Category Archives: Working

संखुवाशभाको वंशावली

“पइला–पइलावा
साबासो तुम्याङरे पाङ्भे मेवाखोला साबादो सामरीति युङे रैछ । खेन्ले कुस्सा लथिक् धनकर्ण वये रैछ । खेन्ले कुमेन्छिमा नेच्छी तारुसी रैछ । हेक्केआङ् थो तारुमेन्ले कुमिङ् क्वाहाङ्मा रछ । कथोबेन्ले कुमिङ सुगिक्मा रछ । हेक्केआङ् क्वाहाङमेन थो युङ्सी । कान्छी सुगिक्मेन कथो युङसिङ । खेन्ले कुसा धर्मवीर मुथिक खेन्ले कुसा नुसे मेवये । कुमिङ सेबेङहाङ, माइलाले कुमिङ भागीदत्त, साईलाले कुमिङ चित्ताबाङ, काईलाले सामदुङेहाङ, अन्तरेले कुमिङ युराहाङ, जन्तरेले कुमिङ बलसिंहहाङ, फोतबाले कुमिङ अहेवाबा । भगीदत्तको छोरा धोजु राई एकजना मात्र । उसको छोरा जिते राई, भर्ते राई, र त्रिमान राई । जिते राईको छोरा लाखमान राई र त्यसपछि अपुताली । भर्ते राईको छोरा हर्के राई, उसको छोरा कमल र त्यसपछि रामकुमार । त्रिमान राई अपुताली ।”

संखुवाशभाका दाजुभाइबाट २०७५ सालमा प्राप्त टिपोटलाई आधार मान्दा साँबा–फयङ–तुम्याङको पाँचौं पुस्ताका धनकर्णको कान्छी श्रीमतिका सन्तान संखुवाशभामा छुट्टिएर बसेको देखिन्छ । पाँचथर र संखुवाशभाका दाजुभाइका वंशावलीको तुलनात्मक अध्ययनका आधारमा विक्रम् सम्बत १८०० सालतिर धनकर्णका कान्छीपट्टिका सन्तान संखुवाशभाका फैलिएको बुझिन्छ । विक्रम सम्बत १८०० सालपछि चैनपुरमा काङसोरे नेतृत्वका लिम्बूवान सैनिक फौजमा सामेल भएर युद्ध गर्न मेवाखोलाका साँबा पनि गएका थिए भनेर इतिहासलाई उल्लेख गर्दै साँबा मिङ्स्रा सम्चुम्भोले बताएको छ । यसआधारमा त्यसबेला संखुवासभा क्षेत्रमा साँबाको आवतजावत बढेको देखिन्छ । अरुण–बरुण क्षेत्र साँबाको पुर्खाको डुल्ने घुम्ने शिकार खेल्ने स्थान भएको त मुन्धुममा पनि उल्लेख छ । तर ऐतिहासिक आधारमा गोरखाली–लिम्बूवान युद्धको श्रृङ्खला आरम्भ भएपछि वि.स. १८०० सालपछि मेवाखोलाबाट फयङ साँबा संखुवासभामा आउजाउ गर्दा एक गुँडका सन्तान त्यहाँ पनि फैलिएको देखिन्छ । यस आधारमा त्यहाँ २५० वर्षभन्दा बढी समय र आठ पुस्ता व्यतित भएको देखिन्छ । हाल त्यहाँ साँबा–फयङ–तुम्याङको बाह्रौं–तेह्रौं पुस्ता चल्दैछ ।

उल्लेखनीय कुरो के छ भने, माथिको टिपोट अनुसार त्यहाँका कतिपय दाजुभाइले आफ्नो थर राई लेखेको पनि देखियो । यस विषयमा टीकाटीप्पणी गर्न अघि विषयवस्तुको गहिरो अध्ययन गर्नु राम्रो हुन्छ । 

Continue reading संखुवाशभाको वंशावली

हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

डा. नवराज सुब्बा

ताप्लेजुङ जिल्लाको हाङपाङ बस्ने फयङहाङ साँबाको इतिहास तथा वंशावलीको अध्ययनको क्रममा अन्य साँबा तथा लिम्बूहरुको वंशावाली, तथा इतिहास उपयोगी सावित भएका छन् । प्राथमिक श्रोतको रुपमा आफ्नै र अरु थरका बूढापाका जान्नेबुझ्नेसित अन्तरवार्ता तथा भनाईमार्फत् सूचना संकलन गरिएका छन् । यसरी एक थरीको इतिहास अध्ययन गर्दा स्वतः अन्य थरी लिम्बूको पनि जानकारी प्राप्त हुने गर्दछ जसले घटना तथा तथ्यको सम्पुष्टि गर्दछ ।

फयङहाङ साँबाका जानकार टेकबहादुर फयङहाङ साँबा लिम्बू अनुसार बाजे पुस्ताका वही थेबा (तुम्याहाङ हिरीका चौथो पुस्ता पञ्चनन्द) को भनाइमा साँबाहरु वि.स. १८०० सालतिर आफ्नो थूम ताप्लेजुङ मेवाखोला साँबा छाडेर एक समूह हाङपाङ आएका हुन् । त्यो साँबा समूह सोवुवाखोलाको चुँङ्वा दोभानदेखि उँभो हाल हाङपाङको मध्य भूभागको जङ्गल फँडानी गरेर चारकिल्ला बाँधेर बसे । त्यसैले त्यसबेला साँबाले फँडानी गरेको जग्गालाई ‘खुर्पेठ्याक’ भनियो । उसबेला हाङपाङ गाउँको तल्लो भाग बिसमुरे जग्गामा हाङबाङ थरका लिम्बू र गाउँको माथिल्लो भाग सिंङ्सोबामा सुनेबा थरका लिम्बू बसोबास गर्दथे । हाङपाङमा आएर फयङहाङ साँबा त्यसबेला खुर्पेठ्याकमा मात्र हैन बिजिल्ले अर्थात् अर्कैको थूममा आएर बसेका लिम्बू जाति भए । साधनस्रोतलाई लिएर त्यहाँ पहिलेदेखि बसोबास गर्ने हाङबाङ र सुनेबा लिम्बूसित संभवतः साँबा लिम्बूको तनाव उत्पन्न भयो होला । साँबाहरुले तम्बरखोलाबाट यक्सोलाई जिम्मावाल जिल्ला बनाउन खोजेर ल्याए (टेकबहादुर लिम्बू, २०७५) ।

Continue reading हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

हाङपाङ गाउँको ऐतिहासिकता

डा. नवराज सुब्बा

भनिन्छ, हाङपाङ भनेको राजाको गाउँ हो । तर त्यो गाउँमा न कुनै राजाको दरवार छ न कुनै भग्नावशेष नै । यसैले यो नामाकरणमा धेरैले शंका, उपशंका गर्ने गर्दछन् । यही जिज्ञाशालाई शान्त पार्न एक ऐतिहासिक तथ्य अघि सार्दैछु ।

ताप्लेजुङ जिल्लामा पर्ने हाङपाङ गाउँको नामाकरण विजयपुरको किरातकालिन इतिहाससंग जोडिन पुग्दछ । यससम्बन्धी एक रोचक घटना इतिहासकार इमानसिंह चेमजोङले विजयपुरको किरातकालीन संक्षिप्त इतिहासमा बताउनु भएको छ । किराती राजा कामदत्त सेन (वि.स.१८१८–१८२६) को कार्यकालमा लिम्बूवानका एक आपुंगी राजा सेनवंशी सेच्छेने योङहाङ सुब्बाले याङवारोक थूमको हस्तपुर गढीमा चढाइ गरे । त्यहाँका शासन गर्ने आङबोहाङ सुब्बा मुहाङगेपलाई पराजित गरेर उक्त गढीमा योङहाङले दखल जमाए । त्यहाँबाट आङबोहाङ विस्थापित भइ कोही थेचम्बूमा आएर बसे, त्यहाँ उनीहरुलाई मेयङ्बो वंश भनिन्छ । कोही आठराई थूमको चाँगेमा आङबोहाङ वंश भएर बसे ।

सेनवंशी आपुंगी राजा सेच्छेने योङहाङ सुब्बाले लडाईमा आङबोहाङ मुहाङगेप राजालाई मारिदिएपछि उनका दुई नाबालक छोरा लाहाङ र हाङसामको विचल्ली भयो । त्यसबेला विजयपुरमा कामदत्त सेनकी रानी थाङसामाको माइति आङबोहाङ वंशका थिए । टुहुरा भदैहरुले दुःख पाएको खबर चाल पाएपछि उनले ती दुईलाई विजयपुर दरवारमा झिकाइन् र संरक्षण गरिन् ।

Continue reading हाङपाङ गाउँको ऐतिहासिकता

किन फालिए तम्बरखोलामा जनैका ढाकर

  • डा. नवराज सुब्बा

आदिवासी लिम्बू जाति प्राचीनकालदेखि आर्यसंग संसर्गमा रहेर पनि किन हिन्दू धर्मसित विकर्षित भयो भन्ने सवाल इतिहासले बेलाबेला उठाउँछ र जवाफ पनि इतिहासभित्रै खोज्न लगाउँछ । आर्य धर्मग्रन्थमा ‘किरात’ शब्द प्रयोग गरियो भनेर वर्तमानमा यो शब्दप्रति नै वितृष्णाको मनोविज्ञान एकथरीमा चलायमान छ । जबकि सिन्धुमा आर्य आउनअघि सिन्धुघाँटीमा अवस्थित महञ्जोदरो र हरप्पा सभ्यताका उत्खननमा शिवको चिन्ह पशु, त्रिशूल आदिको प्रयोग भएको प्रमाण फेला परेको छ (शास्त्री, वि.स. २०६४) । कालान्तरमा भगवान शिवको जीवन-दर्शन र अन्तरनिहित शक्ति देखेरअसुरदेव वा किरातेश्वरलाई हिन्दूधर्मले अघोरी मान्दामान्दै पनि हिन्दूका आराध्य त्रि-देव मध्ये एक मानेको छ । यही शिवलाई किरातले थेबासाम, पारुहाङ, किरातेश्वर आदि नामले पूज्ने गरेको पाइन्छ । यद्यपि आर्यले किरातका लिम्बूका थेबासाम, पारुहाङलाई किरातेश्वर महादेव भनेर मान्यता दिएता पनि किरात लिम्बू आफूलाई हिन्दू मान्न चाहँदैन । आदिवासी किरातका पशुपति लगायतका देवस्थल र देवी-देवतालाई आर्यले हिन्दूकरण गरिदिए पनि किरात लिम्बू आफूलाई हिन्दू वा आर्य मान्दैन (थुलुङ, वि.स. २०४२) । उवाहाङले किरात ऋग्वेदको प्रचार गरे (चेमजोङ, वि.स. २०५९ ) । किरात दशैंमा मासु खान्छ, मीठोमसिनो खान्छ, लुगाफाटा फेर्छ, भेटघाट गर्छ तर पनि हिन्दूले झैं रातो टीका लगाएर गौरव गर्दैनन्, सवाल विचारणीय छ ।

यो आलेखको उद्देश्य पौराणिक तथा ऐतिहासिक तथ्यहरुको आधारमा आर्य सभ्यता र संस्कृतिले किरात लिम्बू संस्कृतिको सामाजिक आर्थिक क्षेत्रमा एवम् यस जातिको मनोविज्ञानमा के कस्तो प्रभाव कहिले कसरी पर्न गयो भन्ने अध्ययन हो । हिन्दू धर्मको एक पवित्र चिन्ह जनैको अवमूल्यन गर्ने वा अनास्था पैदा गर्ने वा कुनै धर्मावलम्बीको धार्मिक, साँस्कृतिक मूल्य र मान्यतालाई चोट पुर्याउने अभिप्राय होइन । यो एक विशुद्ध प्राज्ञिक र वौद्धिक मूल्य र मान्यतामा आधारित रहेर लेख्ने अभ्यास वा प्रयास मात्र हो । विभिन्न विद्वानहरुका ग्रन्थहरुलाई यसमा आधार मानिएको छ ।

Continue reading किन फालिए तम्बरखोलामा जनैका ढाकर