गाईजात्रालाई यो वर्ष पनि स्वागत छ!

– डा. नवराज सुब्बा  ।
नेपाल भाषामा ‘सापारु’ भनिने गाईजात्रा नेवार जातिको मौलिक साँस्कृतिक पर्व तथा परम्परा हो । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन भव्य जात्राको रूपले नेपालभर मनाईन्छ । गाईजात्रालाई विभिन्न ढंगले मनाइन्छ । नेपालमा निरंकुश शासन व्यवस्था चलेको बेलामा जनता वर्षमा एकदिन भए पनि कलाकारहरू शासकहरूका काला–कर्तुत र क्रियाकलापउपर हाँस्य–ब्यङ्ग्यले प्रहार गर्ने गर्दथे । यसरी कलाकारहरूले अभिनयद्वारा व्यङ्ग्य–वाँण हान्दा शासकवर्ग रन्थनिन्थे, मुर्मुरिन्थे तर जनता भने आनन्दित हुन्थे । त्यसैले यो पर्व जनमानसमा रमाइलो चाड़को रूपमा स्थापित भएको छ । आज पनि धेरै मानिस गाईजात्रा भन्नेबित्तिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्ता हास्य कलाकारहरूका घतलाग्दा प्रहशन सम्झन्छन् । त्यसबेला कलाकारहरूले जनतालाई हँसाइ–हँसाइ ज्ञानको आँखा खोलिदिएर मनको बह पोख्न साथ दिए । त्यो भन्दा पनि महत्वपूर्ण कुरो उनीहरुले निरंकुश शासकलाई सचेत र खबरदारी गरे । यो परम्परालाई हालसम्म साहित्यकार र कलाकारहरूले कायम राखेका छन् । विभिन्न मञ्चहरूमा रमाइला कार्यक्रम गर्दै आएका छन् । यसरी कलाकार तथा साहित्यकारहरूले जनतासितको नातालाई गाईजात्राको दिन पुनर्ताजगी गर्ने गर्दछन् । यसरी धेरै नेपालीले गाईजात्रालाई हाँस्य–ब्यङ्ग्य गर्न पाइने, स्वतन्त्र भएर लेख्न, बोल्न पाइने, पत्र–पत्रिकामा गाईजात्रा परिशिष्टाङ्क पढ्न पाइने, जीवन र जगतका उज्याला र अँध्यारा पक्षहरू थाहा पाइने दिनका रूपमा बुझ्ने गर्दछन् ।
सांस्कृति रुपमा यो दिन नेवार समुदायमा वर्ष दिनभित्र घरको कुनै सदस्यको मृत्यु भएमा उक्त परिवारबाट एउटा गाई वा गाई नभए बालकलाई गाईको रूपमा सिंगारेर गाईजात्रा निकाल्ने चलन छ । गाईको रूपमा सिंगारिने बालकलाई पटुका भुईमा लत्रने गरि बाँधिन्छ । उसको एकजना साथी जोगीको भेषमा सिंगारिन्छ । श्रृङ्गार गरिसकेपछि सबैजना एक स्थानमा भेला हुन्छन् । भेला भएपछि पङ्तिबद्ध भई एक वा दुई लाइनमा मिलेर अघि हिंड्दै निर्धारित स्थानहरूको परिक्रमा गर्ने गर्दछन् । बाटो परिक्रमा गर्ने क्रममा जोगी भेषधारी बालकले भिक्षाग्रहण गर्दै हिंड्ने चलन छ । परिक्रमा कार्यक्रम सम्पन्न भएपछि भेला भएर रमाइलो नाचगान गर्ने चलन छ । यो पर्वलाई समुदायका सबै उमेर समूह र वर्गले उत्तिकै चाख मानेर हेर्ने र रमाइलो मान्ने गर्दछन् । यस पर्वमा बौद्ध सम्प्रदायका नेवारहरूले मृतकको सम्झनामा सम्झना–वत्ती बाल्ने ‘मत्था संस्कार’ गर्ने गर्दछन् । उनीहरू सबैजना एकै पहिरनमा बौद्ध–चैत्य गएर धुप–वात्ती बालेर चैत्यको परिक्रमा गर्ने गर्दछन् । अपरान्हतिर उनीहरु पनि प्रहसन कार्यक्रम गर्दै रमाइलो गर्ने गर्दछन् ।

यो गाईजात्रा पर्व नेवार समुदाय बसोबास गर्ने काठमाडौं उपत्यका, विराटनगर, धरान, धनकुटा, तेह«थूम, ताप्लेजुङ, ईलाम, चैनपुर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, वीरगञ्ज, हेटौंडा, पोखरा आदि जिल्लाहरूमा धुमधामले मनाईन्छ । जात्राले काठमाडौं उपत्यका मात्र नभएर समग्र नेपालको साँस्कृतिक गरिमा बढाएको छ ।
गाईजात्रा पर्वले यसरी महत्व पाउनुमा धेरै कारणहरू छन् । पहिलो महत्वपूर्ण कारण हो– यो पर्वले पितृलाई सम्मान गर्दछ । पर्वले मृतक आत्मासित परिवारजनको भावनात्मक सम्बन्ध स्थापित गरिदिन्छ । पितृलाई सम्मान गर्ने परम्परा अन्य धर्म र जातिमा पनि भएकाले हिन्दू लगायत बौद्ध, किरात लगायत अन्य धर्म मान्नेहरूले पनि यो गाईजात्रा पर्वलाई सम्मानका साथ हेर्दछन् । यो पर्वलाई महत्वपूर्ण मान्ने दोस्रो कारण हो– यो पर्व या जात्रा मनाउँदा गरिने आकर्षक विधि–विधान । यसमा बालक चरित्रहरूको श्रृङ्गार तथा भावभङ्गिमा देख्दा त्यो सबैलाई आकर्षक र मनमोहक लाग्दछ । त्यसबेला नाचिने लाखेनाच अन्य समुदाय तथा जातिका मानिसहरू पनि टाढाटाढाबाट आएर हेर्दछन् । पहाडतिर लाखेजात्रामा ठूल्ठूला मेला लाग्ने गर्दछन् ।
गाईजात्रा लोकप्रिय हुनुको तेस्रो कारण– यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायको महत्वपूर्ण पर्व हुनु पनि हो । काठमाडौं उपत्यकामा यो जात्रा मनाउँदा देशभरिका विभिन्न धर्म र जातजातिका मानिसले यो पर्वलाई देख्ने र बुझ्ने अवसर पाउँदछन् । यो पर्वमा अन्य ठाउँमा छरिएर रहेका नेवार जातिले पनि काठमाडौंको विशिष्ठ शैली देखेर पछि फर्केर आफू बसेको क्षेत्रमा पनि त्यस्तै संस्कृति सिको गर्ने वा जात्रा गर्ने अवसर र हौसला काठमाडौंले निरन्तर दिएको छ । सबैले रमाइलो गरि यो पर्व मनाएपछि नेवार जाति र अन्य जातिबीचको भावनात्मक दूरी पनि नजिक ल्याइदिएको छ । राजधानीमा यो पर्व भव्यताकासाथ मनाइने भएकाले अभिरुचीपूर्वक हेर्ने अवसर देशभरिकालाई प्राप्त भएको छ । यसरी नेपाली राष्ट्रिय एकता बढाउन समेत यो जात्राले भूमिका खेलेको छ ।
गाईजात्रा लोकप्रिय हुनुको चौथो कारण – यो पर्वमा गरिने रमाइलो हो । गाईजात्रामा गाई वा गाईका रूपमा सिंगारिएका बालक र भिक्षुले निर्धारित स्थानहरूको परिक्रमा गर्दा ती मार्गमा पर्ने टोल–छिमेकमा मानवीय दर्शन र सन्देश सम्प्रेषण गरि सकेपछि रमाइलो कार्यक्रममा सरिक हुने चलन छ । अर्कातिर आम मानिसहरू यो पर्वका दिन रमाइलो हाँस्य–व्यङ्ग्यात्मक साहित्यिक तथा साङ्गीतिक कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन् ।
अब जाऊँ यो परम्पराको थालनी कसरी भयो भन्नेतर्फ । यो चलन मल्ल राजाहरूको पालादेखि सुरू भएको मानिन्छ । त्यसबेला मल्ल राजाहरूको दरबार हनुमान ढोकामा थियो । राजा प्रताप मल्लको पालामा उनकी रानी पुत्रशोकले अत्यन्तै भावविव्हल भइन् । राजाले रानीको शोक कम पार्न एउटा जुक्ति निकाले । राजाले रानीलाई पुत्रशोक सबैको घरमा कुनै बेला आइलाग्छ, यो सबैलाई आइलाग्ने स्वभाविक अवस्था हो भन्ने देखाएर रानीको मन शान्त पार्नलाई चाँजोपाँजो मिलाए । यसै क्रममा राजाले वर्षदिन यता मानिस मरेका घरबाट गाईलाई सिंगारेर हनुमानढोकाको बाटो भएर नगर परिक्रमा गर्ने उर्दी जारी गरे । सोही अनुसार मरेका घरबाट गाई सिंगारेर तथा गाई नभएको घरबाट बालकलाई नै गाईको भेषमा सिंगारेर अर्को एक बालकलाई साधुको भेषमा भिक्षा थाप्दै साथै हिड्न जनतालाई उर्दी जारी गरे । रानीले पनि गाईजात्राको दिन ती सबैलाई झ्यालबाट हेरिन् । तर त्यतिले पनि उनको मन शान्त नभएपछि दरवारमा रमाइलो कार्यक्रम समेत् आयोजना गरेर शोकाकुल रानीलाई खुशी बनाउने प्रयत्न गरियो । राजाबाट उक्त दिनको परम्परालाई उप्रान्त हरेक वर्ष निरन्तरता दिन आदेश भयो । यसरी राजा प्रताप मल्लको पालादेखि यो गाईजात्रा पर्व चलिआएको जनविश्वास पाइन्छ ।
हिन्दू धर्मग्रन्थ पद्मपुराणमा पनि यो गाईजात्रा पर्वबारे उल्लेख गरिएको छ । उक्त पुराणमा यमराजको ढोका वर्षभर बन्द हुने र गाईजात्रा निकालेपछि मात्र बन्द ढोका खुल्ने भनिएको छ । गाईलाई नगर–परिक्रमा गरेपछि मात्र मृतक व्यक्तिहरू गाईको पुच्छर समातेर बैतरणी तर्ने भन्ने पौराणिक कथन पनि भएकाले यो गाईजात्रा पर्वमा परलोकमा रहेका आत्मा र यस धारातलमा पर्व मनाउने मानिसको आत्माबीच भावनात्मक सम्बन्ध स्थापित हुने जनविश्वास अनुहारमा समेत झल्किन्छ ।
यो गाईजात्रा पर्वले केही महत्वपूर्ण सन्देश समेत दिने गरेको छ । यसमा केही दार्शनिक, मनोवैज्ञानिक तथा सामाजिक–साँस्कृतिक सन्देशहरू छन् । पहिलो कुरो हो मृत्यु अन्तिम अर्थात् अनिवार्य सत्य हो । जसलाई सबैले सहर्ष स्वीकार गर्नुपर्दछ । हरेक मानिसले मृत्यु लिएर आएको हुन्छ, जसलाई हरेक घरका परिवारजनले आस्थापूर्वक मनाउने, र सम्झना गर्ने गर्नुपर्दछ, अनि यो सबैको साझा दायित्व पनि हो । एकपटक भगवान वुद्धलाई एक शोकाकुल महिलाले आफ्ना मृत छोरालाई बचाईदिन अनुनय–विनय गरिन् । वुद्धले आमालाई मृत्यु नभएको कुनै एक घर पत्ता लगाउन भन्नुभयो । आमाले सारा गाउँ डुल्दा पनि सबै घरमा कोही न कोही मरेको हुनाले मानिस नमरेको कुनै घर भेटिनन् । सोही कुरा ती आमाले भगवान वुद्धलाई विन्ति गरेपछि भगवान वुद्धले पनि यही दर्शनको सहारा लिएर मृत्यु अनिवार्य सत्य हो, यो सबैलाई लागु हुन्छ त्यसैले यसबाट परिवारका अन्य सदस्यहरूले विचलित हुनु हुन्न भन्ने सत्य बताइदिनु भयो । यही दर्शनलाई राजा प्रताप मल्लले पनि आफ्नी रानीलाई प्रयोग गरे । जेहोस् यस परिघटनाले एउटा राम्रो साँस्कृतिक परम्पराको थालनी भएको छ । जसले हरेक वर्ष सारा नेपालीलाई यही सत्य स्मरण गराउँछ ।
जीवन दुःखमय छ । यो कुरा भगवान वुद्धले भन्नु भएको हो । तर जीवन आज संघर्षशील मेसीन बन्दै गएको छ । सुखको खोजीमा मानिसले जीवन दुःखैदुःखमा बिताउनु परेको छ । जीवनको यस्तो कष्टमय यात्रामा एकदिन भए पनि हाँसखेल गरौं, रमाइलो गरौं, आफूलाई सबैसामू अभिव्यक्त गरौं, अरूका कुरा सुनेर रमाइलो गरौं, जीवन र जगत चिनौं । यति मात्र होइन, मनभित्रका पीर व्यथाहरू भित्रैबाट पखालौं भन्दै यसले समाजलाई वर्षदिनमा एक दिन रमाइलो गर्ने अवसर प्रदान गरेको छ । फलस्वरुप यसले हाँस्य–व्यङ्ग्य साहित्य र कलाको विकासमा योगदान पनि पुगेको छ । आज नेपाली बाङ्मयमा हाँस्य–व्यङ्ग्य साहित्यको अभाव छ । भैरव अर्याल, केशवराज पिंडाली, रामकुमार पाण्डेपछि नेपाली वाङ्मयमा हाँस्य–ब्यङ्ग्य क्षेत्रमा उल्लेख्य हस्ताक्षर झुल्केनन् । यो खाँचोलाई पूरा गर्न गाईजात्राले नेपाली साहित्यलाई पनि कुतकुत्याई देओस् ।
सामुहिक र एकताको भावना प्रवाह हुनु गाईजात्राको अर्को महत्वपूर्ण सन्देश हो । सबै घरका मानिसहरू भेला भएर गाईलाई सिंगारेर निकाल्दा तथा बालकहरूलाई गाई र साधुको भेषमा निकाल्दा समुदाय, टोल–छिमेकमा जुन एउटा सामुहिक भावनाको विकास हुन्छ, त्यो अमूल्य हुन्छ । गाई र बालक सिंगारेर टोल–छिमेक–चोक हुँदै नगरपरिक्रमा गर्दा सम्बद्ध परिवारजन तथा टोल–छिमेकबीच मनोवैज्ञानिक रूपमा सहानुभूति र आत्मिय भावनाको आदान–प्रदान हुन्छ । यति मात्र हैन यसले नेवार, गैर–नेवार तथा अन्य धर्मावलम्बीहरूलाई पनि सद्भावना र एकताको सन्देश प्रवाह गर्दछ ।
अन्तमा, मृतात्मालाई मुक्ति, जीवनलाई शुख, शान्ति दिने पर्वको रूपमा चलेको गाईजात्राको आदर्श, मूल्य र मान्यता मननयोग्य छन् । संस्कृतिका धनि तथा सभ्यताका सम्बाहक आदिवासी नेवार जातिको मौलिक पर्व ‘सापारु’ अर्थात् गाईजात्राले नेपाली र मानव जातिको समग्र जीवन दर्शनलाई प्रतिविम्बित गरेको छ । यो पर्वले जीवन जिउने कला सिकाएको छ । आपसी भाइचाराको सन्देश दिएको छ । मानिसलाई जस्तै दुःखमा पनि हाँसेर जिउनु पर्छ भनेको छ । यस्तो सकारात्मक र रमाइलो गाईजात्रा पर्वलाई फेरि यो वर्ष पनि स्वागत छ । अस्तु ।