ज्ञान मुन्धुमले जोड्छ टुक्र्याउँदैन

– डा. नवराज सुब्बा

आदिवासी आफूलाई भूमिपुत्र मान्दछन् । आफू कतैबाट विस्थापित भएर स्थापित भएको नभइ सोही माटोमा उत्पत्ति भएको विश्वास गर्दछन् । किरात लिम्बूको काशीवंश खाम्बोङ्बाको दुई लिम्बू शब्दले बनेको छ, खाम भनेको माटो र पोङ्बा भन्नाले उठेको भन्ने बुझिन्छ । यसर्थ खाम्बोङ्बाको अर्थ पनि भूमिपुत्र नै हो । यसबाट भूमिपुत्र उक्त क्षेत्रका पुराना बासिन्दा हुन् भन्ने जनाउँछ । तर यी खाम्बोङबाको उत्पत्ति स्थल सुमेर (मेसोपोटेमिया) भएको इतिहासकार इमानसिं चेमजोङको दावी छ (Chemjong, 2003a) । यसलाई भाषाशास्त्री बालकृष्ण पोखरेलको अनुसन्धान (Pokhrel, 1998) ले पनि चेमजोङ दावीलाई समर्थन गरेको छ ।


लिम्बू जातिको चिनारी पुस्तकमा गोविन्द तुम्बाहाङ लिम्बू जातिलाई आदिवासी दावी गर्ने क्रममा मुन्धुमको विश्लेषण गर्दै मानव सृष्टिकर्ता देव पोरोक्मी याम्फामीले छेलो हानेको ठाउँ ईवाहरा तेम्बे हालको आठराई ईवा बताउनु हुन्छ । यस्तै मुजिङ्ना खेयोङ्ना जन्मिएको ठाउँ पिप्पुधाम ताप्लेजुङ मान्नुहुन्छ । यसरी तुम्बाहाङले लिम्बूवानका ताप्लेजुङ, पाँचथर र तेह«थूमका विभिन्न स्थानलाई मुन्धुमी स्थलको रुपमा चित्रित गर्नुभएको छ (Tumbahang, 2011, pp24-25) ।


गोविन्द तुम्बाहाङ विश्लेषणको कित्तामा उभिएर एकथरी लिम्बू आफू यही लिम्बूवानमा उत्पत्ति भएको दावी गर्ने गर्दछन् । दावीमा यति तीव्रता छ कि इतिहासमा जगजाहेर भएको किरात पहिचान उनीहरु छोप्न वा त्याग्न चाहन्छन् । यस्ता सवालले लिम्बू समाज आज द्विविधा र विभाजित मनस्थितिमा पुगेको छ । यो भावनाले किरात लिम्बू समुदायबीच अविश्वास र आन्तरिक द्वन्द्व निम्त्याएको छ । यसबाट किरात लिम्बू एकता कमजोर र दिशाहीन हुन गएको छ । यसबेला अनुसन्धानमा लाग्नेले आफूले जानेका ज्ञान पस्केर भूसभित्र सल्किरहेको आगो निभाउने काम गर्नुपर्दछ ।

केवल मुन्धुमी आडभरोसामा लिम्बूको उत्पत्तिस्थल तेह«थूमको आठराई ईवा भनी तुम्बाहाङले जुन दावी गर्नुभो त्यो अविश्वसनीय छ । पहिलो कारण त यो विश्लेषण इतिहासकार चेमजोङको किरात मुन्धुम तथा थुलुङ, माबोहाङ, र ढुँगेलको किरात इतिहासको तथ्य विपरित छ (Chemjong, 2003a, 2003b; Thulung, 1985; Mabohang & Dhungel, 1990) । ती स्थापित दर्शन र ऐतिहासिक अवधारणालाई स्थानीय मुन्धुम विश्लेषणको आधारमा चुनौति दिनु घामलाई हत्केलाले छोप्नुसरह हो । मुन्धुम लोकसाहित्य हो यसको स्वरुपमा समय, स्थान र व्यक्तिपिच्छे विविधता पाइन्छ । मौखिक लोकसाहित्यको विशेषतालाई ध्यान नदिइ स्थानीय मुन्धुम विश्लेषणलाई सामन्यीकरण गरी समग्र किरात दर्शनलाई दिग्भ्रमित गर्न खोज्नु शोध वा लेखनको गरिमा गिराउनु हो । यसैले लोकसाहित्य मानिएको मुन्धुम वा वेदका ध्वनिभित्र अभिधाशक्ति र रुपक शब्दशक्ति अन्तर्निहीत रहेकाले यसलाई साहित्यकै कोटीमा राखिन्छ । ऐतिहासिक प्रमाणको रुपमा साहित्यलाई मात्र भरोसा गर्न विज्ञान जगत मान्दैन यसलाई केवल एक आधार मान्दछ जसलाई पुष्टि गर्न थप प्रमाण आवश्यक पर्दछ ।


तेह्रथूम आठराई ईवा क्षेत्रको हालसम्म पुरातात्विक अध्ययन भएको छैन । आजसम्म लिम्बूवानमा पाषाणकालीन, नवपाषाणकालीन कुनै वस्तु र अवशेष फेला परेकै छैनन् । भारतवर्षमा पुरातत्वले सबैभन्दा पुरानो मानव अवशेष भएको स्थान बलुचिस्तान, कस्मीर क्षेत्र हो । यो ईपू ७,५०० देखि २,६०० वर्ष पुरानो मानिन्छ । त्यसपछिको दोस्रो पुरानो मानव अवशेष सिन्धनदी हरप्पा सभ्यता क्षेत्र नै हो जुन ईपु ३,३०० देखि १,३०० वर्ष पुरानो मानिन्छ । पुरातात्विक महत्व भएको स्थलमा चीनको ह्वाङ–हो नदी र याङसी नदी क्षेत्र मानिन्छन् । आजसम्म नेपालको कुनै क्षेत्रमा मानव उत्पत्तिलाई टेवा दिने त्यस्ता कुनै पुरातात्विक प्रमाण फेला परेका छैनन् । नेपालमा आजभन्दा ६,००० वर्षअघि उत्तरबाट आएका मानव समूहले पहिलेका नवपाषाणकालीन मानवसमूहलाई विस्थापित गरिदिएको एक अध्ययनले देखाएको छ (Laird, 2006) । यसरी मानवशास्त्रका अन्य क्षेत्र भाषाविज्ञान, जीवविज्ञान र इतिहासका कुनै तथ्य र प्रमाणले आठराई ईवा लगायत लिम्बूवानलाई पुरातत्विक महत्वको स्थल मानेको छैन । प्रजातिविवरण (Ethnography)को सीमा नै छ यो सामान्यीकरण गर्न मिल्दैन (EssaysUK, 2018) । यसकारण तुम्बाहाङको ज्ञान प्रजातिवर्णन (Ethnography) को दृष्टिले स्थानीय आदिभौतिक ज्ञान भए पनि मानवशास्त्रका अन्य विधा (Disciplines) झैं सामान्यीकरण गर्नयोग्य ज्ञान होइनन् ।


सिक्किममा लिम्बू जातिको एक अध्ययन क्रममा राजनीतिक र रणनीतिक रुपमा लेख्ने आदिवासी लेखकका पुस्तकलाई स्रोत साभार गर्दा चुनौति सामना गर्नु परेको बताइएको छ । उनीहरु सत्यतथ्य र यथास्थिति भन्दा पनि रणनीतिक रुपमा लेख्दछन् जुन यथार्थभन्दा टाढा रहन्छ भनेर अध्ययनकर्ताले निष्कर्ष निकालेका छन् (Gustavsson, 2013) । नेपालमा पनि लिम्बूवानको आन्दोलनसितै भित्रभित्रै स्थापित र विस्थापितको लहर चलेको छ । आफूलाई लिम्बूवानकै भूमिपुत्र स्थापित गर्न कतिपय लिम्बू विद्वान तथा लेखक लागिपरेको देखिन्छ । तुम्बाहाङको लिम्बू जातिको आठराई उत्पत्ति विश्लेषणले लिम्बूवान राजनीतिमा आध्यात्मिक र दार्शनिक बल पुग्ने देखिन्छ । यसकारण तुम्बाहाङले गर्नुभएको लिम्बूवान उत्पत्ति विश्लेषण रणनीतिक रुपमा आएको हुनसक्छ ।

आफूलाई किरात नमान्ने लिम्बूहरुको तर्क अचम्मको छ । मुन्धुममा किरात नभएको हुँदा हामी किरात होइनौं केवल लिम्बू हौं भन्ने तर्क राख्तछन् । तर लिम्बू शब्द पनि त मुन्धुममा त छैन नि ! भन्ने प्रश्नको जवाफ दिन उनीहरु सक्तैनन् । लिम्बूले बोल्ने भाषा भोट–बर्मेली भाषा परिवारको भाषा हो । लिम्बू भाषा उक्त भाषा परिवारभित्र परेपछि यसको फेद खोज्न भोट, बर्मा जानुपर्ने हुन्छ । यसकारण लिम्बू वा लिम्बूवान फेद नभएर टुप्पो हो यसको फेद लिम्बूवानभित्र नभएर अन्यत्र छ भनेर भाषाविज्ञानले सिद्ध गरिसकेको छ । किनभने भाषा मानिससंगै आउने जाने वस्तु हो । यसकारण महाकिरात अन्तर्गतको एक लिम्बू भाषा उद्गमस्थल चीनको सिंचुवान युनानबाट भोट–बर्मेली भाषा परिवार हुँदै नेपाल आएको हो भनेर भाषाशास्त्रीहरुले बताएका छन् । मध्यएशियाबाट मेसोपोटेमिया लगायत भूमध्यसागरीय क्षेत्र, यूरोपसम्म मानिसको आवतजावत ईपू १५०० अघिदेखि चलेको शिल्करोड शिर्षक लेखमा पुरातत्व र भाषाविज्ञानको आधारमा पत्ता लागेको छ (Bullet, 2008) । चीनबाट नेपालको पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैदिशाबाट किरात प्रवेश गरेको तथ्य भाषा, पुुरातत्व तथा आनुवंशिकी अध्ययनले बताएको छ ( VanDriem, 2005) । यसकारण भाषा, पुरातत्व र आनुवंशिकीले लिम्बूलाई किरातसित जाडेको अवस्था छर्लङ्ग देखिन्छ ।


लिम्बू आगमनपूर्व उक्त स्थानलाई आठ सामन्त आठराईले शासन गरेको किरात राज्य थिए भनेर इमानसिंह चेमजोङले किरात इतिहासमा बताउनु भएको छ । यी आठ सामन्तलाई कालान्तरमा दश सरदारले विजय गरेर दश लिम्बूवान गठन छैटौं शताब्दीपछि भयो । इतिहासमा त्यस बेलादेखि किरात क्षेत्रमा पहिलोपटक लिम्बूवान र लिम्बू शब्दको प्रवेश र प्रयोग भयो । यसरी पहिलेका किरात र पछि आएका लिम्बूबीच रक्तमिश्रण भयो र मिश्रित जाति किरात लिम्बू भए । अब सप्तकोशी ब्यारेजनेर कुनै पानीको धारलाई यो तम्बरको धार हो भनेर कसैले दाबी गरे त्यो कसरी पत्याउने ? आफूलाई कुनै संज्ञा दावी गर्न कसैले नरोक्ला तर किरात हटाएर आफू लिम्बू मात्र बताउँदा किरात रक्तमिश्रित अवस्थाको उपेक्षा हुन्छ । उक्त अवस्थामा आफूलाई केवल लिम्बू दावी गर्नेको आदिवासी पहिचान गुम्दछ । उनीहरु किरातलाई विस्थापित गरिबसेका लिम्बू ठहरिने छन् । तर व्यवहारमा यस्तो नभइ रक्तमिश्रण भइसकेकाले अज्ञानवश वा स्वार्थवश सवाल उठाइ जिकिर गर्नु तर्कसम्मत देखिन्दैन ।


माराङहाङ, उबाहाङले तिब्बती शासनको आडमा नेपाल आक्रमण गरेका थिए । लिम्बूवान राज्य खडा गरेपछि आदिवासी किरातसित उनीहरुको क्रमसः रक्तमिश्रण भयो र किरात लिम्बू संज्ञाले चिनिए । उनीहरु किरात लिम्बू संज्ञाले इतिहासमा स्थापित पनि भए । तर आज आफूलाई किरात भन्न नरुचाउने लिम्बूले आफ्ना पुर्खाले किरात राज्य हडपेको इतिहास पढेकै होलान् । किरात राज्यका आदिवासी किरातको पदवीले गर्दा पछि भित्रने लिम्बूले पनि आदिवासी पद्वी पाएको हेक्का राख्नुपर्दछ । यसमा लिम्बूले किरातप्रति कृतज्ञता व्यक्त वा गर्व गर्नुपर्ने हो । यदि कुनै लिम्बूले किरात पद्वी बहिस्कार गर्दा प्रकारान्तरले हाल उपभोग गर्दै आएको आदिवासी पद्वीमाथि प्रश्नचिन्ह लाग्नेछ । स्थापित इतिहास सामु मुन्धुम, लोकसाहित्यको केही जोर चल्दैन । सायद यसैले होला भाषाशास्त्री पोखरेल पनि भन्नु हुन्छ, सबै मंगोल वा लिम्बू किरात होइनन् कसी लगाउनु पर्दछ । तर यो सवाल प्राज्ञिक विचार विमर्स र अध्ययनको लागि मात्र हुनुपर्दछ । एक राष्ट्र भइसकेको किरात लिम्बूबीच विभाजन ल्याउने काम कदापि गर्नु हुँदैन । किनभने भाषाशास्त्री पोखरेलकै अर्को भनाइ उत्तिकै मननीय छ, आज संसारमा कुनै पनि जाति रक्तमिश्रणबाट अछूतो छैनन् ।


मानव उत्पत्ति र विकास अध्ययन क्रममा पुरातत्व, नृतत्व, जीवविज्ञान, भाषाविज्ञान र विश्व इतिहासले एकस्वरमा आधुनिक मानिसको उत्पत्ति अफ्रिका महादेशमा भएको बताउँछ । अफ्रिका महादेशबाट आधुनिक मानिस संसारका विभिन्न भागमा क्रमिक रुपमा विस्तारित भए । यही क्रममा विज्ञान जगत किरात लिम्बू पनि उद्गम स्थलबाट विभिन्न संज्ञाधारण गर्दै लिम्बूवान आएको विश्वास गर्दछ । विश्व इतिहासले मेसोपोटेमियामा आज किरात भनिने जातिका पुर्खालाई सुमेरमा रहँदा सुमेर/कुर्म भनिन्थ्यो भनेर भाषाशास्त्री बालकृष्ण पोखरेलले बताउनु भएको छ । यिनै कुर्म वा सुमेर जातिसित काशी जातिको रक्तमिश्रण सुमेर क्षेत्रमा भयो (Pokhrel, 1998) । सुमेर प्रभावित किर किरात र काशी प्रभावित काशी, कश्यप, खस भए भनेर पोखरेलले किरात लिम्बूका पुर्खाको पदचिन्ह विश्व इतिहास मेसोपोटेमियामा फेला पार्नुभयो ।


मुन्धुममा लिम्बूवानी डाँडाकाँडा, थूम्का, ढुँगा, खोलानाला, पहरा, कन्दराहरु नै पुर्ख्यौलीस्थल हो भनी वर्णित छन् । हुन पनि हरेक लिम्बू थरका आ–आफ्ना पितृस्थल माङ्गेना यक छन् । मुन्धुममा लिम्बूवान भूस्थल अतिरिक्त भोट (मुदेन), चीन (सिन्युक), कैलास पर्वत, भारत (तेमेन) उल्लेखित छन् । चीनमा पुगेर मुन्धुमले आफ्नो पूर्ववतस्थल मुनातेम्बे समेत सम्झेको छ । भाषाशास्त्री बालकृष्ण पोखरेल (1998) ले अर्मेनिया इलामका नैरी जातिलाई मन्यू/मन भनिन्थ्यो भन्नुभएको छ । लिम्बूका पुर्खा लेप्मुले लिबिया र लेबनानमा सिंह आस्था धारण गरे भनी उहाँले बताउनु भएको छ । यो लेखकले हालसम्म सम्पन्न गरेको अध्ययनको आधारमा लिबिया, सुडान, लेबनान र ग्रीस मुन्धुमी मुनातेम्बे मैदान हुनसक्दछ ।


उसो भए मुन्धुममा किन लिम्बूवानी स्थल प्रचुर मात्रामा आए त भन्ने सवाल उठ्न सक्दछ । यसको लागि पहिले समाज विकासको चरणहरु तथा आत्मवाद र जीववादको चर्चा जरुरी हुन्छ । समाजशास्त्री अगष्ट कोम्टेले अघि सारेको सिद्धान्त समाज विकासका तीन चरणमध्ये पहिलो चरण हो आध्यात्मवादी चरण । यो चरणमा मानिस प्रत्येक घटनाको कारण ईश्वर मान्दथे । र उनलाई खुशी राख्न शिकारी युगदेखि नै बलिप्रथा चलेको हो । समाज विकासको दोस्रो आदिभौतिक (मेटाफिजिकल) चरण हो । यस चरणमा प्रत्येक घटनाको कारण प्रत्यक्ष देवतालाई नदेखाइ कुनै अदृश्य दैवीशक्तिलाई मान्दथे । त्यसबेला समाजमा पुजारी, वकिल र सैनिकको बोलबाला चल्दथ्यो । उनीहरु कुनै घटनाको कारण अमूर्त र भावनात्मक ढंगले व्यक्त गर्दथे । यो चरणमा लेखन पद्धतिको विकास भैसकेको हुँदा त्यसबेला प्रचूर मात्रामा साहित्यिक रचना भए । यही चरणमा मुन्धुम रचना गर्ने र लिपिवद्ध गर्ने काम भयो । यो काल १३ औं शताब्दीदेखि १८ औं शताब्दीसम्म चल्यो ।


उन्नाइसौं शताब्दीपछि मानिस बिना प्रमाण कुनै तथ्य मान्न तयार भएनन् । कुनै घटनाको पछि कुनै न कुनै कारण हुनुपर्दट । कारण पत्ता लगाउन विज्ञान र प्रविधिको विकास भयो । यसैले १९ औं शताब्दीपछिको युगलाई वैज्ञानिक युग भनिन्छ । समाज विकासक्रम र इतिहास लेख्न मानिसले अब विज्ञान र प्रविधिको उपयोग गर्न थाले । यसपछि पुरातत्व, नृतत्व, जीवविज्ञान, भाषाविज्ञानमा विभिन्न प्रविधिको उपयोग सहित विश्व इतिहासको पुनर्लेखन कार्य आरम्भ भयो । अब मानिसले विज्ञानले प्रमाणित नगरेका तथ्यलाई स्रोत सामग्री मान्न छाडे । यही क्रममा पश्चिममा बाइबल, पूर्वमा वेदको पुनव्र्याख्या वैज्ञानिकहरुले गरे । ती साहित्य कति सही र कति काल्पनिक छन् भनेर अद्यावधि शोध चलिरहेको छ । अब मुन्धुमको वैज्ञानिक विश्लेषण जरुरी भएको छ ।


आत्मवाद के हो? आत्मालाई जीवनको केन्द्रविन्दू मान्ने यो एक प्राचीन परम्परा हो । करिव ९५ प्रतिशत आदिवासी जनजातिका धर्ममा यसको प्रभाव परेको छ । यसलाई अंग्रेजीमा समन तथा नेपालीमा धामीझाक्री भनिन्छ । यो धर्म मध्य एशिया, साइबेरिया, यूरोपको पूर्वीभाग (युरेशिया), उत्तर र दक्षिण अमेरिका आदिवासीमा पाइन्छ । यसका कतिपय अवधारणा धेरै अघि पाषाण कालीन शिकार खेलेर खाना जम्मा गर्ने युगदेखि चलेको विश्वास गरिन्छ । यो समन (Shaman) तुर्की–मंगोलियन तुङ्गोस (Tungus) भाषाबाट ब्युत्पत्ति भएको शब्द हो (Stutley, 2003) । यसकारण किरातका पुर्खा यो धर्मबाट अछूतो रहन सक्तैनन् ।

आत्मवाद धामीझाक्री विश्वास र परम्परामा आधारित छ । धामीझाक्री ढ्याङ्ग्रोको आवाजको माध्यमले फरक चेतन अवस्था अर्थात् आत्माको जगतमा पुग्दछ र दिव्य शक्तिसित कुराकानी गर्दछ । धामीको दर्शन, उपचार, समस्या समाधान, दिव्यशक्ति र क्षेत्राधिकार हुन्छ । उसले कहिले पनि आफ्नो लागि शक्ति संचय वा मुक्तिको लागि काम गर्दैन सदा समाजको हितको लागि मात्र काम गर्दछ (Gucciardi, 2017) । धामीझाक्री प्रकृतिपूजक प्रथा हो । यिनीहरु आत्मासित कुरा गर्दछन् । यिनीहरु प्राकृतिक वस्तु जस्तै हावा, पानी, आगो, आवाज, हिमाल, पहाड, नदीनाला, ढुङ्गा आदिको आत्मासित सम्पर्क स्थापित गर्दछन् । धामीझाक्री यत्रतत्र सर्वत्र यिनै देवी, देवता, दानव, पितृसंग कुरा गर्दछन् । उनीहरुलाई खुशी पार्दछन् । तिनीहरुबाट शक्ति माग्छन् । तर धामीझाक्रीले कहिल्यै पनि आफ्नो व्यक्तिगत आनन्द वा मुक्तिको बाटो खोज्दैनन् । उनीहरु जे गर्छन् समाजको हित र स्वार्थको लागि मात्र कार्य गर्दछन् । यो नै धामीझाक्री धर्मको दर्शन र मूल आधार हो जसको आडभरोसामा आदिवासी समाज आजसम्म टिकेको महसूस गर्दछ ।


जीववाद के हो ? मानिसको जीवन लगायत सबै भौतिक वस्तुमा आत्माको उपस्थिति देख्ने दर्शनलाई जीववाद (Animism) भनिन्छ । यो सबै आदिवासी जनजातिको जीवन दर्शन, जीवन शैली अर्थात् धर्मको एक अभिन्न केन्द्रविन्दू हो । जस्तै हावा, पानी, आगो, पृथ्वी, सूर्य लगायत हिमाल, नदीनाला, पहाड पर्वत, जंगल, मैदान आदि सम्पूर्ण भूधरातलीय वस्तुमा आत्माको उपस्थिति देख्ने दर्शन नै जीववाद हो । जीववाद र आत्मवादको निकटतम् सम्बन्ध छ । आदिवासीका जीवन दर्शन तथा धर्म संस्कृति यसैमा आधारित हुन्छन् (Halverson, 1998) ।


यो जीववाद पनि धामीझाक्रीबाटै सम्पन्न हुन्छ । यो वाद लोकप्रिय हुनाका कारण धेरै छन् । कुनै पनि दुःखबिमार निको पार्नु, कुनै काम फत्ते गर्नु, कुनै दुस्मनी हटाउनु, कुनै मित्रता वा विवाहवन्धन गाँस्नु वा कुनै मार्गदर्शन जोखना हेर्नुपरेमा धामीझाक्रीले यही जीववाद दर्शनद्वारा कार्यसम्पन्न गर्दछन् । यिनीहरु एक देवता र धेरै आत्मामा विश्वास गर्दछन् । हामीले उहाँसित सिधै सम्पर्क स्थापित गर्न सकिन्न । आत्मवादी दर्शनमा विश्वास गर्ने मानिसहरु निराकार सर्वव्यापी सर्वशक्तिमान देवता भन्दा पापकर्ममा बढी ध्यान दिन्छन् । यदि कुनै पापकर्म भएमा रोग लाग्ने, दुर्घटना हुने अथवा कुनै दशा लाग्ने हुन्छ भन्ने विश्वास गर्दछन् । यसकारण ती आत्मालाई खुशी पार्न बलि दिने गर्दछन् । यो बलि प्रथालाई पाषाणकालीन शिकार खेल्ने युगसंग जोड्दछ । विभिन्न लोककथामा देवतालाई खुशी पार्न कुनै शिकारको भोग चढाएको सुनिन्छ । शिकार गरिने जीवमा पनि आत्मा भएको र उसको आत्माको पाप पनि कटोस् र देवता पनि खुशी होउन् आखिर देवतालाई चढाएको कुरा प्रायः सबै शिकार धामीझाक्री र परिवारले नै खाने हो । यसैले ‘पूजा अनि भूजा’ भन्ने संस्कारले त्यसबेलादेखि हालसम्म निरन्तरता पाएको बुझ्न गाह्रो छैन ।


हाल्भर्सनका अनुसार जीववादमा धामीझाक्रीले पूजाआजा गर्ने देवता तथा आत्मा भौगोलिक हिसाबले स्थानीय हुन्छन् किरात लिम्बूले आफ्ना विभिन्न मुन्धुममा फक्ताङलुङ (कुम्भकर्ण) हिमाल, सगरमाथा (चन्जङलु्ङ), मानसरोवर, कोशी नदी आदिलाई पवित्र पितृवास भएको अथवा पितृका आत्मा रहने स्थल मानेको छ । आफ्ना पितृलाई देवतुल्य मान्ने र पितृस्थललाई पवित्र मान्ने हुँदा यिनीहरुले सम्पूर्ण प्रकृति र प्राकृतिक स्थल, जीव र वस्तुलाई आत्माले गाँस्ने काम फेदाङ्बा, फेदाङ्मा, येबा, युमा वा साम्बाले गर्ने गर्दछन् । यसैले मुन्धुम जीववाद र आत्मावादमा आधारित दर्शन हो । जबकि ईसाई र मुसलमान धर्म विश्वव्यापी दर्शनमा आधारित धर्म हो । यिनीहरुको स्थानिय हिमाल, पहाड, पर्वतसित नाता रहँदैन ।


समाज विकासको आदिभौतिक चरणमा रचित लिखित मुन्धुममा परेको प्रभाव तथा आत्मवाद र जीववाद दर्शनले मुन्धुमी दर्शन प्रभावित भएको हुँदा मुन्धुममा प्रचूर मात्रामा लिम्बूवान स्थल उल्लेखित भएका हुन् । मुन्धुमको यही विशेषताले गर्दा किरात लिम्बूको भावनामा स्थानीयताको जरा गाडियो । समाज विकासको यो चरणलाई बुझेर मुन्धुमको दर्शनको विकासक्रमसित यसलाई गाँसेर हेरेमा मुन्धुममा स्थानीयताको प्रभाव बुझ्न सहज हुनेछ ।


अन्तमा, आजको किरात लिम्बू शारीरिक, समाजिक, संस्कृतिक अवस्थालाई हामी दुई भागमा बाँडेर हेर्न सक्छौं । पहिलो, पहिचानको लागि मौलिक संस्कृति जगेर्ना गर्ने र आदिभौतिकी चरणका ज्ञानलाई प्रजातिवर्णन (Ethnography) द्वारा अध्ययन गर्दै ज्ञानको भण्डार भर्नु पर्दछ । दोस्रो, मुन्धुम साहित्यलाई वैज्ञानिक व्याख्या (डिकोड) गर्ने र मानवशास्त्रका विभिन्न विधा जस्तै उत्पत्ति विज्ञान, पुरातत्व, नृतत्व, भाषाविज्ञानमा हासिल भएका ज्ञानलाई विश्लेषण गरेर किरात याक्थुङ उद्भव, विकास र व्यवहारको वैज्ञानिक व्याख्या गर्नु पर्दछ ।

References

Bullet, R. (2008) The Earth and its Peoples: A Global History, Boston US, Houghton Miffin.

Chemjong, I. S. (2003a). Hisrory and Culture of the Kirat People. (K. Y. C. Lalitpur, Ed.) (4th ed.). Lalitpur: Kirat Yakthung Chumlung Lalitpur.

Chemjong, I. S. (2003b). Kirat Itihas. (K. Y. C. Lalitpur, Ed.) (5th ed.). Kathmandu: Kirat Yakthung Chumlung Lalitpur.

Essays, UK. (November 2018). The Advantages And Disadvantages Of Ethnographic Studies Media Essay. Retrieved from https://www.ukessays.com/essays/media/the-advantages-and-disadvantages-of-ethnographic-studies-media-essay.php?vref=1

Gucciardi, Isa. (2017, October). The Interaction of Shamanism and Buddhism. Presented at the Tibet House’s Menla Mountain Retreat in upstate New York. Retrieved from https://youtu.be/m8qgecqkcoI

Gustavsson, L. (2013). Religion and Identity Policics in the Indian Himalayas: Religion Change and Identity Construction Among the Limboos of Sikkim. University of Oslo, Norway. Retrieved from http://urn.nb.no/URN:NBN:no-42264

Laird, T. (2006). Dalai Lama XIV Bstan-ʼdzin-rgya-mtsho. The Story of Tibet: Conversations with the Dalai Lama. Grove Press. ISBN 978-0-8021-1827-1. OCLC 63165009.. 114-117).Mabohang Limbu, P. B., & Dhungel, B. N. (1990). Sanschipta Nepal Itihas (2nd ed.). Lalitpur: Kirat Prakashan tatha Abhilekh Kendra.

Mabohang Limbu, P. B., & Dhungel, B. N. (1990). Sanschipta Nepal Itihas (2nd ed.). Lalitpur: Kirat Prakashan tatha Abhilekh Kendra.

Pokhrel, B. K. (1998). Khas Jatiko Itihas (Udatta Anu). Biratnagar.

Stutley, M. (2003). Shamanism An Introduction. London, New York: Routledge Taylor and Francis Group.

Thulung, N. M. (1985). Kiratko Nalibeli (1st ed.). Biratnagar: Angur Kandangwa, Biratnagar.

Tumbahang, G. B. (2011). Limbu Jatiko Chinari. Kathmandu: Adibasi Janajati Utthan Rastriya Pratisthan and Kirat Yakthung Chumlung.

VanDriem, G. (2005). Tibeto-Burman vs. Indo-Chinese: Implications for population geneticists, archaeologists and prehistorians. In S. Laurent, B. Roger, & S. Alicia (Eds.), The Peopling of East Asia: Putting Together the Archaeology, Linguistics and Genetics (pp. 81–106). London, UK: Routledge Curzon.