मुक्तकमा नवराज सुब्बाको चीत्कार (समीक्षा) ध्रुव मधिकर्मी

कविता गीत निबन्ध आदि विविध विधामा निरन्तर साहित्य साधना गरिरहेका स्रष्टा हुन् नवराज सुब्बा । कविताका प्रायः सबै विधामा उनले कलम दौडाएका छन् कविता गीत गजल । बाकी रहेको विधा मुक्तक हो । चीत्कारको प्रकाशनले उनी मुक्तकका क्षेत्रमा पनि अब चिनिने भएका छन् । उनी दैनन्दिनी जीवनका अनुभव र समसामयिक भोगाइको निचोडलाई सहज र स्वाभाविकताका साथ आफ्ना रचनामा अभिव्यक्त गर्ने प्रयास गर्छन् । जीवन मेरो शब्दकोशमा , बीच बाटोमा ब्यूझेर, यात्रा आधा शताब्दीको कवितासंग्रह, शहीदलाई सलाम गीतसंग्रह र मनको मझेरी निबन्धसंग्रह आदि संकलनमार्फत उनले आफ्नो परिचयको एउटा खास कित्तालाई प्रदर्शन गरिसकेका छन् । पछिल्लो समयमा कवि सुब्बाले मुक्तकमा पनि आफ्नो उपस्थिति जनाएका छन् । मुक्तकको क्षेत्रमा उनको उपस्थिति धेरै ठाउँमा आशालाग्दो र प्रभावकारी पनि छन् ।
प्रायःश चार हरफमा लेखिने मुक्तक विधा काव्यको लघुतम रुप पनि हो । लघुतम भइकन पनि मुक्तक आफैमा पूर्ण र प्रभावकारी माध्यम पनि हो । शब्दको शक्ति र अनुभवको निचोडले थोरै शब्दमा मानवीय संवेदना जगाउन सक्नु र विषयको प्रभावकारीता साबित गर्न सक्नु मुक्तकको विशेषता हो । एउटा सिंगो कविता र कथाले भन्ने भावना र विषयलाई मुक्तकले पनि मजैसित बहन गर्नसक्छ ।
गत दुई तीन वर्षदेखि मात्र तीब्रताका साथ मुक्तक क्षेत्रमा उपस्थिति जनाउन थालेका संष्टा नवराज सुब्बाले यसै वर्ष मुक्तक संग्रह सार्वजनिक गरेका छन् । उनका हालै प्रकाशित मुक्तक संग्रह चीत्कारमा समसामयिक विषयका सय वटा मुक्तक छन् । यहाँ संकलित सबै मुक्तक चार हरफे संरचनामा बुनिएका छन् । प्रायः मुक्तकको पहिलो दोश्रो र चौथो हरफमा अनुप्रास मिलाइएका छन् भने कुनै कुनै मुक्तकमा दोश्रो र चौथोमा मात्र अनुप्रास मिलाइएका पनि छन् । मुक्तकको एउटै साँचोमा नढालेर उनले शैलीगत संरचना फेर्नका लागि यसो गर्नु उपयुक्त छ ।
चीत्कारमा भएका प्राय मुक्तक वर्तमान समयका विविध प्रसङ्ग र अनुभूतिहरु माथि लेखिएका छन् । समसामयिक जीवनका ससाना सन्दर्भहरु जसले मानिसका जीवनसित सिधा सरोकार राख्छन्.। शिक्षा, राजनीति, प्रेम, चाहना, मानवीय संवेदना, आधुनिकताले गाँजेको परिवार र समाज, लोग्नेस्वास्नीबीचको सम्बन्ध, रोजगारीको समस्या, विदेश पलायन, पराधिनता, दासत्व र निराशा आदि विविध विषमाथि यी मुक्तकहरु केन्द्रित छन् ।
अचेल साहित्यमा राजनीतिक विसंगति र विकृतिबाट उब्जेका ससाना समस्या र अनुभूतिहरु नै बढी मात्रामा चासोको विषय भएको छ । विशेषतः कविता, मुक्तक, गजलमा समसामयिक राजनीतिले ल्याउने अनुभुतिकै बाहुल्यता हुन्छ । मानवीय जीवनका हरेक पक्षमा पाइलैपिच्छे ठोक्किने विषय पनि राजनीति सम्बद्ध भएकैले यसले प्रमुखता पाएको हो । मुक्तककार सुब्बाले पनि राजनीतिलाई विना पूर्वाग्रह सामान्य र सहज रुपले ग्रहण गरेका छन् । संविधान बेलैमा नबनेर अन्यौल छाएको, संक्रमणकाल लम्बिएको, अरुको काँधमा बन्दूक हानेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृत्ति अचाक्ली बढेको, भ्रष्टाचारले भित्रैसम्म जरा गाडेको आदि विसंगत पक्षमाथि उनले असंतुष्टि पोख्दै औंला सोझ्याएका छन् । उनी राजनीतिक विसंगतिप्रति कटाक्ष र व्यंग्य त गर्छन् तर उनको व्यंग्यमा उग्र आग्रह र अतिशयोक्तिको मात्रा हुन्न ।
एउटा उदाहरण –
तिमीले मलाई कुराले मालिक बनायौ
व्यवहारमा दोबाटोको सालिक बनायौ
बलिदान व्यर्थैमा दिइएछ भन्छ शहीद
सङ्क्रमणकाललाई सर्वकालिक बनायौ ।
यसैगरी पृष्ठ ५७, ६८, ७०, ७३, ४०, ६३ मा भएका मुक्तकमा पनि उनले राजनीतिक विसंगतिलाई नै केलाएका छन् । हाँगामा बसेर फेद काट्ने मूर्खता गरिएको, जनता र कार्यकर्ताप्रति कुनै जिम्मेवारीबोध नगरेको, लहैलहैमा लागेको, जुट्न पनि नसेको र फुट्न पनि नसकेको विचित्र अवस्थामा रहेको दलहरुको मानसिकता आदि विषयलाई प्रभावकारीताका साथ प्रस्तुत गरिएका छन् ।
राजनीतिपछि स्थूल विषयका रुपमा यहाँ प्रेम, चाहना, आधुनिकताको अस्वाभाविक प्रदर्शन, मानवीय संवेदना र सम्बन्धलाई नियाल्ने प्रयास गरिएको छ ।
म तिमीलाई सधैं नौली देख्छु
बैंसले पनि होला रुपौली देख्छु
मिस वल्र्डमा पो जाँदैछौ कि !
आजकल अलि उत्ताउली देख्छु ।
यसैगरी फेसबुक र इन्टरनेटमा झुम्मिएका पुस्ताको संवेदनाहीन मानसिकता, एकोहोरो प्रेमले धोती न टोपी पारेको, मायाप्रेममा र झरी उस्तै अनुभूति हुनु, केही गर्दा पनि नगरेको  टिप्पणी र गर्दा पनि आलोचना गर्ने प्रवृत्ति, वैदेशिक मोह र आफ्नोपन हराउँदै गइरहेको विषयलाई यहाँ पृष्ठ २२, १८, १९, ३२, ३९, ५९, ६३ ५८ का मुक्तकहरुले प्रस्तुत गरेका छन् ।
मुक्तककार सुब्बाले मानवीय जीवनका निराशा, कमजोरी, अविश्वास र आशंकाहरुमाथि जहाँ सहज रुपले टिप्पणी गरेका छन् त्यहीँ भविष्यप्रतिको भरोसा, उज्यालोको आशा र जीवनका हार्दिकताहरुका बारेमा पनि सचेतता देखाएका छन् ।
स्रष्टा सुब्बाका यी मुक्तकहरुको भाषा र संयोजन सरल र सहज हुनुको साथै संप्रेषणीय पनि छ । मुक्तकहरुले मुलुकका विभिन्न सन्दर्भहरुको एउटा एउटा चित्रलाई प्रस्तुत गर्न सफल छ । तर मुक्तकको अन्तिम हरफले पाठकलाई जुन प्रकारले जिज्ञासाको समन र प्रस्तुतिको झट्का दिनुपर्ने हो त्यतातिर भने मुक्तकको प्रभावकारीता केही कमजोर छ । मुक्तकको एउटा विशेषता अन्तिम हरफको तीखोपन र प्रहार क्षमता हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.