बोलाइ र लेखाइमा शुद्धताको खोजी

डा. नवराज सुब्बा

जातिबोधक थर, उपथर लेखनमा समस्या वा चुनौती के कस्तो छ?
नेपालीमा साँबा, साँवा, साम्बा, सावा अर्थात् अंग्रेजीमा Samba, Sanba, Sanwa, Sawa कुन थर लेखाई ठिक हो? भन्ने जिज्ञासा उठेको छ । यसैगरि फयङ, फेयङ, फैयङ तथा अंग्रेजीमा Phayang. Fayang, Phaiyang, Faiyang उपथर कुन चाहिँ सही हो भन्ने जिज्ञासा र वहस पनि चलेको छ ।

प्रस्तुत थर उपथरबारे इतिहास लेखनमा के उल्लेखित छ?
इतिहासकार चेमजोङ (२००३) ले किरात इतिहास र संस्कृतिमा मूल थरलाई देवनागरीमा साम्बा र अंग्रेजीमा Samba लेखेका छन् । यसैगरी अर्का लेखक इङनाम लिम्बू, (२०६९) ले उनको याक्थुङ पान पुस्तकमा मूल थरलाई देवनागरी लिपीमा साँबा र श्रीजङ्गा लिपीमा साम्बा भनेर उल्लेख गरेका छन् । यसैगरी लिम्बू भाषा विज्ञानमा विद्यावारिधि गरेका गोविन्द तुम्बाहाङले थर ‘साँबा’ र उपथरलाई ‘फयङ’ लेखेका छन् । विभिन्न वंशावली र इतिहासमा फेदाङमा बुझाउन ‘साम्बा’ र जाति बुझाउन ‘साँबा’ उल्लेखित छन् ।

मौखिक र लेखनमा विविधता कसरी आयो?
यो थर, उपथरले लिम्बू भाषा वा बोलीबाट नेपाली भाषा र अंग्रेजी भाषीहरुसंग उठबस गर्दै जाँदा समुदाय, स्थान र समयको अन्तरालमा यसको मौलिकता अपभ्रंश भई विविधता आएको विश्वास गरिन्छ । लिम्बू शब्दलाई पनि नेपाली र अंग्रेजी भाषा र व्याकरणको कशीमा घोटेर आफू अनुकूल भन्ने, लेख्ने चलन पाइन्छ । यसमा लिम्बू भाषा, लिपी र व्याकरणले यसको सही न्याय दिन सक्दथ्यो । तर व्यवहारिक रुपमा नेपाली र अंग्रेजी भाषाहरुसंग अनुकूलन गर्नु पर्ने बाध्यता भएकाले यसको भाषिक विश्लेषण जरुरी भएको छ । धेरैलाई व्याकरणको नियमको पालना गर्न नसक्दा, र कतिपयलाई अज्ञानतावश लेख्दा वा बोल्दा अपभ्रंश भएको पाइन्छ ।
देवनागरी लिपीमा भएको व र ब अक्षरको उच्चारणमा भएको विशिष्ठता नबुझेर पनि यसले अन्यौलपना ल्याएको छ । जस्तै नेपाली भाषामा तलथोप्री व लाई पनि बाटुलो ब उच्चारण गरिन्छ । जस्तै जीवन, वन लेख्दा व लेखे पनि उच्चारण गर्दा ब गरिन्छ । साँवा शब्दमा पनि ‘व’ लाई ‘ब’ उच्चारण हुनु पर्ने थियो । तर धेरैले यसलाई व नै उच्चारण गरिदिँदा लिम्बू भाषाको भैंसीबोधक शब्द ‘साँवा’ सुनिन्छ । यसैले साँवा लाई उच्चारण गर्दा गल्ति हुने सम्भावना बढी हुने देखिएकाले नेपाली झर्रोबादी शैली अपनाउँदै यसलाई भाषा वैज्ञानिक तुम्बाहाङले पनि आफ्नो पुस्तकमा ‘साँबा’ नै लेखेका छन् ।

विश्लेषण

लिम्बू भाषामा पुरोहित, अगुवा, हर्ताकर्ता अर्थ बुझाउने ‘साम्बा’ को समानार्थी शब्द ‘साँबा’ आज व्यवहारमा भएको अशुद्ध कथनी एवम् लेखनीको शिकार भएर लिम्बू भाषाको भैंसीबोधक शब्दसंग तुलना भई अनर्थ र अन्यौल उत्पन्न हुन गएको छ । यसमा पाठकवर्गको ध्यान नेपाली वर्णविन्यासतर्फआकर्षित गराउँछु । तत्सम व्युत्पन्न शब्द जसले ‘सम्बन्धित’ वा सन्तान बुझाउने अर्थमा तद्धित शब्दको अन्तिम वर्ण ‘व’ लेखिन्छ तर उच्चारण ‘ब’ गरिन्छ । जस्तै– पाण्डव, कौरव, शैव, यादव इत्यादि । यही आधारमा हाल कतिपयले ‘साँबा’ शब्दलाई पनि ‘साँवा’ लेख्दछन् । स्मरण रहोेस्, तत्सम शब्द भनेको संस्कृत भाषाबाट रूप नफेरिई आएको शब्द हो, जस्तै– शिर, हिमालय, विद्यालय इत्यादि । नेपाली भाषामा तत्समका अतिरिक्त तद्भव, झर्रा र आगन्तुक शब्दहरु पनि हुन्छन् । थाहै छ, यो ‘साँबा’ शब्द संस्कृतबाट सिधै रुप नफेरिई आएको तत्सम शब्द होइन, न त अन्य नेपाली शब्द झैं प्राकृत भएर बनेको शब्द नै हो । यो नेपाली राष्ट्रभाषा मध्येको एक मौलिक भाषा जो भोट–बर्मेली भाषा परिवारको लिम्बू भाषाबाट आएको एक आगन्तुक शब्द हो । यस्ता आगन्तुक शब्दमा माथिको तत्सम व्युत्पन्न शब्दको नियम लागू हुदैन । नेपाली भाषामा आएका अन्य आगन्तुक भाषा जस्तै लिम्बू भाषाबाट आएको आगन्तुक शब्दमा लागू हुने नियम यसमा लाग्दछ, जहाँ शब्दको जस्तो कथनी हुन्छ वा उच्चारण हुनुपर्ने हो शब्दमा पनि त्यही वर्ण नै लेखिन्छ, जस्तै– याक्थुम्बा, तोङ्बा इत्यादि (पौडेल र खनाल, २०६१) । यो ‘साँबा’ शब्द माथि उल्लेख भए झै ‘सम्बन्धित’ वा सन्तानबोधक शब्द अवश्य हो तर यो लिम्बू भाषाबाट नेपाली भाषामा आएको एक आगन्तुक शब्द भएकोले आगन्तुक शब्दलाई नेपाली व्याकरणले व्यवस्था गरेको नियम यहाँ आकर्षित हुन्छ । मौलिकतालाई ध्यान दिंदै परम्परागत कथन वा सही उच्चारण सम्बोधन गर्दा लेखनीमा ‘साँबा’ हुन्छ । ज्ञातव्य छ, लिम्बू जाति बुझाउने शब्द ‘याक्थुम्बा’ पनि ‘सम्बन्धित’ वा सन्तानबोधक शब्द नै हो, जसमा आगन्तुक शब्दलाई लागू हुने नियम बमोजिम कथन अनुसार ‘ब’ वर्णयुक्त ‘याक्थुम्बा’ लेखिन्छ ।


यो साँबा शब्द लिम्बूभाषीले उच्चारण गर्दा साँ?बा अर्थात् साँ उच्चारण गर्दा लामो स्वास लिएर एकछिन स्वास रोक्नु पर्दछ । अर्थात् भाषा विज्ञानको दृष्टिले साँ उच्चारण गर्दा Nasal consonants (Ñ,n,m) / Glottal stop (Glottalization हुन्छ । तर नेपालीभाषीले साँबा उच्चारण गर्दा श्वास नरोकि अन्य नेपाली शब्द हाँगा, राँगा शब्दहरुझैं बिना Glottalization साँबबोल्दछन् । यसरी भाषान्तर भएपछि यसको मौलिकतामा भिन्नता अवश्य आउँछ । त्यसलाई कसरी कम गर्न सकिन्छ हामीले त्यसैमा ध्यान दिने हो । अब नेपालीमा लेखिने साँबा थरलाई अंग्रेजीमा कसरी सही लेख्ने त? साँबामा स, आ्, ाँ, म् र बा को मिश्रण छ । अंग्रेजी Saa, -n, -m, baa अक्षरहरुले साँबा उच्चारण पूरा हुने देखिन्छ । तर यी आठ अंग्रेजीहरुलाई कसरी कमसेकम राख्न सकिन्छ भनेर हेर्दा Samba र Sanba साँबा शब्दोच्चारण नजिक सुनिन्छन् । तर यसलाई अंग्रेजीबाट पुन नेपालीमा लेख्नु पर्दा Samba साम्बा र Sanba सान्बा हुन्छ । यसमा Sanba नेपाली भाषाको साना+ बा जस्तो सुनिने र अपभ्रंश हुने संभावना देखिन्छ । त्यसैले साँबालाई अंग्रेजीमा Samba नै लेखेमा अपभ्रंश हुने संभावना कम देखिन्छ । इतिहासकार इमानसिंह चेम्जोङले पनि यो शब्दलाई Samba नै लेखेका छन् । लेखक इङनाम लिम्बू, (२०६९) ले उनको याक्थुङ पान पुस्तकमा फैयङ थरलाई देवनागरीमा ‘फयङ साँबा’ लेखेका छन् ।
फयङ उपथरलाई नेपाली भाषाबाट अंग्रेजी भाषामा रोमनीकरण गर्दा Phayang, Fayang हुन्छ । यसले नै हामीलाई अल्मल्याएको देखिन्छ । तर लिम्बू भाषाको वर्णमालामा फ शब्दलाई Pha लेख्नु भनेर व्याकरणले निर्देशित गरेको हुँदा रोमनीकरण गर्नु भन्दा लिम्बू वर्णमालालाई नै आधार मानेमा Phayang बढी तथ्यपरक र तर्कयुक्त हुने देखिन्छ ।

निष्कर्ष
लिम्बू जनजीब्रोको हिसाबले यो थर तथा उपचरको उच्चारण न त नेपालीमा सही भएको छ न अंग्रेजी भाषामा नै भएको छ । थरको उच्चारण र लेखाइमा यसरी एकरुपता नहुनु हाम्रो शिक्षामा गैरलिम्बू भाषामा पढाइ लेखाइ र सरकारी कागजपत्र निर्माण हुनु नै प्रमुख कारण हो । हामी लिम्बू भाषामा जसरी शब्द बोल्छौ त्यसलाई ठ्याक्कै मिल्ने गरि यद्यपि न नेपालीमा लेख्न सक्छौं न त अंग्रेजी भाषामा नै लेख्न सक्छौं । लिम्बू भाषा र व्याकरणले मात्र लिम्बू शब्दप्रतिको बोलाई लेखाई तथा अभिव्यक्तिलाई पूर्णतः न्याय दिन संभव छ । हो, यदि शिक्षामा आज लिम्बू भाषामा मात्र बोलाइ र लेखाइ भएको भए निश्चय यो थरको बोलाइ र लेखाइमा यो विविवधा आउने थिएन होला । तापनि हामीले समाजको बद्लिंदो स्वरुप अनुसार समाजका अन्य जाति र भाषिक समुदायसित पनि मिलेर व्यवहार चलाउनु परेकाले यसमा आफ्नो मौलिकता र पहिचान कायम राख्नु पर्ने चुनौती स्वीकार गर्नु परेको छ । यसकारण थर, उपथर बोल्दा वा लेख्दा, नेपाली वा अंग्रेजीमा, लिम्बूभाषी वा गैरलिम्बूभाषीले बोल्दा वा लेख्दा यथासम्भव मौलिकताको नजिक होस्, सकभर एकरुपता होस् र अपभ्रंश हुने सम्भावना पनि न्यून रहोस् भन्नेमा कुरामा अहिले ध्यान दिनु नै बुद्धिमानी हुनेछ ।

मौलिकता, भाषिकता, व्यवहारिकता र वैज्ञानिक आधारमा हेर्दा देवनागरी तथा नेपाली भाषामा थर लेख्दा ‘साँबा’ र उपथर ‘फयङ’ एवम् अंग्रेजी भाषामा Samba र Phayang लेख्नु तथ्यसम्मत, तर्कसंगत तथा उचित हुने देखिन्छ । यो पङ्तिकारको अध्ययनको हालसम्मको सश्लेषण हो । यसमा सहमति हुन वा नहुन पनि सक्छ । यद्यपि सरकारी कागजमा लेखिसकेका कुरालाई पुनः परिमार्जन गर्न कठिनाई हुन्छ । तर जे लेखे पनि भइहाल्छ भन्ने आपुङ्गी शैलीलाई समयमै सम्बोधन नगरिएमा भविष्यमा थर, उपथर अपभ्रंश हुँदै अस्तित्वमा संकटसम्मको स्थिति आउने हुँदा वैज्ञानिक ढंगले तथ्य, तर्कसम्मत निष्कर्ष सहित अघि बढेमा यसले सबैको आँखा खोल्नेछ र संभवतः हामीले चाहेको शुद्धता र एकरुपता ल्याउन मद्दत पुग्नेछ ।