हाङपाङ गाउँको ऐतिहासिकता

डा. नवराज सुब्बा

भनिन्छ, हाङपाङ भनेको राजाको गाउँ हो । तर त्यो गाउँमा न कुनै राजाको दरवार छ न कुनै भग्नावशेष नै । यसैले यो नामाकरणमा धेरैले शंका, उपशंका गर्ने गर्दछन् । यही जिज्ञाशालाई शान्त पार्न एक ऐतिहासिक तथ्य अघि सार्दैछु ।

ताप्लेजुङ जिल्लामा पर्ने हाङपाङ गाउँको नामाकरण विजयपुरको किरातकालिन इतिहाससंग जोडिन पुग्दछ । यससम्बन्धी एक रोचक घटना इतिहासकार इमानसिंह चेमजोङले विजयपुरको किरातकालीन संक्षिप्त इतिहासमा बताउनु भएको छ । किराती राजा कामदत्त सेन (वि.स.१८१८–१८२६) को कार्यकालमा लिम्बूवानका एक आपुंगी राजा सेनवंशी सेच्छेने योङहाङ सुब्बाले याङवारोक थूमको हस्तपुर गढीमा चढाइ गरे । त्यहाँका शासन गर्ने आङबोहाङ सुब्बा मुहाङगेपलाई पराजित गरेर उक्त गढीमा योङहाङले दखल जमाए । त्यहाँबाट आङबोहाङ विस्थापित भइ कोही थेचम्बूमा आएर बसे, त्यहाँ उनीहरुलाई मेयङ्बो वंश भनिन्छ । कोही आठराई थूमको चाँगेमा आङबोहाङ वंश भएर बसे ।

सेनवंशी आपुंगी राजा सेच्छेने योङहाङ सुब्बाले लडाईमा आङबोहाङ मुहाङगेप राजालाई मारिदिएपछि उनका दुई नाबालक छोरा लाहाङ र हाङसामको विचल्ली भयो । त्यसबेला विजयपुरमा कामदत्त सेनकी रानी थाङसामाको माइति आङबोहाङ वंशका थिए । टुहुरा भदैहरुले दुःख पाएको खबर चाल पाएपछि उनले ती दुईलाई विजयपुर दरवारमा झिकाइन् र संरक्षण गरिन् ।

ती दुई राजकुमार विजयपुर नजिकै सर्दूखोलामा खेल्न जान्थे । एकदिन उनीहरुले सर्दूखोलाको किनारमा एउटा तामाको मूर्ति भेटे । त्यो कुरा उनीहरुले आफ्नी फुपू थाङसामालाई सुनाए । उनका पति अर्थात् राजा कामदत्त सेन घमण्डी स्वभावका भएकाले उनलाई त्यो कुरा झट्ट सुनाउन उनी डराइन् । तर मूर्ति भेटिएको हल्ला एक कान दुई कान हुँदै मैदान भएर फैलियो र कामदत्त सेनको कानमा समेत एकदिन प¥यो ।

राजा कामदत्त सेनले ती दुवै राजकुमारहरुलाई दरवारको कोटमा झिकाएर कुरो के हो भनि सोधे । आफूले भेटेको जवाफ राजकुमारहरुले बताइ दिए । राजाले कुरो सत्य ठहरिएमा राजकुमारहरुलाई त्यहाँबाट डोलीमा बोकेर ल्याइने तर यदी मूर्ति फेला नपरे वा कुरो असत्य ठहरिएमा ती दुवै राजकुमारलाई त्यहीँ सर्दूखोलामा भोग दिइनेछ भनेर राजाले घोषणा गरे । भाग्यवस, खोज्नजाँदा भनिएको मूर्ति त्यही स्थानमा भेटियो । त्यसपछि एक डोलीमा मूर्ति र अर्को डोलीमा राजकुमारहरु राखेर बाजागाजाका साथ राजधानीमा ल्याइयो ।

राजा कामदत्त सेन खुशी भए । उनले मूर्ति फेला पार्ने राजकुमार लाहाङ र हाङसामलाई आठराई थूमको हाँङबाङ गाउँवासी किरातीहरुसंग सल्लाह मिलाइ त्यहाँको राजा तुल्याइ दिए । त्यसपछि गाउँको नाम पनि राजाको गाउँ अर्थात् हाङपाङ कहन थालियो (चेमजोङ, सन् १९७४) । यसबाट के थाहा हुन्छ भने गाउँको नाम हाङपाङ रहन अघि उक्त गाउँलाई हाङबाङ भनिंदो रहेछ । किनभने कामदत्त सेनले हाङबाङबासीसंग सल्लाह मिलाए भनेर इतिहासमा भनिएको छ । यसरी हाङबाङबासी किन भनियो? अर्थात् यो गाउँलाई हाङबाङ किन भनियो? भन्ने सवालको जवाफमा पनि ठोस आधार छन् । त्यो के भने यो गाउँको आदिवासी लिम्बूमा हाङबाङ थरका लिम्बूले सर्वप्रथम यो गाउँमा आवाद गरेर अद्यावधि बसेको हुँदा उनीहरुको थरबाटै यो गाउँको नाम पनि उनीहरुकै थरबाट रहन गएको कुरा प्रमाणहरुले पुष्टि गर्दछ । हाङबाङ थरको माङगेना यक हाङपाङमै अवस्थित रहनु यसको ठोस प्रमाण मध्ये मानिन्छ ।

विजयपुरका किरात शासकको आशिर्वाद प्राप्त आङबोहाङ राजकुमारले हाङपाङ रोज्नुको कारण के हुन सक्छ त भनेर अनुमान गर्न सहज छ । उनका आङबोहाङ वंश याङवारक हस्तपुर गढीबाट पराजित भइ भागेर चाँगेमा आइ बसेका थिए । त्यसैले दाजुभाइ अर्थात् वंश नजिक बस्न खोज्नु स्वभाविक हो । पायक पर्नुको अतिरिक्त यसको भूबनौट केही समथर रहेको, सिंचाइ तथा खानेपानीको पनि उपलब्धता भएको हाङबाङ गाउँलाई पाउन राजकुमारहरुले दरबारमा प्रस्ताव गरेको हुनसक्छ । जुन स्वभाविक पनि देखिन्छ ।

संक्षेपमा, सर्वप्रथम यस गाउँका आदिवासी हाङबाङ थरका लिम्बूले यस गाउँको नाम हाङबाङ राखे । त्यसपछि किरातकालिन विजयपुरले राजा खटाएपछि यो गाउँको नाम हाङपाङ भयो । यसरी यो हाङपाङ गाउँ कुनैबेला आठराई थूमको हाङबाङ थियो । पछि मेची अंचल ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँ भयो । अहिले यो गाउँ प्रदेश न. १ को आठराई त्रिवेणी गाउँमा रुपान्तरित भएको छ । भुल्नै थालिएको ऐतिहासिक लाजे वा राज्यको नाम आठराई यसले पुनः पाएको छ । दशलिम्बूवान अघिको महाफेदाप, सातराई पछिको आठराईको ऐतिहासिकता यसले समेटेको छ । समयको माग र आवश्यकतावश नामाकरणको क्रममा हाङपाङ आज त्रिवेणीको चेपोमा परेको अवस्था छ । हेर्दै जाऔं नामसितै यसको भाग्य इतिहासमा कसरी कोरिदै जान्छ ।

सन्दर्भग्रन्थ:
चेमजोङ, इमानसिंह (सन् १९७४) किरातकालिन विजयपुरको संक्षिप्त इतिहास ।