साहित्यमा सूचना, प्रचार र विज्ञापन (विचार) – नवराज सुब्बा

‘यात्रा आधा शताब्दीको’ कवितासंग्रह मेरो पचासौं जन्मोत्सवको अवसरमा प्रकाशित तेस्रो कवितासंग्रह हो । यस पुस्तकको अगाडि कभरमा रोटरी क्लब इन्टरनेसनलमा सम्पन्न मेरो पहिलो एकल कवितावाचनको तस्वीर रहेको छ । कभरको पृष्ठभागमा मैले पहिलो विश्व वेभक्याम कविता प्रतियोगितामा २०६५ मा प्रथम भई विजयी हुँदाको कवितावाचनको फोटो  छ । साथै विराटनगरमा सम्पन्न नेपालको पहिलो मारवाडि कविगोष्ठिमा नेपालीभाषीको कवि प्रतिनिधिको रुपमा गरिएको कवितावाचनको फोटो र क्याप्सन पनि प्रकाशित छन् । यी तस्बीरहरु मेरो साहित्यिक यात्रामा एक सर्जकको नाताले ५० वर्ष उमेरसम्मका उपलब्धि ठानिएका ऐतिहासिक तस्वीरहरु हुन्, जसले मेरो कवितायात्राको कोशेढुँगा निर्माण, प्रतिनिधित्व र प्रतिबिम्बित गरेका छन् । जसलाई कतिपय समीक्षक र समालोचकहरुले कविको प्रचार वा विज्ञापन वा भद्दापन ठानेका छन् । म यसबारे आफ्नो स्पष्ट धारणा यसप्रकार राख्दैछु ।

स्रष्टा, पाठक र समालोचकका आ–आफ्नो दृष्टिकोण हुन्छन् । तर पनि यी तिनैले पालना गर्ने केही नियम र समान दृष्टिकोण पनि छन् । एउटा सर्जक जति स्वतन्त्र छ उत्तिकै जिम्मेवार पनि छ । एउटा समालोचक जति जिम्मेवार मानिन्छ उत्तिकै मात्रामा ऊ कुनै ब्यक्तिगत आग्रह वा पुर्वाग्रह बिनाको स्वतन्त्र निकाय हुन जरुरी छ । म यहाँ सूचना, प्रचार र  विज्ञापन यी तीनओटा शब्दावलीको विश्लेषण गर्दैछु । (१) सूचना दिनु भन्नाले जानकारी दिनु, आत्मप्रकाशन गर्नु वा सिर्जनाबारे सुसूचित गराउनु हो । (२) प्रचार गर्नु अर्थात् हल्ला गर्नु या अभियान चलाउनु हो । र (३) विज्ञापन गर्नु भन्नाले व्यापार गर्नु हो । यी क्रियाहरुका बारेमा सबैले स्पष्ट हुनु जरुरी छ । सरल शब्दमा भन्नुपर्दा सूचना दिनु, प्रकाशन गर्नु भनेको बाङ्मयमा आफ्नो भावना वा कृतिको नवीनतम् उपस्थिति जनाउनु हो जो कुनै पनि सर्जकलाई आत्मप्रकाशन गर्ने आकांक्षासित साहित्यिक पाठकलाई सुसूचित गराउने नैसर्गिक अधिकार गाँसिएको हुन्छ । प्रचार गर्ने कुरा हल्लासित सम्बन्धित छ जसमा कतिपय कुराको बढाई चढाई र अतिरञ्जित गरिन्छ । यस अभियानमा कुनै कृति वा सर्जक अरु भन्दा अग्लो वा सगरमाथा भन्दा पनि अग्लो भनेर अरुलाई होच्याउने काम पनि गर्ने गरिन्छ । कुनै सर्जकको प्रचार गर्नु भन्नाले आफैले वा अरुहरुबाट अतिरञ्जित चित्रण गर्नु, गराउनु वा गरिनु हो । अनि यो कृति किनेमा पाठकलाई नोक्सान छैन वा नाफै नाफा हुन्छ भनेर वकालत गर्नु वा त्यस्ता भावभङ्गिमा गरिनुलाई विज्ञापन भनिन्छ । आजकल प्रबर्धनको नाममा गरिएका कतिपय क्रियाकलापहरु यही विज्ञापन र प्रचारसित गाँसिएका छन् ।

सर्जक स्वयमले आफ्नो बारेमा वा कुनै समालोचकले अरुको प्रचार गर्नु भनेको पाठकलाई अपमानित गर्नु हो । आजकल कतिपय समीक्षक र समालोचक ब्यक्तिगत पूर्वाग्रही भएको, कतिपय प्रायोजित समेत हुन्छन् भन्ने आरोप पनि प्रसस्त मात्रामा सुनिन्छ । कतिपय राम्रा सिर्जना वा कृतिहरु आज ओझेलमा छन् जसको सही जानकारी सम्म पाठकमा पुगेका छैनन् । यति मात्र हैन आज धेरै स्रष्टाका सिर्जनाहरु गलत ढंगले प्रस्तुत र अपब्याख्या गरिन्छन् भन्ने पनि सुनिन्छ । यसैले आफू वा आफ्नो कृतिबारे बोल्ने पहिलो आधिकारिक ब्यक्ति स्वयम् सर्जक हो । त्यसपछि प्रकाशक वा वितरकले पनि कतिपय कुरा थप्दछन् । स्रष्टाबाट सहि कुरा वा यथार्थ सूचना पाठकमाझ आए पछि मात्र पाठक वा समालोचकले कृतिको सहि विश्लेषण गर्ने मौका पाउँछन् । सर्जक र पाठक वा समालोचकबीच पुलको काम गर्ने भनेको विज्ञापन वा प्रचारबाट हैन यही सूचनाबाट हो, सहि जानकारीबाट हो । कृतिसंगै सम्बन्धित भएका यस्ता सूचना पाठकलाई सुसूचित गराउनु एकातिर स्रष्टा वा प्रकाशकको दायित्व हो भने अर्कातिर यो पाठकको अधिकार पनि हो ।

कुनै पनि समालोचक पहिले पाठक बनेर पछि ऊ समालोचक बन्दछ । एउटा पाठकको विचार अप्रशोधित हुन सक्छ, जसमा समालोचकीय सैद्धान्तिक दृष्टिकोण नहुन सक्छ । एउटा समालोचकले यो मेरो पाठकीय दृष्टिकोण हो भनेर यसैलाई नै समालोचनाको आधार बनाउनु चाहिँ समालोचकीय अल्छ्याइँ  हो । यसबाटै प्रचारको ढोका खुल्छ । पाठकीय अधिकारको प्रयोग न समालोचकले गर्न पाउँछ न त स्रष्टा स्वयम्ले गर्न सुहाउँछ । यसको अधिकार केवल पाठकमा मात्र रहन्छ । पर्याप्त सन्दर्भ सामग्रीको बिना गरिएका समालोचना र यस्ता समालोचकबाट प्रदत्त पद्वी वा पगरी यही प्रचार अभियानका स्वरुप हुन् जसले भ्रान्ति त बनाउँछ तर भत्किहाल्छ ।

एकपटक सरल ढङ्गले सोचौं त ! सर्जकले सिर्जना गरेका अनि हासिल गरेका कतिपय उपलब्धिमा गर्व गर्ने उसको अधिकार सुरक्षित रहन्छ कि रहँदैन ? अधिकार सुरक्षित भए कति अधिकार रहन्छ ? सिर्जना, सन्तुष्टि वा असन्तुष्टि अनि गर्व वा हीनताबोध यी बैयत्तिक मानवीय कार्यब्यापार हुन् यसमा कसैले हस्तक्षेप गर्न मिल्दैन । जसरी फुटबलमा कसैले गोल लगाए पछि खुसीयालीमा यति फिट मात्र उफ्रनु पर्छ भनेर कतै नियम बनाउन सम्भव हुँदैन । त्यसरी नै यति मात्र गर्व गर वा हीनताबोध गर भनेर कसैले निर्देश गर्नु असम्भव छ । सम्भव के छ भने खेललाई बाधा नपर्ने गरि, खेलाडि र दर्शकलाई बाधा नपर्ने गरि उत्सव मनाउने, जुन आज विश्वव्यापी मान्यता रहि आएको छ त्यही कुरा साहित्यिक बाङ्मयमा स्वीकार्य हुन सक्छ । उन्मादबश अरुलाई होच्याउने वा इर्ष्याबश अरुको उपलब्धिलाई अस्वीकार गर्ने बानी र ब्यवहार भएका स्रष्टा, पाठक तथा समालोचक जो भए पनि ती लोकप्रिय साहित्यिक खेलका झेली खेलाडिहरु मात्र हुन् जो खेललाई हुलहुज्जत वा केवल जीत र हारमा मात्र बुझ्दछन् न कि खेलको लक्ष र भावनालाई ।

अन्तमा, यो यो तथ्यका आधारमा यो निचोड आयो या आएन भनेर निष्कर्ष निकालेमा यसले पाठक र स्रष्टालाई सहि सूचना वा मार्गनिर्देश गर्नेछ । कुनै कृतिलाई एकपटक स्रष्टाको नजरले पनि समयसापेक्ष रुपमा विश्लेषण र मूल्याङ्कन गर्न भुल्नु हुँदैन र निष्कर्ष हतार नगरिकन निकाल्नु पर्दछ ।

फागुन १३, २०६९ विराटनगर नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.