग गर्दै कतै हुचिलको अशुभ स्वरबाट, नेपाल हिजो र आजबाट, एउटा घोषणाबाट, एउटा महान रुख जस्ता विषय टिप्दै भिन्न भिन्न बिम्व र प्रतीकहरूलाई सौंदर्यात्मक कलाको सम्मिश्रणले सिंगारेर वर्तमान नेपालको यथार्थ चित्रण गरेको छन् । कवि नवराजले यस सङ्ग्रहमा पनि कविले अत्यन्त सरल र नेपाली चलन चल्तीका बिम्वहरूको सहाराले आम नेपाली पाठककालागि सुरुचिपूर्ण व्यञ्जन पस्कन सफल बनेको स्पष्ट देखिन्छ ।

यसरी कविता विधामा आफ्नो उपस्थिति सशक्त एवं स्थान निर्धारणका लागि नेपाली कविता साहित्यमा नवराज सुब्वा उल्लेख्य नाम बन्न समर्थ भएका छन् । हुन त नवराजका कवितामा कलापक्ष कमजोर देख्ने नेपाली साहित्यका कविहरू एवं समालोचकहरू जो आफूलाई पाश्चात्य देशमा उहिल्यै विसर्जन भएको उत्तरआधुनिकता र आंैलामा गनिने बौद्धिक पाठकलाई सर्वस्व ठान्दछन्, त्यस्ताका लागि नवराजका पक्षमा बोल्नु पर्दा मलाई के लाग्दछ भने :

१. नवराज आम नेपाली पाठकका लागि लेख्दछन् ।
२. नवराजका बिम्व र प्रतीकहरूमा नेपाली माटोको सुवास मग्मगाउँछन् ।
३. सरल र बोधगम्य भाषा शैलीबाट पनि पाठकको मन जित्न उनी सफल छन् । र
४. क्लिष्ट एवं दुईचारजनाका लागि लेख्ने कविहरू भन्दा फरक नवराज नेपाली काव्यजगतका मुनामदन हुन ।
त्यसरी नै कविको स्वर्ण जन्मोत्सव अर्थात ५० वर्ष उमेर पुगेको सन्दर्भमा प्रकाशित यात्रा आधा शताब्दीको कविता सङ्ग्रह अझ परिष्कृत र सुललित रुपमा पाठक समक्ष आएको छ ।
www.nrsubba.com.np बाट प्रकाशित यस सँगालोभित्र कविको भूमिकाले नै सङ्ग्रहको सम्पूर्णता बोकेको छ भन्न सकिन्छ । द्वन्द्वपीडित बालबालिकाप्रति समर्पित समर्पणले पनि कविको मानवतावादी दृष्टिकोण सुस्पष्ट हुन्छ । यस सङ्ग्र्रहभित्र उनले छिचोलेका ५० वर्षझै ५० वटा कविताहरू सङ्ग्रहित छन् । यस सँगालोले पनि उनका मानवतावादी प्रवृत्ति, राष्ट्र र राष्ट्रियता, जनताको स्वास्थ्य र सुरक्षा, सपनाको सुन्दरता विपनामा कसरी उल्टो भइरहेको छ भन्ने यथार्थवादी चिन्तन, शान्ति र समृद्धिको सपना पछिको यथार्थ, यथार्थपूर्ण व्यङ्ग्य आदि कविताहरू, विराटनगर र आफ्नो कर्मथलो भद्रपुरमा रहँदाबस्दा लेखिएका कविताहरू सङ्ग्रहित छन् । उनको पहिलो कविताले नै सबैलाई अकिर्षित गर्न पर्याप्त छ जस्तो लाग्छ ।
“म लाटोकोसेरो” शिर्षकको कविताभित्र स्वयं कविले देखेका सपना र यथार्थ बीचको भिन्नतालाई कविले यसरी व्यक्त गरेका छन् –
सपनामा देखेका विद्यालयहरू
विपनामा ब्यारेक र बङ्कर देख्छु
जन्मभूमि, शान्तिमूमिलाई
पराइभूमि र युद्धभूमि देख्छु
एकैछिन अघि सपनामा
फूलै फूलले स्वागत गर्ने हात हातमा,
हतियारै हतियार बोकेको देख्छु …

यसरी यस कवितामा नेपाली जनयुद्धको यथार्थ चित्रण देख्न पाइन्छ भने ‘नेपालमा हिजो र आज’ कविताले पनि वर्तमा नेपालको यथार्थ चित्रण समेटिएको छ । राजा नभएर के भो र ? सबैमा राजा बन्ने होड चलेको छ भन्दै कविले राजा नभए पनि राजामा हुने बानी, व्यहोरा आजका जनता एवं जनजीविकाको दुहाई दिदै माथि पुगेका जनप्रतिनिधिहरू सवैमा त्यही राजको निरंकुशता कायम रहेको यथार्थता ब्यक्त गरेका छन् ।

यस्तै यस्तै सामाजिक, राजनैतिक यथार्थतालाई आफ्नो कविताको विषय वस्तु बनाउँदै अत्यन्त सरल र बोधगम्य शैलीमा लेखिएको यस सङ्ग्रहले पनि नेपाली कविता साहित्यमा एउटा ओजपूर्ण भूमिका निर्वाह गर्न सक्षम हुनेछ भन्ने विश्वास लिन सकिन्छ ।

२. निबन्ध यात्रामा नवराज :
साहित्कार नवराज सुब्वाको दोश्रो महत्वपूणृ कृति हो मनको भझेरी (निबन्धसङ्ग्रह) जुन सङ्ग्रह वाणी प्रकाशनले २०६४ मा प्रकाशन गरेको हो । यो सङ्ग्रह नवराजको बीच बाटोमा ब्यूझेर कविता सङ्ग्रह भन्दा जेठो हो । २० वटा निबन्धहरूको यस सङ्गालोले पनि प्रकाशन पश्चात निकै चर्चा पाएको हो । निबन्धकारको हालसम्मको पहिलो निबन्धको सँगालो भए पनि यसले नेपाली निबन्ध साहित्यमा पक्कै पनि आफ्नो उपस्थिति जनाउन समर्थ रहेको देखिन्छ । यसको प्रकाशकीयमा उललेख शब्दहरू नै सङ्ग्रहको परिचय दिन पर्याप्त देखिन्छ आफ्ना मनका मझेरीमा गाँसिएका संस्मरणहरूलाई निबन्धकार सुब्बाले अति नै सरल र कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

त्यसैगरी नेपाली आख्यान साहित्यका राष्ट्रिय प्रतिभा कथाकार परशु प्रधानले यस सङ्ग्रहको भूमिकामा निबन्ध र निबन्धकारको परिचय यसरी दिएका छन्— म अन्त्यमा भन्छु – नवराज सुब्वा दक्ष वा राम्रा कवि मात्र होइनन्, राम्रा निबन्धकार पनि हुन । उनी राम्रा प्रशासक मात्र होइनन्, राम्रा मानवतावादी पनि हुन् । राम्रा गीतकार मात्र हाइनन्, राम्रा गायक पनि हुन । उनभित्र सर्वतोमुखी प्रतिभा छ ।

त्यसरी नै यस कृतिका लेखक स्वयं नवराज सुब्वा आफ्नो स्वागत मन्तव्यमा यसरी आफ्नो धारणा अभिव्यक्त गर्छन— कुनै पनि सिर्जनाले लेखकलाई मात्र सन्तुष्टि दिएर पुग्दैन । पाठकलाई समेत सन्तुष्टी र सिङ्गो समाजलाई पनि यसले योगदान दिन सक्नु पर्दछ ।

साँच्चै मैले माथि नै उल्लेख गरेकै भनाई निबन्धकारमा पनि देखिन्छ । त्यो हो आम पाठकको सन्तुष्टी र सामाजिक रुपान्तरणमा सिर्जनाको भूमिका वा योगदान । निवन्धकार स्वास्थ्य सेवासंग सम्बद्ध एक मानवतावादी स्रष्टाको रुपमा देख्न सकिन्छ । उनी आफ्नो पहिलो निबन्धमा भन्छन्– अपाङ्गलाई दया होइन अधिकार चाहिएको छ ।

‘तस्वीरमा पोखिएका कविताहरू’ भित्र निवन्धकारले फोटो प्रदर्शनीबाट मान्छेलाई प्रभाव पार्ने विषयहरू पनि सुन्दर कविता भन्दा कम हुँदैनन् भन्ने आफ्नो धारण वा संवेदनशीलतालाई अभिव्यक्त गरेको पाइन्छ । फोटो प्रदर्शनीमा देखिएको नेपालको चित्र नेपाली जनजीवनको यथार्थता, पीडा, आवेग, संवेग र शान्ति जस्ता विषयका चित्र मार्फत निवन्धकार अत्यन्त संवेदनशील भएको चित्रण यस निबन्धमा पाउन सकिन्छ ।

हुन त सबै निबन्धहरूको पत्र–पत्र केलाउनु र त्यसको भाव संप्रेषण गर्नु हो भने एउटा पुस्तिका नै तयार हुन सक्छ । म यसरी हरेक निबन्धभित्र पसेर पाठकको अमूल्य समयको क्षयीकरणको पक्षमा पनि छैन । तर पनि नेपाली निबन्ध साहित्यमा सामान्य एवं सिमान्तकृत, अपहेलित एवं सुक्ष्म जीवन दर्शनलाई पनि आफ्नो निबन्धको विषय बनाउन सक्षम नवराजको निबन्धले पक्कै पनि नेपाली निबन्ध– यात्रामा एउटा पाइलो अघि सारेका छन् भन्न सकिन्छ । त्यसैले त उनको यस निबन्धसङ्ग्रहबारे गीता ढकालले आफ्नो स्नातकोत्तरको शोध यसै निबन्धसङ्ग्रह बारेमा गर्दै भनेकी छन्– निबन्धकार सुब्बाले सामाजिक विषयबस्तुलाई आत्मपरक शैलीमा सरल र सहज भाषशैलीको प्रयोग गर्दै आफ्ना निबन्धलाई उत्कृष्ट बनाएका छन् ।

साँच्चै निबन्धकार सुब्बाले अरूहरूले नछोएका विषयमा निबन्धको कथानक बनाएका छन् । आफ्नो बाल्यकाल, विद्यार्थी जीवन र गाउँले गीतसङ्गीत, एवं आफ्ना जीवनकालमा विर्सन नसक्ने, तर सामान्य कुराहरूलाई पनि भित्री तहसम्म पुगेर पाठकको मन तान्न सफल देखिन्छन्– निबन्धकार सुब्बा । संस्मरणात्मक एवं आत्मपरक शैलीमा प्रस्तुत उनका निबन्धहरूले नेपाली निबन्ध साहित्यमा आफ्नो पहिचान कायम राख्न सफल हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । उनको निबन्धबारे सायद यत्ति नै पर्याप्त होता जस्तो लाग्छ ।

३. गीतकारका रुपमा नवराज :

गीतसङ्गीतप्रति सानैदेखि अभिरुचि राख्ने नवराजजी विद्यालय स्तरमा हँुदा नै गीत गाएर विभिन्न पुरस्कार हात पार्न सफल व्यक्ति हुन । उनको पहिलो कृति जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह भित्र संग्रहित सोह«वटा गीतहरूले के देखाउँछन् भने नवराज कविता भन्दा पहिले गीतसङ्गीतप्रेमी थिए भन्न सकिन्छ । जीवनबोध, श्रृङ्गारिक भावधारा र देश र समाजको यथार्थ चित्रण उनका यस सोह«वटा गीतहरूमा पाइन्छन् । साँच्चै कविताले भन्दा पनि स्वरबद्ध गीतहरूले मान्छेको मन पगाल्न सक्तछ ।

वि.सं. २०३५ देखि २०६२ सम्मका गीतहरू यसभित्र समेटिएका छन् । उनका गीतका यी दुई हरफले नै उनको गीतप्रतिको लगाव स्पष्ट देखिन्छ :
तोते बोली कति मिठो बोल अझै बोल
तिमी हाँसे आसा फुल्छ खोल ओठ खोल

‘आऊ उडाऊ चंङ्गा’ शिर्षकको यो गति बाल बालिकाका लागि लेखिएको हो तर… यस गीतलाई व्यापक अर्थमा वा ध्वन्यात्मक अर्थमा खोजी गर्ने हो भने यसले दुई अर्थ संप्रेषण गरेझै लाग्दछ । एकातिर अवोध बालबालिकालाई भनेझै गरी नेपाली जनता, जो अति दुर्गममा छन्, वास्तवमा तिनीहरूको बोली अवोध बालकको तोतेबोलीझै अझै पनि देख्न पाइन्छ । अवोधता भित्रको निश्छलता, जन्मदेखि मृत्युपर्यान्तको पीडा, दुःख र अभावभित्रको जिन्दगीलाई गीतकारले अब चुप नलाग आफ्नो हक र अधिकारका लागी बोल अझै बोल तिमी हाँसे मात्र यो देशको आशा फुल्दछ भन्ने सन्देश दिन खोजे झै लाग्दछ, प्रस्तुत गीतमा ।

यसरी कवितासंगै गीतहरू पस्केर काव्य रचना गर्न खप्पिस नवराज गीतैगीतको अर्को सँगालो सहिदलाई सलाम दिएर पाठक सामु देखा पर्छन । २०६७ सालमा साझा प्रकाशनद्धारा प्रकाशित यो गीतसङ्ग्रह वरिष्ठ गायक एवं सङ्गीतकार गणेश रसिकको भूमिकाले यस सङ्ग्रहको ओज र उपादेयतामा अझ निखार थपिएको अनुभूति हुन्छ । आफ्नो महत्वपूर्ण भूमिकामा गणेश रसिक नवराज सुब्वा र उनका गीति सिर्जनाका सम्बन्धमा लेख्छन— स्थापित गीतकार सुब्बा माटो, जनता ,मानवता, चेतना र प्रगतिका सफल गीतकारका रुपमा लोकप्रिय छन् । उनका गीतहरू विभिन्न सञ्चार माध्यमबाट आम श्रोतामाझ पुगिसकेका छन् ।

त्यसैगरी साझा प्रकाशनले आफ्नो प्रकाशकीयमा लेखेको छ– गीतकार नवराज सुब्वाको सहिदलाई सलाम गीत सङ्ग्रहले समृद्ध र सुन्दर नेपालको परिकल्पनाका साथ समावेशी चिन्तन र राष्ट्रिय चेतना बोकेको छ ।

ज्ञात, अज्ञात सहिदलाई गीतिलयमा नै समर्पण गरिएको यस सँगालो भित्रका गीतहरूलाई पाँच भागमा उल्लेख गरी पाठकहरूकालागि सहज र सरल बनाइदिएका छन्– गीतकारले । विषयवस्तु र भावका आधारमा वर्गिकृत गीहरूमा पहिलो खण्ड देशभक्ति र मानवतावादी गीतहरू, बालगीतहरू, लोकलय एवं झ्याउरे भाकाका गीतहरू, हाँस्य–व्यङ्ग्य र आधुनिक गीतका रूपमा समेटिएका छन् । यसभित्र सङ्ग्रहित गीतहरू मध्ये केही गीतहरू सङ्गीतबद्ध भइ देशको माया र अमूल्य जीवन नामका गीति एल्बमभित्र समाविष्ट भएका छन् । देशभक्ति, समावेशी र मानवतावादी स्वरहरू उरालिएका १८ वटा गीतहरूले नै गीतकारको राष्ट्रभक्ति, देशभक्ति, शान्तिको चाहना, नेपालीपनको आवश्यकता जस्ता सामयिक चिन्तनलाई स्पष्ट बुझ्न सकिन्छ ।

सिङ्गगो जीवन बलिदान दिनेलाई सलाम
देशको लागी हाँस्दै मर्ने सहिदलाई सलाम ।
——————————
नेपाली नेपाली हामी नेपाली
मधेशी होस् वा जनजाति हामी नेपाली
दलित होस् वा तागाधारी हामी नेपाली ।

जस्ता राष्ट्रियता र देशभक्तिका कर्णप्रिय गीतहरू हामीले विभिन्न सञ्चार माध्यमहरूबाट सुन्दै आइरहेका छौ । त्यसै गरी मानवतावादी स्वरमा लेखिएको यो गीतलाई हेरौं–

सारा संसार सँगाल्दै यस्तो प्रीत लाऔं
मान्छे हामी सबै एउटै भनी गीत गाऔं !

भन्ने गीतमा बहिराले पनि सुन्न सक्ने गीत र अन्धाले पनि देख्न सक्ने चित्र कोरौं भनी अपाङ्गता स्वयंको कमजोरी होइन । अपाङ्ग पनि यही समाजका सदस्य हुन भन्दै मानवतावादी दृष्किोण मुखारित यस गीतले पनि नवराजका मानवतावादी प्रकृतिको झलक दिन पर्याप्त देखिन्छ । र अन्त्यमा नवराज सर्वप्रथम गीतसङ्गीतप्रेमी हुन र पछिमात्र कविता, निबन्धमा प्रेरित भएका हुन भन्नेकुरा उनका विगत र वर्तमानले स्पष्ट पार्दछ ।

४. गीत/गजलका एल्बममा नवराज
कवि एवं गीतकार नवराज सुब्वाका हालसम्म श्रव्य एवं श्रव्यदृष्य समेत गरी ५ वटा गीत÷ गजलका एल्बमहरू बजारमा आएका छन् । कुनै कुनै गीत त गीतकारकै सङ्गीत र स्वरमा पनि सुन्न पाइन्छन् । माथि नै भनियो नवराजका सिर्जनाको प्रमुख विषय नै आफ्नो देश हो, त्यसैले उनले के गीत के कविता वा निबन्ध सबैमा आफ्नो माटोलाई सर्वेपरी राखेका छन्, त्यसैले त उनको पहिलो गीति एल्बमको नाम नै देशको माया शिर्षकमा २०६६ मा जनसमक्ष आयो । यस एल्बममा शब्द रचना नवराज सुब्वा, सङ्गीततर्फ शक्ति बल्लभ, साजन राई, सुमित खड्का, धिरज श्रेष्ठ, वाशु लामा र स्वरतर्फ अञ्जु पन्त, शिशिर योगी, स्वरुपराज आचार्य, सुमित खड्का, साजन राई, विकेश शंकर, नितु गोस्वामीहरूको आवाज रहेको भने यस एल्बममा दशवटा गीतहरू समावेश गरिएका छन् ।

त्यसरी नै प्रतिबिम्व भाग– १ भिडियो एल्बम २०६७ मा प्रकाशित भएको छ जसमा श्रव्य–दृष्य दुवै परिकारको स्वाद लिन सकिन्छ । यसैगरि प्रतिबिम्व भाग– २ पनि श्रव्य–दृष्य अभिलेखको रुपमा २०६७ मा नै जनसमक्ष आएको छ । जसमा ‘जाली माया’ म्यूजिक भिडियो, ‘पुराना जुत्ताहरू’ भन्ने सशक्त कविताको कवि स्वयंबाट वाचन गरिएको दृष्य ‘मेरा सबै रहरहरू’ म्युजिक भिडियो, कवि एवं गीतकार नवराज सुब्वासंग लिइएका अन्तर्वाताहरू यस भिडियो एल्बमभित्र समेटिएका छन् । जसले कवि, गीतकार एवं निबन्धकार नवराज सुब्वाको व्यक्तित्व एवं कृतित्वबारे अझ स्पष्ट हुन सकिन्छ ।

कृति लुकेको रहर गजल एल्बम पनि २०६७ मा नै आम स्रोतामाझ आएको छ तर कविता, गीत भन्दा फरक स्वादमा । यो लुकेको रहर नामक एल्वम चाहीँ हाल नेपाली साहित्यमा सर्वाधिक लेखिने विधा गजलहरूको एल्बम हो । नेपाली सङ्गीत क्षेत्रका विशिष्ट संङ्गितकार शक्ति बल्लभको सङ्गीतमा नरेन्द्र प्यासी, जगदिश समाल , सुरेश मानन्धर अञ्जु पन्त, शिशिर योगी, सुमित खड्का, स्वरुपराज आचार्य, माण्डवी त्रिपाठी र भीम चापागाई जस्ता चर्चित गायक/गायिकाद्धारा स्वरबद्ध यस एल्बममा गजलकार नवराज सुब्वाले प्रेम–प्रणय, मानवीय घात–प्रतिघात, जीवनवादी दृष्टिकोण आदिलाई आफ्ना गजलका विषय बनाएका छन् । यसमा गजलकार सुब्बाका नौ वटा भिन्न शब्दशैली र विषयवस्तुले सिंगारिएका सुन्दर गजलहरू समावेश छन् भने उत्तिकै आल्हादित र कर्णप्रिय पनि लाग्दछन् ।

हालैसालै २०६८ मा उनको अर्को गीति एल्बम अमूल्य जीवन शिर्षकमा स्रोतासामु आएको छ । आधुनिक गीतहरूको यस एल्बममा विराटनगरका चर्चित संङ्गीतकार÷गायक साजन राईले ५ वटा गीतहरूमा सङ्गीत दिएका छन् भने एउटामा गीत एवं गायन पनि सर्जक सुब्बाकै रहेको छ । त्यसैगरी गीतकार स्वयंको सङ्गीत रहेको एउटा गीतमा पूर्वकै स्वरका धनी सुमित खड्काको स्वर रहेको छ । साथै अन्य सङ्गीतकारहरूमा धिरज श्रेष्ठ, सूर्य थुलुङ्ग र प्रेम भट्टचनका सङ्गीत रहेको यस गीत एल्बममा एउटा गीत स्रष्टा नवराजकै स्वरमा पनि सुन्न सकिन्छ । नौ वटा गीत सङ्ग्रहित एल्बममा साजन राई, सुमित् खड्का, सुनिता लिम्बू, नरेन्द्र प्यासी, डि.वी.राईका फरक फरक स्वाद र विषयवस्तु समावेश मानवीय संवेदना, जीवनको मूल्य र मान्यता, प्रणय र संवेगका यथार्थ चित्रण पाउन सकिन्छ ।

माथि उल्लेखित साहित्यिक कृतिहरू मात्र होइन नवराजले आफ्नो कर्मक्षेत्रमा रहँदाका अनुभव र अनुभूतिहरूको २ वटा लेखसङ्ग्र्रह पनि २०६३ र २०६४ मा प्रकाशित गरेका छन् । वाणी प्रकाशन विराटनगरबाट २०६३ मा प्रकाशित जन स्वास्थ्यः पाटा, बाटा र अनुभूति नामक जनस्वास्थ्यका दिशामा समसामायिक सूचना र सन्देश मूलक स्वास्थ्य शिक्षालाई आफ्नो अनुभवभित्र घोलेर स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिकालागि यस कृतिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्तछ भन्न सकिन्छ । स्थानीय एवं क्षेत्रीय विभिन्न समाचारपत्रहरूमा प्रकाशित लेखहरूको सँगालोभित्र जनस्वास्थ्य सम्बन्धी ३४ वटा लेखहरू छन् । प्राथमिक स्वास्थ्य सेवाका क्षेत्रहरू, विभिन्न रोगहरू लाग्ने कारण र निदान, स्वास्थ्य संस्थाहरूको दायित्व, बाल स्वास्थ्य, मातृ स्वास्थ्य, प्रतिकारात्मक सेवाहरू, उपचारात्मक सेवाहरू जस्ता प्रत्यक्ष जन सरोकारका विषयमा लेखकले आफ्नो धारणा र दृष्टिकोण प्रस्तुत गरेका छन्– यस पुस्तकमा ।

त्यसैगरी २०६४ मा प्रकाशित लेखकको अर्को पुस्तक जनस्वास्थ्यका सवालहरू मा पनि आफ्ना अनुभव र अनुभूतलाई स्वास्थ्य शिक्षाको रुपमा, जनचेतना विकाशका रुपमा र मानवको अमूल्य जीवन सुरक्षा र स्वास्थ्य एवं सुखी जीवनयापनका रूपमा आफ्ना अन्तरचेतबाट निःसृत भानवाहरूलाई जनसमक्ष प्रस्तुत गरेका छन् । यसभित्र जनताको स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्धित र परम्परागत एवं आधुनिक विभिन्न रोगहरू र तिनबाट बच्ने उपायहरूबारे लेखकले मिहिनेतपूर्ण ढङ्गले व्याख्या गरेका छन् ।

माथि प्रस्तुत २ वटा स्वास्थ्य शिक्षा सम्बन्धी पुस्तकको अतिरिक्त लेखकका समसामयिक, ज्ञानवर्धक, चेतनामूलक र अनुसन्धानमूलक विभन्न लेखहरू विचारहरू र दृष्टिकोणहरू विभिन्न पत्र पत्रिकाहरूमा अझैसम्म प्रकाशित भैरहेका छन् । साहित्यिक र साहित्यइत्तर क्षेत्रमा पनि उत्तिकै कलम दौडाउन सफल नवराज सुब्वा स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विभिन्न मान–सम्मान एवं पुरस्कारहरूबाट सम्मानित प्रतिभा हुन्, उनी बेलायको पहिलो अनलाइन विश्व वेभक्याम कविता प्रतियोगितामा प्रथम भै पुरष्कृत भएका छन् भने २०६४ देखि हालसम्म १ दर्जन मान–सम्मान र पुरष्कारबाट सम्मानित भै सकेका छन् ।

उपसंहार

बहुआयामिक व्यक्तित्व नवराज सुब्बा आफ्नो कर्मक्षेत्र प्राविधिक त्यसमा पनि जनताको स्वास्थ्य र दीर्घजीवन प्रति अहोरात्र चिन्तन र सक्रिय रहनु पर्ने वाध्यताका वीचमा पनि नेपाली भाषा र साहित्यमा पनि उत्तिकै चिन्तनशील र सक्रियतालाई ज्यादै थोरैले मात्र कायम राख्न सक्दछन् । जनस्वास्थ्यमा स्नातकोत्तर र नेपालीमा पनि स्नातकोत्तर गरी हात विद्यावारिधि शोधार्थीका रुपमा पनि त्यत्तिकै लगनशील भई लागिपरेका देखिन्छन् । एकातिर पारिवारिक दायित्व अर्कोतिर जनताको स्वास्थ्यप्रतिको जिम्मेवारी अनि अर्कोतर्फ नेपाली साहित्यका विविध विधाहरूमा पनि चिन्तन मनन्का साथै आफ्नो शोधकार्यलाई पनि संगसंगै बढाउनु पर्ने जस्ता चौतफी आयामहरू भित्र पनि सदैव हँसिलो र मृदुभाषी, सरल र सद्भावमय, सकारात्मक एवं सहयोगी व्यक्तित्वका रुपमा नवराजलाई बुझ्न र देख्न सकिन्छ ।

यसरी साठीको दशकबाट प्रकाशन प्रारम्भ गरेका उनका कृतिहरूले राष्ट्रिय तथा स्थानीय पत्र पत्रिकाहरूमा पनि प्रसस्त स्थान ओगटेका छन् । विभिन्न साहित्यकार, समालोचकहरूबाट अझै पनि उनका कृतिका बारेमा लेख, समालोचना एवं कृतिका उपादेयता सम्बन्धमा आ–आफ्ना दृष्टिकोणहरू विचारहरू, चिन्तनहरू प्रकाशित हुनु निश्चय पनि नवराजको साहित्यिक योगदानको मूल्याङ्कन हुनु हो भन्ने मेरो बुझाई छ ।

यस प्रकार छोटो समयमा नै पहाडको एउटा कन्दरामा जन्मेको, हुर्केको व्यक्तिले आज राष्ट्रिय आकार ग्रहण गरिसकेको छ । उनका समग्र सम्पुणकृतिहरूको बारेमा र जीवनीका सन्दर्भमा विभिन्न शोधार्थीहरूबाट शोध भइसकेको छ र अझै हुँदै जानेछ ।

यस्ता बहुआयामिक व्यक्तित्वको सामान्य परिचय र कृतिहरूको पनि छोटो टिप्पणी मात्रै गर्ने धृष्टता गरेको छु । आफू समालोचन नभएको र सामान्य साहित्यको विद्यार्थीको हैसियतले नवराज सुब्बासंगको सन्निकटता र अनुभूतिलाई संक्षेपमा पस्कँदै नवराजबाट यी बाहेक अरू पनि उत्कृष्ट कृतिहरूको अपेक्षाका साथ विदा चाहन्छु । अस्तु ।

विराटनगर २०६८।१२।२४
जुही अंक ६७ साहित्य प्रतिभा विशेषाङ्क

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.