फयङ साँबाको थर, उपथर तथा बंशावलीसम्बन्धी अवधारणा–१

Dr. Nawa Raj Subba

हाल नेपालमा पहिचानको लहर चलेको छ । सबै जात-जातिले आ–आफ्नो जातीय, ऐतिहासिक नालिबेलि खोजतलास गर्दै, वंशीय दाजुभाई जम्मा भएर चिनजान गर्ने र वंशावली निकाल्ने लहर पनि चलेको छ, जुन कुरालाई समाजशास्त्रका दृष्टिले सकारात्मक पाइला मान्नु पर्दछ । वंशावली निकाल्ने कामले समग्र इतिहास, समाज विकासक्रम र जाति विशेषको अध्ययन गर्दछ । यसले आपसमा सम्बन्ध बढाउँछ, नाताकुटुम्ब केलाउनलाई सहयोग मिल्दछ । फलस्वरुप एकताभावको विकास गरेर अन्ततः एउटा सभ्य र समृद्ध जातिको रुपमा विकसित गर्न मलजल गर्दछ । यसले जाति, थर तथा उपथरप्रतिको विशिष्ठता, अपनत्व र ममताको विकास गर्दछ । तर यसमा लाग्दा अन्य जाति, थर तथा उपथरप्रतिको प्रेम, सद्भाव र सम्मानमा अलिकति पनि ठेस लाग्न दिनु हुँदैन । यस कार्यमा जातीय अभियान र राजनीतिभन्दा टाढा तथा धार्मिक र साम्प्रदायिक आग्रह र आक्षेपभन्दा माथि रहेर विशुद्ध प्राज्ञिक र बौद्धिक धरातलमा रहेर यसको अध्ययन, विश्लेषण र लेखन हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । यसलाई कुनै जाति, थर वा उपथरले अस्तित्व र पहिचानको लहडबाजीमा सत्य-तथ्य र विवरणलाई अतिरञ्जित कदापि गर्नु हुँदैन । यसैले वंशावलीलाई एक जिम्मेवार इतिहास लेखनको रुपमा स्थापित गराउन हामी सबैको ध्यान जानु पर्दछ । संक्षेपमा, मैले बुझेको वंशावलीको अर्थ यही हो ।

फयङ साँबा समुदायले मलाई यसमा कलम चलाओस् भन्ने आग्रह गरेको म प्रत्यक्ष, परोक्ष रुपमा पाउने गर्दछु । विक्रम सम्बत् २०५९ सालमा ताप्लेजुङ हाङपाङ निवासी ऐतराज फयङ साँबाद्वारा संकलित तथा पङ्तिकारद्वारा सम्पादित तथा प्रकाशित वंशावलीको अंश परिवार–वृक्षको रुपरेखा प्रकाशित गरेको आज करिव डेढदशक भएको छ । यसबीचमा यसमा निकै चर्चा परिचर्चा तथा विचार व्यक्त समेत भएका छन् । पारिवारिक भेला तथा समाजको बैठकमा यसबारे विचार व्यक्त भएका छन् । अब हामी पनि यसलाई अन्य जाति, थर वा उपथरले प्रकाशित गरेका वंशावली समान हामी हाम्रो उपथरको वंशावली पनि प्रकाशित गरौं भन्ने आकांक्षा हामी सबैमा रहेको अवस्था छ । सबैको चाहना र भावना अनि मेरो यो परिवार तथा समाजप्रतिको दायित्वलाई मनन् गर्दै २०५९ सालमा थालेको अभियानलाई अझ विस्तृत रुपमा ल्याउन म मानसिक रुपमा तयार भएको छु ।

किरात लिम्बूको इतिहास र संस्कृति एवम् सामाजिक अध्ययनमा म पनि हाल लागेको हुँदा यसले मलाई निश्चित जातीय अध्ययन तथा वंशावलीमा काम गर्न थप बल पुग्ने विश्वासमा छु । अध्ययन, विश्लेषण, निष्कर्ष र लेखन कार्य अगाडि बढाउने क्रममा बिना पूर्वाग्रह मभित्र रहेको बौद्धिक ज्ञान, शीप, दक्षतालाई उपयोग गर्दा प्राज्ञिक नैतिकतालाई ख्यालमा राख्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । मैले यसलाई अवसर र चुनौती दुवै रुपमा लिएको छु ।

यस कार्यमा निश्चय पनि विभिन्न स्रोतसाधनको आवश्यकता अवश्य पर्दछ । जस्तै, ज्ञान, शीप, मेहनत, सामग्री, प्रविधि, समय, धन आदिको आवश्यकता पर्दछ । यसको चिन्ता अब लिनु पर्दैन । यसको लागि क्षमताले भ्याएसम्म म आफै सहन र पहल गर्नेछु । सबभन्दा ठूलो कुरो त लेख्न सक्छु भन्ने आत्मविश्वास र यसको लागि लेखक स्वयम् मानसिक रुपमा तयार हुनु हो । बस्, म त्यसको लागि पनि तयार छु । मलाई केवल सबै दाजुभाइको साथ, सहयोग र सुझाव चाहिन्छ । अब म कतैबाट आर्थिक सहयोग र कुनै आग्रह वा पूर्वाग्रहको अपेक्षा गर्दिन । मलाई केवल स्वस्थ सुझाव, सल्लाह र जानकारी दिएर निस्वार्थ सहयोग गरिदिए पुग्छ । सेवाभावले म
पनि निस्वार्थ भएर यथासम्भव स्वतन्त्रतापूर्वक अध्ययन कार्यलाई अगाडि बढाउन चाहन्छु ।

भविष्यमा वंशावलीलाई एक पुस्तकको रुपमा ल्याउने लक्ष्य राखेको छु । साथै, विश्वमा छरिएर रहेका दाजुभाइलाई सहज होस भन्नाको खातिर वंशावलीलाई आधुनिक प्रविधिसित जोडेर यसलाई अनलाईनमा वेभसाइटमार्फत पनि साझा गर्ने लक्ष्य लिएको छु । अनलाइन वेभसाइटमा वंशावली राख्दा छोरीको समेत देखाउन मिल्ने, व्यक्तिको विवरण हेर्न डिजिटल तरिकाले एकै क्लिकमा हेर्न सकिने व्यवस्था हुने संभावना हुन्छ । यसको लागि समय र धैर्यताको पनि जरुरी पर्दछ । मलाई सूचना वा सुझाव इमेल, वा मोवाइलबाट दिएमा स्वागत गर्नेछु । हाल मैले दाजुभाइ तथा शुभेच्छुकसित संचार स्थापित गर्न मेरो वेभसाइटमा माथि शिरमा एउटा मेनु Kirat Limbu भित्र गएर Genealogy of Samba Phayang क्लिक गरे पछि जानकारी पाइने व्यवस्था गरेको छु । कृपयाः कहिलेकाहिं वेभसाइटमा भएका काम हेर्दै पृष्ठपोषण फिडब्याक दिन नभुल्नु होला ।

मैले फयङ साँबा उल्लेख गरें । हाम्रो थर उपथरबारे लिम्बू जातीय परिचय, इतिहास, संस्कृति सम्बन्धी पुस्तक, वंशावलीमा विभिन्न इतिहासकार तथा विद्वानले के के उल्लेख गरेका छन् त्यसबारे अध्ययन गर्दैछु । हालसम्म मलाई विश्वास लागेको तथ्यको आधारमा उल्लेख गरें । यसबारे प्राप्त विविध तथ्य र तर्क सहित अर्को लेखमा प्रस्तुत हुनेछु । सेवारो ।