मेवाहाङको प्राचीन स्थल मेवाखोला

डा. नवराज सुब्बा [अनुसन्धानमूलक लेख]

ताप्लेजुङ जिल्लामा पर्ने मेवाखोला साँबा लिम्बू जातिको पैत्रिक स्थल वा थूम हो । यो थूमको नाम त्यहाँ बग्ने एक नदीको नाममा रहेको छ । यो मेवाखोलालाई लिम्बू भाषामा मिक्वाखोला अर्थात् आँशुको खोला अर्थमा हाल मिवाखोला पनि भनिन्छ । आजकल मेवाखोलाको सट्टा मिवाखोला लेख्ने वा मिक्वाखोला भन्ने चलन बढेको छ । यो किन र कसरी भयो होला? के हामीले हिजो गलत बोलेर वा लेखेर आज सही भन्न वा लेख्न खोजेका हौं? या आज सुधार्ने नाममा ऐतिहासिक तथ्यलाई वेवास्ता पो गर्दैछौं कि? मेवाखोला हो भने यो ‘मेवा’ शब्द कसरी रह्यो? वा यो कुनै पुर्खाको नाम हो कि? यदी मिक्वा वा मिवाखोला हो भने त्यो ‘मिक्वा’ वा आँशु कसको थियो? यो सवालको जवाफ खोज्ने क्रममा किराती दन्त्यकथा, वंशावली र मुन्धुम अघि सार्दैछु ।

त्याे कसको आँशु थियो जसको नामबाट खोलाको नाम रहन गयो भनेर अध्ययन गर्दा हामीले मुदेन्छङ साँबा बंशावली[1] हेर्नुपर्ने हुन्छ । दिगर्चाका मुरेहाङले नेपाल (काठमाडौं) र लिम्बूवान हान्ने क्रममा हिमालयपार दोलखासम्म आउने क्रममा मुदेन्छङ साँबाका पुर्खा मुनाहाङले पनि तम्बरशिरसम्म साथ दिएका थिए । मुनाहाङ आफ्ना समूह लिएर तम्बरखोलको शिर तिङ्तावा घाँटी हुँदै तोक्पे घाँटी आइपुगे । त्यहाँबाट दक्षिण किरात प्रदेशमा झर्दा बाटोमा भोकतिर्खा, दुःखकष्टले अनुचर खासगरी बूढाबूढी, केटाकेटी र महिलाहरुको धेरै आँशु बग्यो । मेवाखोलामा पुगेर खोलालाई देखाउँदै मुनाहाङले तपाईहरुको आँशु यो खोलाझैं बग्यो भनेर समूहलाई बताए र उनले पनि लामो स्वास फेरे । नभन्दै नजिकैको भीरपाखाबाट पनि पानीको थोपा आँशुझै तपतप् झरिरहेको देखिन्थ्यो । मेवाखोला तर्ने क्रममा उनीहरुले साथमा ल्याएको बाख्रालाई पहिले खोला तारे । बाख्रालाई पहिले तारेको पुललाई सम्झेर उनीहरुले सो स्थानको नाम पनि ‘बाख्रा तर्ने पुल’ अर्थात् ‘मेदातरङ’ राखे । स्मरण रहोस्, लिम्बू भाषामा मेदा भनेको बाख्रा र तरङ भनेको पुल हो । दुःखदायी यात्राको सम्झनालाई चिरस्थायी बनाउन खोलाको नाम पनि मिक्वा चकचक (आँशु तरर) बगेको खोला राखे ।

माथिको चाखलाग्दो ऐतिहासिक घटनाप्रति यो लेखकको कुनै बिमति छैन । तर त्यसअघि यो खोलाको नाम के थियो त? किनभने मुदेन्छङ साँबा दिगर्चा ल्हासाबाट नेपालमा प्रवेश गरेको काल र मुरेहाङको लिम्बूवान चढाई अंशुबर्मनको देहान्तपछि (सन् ६४०) सातौं शताब्दीमा भएको हो । इतिहासकार इमानसिंह चेमजोङ अनुसार लिम्बू दशसरदारले किरात राज्यका भुईफुट्टा आठराई शासकलाई दखल गरेर दशलिम्बूवान स्थापना गरेको समय त्योभन्दा करिव एकशताब्दी अघि छैटौं शताब्दीमा हो । इतिहासमा छैटौं शताब्दीमा दश लिम्बुवानका विभिन्न थूम गठनगर्ने क्रममा ‘मेवाखोलामा सिरेङहाङले राज्य गरे’ भनिएको छ । यसरी सातौं शताब्दी मुरेहाङको शासनकाल अर्थात् मुदेन्छङको लिम्बूवान आगमनपूर्व सिरेङहाङले मेवाखोलामा राज्य गरेको इतिहासले देखाउँछ । मुदेन्छङ आउनुपूर्व मेवाखोला नामाकरण भइसकेको इतिहासले बताउँछ । यसर्थ, वंशावलीमा मुदेन्छङ् साँबाको मिक्वाखोला भन्ने बुझाई ऐतिहासिक घटना भएपनि यसअघि नै उक्त खोला मेवाखोला नामले बगेको बुझिन्छ ।

यसकारण मेवाखोलाको नाम आँशु अर्थात् दुःखपूर्ण यात्राको द्योतक भएको मान्न सकिएला तर यसको ऐतिहासिकता खोजेर यसको नाम कुन राजा वा कुन वंशसित सम्बन्धित थियो भनेर जिज्ञाशा अझै बाँकी रहन्छ । उसोभए लिम्बूवान गठन छैटौं शताब्दीपूर्व नै मेवाखोलाको नामाकरण कसरी भयो होला? भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा एक किराती दन्त्यकथा र यसलाई समर्थन गर्ने वंशावलीले केही बताउँछन् । किराती दन्त्यकथाबाट मेवाखोला नामाकरणको संकेत पाउन सकिन्छ ।

एक किराती लोककथा [2] अनुसार उहिले रोदु किरातका सन्तानहरु मध्ये खम्बुहाङ र मेवाहाङ बराहक्षेत्रबाट छुट्टिएर तम्बरको शिरतर्फ उँभो लागे । उनीहरुले साथमा आफ्ना बाख्रा पनि लगेका थिए । उनीहरुले आफ्नो प्रमुख हतियार धनुवाण पनि बोकेका थिए । खम्बुहाङ पहिले बाटो लागे । उनी उँभो लाग्दा बाटोमा अचानक खोलुङ (खोवालुङ) भन्ने स्थानमा पुग्दा बाटो अबरुद्ध भयो । खम्बुहाङले मलाई अघि जान देऊ भनेर खोलुङ देवलाई पूजा गरे । खोलुङले पनि मलाई भोग नदिई जान दिन्न भने । खम्बुहाङले वरिपरि हेर्यो र एउटा रुखमा माङ्खो चरो देख्यो । धनुवाणले त्यही चरालाई मारी झारेर त्यसैको भोग खोलुङलाई दिए । त्यसपछि उनको बाटो खुल्यो र उनी अघि बढे ।

पछि मेवाहाङ पनि दाजुलाई पछ्याउँदै त्यहाँ आइपुगे । उनलाई पनि खोलुङदेवले त्यसरी नै अवरोध गरे । उनले दाजुलाई सोधे– “दाजु ! यो खोलुङ तिमीले कसरी तर्यौ? मलाई पनि उपाय बताईदेऊ न !” तर किन हो, भाग खोस्न आएको सम्झे कि किन दाजु खम्बुहाङले मनमा पाप चिताए । उनले भाइलाई सही कुरा बताउनुको सट्टा उल्टो कुरो बताइदिए । उनले भाइलाई आफ्नी कान्छी चेलीको कान्छीऔंला काटेर भोग चढाइ दिएको र बाटो खुलेको भनेर ढाँटिदिए । भाइले दाजुको कुरा विश्वास माने । भाइ मेवाहाङले दाजु खम्बुहाङको सल्लाह बमोजिम आफ्नी गर्भवति कान्छी बहिनीको कान्छीऔंला काटेर खोलुङ्देवलाई भोग चढाए । औंला काटेपछि बहिनीको हातबाट धेरै रगत बग्यो । हातबाट त्यसरी बगेको रगत बाख्राले चाट्न थाल्यो । आखिर रगत धेरै बगेर बहिनीको मृत्यु भयो । त्यसरी बहिनीको रगत बाख्राले चाटेकाले अब उप्रान्त मेवाहाङ र उनका सन्तानले बाख्राको मासु नखाने संकल्प गरे । फलस्वरुप आज पनि कतिपय किराती राई र लिम्बूले बाख्राको मासु खाँदैनन् ।
बहिनीको मृत्युपछि मेवाहाङ दुःखी भए र कुरो बुझेपछि दाजुसंग चित्त दुखाए । उनी त्यहाँबाट अरुणनदीको शिरतिर अघि बढे । उनी तिब्बत पुगेर केही समय बसे । मेवाहाङले गेल्जुम्मा हिमालको फेदमा मृग देखे । मृग शिकार गर्दै उनी त्यहाँबाट किरात देश झरे । उनी संखुवासभा हुँदै भोजपुर पुगे । उनले मृगको मुटु कलेजो (राई भाषामा शिली) र एक हिमाल (चुङ) लाई चढाए । यसरी यो शिलिचुङ हाल भोजपुर जिल्लामा पर्दछ, भनी एक किराती दन्त्यकथा बताउँछ ।

माथिको लोककथा किरात राईमा प्रचलित एक आख्यान हो । यही आख्यानको आधारमा मेवाहाङको शिकार गर्ने क्षेत्र अरुण बरुण क्षेत्रमा मेवाखोला पनि रहेको हुँदा लोककथामा वर्णित मेवाहाङको नामबाट मेवाखोला नाम रहेको हुनसक्ने सम्भावना देखिन्छ । त्यसबेला अरुण–बरुण क्षेत्र किरातीहरुको क्रिडास्थल नै भनेर साँबाको तुङ्दुङ्गे मुन्धुम[3] पनि बताउँछ । मेवाहाङ्बाट मेवाखोला रहनगएको हुनसक्ने परिकल्पनालाई पुष्टि गर्ने आधार खोज्दै जाँदा रोदु किरातको वंशावली[4] सहायकसिद्ध भएको छ । उक्त वंशावलीले खम्बुहाङ (जेठो) र मेवाहाङ (माइलो) दाजुभाइ भएको पुष्टि गरेको छ । खम्बुहाङबाट हालका चाम्लिङ, बान्तवा लगायतका विभिन्न राई र मेवाहाङबाट मेवाहाङ, लोहोरुङ, याम्फू, याक्खा र अठप्रे राई भएको वंशावलीले बताउँछ । त्यसैगरी साईलो मेत्नाहाङबाट लिम्बू, काईला आङ्लेवाबाट सुनुवार र कान्छा मेरातीबाट धिमाल, मेचे र नागा भएको रोदु किरात वंशावलीले बताउँछ । यसर्थ मेवाहाङ प्राचीन पुर्खा भएको र उनका सन्तान हाल सोही क्षेत्र र वरिपरि फैलिएको हुँदा मेवाखोला नामाकरणमा लिम्बूका दाजु किराती पुर्खा मेवाहाङको नामसित जोडिएर खोलाको नाम पनि मेवाखोला रहन गएको परिकल्पनालाई वंशावलीले समर्थन गर्दछ ।

यति मात्र हैन दन्त्यकथा र वंशावली तथा मुन्धुमले निम्न कुरा पनि समर्थन गर्दछ । (१) राई, लोहोरुङ, याम्फू, याक्खा, अठप्रे राई, लिम्बू, सुनुवार, धिमाल, मेचे र नागाका पुरख्यैाली हाँगा वंशक्रमको दृष्टिले नजिक छन् । (२) मेवाखोला क्षेत्रमा मेत्नाहाङ (लिम्बू) भन्दा अघि दाजु मेवाहाङ पुगेका थिए । (३) राई (खम्बु) बाट लिम्बू (याक्थुङ) भएको तथा राई र लिम्बू एकै हुन् भन्ने तर्कलाई पनि यसले समर्थन गरेको छ ।

मुन्धुम, लोककथा अध्ययन गर्ने शास्त्रलाई अंग्रेजीमा फोकलोर (Folklore) भनिन्छ । लोककथा त्यसै निर्माण भएका छैनन् । एक निश्चित घटनाका आधारमा यिनीहरुको निर्माण भएको छ । इतिहास, सत्यतथ्य र उपकारी सन्देश सम्प्रेषण गर्नलाई नै लोककथाको निर्माणको अभिप्राय भएको विद्वानहरुको मत पाइन्छ । Folklore एक वैज्ञानिक विधा हो जसले लोककथाको निर्माणारम्भ, साजसज्जा, अभिप्राय के हो भनेर अध्ययन गर्ने गर्दछ । लोकसाहित्य भित्र आध्यात्मिक, नैतिक, सामाजिक, राजनीतिक, र आर्थिक मूल्य र मान्यतालाई समेटिएको Allegorical, Romantic, Comparative, Folkloric, Functionalist, Structuralist, Formalist तत्वहरु हुन्छन् ।[5] एउटा महत्वपूर्ण कुरो के छ भने कथालाई नबिर्सने र लोकप्रिय बनाउन गहिरो अर्थ दिने शब्द रुपक (Metaphore) को प्रयोग लोककथामा हुन्छ । लोककथामा भ्यागुत्ता उफ्रदैन बोल्छ, मानिसझैं हिड्छ, ढुँगा, रुखपात पनि बोल्छ । यसैले लोकसाहित्यमा विद्यमान विभिन्न सांकेतिक अर्थको विश्लेषण जरुरी हुन्छ । यसैले लोककथालाई इतिहासको प्रमाणको रुपमा हुबहु लिन सकिन्न केवल यसलाई आधार वा संकेत बुझ्नु पर्दछ ।

भाषालाई पनि रोग लाग्दो रहेछ भनेर विभिन्न भाषाका तुलनात्मक अध्येता प्रसिद्ध भाषा वैज्ञानिक Friedrich Max Muller ले भनेका छन् । उनले पुराना ग्रन्थहरुमा पाइने शब्दको अर्थ हाल बद्लिएको पाए । उनले विभिन्न स्थानमा एक शब्दको बेग्लाबेल्लै अर्थ भएको पाए । शब्दको अर्थविस्तार भएको एउटा सानो उदाहरण नेपाली शब्द ‘तेल’ भन्नाले आरम्भमा तोरीको खानेतेल मात्र बुझिन्थ्यो, अहिले तेल भन्नाले पेट्रोल लगायत अखाद्यतेल पनि यसले बुझाउँने गर्दछ । शब्दार्थको कुरा पनि सान्दर्भिक नै होला । जस्तै– ‘बलबहादुरले सिलटिम्मुर खायो’ भनेको बलबहादुर मर्यो । यद्यपि ‘सिलटिम्मुर’ को अचार खाइन्छ, औषधी बनाएर मानिस र जनावरलाई खुवाइन्छ । सामान्यतः यही शब्दले मानिस मर्यो भन्ने अर्थ बोकेको हुन्छ । मानिस मर्यो भन्ने शब्दको यो विशेष अर्थलाई हामी लक्षणा अर्थ भन्दछौं । खाद्यवस्तु वा औषधीय वस्तु भन्ने बुझाउने यसको सिधा अर्थलाई अभिधा अर्थ भनिन्छ । अर्को महत्वपूर्ण कुरो संचारको सिद्धान्त अनुसार प्रेषक–माध्यम–प्रापक  (Communication cycle) चक्रमा उत्पन्न हुने बाधा (Noise) उत्पन्न भएमा एककान–दुईकान मैदान हुँदा लोकसाहित्य पनि अपभ्रंश हुन्छ र विविधता पाइन्छ । हामी सबैलाई थाहा छ, एकजनाले आरम्भमा भनेको एकथोक कालान्तरमा कुरो मैदान हुँदा त्यो कुरो कत्ति बाङ्गिन्छ वा कुरै अर्कै भएर आउँछ । लेखकले लोककथालाई नबिर्सने गरी बनाउँछ । खोला बगेको वा कराएको जस्ता सामान्य कुरा भुलिन्छ, तर खोलाले मान्छेझैं गफ गरेर बोलेको कथा मानिसले हत्तपत्त भुल्दैनन् । हिमाल, समुन्द्र, तारा, घाम, जुन बोलेको कुरा मानिसले बिर्सदैनन् । त्यसैले यिनीहरु लोककथामा लोकप्रिय पात्र हुन्छन् । भन्न खोजेको कुरा, लोकसाहित्यमा प्रयोग हुने कुनै पात्र वा वस्तु कुन अर्थमा प्रस्तुत भएको छ त्यो अध्ययनकर्ताले बडो सावधानीपूर्वक खुट्याउनु पर्दछ । सूचना संचार–बाधाबाट उत्पन्न हुनसक्ने अवस्थाको ज्ञान र ध्यान राख्नु पर्दछ ।

माथि वंशावलीमा दाजुभाइ लहरै देखाइएको छ । के यी एउटै आमा वा बाबुका सन्तान हुन् त? यसलाई त्यसरी बुझ्नु पनि ठिक हुँदैन । यसरी वंशावलीमा देखाइएको दाजुभाइको श्रृङ्खला बुझ्नलाई अलिकति पौराणिककाल र ऐतिहासिक कालतिर जानुपर्दछ । पौराणिक कालमा गैरवंशीय व्यक्तिलाई पनि आफ्नो वंशका तान्ने काम गरिन्थ्यो, यस्ता सन्तानलाई मानसपुत्र भनिन्छ । मानसपुत्रले पनि कुलवंश चलाउँछ । लिम्बू जातिका वंशावलीमा एकै बाबुका सन्तान मात्र दाजुभाइ भएका छैनन् । त्यहाँ दाजुभाइ बनाउने वा वंशभित्र ल्याउने काम पनि गरिएको छ । जसलाई वंशावलीमा वा बोलीचालीमा ‘मिसलभाइ’ भनेर चिनिन्छ । खम्बुहाङ र मेवाहाङ दुई भाइ एकै पिताका सन्तान हुन पनि सक्छन् नहुन पनि सक्छन् । किनभने यो विशाल परिवार वा समूहको कुरो हो । लोककथामा अघि जाने वा आउने दाजु र पछि जाने वा आउने भाइ भयो । यसैले माथि लोककथा र वंशावलीमा जेठो, माइलो, साईलो, काईलो र कान्छो भनेर जुन देखाइएको छ त्यो साँच्चीको जन्मले एकै पिताका जेठो, माईलो नभएर कुनै स्थानमा पहिले पुग्ने र पछि पुगेको आधारमा जेठो माइलो भएका परापूर्वकालका एकै पुर्खाका सन्तान हुन् जसलाई वंशावलीले सांकेतिक रुपमा समेटेको हुनसक्छ । खम्बुहाङ जसलाई खाम्बोक्मा वा भूमिपुत्र पनि भनिन्छ, यिनीहरुलाई गंगामैदानबाट आएका सन्तान काशीवंश वा काशीगोत्र पनि हुन्,[6] तिनीहरु नै पहिले मेवाखोला क्षेत्रमा प्रवेश गरेको संकेत लोककथाले दिन्छ र जसलाई रोदु किरात वंशावलीले पनि समर्थन गर्छ । यता चङबाङ साँबा पोङमुन्धुम[3] र फयङहाङ साँबाको पोङमुन्धुमले समेत उनीहरुका पुर्खा पनि उक्त यात्रापथमा तल्लिन रहेको उल्लेख गरेका छन् । भाषाविज्ञानले लिम्बू भाषाको बंश भोट–बर्मेली भाषा परिवारको उत्पत्ति, वितरण र परिवहनले आनुवंशिकी अध्ययनको आधारमा माथिका तथ्य पुष्टि भएका छन् ।[7]

अन्तमा, मेवाखोला नामाकरण लगायत राई, लिम्बू पहिचानको सवालमा लोककथा, वंशावली तथा मुन्धुम महत्वपूर्ण स्रोत हुन् । जसरी कुनै जग्गाको क्षेत्रफल निकाल्दा छिमेकीका जग्गाहरुको सीमानालाई पनि आधार मानिन्छ , एकीन गर्नलाई एक भरपर्दो स्रोत मानिन्छ, त्यसैगरी राई, लिम्बू, याक्खा, याम्फू, धिमाल आदिले आफ्ना ऐतिहासिक अस्तित्व मापन गर्ने कार्यमा एकअर्काका प्राचीन साहित्य र ज्ञानको उपयोग गर्नै पर्दछ । नत्र अध्ययन अधूरो र एकलकाँटे हुन्छ । खोलाको नामाकरणमा जनजीब्रोले बोल्दा–लेख्दा जानीनजानी अपभ्रंश भएमा व्युत्पन्न हुने ध्वनि र शब्दलाई भाषाविज्ञान र इतिहासले स्वभाविक रुपमा स्वीकार्ला तर मौलिकताको नाममा दुराशयपूर्वक, रणनीतिक, राजनीतिक, र कोरा भावनाले यदि कुनै शब्द बुनिएको, चुनिएको वा लादिएको भए त्यो केवल क्षणिक हुन्छ किनभने त्यसलाई इतिहासले चिन्दैन र सबैले स्वीकार पनि गर्दैनन् । लोकसाहित्य वा मुन्धुमको अर्थ्याइ तर्कपूर्ण हुनुपर्दछ । यसमा अन्तर्निहित गहिरो भावको खोजी गरेर मात्र हामी सत्यनिकट पुग्न सक्छौं । हेक्का राखौं, लोककथा वा मुन्धुममा कतै ढुँगा बोल्यो अरे भनेर शब्दको गहिरो (लक्षणा) अर्थभित्र प्रवेश गर्न नखोजी सिधा (अभिधा) अर्थको पछिमात्र लाग्दा कतै कान हैन कागको पछि रोमाञ्चक दौडाई नहोस् ।

References
[1] Samba, Homu. Kirat Aitihasik Pristhabhumima Mudenchhong Samba Bangsawali. Edited by Homu Samba. 1st ed. Taplejung: Mudenchhong Samba Sewa Sangh Nepal, 2007.
[2] Rai, Rajesh. Kirati LokKatha Sangraha. Kathmandu: Nobel Kishor Rai, 2005.
[3] Chongbang Samba, Buddhi Prasad. Chongbang Samba Bangsawali. 1st ed. Taplejung: Bangsawali Sankalan Samiti, Nepal, 2009.
[4] Thomrom, BhupDhwaj. Kulung Sanskritik Adhyayan. Kathmandu: The Mountain Institute, Kathmandu, 2001.
[5] Z. Jonathan Smith and Richard Buxton, “Myth,” Encyclopaedia Britannica, accessed August 17, 2019, https://www.britannica.com/topic/myth.
[6] Chemjong, Iman Sing. Kirat Itihas. 5th ed. Lalitpur: Kirat Yakthung Chumlung Lalitpur, 2003.
[7] VanDriem, George. “Tibeto-Burman vs. Indo-Chinese: Implications for Population Geneticists, Archaeologists and Prehistorians.” In The Peopling of East Asia: Putting Together the Archaeology, Linguistics and Genetics, edited by Sagart Laurent, Blench Roger, and Sanchez_Mazas Alicia, 81–106. London, UK: Routledge Curzon, 2005.