Category Archives: रचना

फूलको ओंठमा फुलेकोछु

फूलको ओंठमा फुलेकोछु
पुतली भइ उडि आऊ
पर्खिरहेछु जुनेली रातमा
वतास भइ छाम्न आऊ ।

मेरो छाति पहाडको
भत्किरहने पहिरो जस्तो
मेरो आशा कुमारीको
झरिरहने बर्को जस्तो ।

किन रुन्छन् फूलहरू
झर्छन् किन ताराहरू
सारा रंग धुलो बनि
छोप्छन किन आस्थाहरू ।

बसेको छु म सधैं पर्खेर
खोज्यौ कि तिमीले मलाई
कति बस्नु आशै आशमा
बोकि बैंश कि भागौं कतै ।

३० चैत्र २०६२, विराटनगर नेपाल ।

हाइकू – विराटनगर


नबग्ने ढल
च्याप्पिएको सडक
ठ्वाँस्स दुर्गन्ध ।


मच्छर घर
ओर्लेर घाम उफ्
घँवराहरू


लाइन जाँदा
मृततुल्य शहर
मलामीहरू


तरकारी छ
सस्तो सस्तो जस्तो
म गोलभेडा


समथर छ
भल नबगेर म
थुनिन्छु बाटो ।

गजल

जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ ।

दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर
किन आकाश उधारेर बादलले टाली दियौ ।

नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर
मनको सफा तलाऊमा धमिलोपन हाली दियौ ।

सुरमा मैले ताने स्वर नाच्ने थियो पालो हजुर
परेलीका गाजल किन पखालेर फाली दियौ ।

 

दूबो

बगरको छातिमा
जन्मैदेखि म दूबो
रहर समाइ
लम्किरहेकै बेला
नाता नटुर्टाई माटोसंग
सून्यता विरुद्ध
शीर उठाइरहेकै बेला
उज्यालोको तिर्खामा
आकाशतिर चियाइरहेको बेला
कसैका निर्मोही हातले मलाई
थपक्क टपक्कै टिपे
सुम्सुम्याए झैं गरी
निर्दोष गाला चिमोटे
टाँसिएका माया मेरा
माटो टक्टक्याउदै जराहरू पिटे
साँच्चै उनीहरूलेे मलाई हिजो
पैतालाले कुल्चे र गला निमोठे
अझ यतिले नपुगेर
उँधोतिर बगाएर मलाई
उँभोतिर खोजिटोपले
साइत तिथि समय बद्लियो
क्या अचम्म !
उनीहरूले मलाई साँच्चै उँभोतिरै भेटे
घरको मूल ढोकै माथि देखे
अनि स्वयम्बरमा दुनियाँले मलाई
मायालु मन जित्नेलाई भनेर मालामा उने
बेहुलीका सिङ्गो वरमालामा गाँसे
अन्ततः उनीहरूले मलाई आज
बेहुलाको गर्विलो छातिमा हाँसेको देखे
मलिलो छातिमा मौलाएको देखे
लहर जस्तै निरन्तर लम्किरहेकै भेटे ।

२०६३।५।१३, विराटनगर नेपाल ।