Category Archives: कविता

Nepali Poems by Nawa Raj Subba

केही कविताहरू

कठघरामा उभिएर

हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिनँ यो नाता
कतिन्जेल केरिरहन्छौ
हिरासत–मुक्त गरिदेऊ मलाई
अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ !

भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुई चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइँ खाइन्
भन, काँडाले घोच्दाखेरि
हिँड्दा ठेस लाग्दाखेरि
बताऊ ए आरोपित !
रगत बग्दा तिम्रो मुखैमा
पहिले को आइपुग्छ ?
भन ! नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखको अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?
ऐय्या, अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान् ! विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँदैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन् ।

उहिले सानामा रूँदाखेरि
‘लौ हाँस हाँस मेरो बाबु’ भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु-
आमा ! एकफेर हाँसि देऊ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि…ङ्ग… उभिएको छु ।
तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छौ
हृदयमा मुस्कुराइरहेकी छ्यौ आमा !
तिमी मेरो आत्माझैं अमर छौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु-
आमा ! तिमी आत्माझैं अमर छौ ।

(बेलायतस्थित नेपाली साहित्य मञ्चद्वारा आयोजित ‘प्रथम अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४’ मा प्रस्तुत कविता प्रथम स्थान हासिल गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा विश्वका २७ देशबाट १०३ जना नेपाली कविहरु सहभागी थिए ।)

मेरो पहाड

पहाड छाती ठोक्छ नशामा
घरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे ! Continue reading केही कविताहरू

मनसुनको लय (कविता)

डा. नवराज सुब्बा

बादल हाम्रो गीत सुन्दैन
एकोहोरो एक्लै गडगडाउँछ
खलबल गर्दै हामीमाथि सल्बलाउँछ
आतङककारी बादल वर्षेनी
परेड खेल्छ हाम्रो तन मनमा
बेसुर गड्याङ्गुडुङ तालमा
कड्किन्छ मनसुन
चट्याङ पार्छ
ताण्डव नृत्य नाच्दै
गहिरो हाम्रो मायालाई
एक्कै छिन भए पनि
चुडाइदिन्छ यो मौसमले
यहाँ कस्तो झरी पर्छ ?
न पेट भर्ने खेत रोपियो
न मन भर्ने बारी गोडियो
झार सप्रिए बाली भन्दा
फूल भन्दा काँडा झाङ्गिए
यतिबेला म सशंकित
यी दुई आँखाले जीवनको रङ्ग खोज्दै
हर मनसुनलाई स्वागत गर्न मञ्जुर छु
छाती चिरा चिरा पार्ने अनगिन्ति पहिराहरु
जीवन बिथोल्ने बेहिसाब बाढी बेहोर्न पनि
म विवश छु
ताप्दै पीरको आगो
अझै कति भिज्नु छ छ
यो झरीपानीमा
अझै के के भोग्नु छ छ
यो जिन्दगानीमा ।

भूकम्पको प्रतिध्वनि (Poem)

– डा. नवराज सुब्बा

आस्थाको आकाश
हिजो खसेकै थियो
टेकेको धरती धस्यो आज
घामपानी छेक्ने घरहरू पनि
भूकम्पसितै नाच्यो जब हामीमाथि
एक मूठी स्वास फेर्न नपाएर
उडे धेरै आत्माहरु कतै
अरू पनि ढले यसबेला
इतिहासका थुप्रै धरहराहरू
ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

Continue reading भूकम्पको प्रतिध्वनि (Poem)