नेपालमा क्षयरोग नियन्त्रण बाहिर गएको हो !

डा. नवराज सुब्बा
जनस्वास्थ्यमा एउटा मन्त्र छ– “दुई हप्ताको खोकी क्षयरोग पो हो कि!” । मानिसहरु आजकल टि.बी. भन्यो भने सजिलै बुझ्छन् तर क्षयरोग भन्यो भने अलि अल्मलिन्छन् । आजभन्दा एकदशकअघि एड्स लागेपछि “खत्तम भो मरिन्छ” भन्ने थियो अब यो लागे पनि औषधी गर्दा बाँचिन्छ भन्ने वरदान विज्ञानले दिएको छ । अजभन्दा तीनदशक अघि यही टि.बी. भन्न डराएर मानिस “टेकबहादुर” भन्थे त्यो रोग लागेपछि मानिस खत्तम अब बाँच्दैन भन्दथे नभन्दै मानिस खुत्रुक खुत्रुक मर्दथे । अहिले जस्तो औषधीमूलो थिएन । आजभन्दा दुईदशक अघिदेखि औषधी विज्ञानमा भएको प्रगतिले उपचारमा निको हुने दर झण्डै शतप्रतिशत देखिएपछि जनस्वास्थ्य क्षेत्रमा उत्साहपूर्वक भन्न थालियो, अब क्षयरोगसंग डराउनु पर्दैन, यो त साधारण रुघाखोकी जस्तै हो, ६ महिना नियमित औषधी खाएपछि निको हुन्छ । नभन्दै मानिसहरु क्षयरोग लागे पनि मर्नछाडे ।तर आधादशक पनि नबित्दै क्षयरोगीमा औषधी पचाउने जिवाणुको विकास हुन थाल्यो । यस्ता विरामीबाट रोग सरेमा सर्ने मानिसमा पनि औषधीले नछुने क्षयरोग सर्न थाल्यो । यस्ता विरामीको उपचार गर्न चिकित्सक र स्वास्थ्यकर्मी नै होशियार बन्नु पर्यो । तापनि यो जटिल प्रकृतिको क्षयरोग वर्षेनी विश्वमा बढ्ने क्रम रोकिएन । 
हिजो चिकित्सकले मात्र उपचार गर्ने यो महारोग आज सामान्य स्वास्थ्यकर्मीले प्रोटोकल बमोजिम समुदायमै उपचार गराउन सक्नेगरी राज्यले तालिम र औषधीको व्यवस्था गरिदिएको छ । तर ती स्वास्थ्यकर्मीलाई अनुगमन गर्ने जिम्मेवार निकायले ध्यान नदिएर यो कार्यक्रम वर्षेनी निष्प्रभावी बन्दैछ । आज हेल्थ पोष्ट इन्चार्जलाई लगाए/अराएको गर्ने पालिकाको कुनै एक फाँटवालामा सीमित पारिएको छ । गाउँकै इञ्चार्ज नै हेल्थपोष्टको पनि इन्चार्ज संघियताले बनाइदिएको छ । पालिका इन्चार्जलाई क्षयरोग के हो? के गर्नु पर्ने हो? न त त्यो राम्ररी थाहा छ, न त पदमा बसेका हेल्थपोष्ट इन्चार्जको कुरा सुन्ने मौका नै यिनीसंग छ । “आ चलेगा” । “आ मलाई मात्र के मतलब” । “यस्तै हो नेपाल” भन्ने दुःखद अवस्था आएको छ । 
त्यहीका हेल्थपोष्ट इन्चार्जले त आवश्यक मात्रामा अध्यक्ष भेट्न नपाएको अवस्थामा एक गैरसरकारी संस्थाले कुनै गाउँको सामाजिक सम्परीक्षण प्रतिवेदन सुनाएर दिने मौका कुरिरहनु परेको नौलो अनुभूति सुनाए । कुरै सुन्न त नभ्याउने अध्यक्षले त्यहाँको समग्र स्वास्थ्य तथा जनस्वास्थ्य कार्यक्रमको कसरी अनुगमन गर्छन् । यो चिन्ताको विषय भएको छ । आज जिल्ला छैन । प्राविधिक अनुगमन गर्ने आधिकारिक निकाय छैन । पालिकालाई हेल्थपोष्टले के के काम गर्छ त्यसको पर्याप्त र अद्यावधिक जानकारी छैन, समीक्षा छैन । काम कसरी गरिरहेछ त्यो हेर्ने, सुन्ने फुर्सद छैन अध्यक्षलाई । हेर्दा स्वास्थ्यकर्मी आएका छन् हाजिर भएका छन् बस् पुग्यो । कतिपय ठाउँमा त पालिका पदाधिकारीसित तालमेल मिलेपछि स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नभेटिने जनगुनासो सुनिन्छ । काम गरेर देखाउने माहौल नभएपछि स्वास्थ्यकर्मी कामचोर बन्ने संभावना रहन्छ । 
विश्व स्वास्थ्य संगठन समेतको संलग्नतामा गरिएको क्षयरोगको स्थलगत अध्ययनले नेपालमा क्षयरोग नियन्त्रण बाहिर गएको प्रतिवेदन दिएको छ । क्षयरोग नेपालमा नियन्त्रण बाहिर गएको दुःखद समाचार हामी नेपालीले सुन्न बाध्य हुन परेको छ । यसको जिम्मेवारी कसले लिने ? वर्षेनी क्षयरोगीको मृत्युदर बढ्दो र मृत्यु संख्या हजारौका दरले उर्लंदो अवस्थामा छ । स्थानीय जनताको सेवा प्रदायक पालिकाले यसको चिन्ता लिने कि नलिने? वर्षेनी बाटो मात्र बनाउने कि त्यहाँ हिड्ने मानिस पनि बचाउने हो? मानिस भकाभक मरेपछि तपाईको विकासको के अर्थ रहन्छ?