किरात मुन्धुम सुन्दरतम् मानव चेतना

  • डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
इतिहासकार इमानसिंह चेमजोङद्वारा संकलित/सम्पादित  ‘किरात मुन्धुम’ (1961[2003]),  किरात दर्शनको सारांश (1969[2003]) ग्रन्थहरूमा आधारित रहेर मुन्धुमबारे सामान्य चर्चा गर्दैछु । श्रुति परम्परामा आधारित लोकसाहित्यको रुपमा विकसित महाकाव्यलाई तीन देखि १२ दिन रात लगाएर तङसिङ गर्दा मुन्धुम गाइन्छ । यति लामो महाकाव्यलाई लिपिवद्ध गर्नु स्वयम्मा चुनौतिपूर्ण कार्य हो । लेखकले पुस्तक लेखनका क्रममा सिरिजङ्घा लिपि, रोंग लिपि र चन्द्रपुलिङ लिपिमा लेखिएका हस्तलिखित ६ वटा पुस्तकहरुको आधारमा मुन्धुम लेखिएको बताउनु भएको छ ।

मुन्धुमलाई  सर्वप्रथम् नवौं शताब्दीमा तम्बरखोला निवासी सिरिजङ्घा नामका सन्त तथा राजाले पहिलो पटक  सिरिजङ्घा लिपिमा लिपिबद्ध गरे । यसपछि मुन्धुम लेख्य परम्पराको रुपमा आयो । मुन्धुमको दोस्रो संस्करण अठारौं शताब्दीमा र हालको मुन्धुम तेस्रो संस्करण बीसौं शताब्दीमा संकलित भएको हो (सुब्बा, २००४) ।

(ख) विषय प्रवेश : मुन्धुमको परिचय र परिभाषा
मुन्धुमलाई विभिन्न ज्ञानी तथा विद्वानहरुले विभिन्न दृष्टिकोणबाट परिभाषित गरेका छन् । किरात लिम्बूले मुन्धुमलाई धार्मिक आस्था तथा ग्रन्थको रुपमा विश्वास गर्ने गर्छन् । साम्बा, येबाहरुले मुन्धुमलाई देवताको बोली मान्दछन् । लिम्बू भाषामा बाच्यार्थको हिसाबले ‘मु’ भन्नाले मौखिक र ‘थुम’ भन्नाले बलियो बुझिन्छ । अर्थात् ‘मुन्’ भन्नाले हल्लिने वा घुम्ने भन्ने पनि बुझिन्छ । इतिहासकार इमानसिंह चेमजोङले मुन्धुमको परिभाषामा मुन्धुम भनेको ‘ठूलो बलको शक्ति’ हो भनेका छन् । उनले मुन्धुमलाई हिन्दूको वेदसित तुलना गर्दै यसलाई उनले किरातको वेद पनि भनेका छन् । वेद भनेको ज्ञान हो । मुन्धुममा तागेरा निङ्वाःफू माङलाई जता पनि पुग्ने उज्यालो शक्तिको रुपमा चित्रण गरिएको छ । सामान्य प्रकाश सबैतिर नपुग्न सक्छ, छेकिन सक्छ, वा कतै अँध्यारो पर्न सक्छ । तर सबैतिर पुग्न सक्ने उज्यालो प्रकाश त सामान्य प्रकाश नभएर पक्कै ज्ञानको प्रकाश नै हुनुपर्छ । यसैले यो पक्कै ज्ञान हो ।

विभिन्न विद्वानहरुको मतलाई समष्टिगत रुपमा राखेर हेर्दा, मुन्धुम भनेको किरात जातिको श्रुतिस्मृति परम्परामा आधारित जीवनदर्शन, मार्गदर्शन तथा आस्थाकेन्द्र हो, जसमा सृष्टिकथा, यात्रागाथा, विधि–विधान, आचारसंहिता, उपचार विधि विद्यमान रहेको, यो एक बौद्धिकमय, काव्यात्मक तथा संगीतमय परम्परा हो । मुन्धुम कहिल्यै नसुक्ने ज्ञानको मुहान हो । किरात लिम्बूले मुन्धुम भनेझैं राईले यसलाई ‘मुन्दुम’, ‘मुदुम’, ‘दिउला’, सुनुवारले ‘मुक्दुम’ र याक्खाले ‘मुन्तुम’ भन्ने गर्दछन् ।

मुन्धुम श्रुतिस्मृति परम्परामा आधारित महाकाव्य हो । यो लोक साहित्य पनि हो । यसको रचयिता अज्ञात रहन्छ । यो मौखिक र परम्परागत हुन्छ । यसले सर्वाङ्गीण रुपमा सामाजिक परम्पराको उद्बोधन गर्छ । यसमा प्राकृतता, औपदेशिकता, ऐतिहासिकता पाइन्छ । मुन्धुम लोकसंस्कृतिको बाहक पनि हो ।

(ख) मुन्धुमको प्रकार
मूलतः मुन्धुम भनेको मौखिक परम्परामा चलेको ‘थुतुरे वेद’ हो जसलाई लिम्बू भाषामा ‘थुङसाप मुन्धुम’ भनिन्छ । यसरी ‘थुङसाप’ मुन्धुम नै प्राचीन कालदेखि लामो कालखण्डसम्म चल्दै आएको छ । लिम्बू भाषाम ‘थुङ’ भनेको खानु र ‘साप’ भनेको पाठ हो । यसरी ‘थुङसाप’ भनेको कण्ठस्थ गरी मौखिक रुपमा वाचन वा गायन गर्ने काव्य हो ।

यसैगरि लिखित रुपमा पाइने मुन्धुमलाई ‘पेसाप मुन्धुम’ भनिन्छ । लिम्बू भाषामा ‘साप’ भनेको पाठ ‘साप्मा’ भनेको लेख्नु र ‘पे’ भनेको ‘जाऊ’ हो । यसरी पेसाप भन्नाले लेखिपठाउने पाठ वा लिखित भन्ने बुझिन्छ । पेसाप मुन्धुम मुख्यतः चार किसिमका हुन्छन् । पहिलो हो सक्सक् मुन्धुम, यसले सृष्टिको वर्णन गर्दछ । दोस्रो हो, साम्जिक मुन्धुम, यसले किरात दर्शनको ब्याख्या गर्दछ । तेस्रो हो, साप्जि मुन्धुम, यसले आध्यात्मिक दर्शनको ब्याख्या गर्दछ । र चौथो साप् मुन्धुमले इतिहासबारे बताउँछ ।

(ग) मुन्धुमी दर्शनभित्रका मूलभूत तत्वहरु
मुन्धुमले व्रम्हाण्डको उत्पत्ति, चराचर जगत, जीवजन्तु र मानिसको सृष्टि, मानव समाजको विकास, मानवीय स्वभाव जस्तै रिस–राग र क्रोध, ईर्ष्या, छलकपट, व्याभिचार, पाप, धर्म, अधर्म सम्बन्धी धारणा तथा दर्शन मौखिक गायन परम्पराबाट पुस्तामा हस्तान्तरण हुँदै आएको छ । यो परम्परा आजसम्म निरन्तर जारी छ ।

आदि सृष्टिलाई चइःत् भनिन्छ । किरातको याक्थुङ साम्जिक मुन्धुमले  चइःत्  बारे बताउँछ । सृष्टि पहिले केही थिएन सून्य, अँध्यारो थियो । यही सुनसान र अँध्यारोबीच “इत्तासिङ” अर्थात् स्वयम् विचार (स्वयम्भू) आफसेआफ प्रकट भयो । त्यो आफै उत्पन्न विचार वा इत्तासिङ वा स्वयम्भू अन्तर्गत पञ्चशक्ति अर्थात् आगो (चफत्), पानी (मुक्कुम), हावा (हिक्के), पृथ्वी (इक्सा) र आकाश (तरःक्) सिर्जना गर्ने विचार प्रकट भयो । यो पञ्चतत्वलाई मुन्धुममा पञ्चशक्ति वा “नामुक्साम” भनिएको छ । यो पञ्चशक्तिको मुल आधार “इत्तासिङ” वा “स्वयम्भू” वा स्वविचार हो । स्वविचार भनेको ज्ञानको खानी हो भनी मुन्धुमले इत्तासिङ वा स्वयम्भूलाई “निङ्वाफुमा” भनेको छ । यसैलाई मुन्धुमले मनमा आफै प्रकट भएकी ज्ञानकी खानी मनकी रानी भनी “निङ्वाहाङमा” पनि भनेको छ । यसैलाई मुन्धुमले मनको उज्यालो मानेर “निङवाफु” पनि भन्दछ । किरात लिम्बू भाषामा “आतित्ये तित्ये आसुन्ने माङ लो” भनेर यो को हो? कताबाट आयो? यो कुन देवता हो? भनी कसैले पनि भन्न सक्दैन है भनेर परिचय दिएको छ । स्वयम् विचारले आफ्नो ज्ञानको प्रभावमा पञ्चशक्ति वा नामुक्सामको भरमा आगो, पानी, हावा, पृथ्वी र अकास सृष्टि गरी विश्वको रचना गरे साथै यही क्रममा उनले जन्मने, बढ्ने, मर्ने र फेरि पुनर्जन्म हुने शक्तिको पनि सृष्टि गरे ।

आगो सृष्टि गर्ने क्रममा चुम्बकीय पिण्डहरु उत्पन्न गरेर तिनीहरुको घर्षणबाट सुनसान अनन्त भुवनमा उज्यालो उत्पन्न भयो । यो ज्योति चम्केर गर्मी उत्पन्न भएपछि पसिनास्वरुप पानीका फोकाबाट पानीको कण उत्पन्न भइ बढ्दै गएर सागर महासागर उत्पन्न भयो । अग्निको ताप बढेपछि भुवनको पानी छचल्कियो र हावाको उत्पत्ति भयो । आगो, पानी र हावाको सृष्टि गरेपछि निङ्वाफुमाले उनको अपार ज्ञानले सुनसान एकान्तमा “पोरोक्मीवा यम्फामिवा” नामक एक शक्तिशाली आत्माको सृष्टि गरी पृथ्वीको रचना गर्ने आदेश दिए । पोरोक्मीबा याम्फामीबाले समुन्द्रको फेदमा “मुसेखा सेखाना” र “मुजिङ्ना खियोङ्ना” नामक माछाहरुलाई भार थाम्न लगाइ पृथ्वीको सृष्टि गरे । त्यसपछि निङ्वाफूमाको ज्ञानको प्रभावले पोरोक्मिबा याम्फामिबाले १४ वटा शक्तिमान आत्माहरुको सृष्टि गरी पृथ्वी, अकाश सुहाउँदो थप सृष्टि गरे । त्यसपछि खालि आकाशमा सूर्य तथा तारागणको सृष्टि भयो ।

(ग–१) ब्रम्हाण्ड उत्पत्ति
सर्वप्रथम मुन्धुममा सर्वव्यापी उज्यालो आत्मा अर्थात् तागेरा निङ्वाःफू माङ देवतालाई सम्बोधन गरिएको छ । उहाँलाई उज्यालो आत्माको प्रकाश अर्थात् ज्ञानलाई शक्तिको रुपमा मान्दै उहाँकै इच्छानुरुप मुन्धुममा पूराकथा अगाडि बढेको छ । मुन्धुम अनुसार शून्यताबाट ब्रम्हाण्डको उत्पत्ति आरम्भ भयो । त्यसबेला देव, आकास, माटो, हावा, नदी, चन्द्र, सूर्य, पहाड, बनजंगल, पशु, पंक्षि, माछा आदि प्राणी केही थिएनन् । आकास उँभो भ्वाँङ परेको अँध्यारो ठूलो फाँट शुन्य थियो । उँभा उँभो भ्वाँङहरुबाट भुँवरी हावा निस्केर उठेर आठ फन्को मार्दै खडा भयो र त्यहाँबाट मसिनो बालुवा निस्कियो । सृष्टिका बाबुआमा मुना तेम्बे मैदानमा जन्मिए र बालकझैं उनीहरुले स्वास फेरे भनेर मुन्धुममा वर्णित छ । मुन्धुममा भुँवरीबाट जन्मेको मुनातेम्बेका बाबुआमा बालकले भुवरीसंगै झगडा गरे । पोरोक्मी याम्फामी माङ देवता प्रकट भए । पोरोक्मी याम्फामी देव पछि दस र चार अरु देवगणको सृष्टि भयो । निङ्वाःफू माङको आदेशपछि पोरोक्मी याम्फामीले सर्वप्रथम समुन्द्र र त्यसको सबैभन्दा तल मुसेखा सेखाना र समुन्द्रको अलि माथि मुजिङना खियङना नामका ठूल्ठूला माछाहरुको सृष्टि गरी समुन्द्र बोकेर थाम्ने शक्ति दिए । त्यसलाई मुरुप्ली खेरुप्ली अर्थात् भुकम्प थाम्ने शक्ति प्रदान गरे ।

तागेरा निङ्वाफू माङसित ज्ञान लिएर पोरोक्मी याम्फामीले पृथ्वीलाई ठेकी र सूर्य तथा चन्द्रलाई मदानी बनाएर घुमाए र मन्थन गर्दा टुक्रिएका चोइटाहरु ग्रहहरु बने । पोरोक्मी याम्फामी मुनिका १० र ४ चौध देवताहरुले पनि विभिन्न सृष्टिको रचना गरे । पाजोमाङ देवले तीस र तीन गरी तेत्तीस देवगण रचना गरे । फक्ताङमाङ देवले सावायेत बेल्बोबन नामक दानव रचना गरे । सुसुम्बुमाङ देवले पानीमा बस्ने आठ किसिमका जलदेवता रचना गरे । बेसुम्बुमाङ देवले आठ हजार तारा र विजुली बनाए ।

(ग–२) पृथ्वीको उत्पत्ति
मुन्धुम अनुसार बेबेसोमाङ देवले हंस देवता, भुईका देवता, घाम, जून र देवगणको सृष्टि गरे । बेलासोमाङ देवले चन्द्रदेवको र बेनाम्सोमाङले सूर्यदेवको सृष्टि गरे । कुम्फामाङ देवले पृथ्वीलाई ठूला नौ देश, सात ठूला टापु र आठ अग्ला पहाड र सात ठूल्ठूला समुन्द्र र बनजंगलको सृष्टि गरे । यसैगरि विभिन्न देवहरुले बादल, सुन, चाँदी, ताँबा, फलाम, ढुँगा, हीरामोति, माछा, पशुपंक्षी, किराफटेङ्ग्रा, र यमराजको सृष्टि गरे ।

मुन्धुम अनुसार यो पृथ्वी लोकमाथि आत्माहरु बस्ने आत्मा लोक छ । त्यहाँमाथि हँसाउने, रुवाउने, बिरह चलाउने, पृथक गर्ने देवताहरु बस्ने आकाशलोक छ । त्यसमाथि हंसहरुको नियानिसाफ हुने खारा लोक छ । त्यसमाथि दश र चार देव बस्ने चन्द्रमाको प्रकाश पुग्ने घाम जस्ते उज्वललोक छ । त्यसमाथि चौध देवगणले हात जोडेर सर्वव्यापी परमात्माको भक्ति गर्ने तपलोक छ । त्यसमाथि पोरोक्मी याम्फामीले हात जोडि भक्ति गर्ने पवित्र लोक छ । र त्यसमाथि सर्वव्यापी परमात्मा तागेरा निङ्वाःफू माङ बस्ने बैकुण्ठ अर्थात् साङ्ग्राम् पेदाङ तेन रहेको छ ।

यसैगरि मुन्धम अनुसार यो पृथ्वीलोक मुनि मुरोपलुङ खेरोपलुङ ढुँगाको लोक छ । त्यसमुनि मुगुपलुङ थेगुपलुङ नामक अर्कै ढुँगाको लोक छ । त्यसमुनि मुरुप्ली खेरुप्ली लोक छ जुन हल्लियो भने पृथ्वी नास हुन्छ र भुकम्प ल्याउने शक्ति भएको अक्वाना नामक कछुवा पनि त्यही लोकमा छ । त्यसमुनि मुजिङ्ना खियङना नामक ठूलो माछा बस्ने लोक छ । त्यसमुनि मुसेखा सेखाना नामक ठूलो माछा छ । त्यसमुनि अघि आदिकालमा बनेको सिमसार, हिलो पानी भएको त्रिवेणीलोक छ । मुन्धुम अनुसार त्यसमुनि कहिल्यै ननिम्भे आगोले घेरिएको यमराज बस्ने नरककुण्ड छ । पृथ्वीको चारदिशामा चार महासमुन्द्र छ । उत्तर दिशामा थोसिम (माथिल्लो) अर्थात् चीन छ, दक्षिण दिशामा तेमेन (हिन्द) महासागर छ, पूर्व दिशामा पोसनथार (प्रशान्त) महासागर र पश्चिम दिशामा पुरानिला अर्थात् अन्टार्टिका छ । सात द्वीपहरुमा जम्बुद्वीप, सालमलीद्वीप, कुशद्वीप, सिंहलद्वीप, पुष्करद्वीप, शकद्वीप र ताईद्वीप छन् । यसैगरि मुन्धुममा ठूला आठ देशहरुमा थोसिङ (माथिल्लो चीन) देश, तेमेन देश (दक्षिण), ताईदेश, तहे देश, चीन देश, भोट देश, भारत देश, कुश देशहरु उल्लेखित छन् ।

(ग–३) मानिसको सृष्टिकथा
मानिस बिनाको संसार तागेरा निङ्वाःफू माङलाई नरमाइलो लाग्यो । उहाँले अर्का देव पोरोक्मी याम्फामीलाई मानिस जातिको नमूना बनाउन अर्हाउनु भयो । पोरोक्मी याम्फामीले मानिसको मूर्ति बनाउने क्रममा पहिलो पटक सुनको र दोस्रो पटकमा चाँदीको मानवमूर्ति बनाएर सेतो चमरले हम्काउँदै “ए जूनको छोरो तँ जून भइस्, ए घामको छोरो तँ घाम भइस्, तरुणीबाट जन्म हुने मानिस पनि तँ नै भइस, अब उठ्” भनी बोलाइन तर मानवमूर्ति चट्पटाएन, बोलेन । उनी छक्क परिन् र फेरि तागेरा निङ्वाःफू माङसित ज्ञान मागिन् । तब ज्ञान पाएर उनले मालिंगो वा देवनिगालोको खरानी र पहेंलो माटोको लेऊलाई झिकेर त्यसमा ढुङ्गाको टोड्कामा रहेको आकाशको पानी मिसाएर माटो मुछेर त्यसको मूर्ति बनाएर सातो हाली फेरि उसैगरि बोलाउँदा “हुँ के भनेको” भन्दै मानवमूर्ति चट्पटायो । यसरी त्यो मूर्ति मानिस भएपछि अचम्म मान्दै पोरोक्मी याम्फामी खुशी भए ।

मुन्धुम अनुसार तागेरा निङ्वाःफू माङलाई स्वास्नी बिनाको लोग्ने मानिस नसुहाएको ठान्नुभयो र पोरोक्मी याम्फामीलाई पुनः स्वास्नीमानिसको मूर्ति बनाउन अर्हाउनु भयो । पोरोक्मी याम्फामीले पनि निङ्वाःफू माङबाट ज्ञानवुद्धि लिएर स्वास्नी मानिस बनाए । अब लोग्नेमान्छे र आइमाई लजाए । त्यसैले पोरोक्मी याम्फामीले ढुङ्गाको टोड्काको पानी झिकेर त्यसमा मर्चाको दवाई मिसाएर खुवाएपछि लाज हट्यो र आपसमा बोलचाल गर्न थाले । यी दुई जनालाई तागेरा निङ्वाःफू माङले आफ्नो छोराछोरी भयौ भनि आशिर्वाद दिनु भयो । उनले ती तरुणी तन्देरी छोराछोरीलाई बैंश पनि हालि दिनु भयो । यसपछि यिनीहरुबाट सुसुङ्गे– लालुङ्गेको जन्म भयो । सुसुङ्गे–लालाङ्गेले आफ्नी आमालाई धनुकाँण मागे तब तिम्रो बाबु नभएकोले म दिन सक्दिन भनेर आमाले जवाफ दिइन् । उसोभए तब म कसरी जन्मिएँ त ? भनि छोराले जिज्ञाशा राख्दा आमाले हावा, वतासको संसर्गबाट जन्मिएको जवाफ दिइन् । र छोराले आठवर्षको उमेरदेखि चराको शिकार गर्न थाल्यो ।

(ग–४) पापको जन्मको कथा
सुसुङ्गे– लालुङ्गे नौवर्षको उमेर पुगेपछि तन्देरी उमेरमा प्रवेश गर्दै थियो । उ माथि चीन भोट र तेमेन (दक्षिण) भारत, औल वा तराई) क्षेत्रमा शिकार खेल्न जान सक्ने भयो । यसैबेला उसकी आमाले जन्माएकी छोरी लाहादोङ्नासित चेलीमाइती हाडनातामा बिग्रिए । तागेरा निङ्वाःफू माङले यो व्यभिचार पाप भयो भन्नुभयो । तसर्थ आठ–नौ पुस्तासम्म चेली माइति पक्षमा बिहे गर्न हुन्न भन्ने थिति बाँधिदिनु भयो । यो थिति बिगारे चट्याङले मार्ने सजाय बताउनु भयो ।

सुसुङ्गे लाहाङ्गे र लाहादाङ्नाका कोखबाट मुहाम्फेवा, मुसाङनिना र उनीहरुका धेरै भाइबैनीहरुको जन्म भयो । मुन्ध्मका अनुसार मानिस सर्वप्रथम उत्पत्ति भएको स्थान मुनातेम्बे वा मुना मैदान हो ।
(ग–५) नाहेन अर्थात् डाहीको सृजना : मुन्धुमका अनुसार मरेका आत्माहरुले आँखी डाही भई मानिसलाई सताउन सुरु गरे । मुन्धुम भन्छ– यही आँखी डाहीले मानिस मर्दछन् ।

(ग–६) रिसको जन्म : तिगेन्जङ्ना मुनाखाम्ना भन्ने स्थानमा पुगे । उनका केसामी र नाम्सामी नामका दुई छोराहरु भए । तीनमा आँखीडाहीको जन्म भई आपसमा झगडा गर्न लागे । जंगलमा दाजुले भाईलाई मार्न खोज्दा भाई नाम्सामीले दाजु केसामीलाई मारिदियो । केसामीको चिन्ह बाबरी फूल ओइलाए पछि आमाले दाजु मरेको थाहा पाइन र भाईको चिन्ह सेक्मारी फूल मुन्धुममा नओइलिएको हुँदा लिम्बू संस्कृतिमा यो अजम्बरी र पवित्र फूलको रुपमा मानिन्छ ।

(ग–६) उपचार विधिहरु : मुन्धुममा शिशुलाई बचाउने विधि, आगोले पोलेको डाह हटाउने विधिको उल्लेख छ ।

(ग–७) येहाङ शास्त्र : येहाङ एक प्रशिक्षित ज्ञानी मानिस हुन् । उनलाई मुन्धुममा अवतारको रुपमा पनि लिइएको छ । उनको मुन्धुममा सामाजिक व्यवस्था तथा रीतिथितिको बन्दोबस्त गरिदिएका छन् । उनले विवाह रीति, अशुद्धलाई शुद्ध गर्ने रीति, निया–निसाफको थिति, येहाङ उपदेश मुन्धुमभित्र छन् । सुदृढ न्याय प्रणाली तथा असल शासन भएको मुन्धुममा देखिन्छ ।

यसैगरि मुन्धुममा लेप्मुहाङको प्रलय–कथा, लेप्मुहाङको भजन, लेप्मुहाङको उपदेश छन् । यसैगरि मुन्धुममा अन्नबाली लगाउँदा पूजा गर्ने विधि, न्वाँगी पूजा गर्ने विधि, कर्मकाण्डको विधि, सुत्केरी शुद्ध हुने विधि, बालकको नाम राख्ने विधि, मराउ परेको घरमा शुद्ध गर्ने विधि, विवाह गर्ने विधि, विवाह कर्मकाण्ड गर्ने विधि, लगन गर्ने विधि आदि उल्लेख छन् । मुन्धुममा भाषा नमिलेको कथा, यासोकेनी महारानीको कथा, कान्देन हाङको उपदेश, मुक्केगुबा राजाको कथा, लासाहाङको कथा, माबोहाङको कथा, माबोहाङको देववाणी, वेदो राजाको कथा, बाजे देवताको कथा, घरदेवताको कथा, खाने–पिउने बेलाको प्रार्थना, बेलुकाको प्रार्थना आदि छन् ।

(घ) छलफल
मुन्धुममा धेरै प्रकारका देवीदेवताहरुलाई छन् मुलतः दुई भागमा बाँड्न सकिन्छ– घरभित्र पुजिने देवीदेवताहरु र जंगली देवीदेवताहरु । जस्तैः घरभित्र पूजिने हिमसाम्माङ र घरबाहिर पुजिने ताम्फुङसाम । मुन्धुममा नश्वर शरीरको बारेमा चर्चा छ । पाप र नर्कको अवधारणा पनि मुन्धुममा उल्लेख गरिएको छ । त्यतिमात्र होइन पापबाट मोचन हुने मार्गको बारेमा पनि चर्चा छ । धार्मिक थितिको राम्रो प्रबन्ध मुन्धुममा गरिएको पाइन्छ । उधौली, उभौली पूजा गर्नु, अन्न बाली पाके पछि न्वाँगी पूजा गर्नु, स्त्री गर्भवती हुँदा बालकको समेत रक्षाका लागि साप्पोक चोमेन पूजा गर्नु । रक्षाका लागि वर्षमा एकचोटी सबैले माङगेना गर्नु, पाप्झेङ गर्नु, तीनवर्षमा एकपटक जहानको जेठोपाकोले नेहाङ्मा पूजा गर्नाले शरीरको रक्षा हुन्छ भनि मुन्धुममा लेखिएको छ ।

मुन्धुम हेर्दा यसमा सामुहिक भावनालाई महत्व दिएको देखिन्छ । लिम्बू समुदायमा यही मुन्धुमी सिद्धान्तको आधारमा पञ्च भलाद्मी अर्थात् चुम्लुङ बस्ने र प्रजातात्रिक विधिले विवाद मिलाउने प्रचलनको अभ्यास भएको देखिन्छ । दुबो–ढुङ्गो छुवाएर शुद्ध गर्ने जस्ता कुरालाई लिम्बू समाजले महत्व दिन्छ ।

मुन्धुमले लिम्बू जातिको उत्पत्ति, उपदेशलाई पनि महत्व दिएर उल्लेख गरेको छ । लिम्बू जातिका पुर्खाले विचरण गरेका मुख्य मुख्य स्थान र घटनालाई पनि समेटेको छ ।

(ङ) उपसंहार
किरात मुन्धुम श्रुतिस्मृति परम्परामा आधारित यस जातिकै जीवनदर्शन, मार्गदर्शन तथा आस्थाकेन्द्र हो । यसमा सृष्टिकथा, यात्रागाथा, विधि–विधान, आचारसंहिता, उपचार विधि विद्यमान रहेको छ । यो एक बौद्धिकमय, काव्यात्मक तथा संगीतमय परम्परा हो । यसलाई आजको अवस्थासम्म ल्याउन अनगिन्ति साम्बा र विद्वानहरुको ठूलो योगदान रहेको छ । यस क्रममा इतिहासकार इमानसिंह जेमजोङले यसमा पुर्याउनु भएको महत्वपूर्ण योगदानलाई इतिहासले, नेपाली र किराती समुदायले सदा उच्च मूल्याङ्कन गरेको छ ।

References
1. Subba, J. R. (2004). Mahatma Sirijunga Singthebe: The great social awakener.Gantok: Sikkim Yakthung Saplopa.
2. Iman Sing Chemjong (2003) Kirat Mundhum, Kirat Yakthung Chumlung, Lalitpur, Nepal.
3. Mohan Kumar Tumbahang (2013) A Linguistic Study of Limbu Mundhum, A Dissertation Submitted to the Faculty of Humanities and Social Sciences of Tribhuvan University in Fulfillment of the Requirements for the Degree of Doctor of Philosophy in Linguistics.