किन फालिए तम्बरखोलामा जनैका ढाकर

  • डा. नवराज सुब्बा

आदिवासी लिम्बू जाति प्राचीनकालदेखि आर्यसंग संसर्गमा रहेर पनि किन हिन्दू धर्मसित विकर्षित भयो भन्ने सवाल इतिहासले बेलाबेला उठाउँछ र जवाफ पनि इतिहासभित्रै खोज्न लगाउँछ । आर्य धर्मग्रन्थमा ‘किरात’ शब्द प्रयोग गरियो भनेर वर्तमानमा यो शब्दप्रति नै वितृष्णाको मनोविज्ञान एकथरीमा चलायमान छ । जबकि सिन्धुमा आर्य आउनअघि सिन्धुघाँटीमा अवस्थित महञ्जोदरो र हरप्पा सभ्यताका उत्खननमा शिवको चिन्ह पशु, त्रिशूल आदिको प्रयोग भएको प्रमाण फेला परेको छ (शास्त्री, वि.स. २०६४) । कालान्तरमा भगवान शिवको जीवन-दर्शन र अन्तरनिहित शक्ति देखेरअसुरदेव वा किरातेश्वरलाई हिन्दूधर्मले अघोरी मान्दामान्दै पनि हिन्दूका आराध्य त्रि-देव मध्ये एक मानेको छ । यही शिवलाई किरातले थेबासाम, पारुहाङ, किरातेश्वर आदि नामले पूज्ने गरेको पाइन्छ । यद्यपि आर्यले किरातका लिम्बूका थेबासाम, पारुहाङलाई किरातेश्वर महादेव भनेर मान्यता दिएता पनि किरात लिम्बू आफूलाई हिन्दू मान्न चाहँदैन । आदिवासी किरातका पशुपति लगायतका देवस्थल र देवी-देवतालाई आर्यले हिन्दूकरण गरिदिए पनि किरात लिम्बू आफूलाई हिन्दू वा आर्य मान्दैन (थुलुङ, वि.स. २०४२) । उवाहाङले किरात ऋग्वेदको प्रचार गरे (चेमजोङ, वि.स. २०५९ ) । किरात दशैंमा मासु खान्छ, मीठोमसिनो खान्छ, लुगाफाटा फेर्छ, भेटघाट गर्छ तर पनि हिन्दूले झैं रातो टीका लगाएर गौरव गर्दैनन्, सवाल विचारणीय छ ।

यो आलेखको उद्देश्य पौराणिक तथा ऐतिहासिक तथ्यहरुको आधारमा आर्य सभ्यता र संस्कृतिले किरात लिम्बू संस्कृतिको सामाजिक आर्थिक क्षेत्रमा एवम् यस जातिको मनोविज्ञानमा के कस्तो प्रभाव कहिले कसरी पर्न गयो भन्ने अध्ययन हो । हिन्दू धर्मको एक पवित्र चिन्ह जनैको अवमूल्यन गर्ने वा अनास्था पैदा गर्ने वा कुनै धर्मावलम्बीको धार्मिक, साँस्कृतिक मूल्य र मान्यतालाई चोट पुर्याउने अभिप्राय होइन । यो एक विशुद्ध प्राज्ञिक र वौद्धिक मूल्य र मान्यतामा आधारित रहेर लेख्ने अभ्यास वा प्रयास मात्र हो । विभिन्न विद्वानहरुका ग्रन्थहरुलाई यसमा आधार मानिएको छ ।

किरात लिम्बू शासकलाई राय वा राई सहितका हिन्दू नाम थर दिएर स्थापित गराइएको तथ्य विजयपुरको किरातकालीन इतिहासले छर्लङ्ग पार्दछ (चेमजोङ, इस्वीसन् १९७४ ) । विजयपुरका शासकले हिन्दू नाम लिए, हिन्दू थर पनि ग्रहण गरे । आज पनि जनस्तरमा किरात लिम्बूले हिन्दू नाम, उपाधि राखेका छन् । तर हिन्दू नाम, थर वा उपाधिले पुरिएको महसूस गरिरहेका छन् । नाम, थर राख्ने क्रममा किरात शब्दकोश नभएर यस्तो भएको होइन बरु राज्यले काखी च्यापेको खस-नेपाली भाषा तथा आर्य सभ्यताको दबदबाले किरात लिम्बूका नाम थर प्रायः हिन्दूकरण भएको यथार्थ स्वीकार गर्नै पर्दछ । राजनीतिक, सामाजिक, भाषिक एवम् साँस्कृतिक प्रभाव र दवावका बाबजूत हिन्दूधर्मको एक चिन्ह जनै लगाउन आजसम्म कुनै पनि किरात लिम्बूले स्वीकार गरेका छैनन् । लिम्बू जातिले जनै लगाएर हिन्दू वर्णव्यवस्थाको क्षेत्रिय बन्न अस्वीकार गरिदिएका छन् । वर्तमान शताब्दीमा स्वामी प्रपन्नाचार्यले किरातलाई तागाधारी बनाउने अभियान चलाउनु भयो । आर्यग्रन्थमा आउने म्हेच्छ, असुर मानेको अनि व्यवहारमा वैश्य स्तरमा राखेको किरातलाई क्षेत्रिय बनाइदिने अवसर दिंदा पनि त्यसप्रति किरात लिम्बू किन आकर्षित भएनन् । स्वामी सत्तासमीपका शक्तिशाली तथा विद्वान हुँदाहुँदै पनि किरातले उहाँलाई अस्वीकार मात्र गरेनन् उहाँसित आक्रोशित पनि भए । धरानमा स्थापित उहाँको सेतो प्रतिमा हटाइयो ।

किरात र आर्य सम्बन्धमा ‘नेपालको इतिहासः सुरुदेखि सुगौलीसम्म’ पुस्तकमा डा. पेशल दाहाल (२०४६) ले प्रस्तुत गर्नुभएको केही संश्लेषणात्मक तथ्यहरु पाइन्छन्। उहाँका अनुसार आर्यहरुसित किरातहरुको आचरण नमिल्ने हुनाले अमरकोश र अन्य केही आर्यग्रन्थहरुमा किरातहरुको गणना म्लेच्छ जातिसित भएको छ । महाभारत र मनुस्मृतिमा किरातलाई क्षत्रिय हुन् तर यिनीहरु कर्म शूद्रको गर्दछन् भनिएको छ । विभिन्न तथ्यहरुको आधारमा डा. दाहाल अनुसार किरातलाई आर्य मान्ने चलन देखिएता पनि अधिकांश विचारमा किरात मंगोल समूहका जाति भएको र यिनीहरु एकहजार वर्षअघि काठमाडौं उपत्यकामा पसेको मान्ने चलन छ (दाहाल, वि.स. २०४६) ।

किरात र आर्य सम्बन्धमा प्रा. शिवकुमार श्रेष्ठको विश्लेषण उहाँको ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ पुस्तकमा पाइन्छ । उहाँका अनुसार आर्यग्रन्थमा किरातको भाषा, आचरण फरक भएकाले यिनीहरुलाई म्लेच्छ भनिएको हो । ‘किलकिलेति अव्ययशब्दा यमना अर्तान्त किराता’ अर्थात् किरात नबुझिने अर्कै भाषा बोलिहिड्ने गर्दछन् भनी आर्यग्रन्थमा उल्लेखित छ । प्रा. श्रेष्ठ भन्नुहुन्छ– किरात शिवपूजक, लिङ्गपूजक हुन् । तर ऋगवेदिक आर्यहरु किरातको त्यो आचरणलाई घृणा गर्ने गर्दथे । किरात ठूल्ठूला किल्ला वा दुर्ग बनाएर बस्दथे जसलाई आजकल लिम्बू भाषामा थूम वा लाजे भनिन्छ । तर आर्य त्यसरी बस्देनथे । तसर्थ, किरात आर्य होइनन् (श्रेष्ठ, वि.स. २०४२) ।

तर पं. छविलाल पोखरेल किरात लिम्बू मुन्धुम वेदलाई आधार मानेर आफ्ना तथ्य र तर्क अघि सार्दै किरात आर्य भएको बताउनु हुन्छ । मुन्धुममा आउने ‘ॐ चफत, सुक्कुम, हिक्के, इक्सा, तरक, लाय, नाम्मे आसेवारो’ अर्थात् ॐ अग्नि, इनद्र, सविता, वायु, वरुण नमों भन्ने किरात मन्त्र आर्य–मन्त्र वा दर्शनबीच तात्विक समानता छ । उहाँ ‘ ॐ तागेरा निङवा फुमा’ अर्थात् सर्वव्यापी परमात्मा भन्ने धार्मिक दर्शनलाई आर्यदर्शन र ग्रन्थसित तुलना गर्नुहुन्छ । उहाँ शिवलाई पारुहाङ र पार्वतीलाई सुम्निमा मान्ने र शिवलिङ्गलाई पूज्ने हुँदा किरातलाई आर्य भन्नु पर्दछ भनेर पं. छविलालले तथ्य अघि सारेको प्रा. श्रेष्ठले पुस्तकमा सविस्तार केलाउनु भएको छ (श्रेष्ठ, वि.स. २०४२) ।

प्रा. श्रेष्ठले इतिहासकार इमानसिंह चेमजोङद्वारा लिखित ‘किरात इतिहास’ पुस्तकमा प्रकाशित लालमोहरमा उल्लेखित किरात लिम्बूको थर वा पदवी वा उपाधिलाई विश्लेषण गर्दै किरात लिम्बू आर्य नभएको कुरामा थप जिकिर गर्नुहुन्छ । लालमोहरमा उल्लेखित ‘राजभार सामर्थ’ उपाधि र नामसितै आएको लिम्बू रायलाई पनि प्रसंगमा ल्याउनु हुन्छ । उहाँले ‘राजभार सामर्थ’ उपाधि नाम अगाडि राख्ने प्रचलन क्षत्रियलाई भएकोमा राय लिम्बूलाई पनि त्यसरी सम्बोधन गरिएको आधारमा किरात लिम्बूलाई क्षेत्रिय आर्य मान्न नसकिने भन्दै दृष्टान्तका तथ्य अघि सार्नु भएको छ ।

राई लिम्बू थरबीचको अन्युन्याश्रित वंश-परम्परालाई लिम्बू जातिको एक सम्प्रदायले धार्मिक अभिष्टको लागि अनावश्यक विवादमा तानेपछि समुदायबीच भ्रम र शंका उत्पन्न भएको छ । राई मात्र किरात हुन्, लिम्बू किरातवंश वा किरात धर्मावलम्बी होइनन् भनेर किरात लिम्बू जातिकै यूमा धर्मावलम्बी (सम्प्रदाय) ले दाबी गरेको सुनिन्छ । यसबारेमा गिर्वाणयुद्ध विक्रम शाहको पालामा परिशिष्ठ ५(झ) मा उल्लेखित मिति वि.स. १८६३ साल माघ सुदी ८ रोज १ को लालमोहरलाई उदृत गर्दै हाल लिम्बू भनिने जाति १८६३ अघि राई नै लेख्ने गर्दथे, त्यही मितिदेखि मात्र राय वा राईलाई लिम्बू लेख्ने प्रचलन आयो भनेर प्रा. शिवकुमार श्रेष्ठले ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ पुस्तकमा स्पष्ट भन्नु भएको छ । लालमोहर- “स्वस्ति श्री राई मंजीत, थिगोम राई, सउदा राई लिम्बू, खामजीत राई…” भनी उल्लेख गरिएको छ । प्रा. शिवकुमार श्रेष्ठ भन्नुहुन्छ– सेनवंशी राजाहरु र शाहवंशका लालमोहरहरु अध्ययन गर्दा नामको पछाडि लिम्बू लेखिएको पहिलो पल्ट ‘सउदा राई लिम्बू’ हो, यसरी नामको पछाडि लिम्बू लेख्ने चलन यो भन्दा अगाडि थिएन (श्रेष्ठ, २०४२ पृ.९२) । यसबाट के प्रष्ट हुन्छ भने हाल लिम्बू भनिने जातिलाई कागजातमा राई थरले नै सम्बोधित गर्ने गरिन्थ्यो । उक्त तथ्यको आधारमा किरात भनेको हालका राई मात्र हुन्, लिम्बू होइनन् भन्नु अल्पज्ञानको उपज ठहर्छ । यसर्थ वंशको ऐतिहासिकतालाई निरन्तरता दिन किरात लिम्बू वा किरात याक्थूम्बा भन्नु वा लेख्नु उचित हुन्छ ।

लालमोहरमा राजाले सम्बोधन गर्दा ब्राम्हणलाई ‘ब्रम्हकर्म सामर्थ’ र क्षेत्रियलाई ‘राजभार सामर्थ’ लेख्ने चलन थियो (पोखरेल, वि.स. २०४०) । किरातलाई ‘राजभार सामर्थ’ लेखिएको आधार पक्रेर समेत पं. छबिलाल पोखरेलले किरात लिम्बूलाई क्षत्रियमा गणना गर्नुभएको छ । आर्य भनेको सभ्य हो र किरात जाति पनि सभ्य जाति भएकाले यिनीहरु पनि आर्य हुन् भनेर दाबी गर्ने पोखरेल स्वयम् आर्य समुदायका विद्वान हुनुहुन्छ । उहाँले नमूनास्वरुप अघि सारेको लालमोहर यसप्रकारको छ– “स्वस्तिश्री गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्रीमान महाराजधिराज श्री महाराज पृथ्वीनारायण शाह बहादुर समशेर जंग देवानाम् सदा समर विजयिनाम्– स्वस्ति श्री राजभार सामर्थ श्री जंग राय, श्री फुंग राय, श्री जामुन राय कै लिम्बू राय के आशिष– इत्यादि सम्बत १८३२ साल वैशाख वदी ३० रोज शुभम् ।”

इतिहासमा लिम्बूलाई जनै लगाइदिने प्रयत्न नभएका होएनन् तर ती प्रयासलाई लिम्बूहरुले ठाडै अस्वीकार गरिदिएका थिए। इमानसिंह चेमजोंङ ग्रन्थावली भाग–२ बाट उदृत गर्दै लेखक रत्नकुमार इङनाम लिम्बू ‘आनी पानः लिम्बू भाषा’ पुस्तकमा भन्नुहुन्छ– काशीवंशका लिम्बूलाई शाह राजाले किपट नदिने कानून वि.स. १८६५ सालमा ल्याए । त्यसपछि मात्र सबै क्षेत्रका लिम्बूहरु सशंकित र सतर्क भए । वि.स. १८६८ सालमा सबै लिम्बूहरुले चुम्लुङ आमसभा गरे । त्यो आमसभाले अब उप्रान्त जनै लगाउने काशीवंश र जनै नलगाउने अन्य वंशका लिम्बूबीच एकता गर्ने, आपसमा झैझगडा नगर्ने, ल्हासावंश र काशीवंशबीच कुलकुटुम्ब गर्ने भनेर सहमती लिम्बू समुदायमा कायम भयो । त्यसबेला काशीवंशका लिम्बूले लगाइराखेका तीन ढाकर जनै तम्बरखोलामा बगाइयो (इङनाम लिम्बू, वि.स. २०६६, पृ.३०२) । पृथ्वीनारायण शाहले लिम्बूवान गोरखाराज्यमा गाभेपछि राज्यले लिम्बूबीचमा नीति र समृति भनि परम्परा नछाड्ने र छाड्ने लिम्बू भनि लिम्बूलाई विभाजित गरेका थिए । त्यति मात्र नभएर वि.स. १९१२ सालमा तिब्बतसित लडाईमा बहादुरी देखाएको पुरस्कार स्वरुप भन्दै जंगबहादुर राणाले हजारौं जनैहरु लिम्बूवानमा पठाए तर आफ्नो संस्कार र संस्कृतिमा गौरव गर्ने किरात लिम्बूले अपमान भएको ठान्दै त्यसलाई ठाडै अस्वीकार गरिदिए (इङनाम लिम्बू, वि.स. २०६६, पृ.३०४) पुस्तकमा उल्लेखित वि.स. १८६५ सालमा पृथ्वीनारायण शाहले लिम्बूको भूस्वामित्व खोस्ने कानून ल्याएको उल्लेख भएको तर पृथ्वीनारायणको शासनकाल वि.स.१८२५–१८३१ भएकाले उक्त घटना सम्बतको आधारमा गिर्वाणयुद्ध विक्रम शाहका पालामा (शासनकाल वि.स. १८५५–१८७३) मा घटेको हुनसक्छ (wikipedia, 2018 AD) । जेहोस्, यसमा घटनालाई प्रधान मानेर राजा वा सम्बत एकीन गर्नुपर्ने देखिन्छ ।

आखिर यस्तो नकारात्मक मनोविज्ञान किरात लिम्बूमा किन र कसरी विकसित भयो त? यसलाई बुझ्नलाई राज्यले यो जातिमाथि गर्ने गरेको कपटपूर्ण व्यवहार नै प्रमुख देखिन्छ । १८३१ सालमा पृथ्वीनारायण शाहको पालामा जे जस्तो शर्तमा ‘नूनपानी-सन्धि’ गरेर लिम्बूवान गोरखाराज्यमा गाभियो, शर्तबमोजिमको व्यवहार भएन भन्ने लिम्बूको गुनासो छ । पछि लिम्बूबीच नै फूट ल्याइदिएर ‘फूटाऊ र राज गर’ को नीति अनुरुप कार्य गरेको पनि आरोप छ । कालान्तरमा प्रजातान्त्रिक सरकारहरुले पनि यसका विभिन्न यिनका दलसित गरेका सम्झौताको पालना नगरेको बरु उल्टो गलाउने, भुल्याउँदै लाने नीति लिएको गम्भीर आरोप छ ।

दोस्रो कारण, किरात भाषा लिपी र संस्कृति तथा धर्ममाथि गरिएको दमन र भेदभावपूर्ण व्यवहारले पनि शासकवर्गसित यिनीहरु टाढा भए । यसबारेको ब्याख्या लामो हुन्छ । तेस्रो कारण, हिन्दू धर्मको आधारमा बनाइने मुलुकी ऐनले जातिपातिको आधारमा गरिने दण्डसजायको व्यवस्थाले पनि किरात लिम्बूलाई सशंकित बनाएर राख्यो । भूमिसुधारको नाममा गरिएको किपट प्रथाको अन्त्य हुँदा त्यसले शाहवंशको नाश हुने नूनपानीको सम्झौताबारे लिम्बूले पटक पटक शासकलाई सम्झाएका थिए । यी राजनीतिक र सामाजिक आर्थिक कारणका केही उदाहरण भए ।

यिनीहरुमा पाइने संस्कार नै साँस्कृतिक विकर्षण गराउने प्रमुख कारण हो । किरात लिम्बू जातपात उँचनीच जस्ता सामाजिक व्यवहार वा वर्णव्यवस्था पटक्कै मन पराउँदैन । लिम्बूभित्र पनि फलाम कुट्ने जाति छन् तर तिनलाई दलितजस्तो व्यवहार गरिदैंन । लिम्बूभित्र पनि ब्राम्हण पुरोहित झैं साम्बा, फेदाङमा छन् तर तिनलाई उच्च जातको भनेर व्यवहार हुँदैन । सबैमा समान व्यवहार गरिन्छ । पहिलो महत्वपूर्ण संस्कारमा पाइने भिन्नता नै यही हो ।

दोस्रो हो, छोरी वा महिलालाई गरिने समान व्यवहार । हिन्दू धर्ममा झैं छोरीलाई विवाहमण्डमपमा ज्वाईलाई एकैचोटी दान दिइदैन । किरात लिम्बूमा छोरी र ज्वाईको घरबार राम्ररी चलेपछि वा छोराछोरी जायजन्म भएपछि मात्र ‘साईमुन्द्री’ छिनाएर छोरीलाई कुटुम्बको जिम्मा लगाइन्छ । ‘साइमुन्द्री’ नछिनाइन्जेल छोरीको मृत्यु भएमा काजकृया माइतीपक्षले नै गर्ने परम्परा छ । यो चलनले छोरीचेलीको माया, ममता र महत्वलाई परिवारबाट सजिलै पन्छाइदैन भन्ने बुझिन्छ । अर्को कुरा, मासु खानपान जस्ता व्यक्तिगत कुरामा लगाएको कानूनी बन्देजले पनि किरात लिम्बूको भावनामा ठेस लागेको छ । यो देश मेरो पनि हो कि हैन भनेर प्रश्न भान्सामा समेत उठिरहेको सुनिन्छ ।

किरात लिम्बू जातिले अस्तित्व र पहिचानको सवाललाई महत्व दिने शिलसिलामा मौलिकतालाई ध्यान दिने गरेका छन् । यही क्रममा किरात लिम्बूमा यूमासाम र थेबासाम (किरातेश्वर/सत्तेहाङ) पन्थका अनुयायी बीच प्रतिस्पर्धा भएको देखिन्छ । लिण्डा गुस्ताभसन (२०१३) ले यूमाधर्मबारे सिक्किमका लिम्बू समुदायमा एक अध्ययन गर्नुभयो । यूमाधर्मका व्याख्याता जसराज सुब्बालाई समेत श्रोत मानेर गरिएको उक्त अध्ययनमा उहाँले यूमाधर्ममा क्रिश्चियन दर्शनको प्रभाव परेको कुरा बताउनु भएको छ । उहाँले १९६० दशकमा श्रीलंकामा जसरी बौद्ध धर्मावलम्बीहरुले क्रिश्चियन प्रोटेस्टेण्टको दर्शनका झिल्का सापटि लिए त्यही अवस्था सिक्किममा मौज्दूत यूमाधर्ममा पनि पाउनु भयो (Gustavsson, 2013) । तर बौद्धदर्शनको प्रतिपादन भएको करिव २६०० वर्ष भयो । जिसस क्राइष्टको जन्म भएको पनि त्यो कालखण्ड भन्दा अगाडि छैन । यस आधारमा बौद्धदर्शनका केही झिल्काहरु पो कतै क्रिश्चियन दर्शनमा मिसिन पुग्यो कि भनेर शंका गर्ने ठाउँ म देख्दछु । होला, सिक्किममा व्याख्या गर्दा व्याख्याताले कुरा बुझाउनलाई दृष्टान्त दिंदा क्रिश्चियन धर्मावलम्बीले आफ्नो क्रिश्चियन दर्शनको झल्को देखेको वा बुझेको हुन पनि सक्दछ । मातृशक्तिबोधक शब्द ‘यूमा’ वा बज्यू वा हजुरआमा जसरी मानव सभ्यताको आरम्भमा मातृसत्तात्मक व्यवस्था थियो, त्यस आधारमा हेर्दा ‘यूमा’ शब्द हिन्दू, वौद्धधर्म र क्रिश्चियन धर्मदर्शन कालखण्ड भन्दा पुरानो हुनसक्छ । बाँकी यसमा भएको विकास र परेको प्रभाव अध्ययनको अर्को पाटो हो । किरात लिम्बूको यूमाधर्ममा बोनधर्म र बौद्ध दर्शनका झिल्काहरु पाइन्छन् । अर्कातिर, किरात सत्यहाङपन्थीले एकातिर यज्ञादि गर्ने चरु पोल्ने तथा शंख फुक्ने हिन्दूविधि अवलम्बन गरेको आरोप खेपिरहेका छन् भने अर्कातिर पूजाआजामा काटमार नगर्ने बौद्ध परम्परा अवलम्बन गरेका छन् ।

यसरी, माग र आवश्यकताको आधारमा विधि, प्रथा, संस्कृति र धर्ममा प्रभाव परेको देखिन्छ । आज समाज एकातिर मौलिकता र अर्कोतिर माग तथा आवश्यकताको दुई किनारबीच बगेको छ । दुवै किनारले आफूतिर तान्न खोज्छन् । कहिले कुनै भूभागमा एकातर्फ त कहिले अर्को समयमा अर्को क्षेत्रमा नदीरुपी समाज प्रवाहित भएको पाइन्छ । तापनि दुई किनार नदिका अभिन्न अङ्ग हुन् । दवाव र प्रभावले पनि नदीरुपी समाजको गतिलाई नियन्त्रित गर्ने गरेको पाइन्छ । यसरी गहिराइमा गएमा यसले धार्मिक सहिष्णुता बढाउने छ । यसबाट धार्मिक र साँस्कृतिक सह–अस्तित्वलाई बल पुग्नेछ ।

सारंशमा, नेपालमा आर्य सभ्यताको प्रभावस्वरुप राज्यसत्ताले पौराणिकताको आधारमा किरात लिम्बूलाई आर्यमुखे चश्माले हेर्ने गरेको, व्यवहार गरेको र आफूतिर आकर्षित गर्न खोजेको देखिन्छ । यहि क्रममा शाहवंशीय शासकले किरात लिम्बूलाई राय उपाधिसहित क्षेत्रिय समान सम्बोधित गरिएको पाइन्छ । किरात लिम्बूको ऐतिहासिक मिश्रण केलाउँदा इतिहासकार इमानसिंह चेमजोंङका अनुसार नेपालमा लिम्बू तीन दिशाबाट नेपालमा प्रवेश गरेका छन् । पश्चिम दिशाबाट आउने काशीवंश, पूर्वबाट आउने ताइस्यान वंश र उत्तरबाट आउने ल्हासावंश भए (चेमजोङ, वि.स. २०५९) । किरात मुन्धुमले पनि यिनीहरुका काशीवंशलाई काशीथाङबा वा खाम्बोङबा भनेको छ भने मंगोल वंशलाई ताङसाङबा भनेको छ । यसैगरि चीनबाट आउने वंशलाई मुनाफेन भनेको छ (Chemjong, 2003) । यसरी वर्तमान लिम्बू समूदाय काशीवंश खाम्बोङबा, मंगोलवंश ताङसाङबा र चिनीयाँवंश मुनाफेनको मिश्रण हो । यस आधारमा हेर्दा हाल नेपालको लिम्बू समाज तीनतिरबाट आएकाहरुको धार्मिक र साँस्कृतिक चेतना मिश्रित समुदाय हो । यसैले यहाँ विभिन्न धर्म र संस्कृतिको मिश्रण पाइनु स्वभाविक हो । कोही हिन्दू धर्मबाट प्रभावित छन् भने कोही वौद्ध वा वोन धर्मबाट प्रभावित छन् । कुनै स्थान वा कालखण्डमा एकै स्थानमा बसेका समूह भएता पनि कालान्तरमा विभिन्न बाटो घुमेर विभिन्न वंशहरुमा विभाजित भएर पुनः एक स्थानमा जमघट भइ एक राष्ट्र बन्दा त्यसभित्र अनेकता पाइनु स्वभाविक हो । आफू वा आफ्नो समूहले यात्रामा देखेका, भेटेका ज्ञान सही हुन् राम्रा र हाम्रा हुन् भन्न सकिएला तर तिनैकुरा सबैलाई मनाउन खोज्दा, लाद्न खोज्दा त्यो अरुलाई/सबैलाई ग्राह्य नहुन सक्छ । डरलाग्दो कुरो त यो फलानो अमूक धर्म नमान्ने लिम्बू होइनन् भन्ने मन्त्र वा धार्मिक नाराले अतिवादतिर धकेल्नेछ । एक राष्ट्र वा एक समुदाय बन्न खोज्दा आ–आफूले बोकिल्याएका, मानिल्याएका साँस्कृतिक संवेदनशीलता एकआपसले सम्मान नगरे हाम्रो धार्मिक सहिष्णुता र सह–अस्तित्व कमजोर हुनेछ ।एक आपसलाई नबुझेमा ‘आपूङगी’ उपाधि सधैभरि बोक्न यो समुदाय बाध्य हुनेछ ।

जेहोस्, आजको किरात लिम्बू पुस्ता हिन्दू देवीदेवता तथा मन्दिरलाई श्रद्धा गर्दछन् । कतिपयले हिन्दू संस्कार अवलम्बन पनि गर्दछन् तैपनि आफूलाई हिन्दू धर्मावलम्बी मान्न असजिलो मान्दछन् । कागजातमा कतिपयले हिन्दू नै लेखे पनि बहुसंख्यक किरात लिम्बूले किरात, यूमा, बौद्ध अनि आजकल धर्मपरिवर्तन गरेकाहरुले क्रिश्चियन धर्म लेख्दछन् । यीमध्ये कसैलाई पनि जनैप्रति आस्था र आशक्ति रहेको देखिदैन । यद्यपि आज किरात लिम्बू आफैमा किरात धर्मभित्रका सम्प्रदायबीच आपसमा जुधेर डाँडापाखामा एकआपसमा उफ्रन्छन् । एकअर्कालाई हिलो छ्यापाछ्याप गर्न पनि पछि पर्दैनन्। तर कसैले पनि आफू क्षेत्रिय भएर जनै भिर्ने सपना वा कल्पना गर्दैनन् । सायद यो समस्याको समाधान होइन भनेर उनीहरुले कमसेकम बुझेका छन् ।

अन्तमा, आज विभिन्न धर्ममा लागे वा आराध्य देवी-देवता वा साम्माङ फरक-फरक मानेता पनि किरात लिम्बूले आफ्नो मुन्धुमी दर्शन, संस्कार र संस्कृति भुल्न चाहँदैनन् आफ्नो संस्कृति र परम्परालाई माया गर्छन् । यिनीहरुले भाषा, लिपी भुल्दै गएकोमा दुःख मानेका छन् र यस्तो परिस्थिति किन आएछ भनेर पनि बुझेका छन् र त आजको पिढी यसमा चिन्तित देखिन्छन् । सबैभन्दा गौरवको कुरो किरात लिम्बूले ‘हामी र हाम्रो’ भन्ने उच्च भावनालाई सदा मूल्य र महत्व दिएका छन् । साँस्कृतिक मौलिकता र परम्पराका धनि यी आदिवासीले राज्यविरुद्ध गुनासो मात्र गर्दैनन्, परेको बेला देश बचाउने काममा रगत बगाएका छन्। स्वदेशको लागि मात्र हैन विदेशी भूमिमा पनि बहादुरी देखाएर नेपाल र नेपालीको शिर उच्च राख्ने काम गरेका छन् । नेपाल निर्माण गर्न र देशको अस्तित्व कायम राख्न सदा महत्वपूर्ण भूमिका खेलेको यो जातिभित्र अन्तर्निहित भावनालाई राष्ट्रिय एकतामा बदल्ने वातावरण बनाऔं, मनन गरौं, सबैको कल्याण हुनेछ ।

सन्दर्भग्रन्थहरु
१. थुलुङ, नारदमुनि (वि.स. २०४२) किरातको नालिबेलि, विराटनगर, अङ्गुर कन्दङवा ।
२. शास्त्री, रजनीकान्त (वि.स. २०६४) हिन्दू जातिको उत्थान र पतन, अनुवाद–बालकृष्ण श्रेष्ठ ‘नेभा’, काठमाडौं, वंश रत्न मेमोरियल ट्रष्ट ।
३. इङनाम लिम्बू, रत्नकुमार (वि.स. २०६९) याक्थुङ पान, काठमाडौं, प्रकाशन समिति ।
४. चेमजोंङ, इमानसिंह (वि.स. २०५९) किरात इतिहास, ललितपुर किरात याक्थुङ चुम्लुङ ।
५. चेमजोंङ, इमानसिंह (इस्वीसन् १९७४) किरातकालीन विजयपुरको संक्षिप्त इतिहास । ६. श्रेष्ठ, शिवकुमार (वि.स. २०४२) लिम्बूवानको ऐतिहासिक अध्ययन, धनुकटाः गंगादेवी श्रेष्ठ ।
७. दाहाल, पेशल (वि.स. २०४६) नेपालको इतिहास– सुरुदेखि सुगौलीसम्म, काठमाडौंः एम.के. पब्लिशर्स एण्ड डिस्टीव्यूटर्स ।
८. पोखरेल, छबिलाल ( वि.स. २०४०) वेददेखिका धर्म र मतहरु, नेपालका अनेक जात र संस्कारहरु, प्रथम भाग, वाराणसी, बालकुमारी पोखरेल ।
9. The wikipedia Contributors (2018, Nov. 17) नेपालका राजाहरूको सूची. The Free Encyclopedia. Retrieved 18:00, Feb 17, 2019 from https://goo.gl/CU1NHo
10. Chemjong, Imansing (2003 AD). History and Culture of Kirat. Lalitpur, Kirat Yakthung Chumlung.
11. Gustavsson, Limda (2013). Religion and Identity Policics in the Indian Himalayas: Religion Change and Identity Construction Among the Limboos of Sikkim. MA Thesis, University of Oslo.