Tag Archives: Kirat Culture

पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

डा. नवराज सुब्बा

लिम्बू जातिको एउटा मौलिक लोकगीत परम्परालाई पालाम् भनिन्छ । धान पाकेपछि काटेर बालाबाट दानालाई झार्न नाचिने नाचबाट ‘धाननाच’ सुरू भएको जनश्रुति छ । यही धाननाचमा पछि पालामको विकास गरियो भन्ने लिम्बू जातिको जनविश्वास छ । पाःलाम् (बोल्+नु+बाटो/माध्यम) बाट पालाम शब्दको व्युत्पत्ति भएको मानिन्छ । जसको अर्थ हो मनको भावना अभिव्यक्त गर्नु । कवि वैरागी काईला पालामबारे भन्नुहुन्छ– अनेक प्रश्नोत्तर धाननाचको पालाममा गर्ने गरिन्छन् । पालाम् गाउँदा गरिने यस्ता प्रश्नोत्तरहरूले पालाम श्रुतिपरम्परा (मुन्धुम), ज्ञान, लिम्बू जातीय प्रचलन समेतलाई व्यक्त गरिरहेका हुन्छन् । पालाम गाइँदा हुने त्यस्ता प्रश्नोत्तरहरू गहकिला र गहिरा हुन्छन (सम्बाहाम्फे, २०६२) ।

कवि काईलाको उक्त भनाइसित म सहमत छु । उहाँले भन्नु भएझैं पालाम वास्तवमा गहन हुन्छन् । पालाम सुन्दा वा अध्ययन गर्दा लाग्छ लिम्बू भाषा र साहित्य परिस्कृत र सुसंस्कृत पनि छ । गाउँमा अशिक्षित लिम्बूजनले त्यस्ता विम्ब र प्रतीक कसरी प्रयोग गर्न जाने होलान् भनेर हामी तीनछक्कै पर्दछौं । तर अघि कवि काईलाले भन्नुभो यो पालाम श्रुतिपरम्परामा आधारित छ । उनीहरूले सुनेकै भरमा काव्यको उत्कृष्टता बचाउँदै पुस्तौ हस्तान्तरण गरे । लिम्बू जातिमा प्रचलित यो धाननाच या पालाम कहाँबाट आरम्भ भयो भनेर भन्न चाहिँ गाह«ो छ । यही जिज्ञाशाले यो पङ्तिकारलाई यो आलेख लेख्न प्रेरणा दिएको छ । यो पङ्तिकारलाई पालामभित्रै प्रयुक्त बिम्व र प्रतीक सामात्दै त्यस धान नाचिएकोस्थलतिर पालामको माध्यमबाट पसेर नियाल्न अभिप्रेरित गरेको छ ।

Continue reading पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल

डा. नवराज सुब्बा

तुङदुङ्गे साम्माङ (देव) ‘लोक्वादो साम्बादो माङ’ वराहदेव कौकहदेव देवताका कान्छापुत्र हुन् । तुङदुङ्गे मुन्धुममा यिनै तुङदुङ्गे देवले आफ्ना पिता लोक्वादो साम्बादो माङसित अंश र शक्तिका लागि आशिर्वाद मागेका छन् । आफ्ना दाजुहरुले पिताबाट आशिर्वाद पाएर ओरालो लागिसकेकाले आफू अरुणक्षेत्रमा बीउबीजन बाँडि आउँदा केही ढिला भएकाले आफूले समेत पिताबाट आशिर्वाद याचना गर्दछन् । तुङदुङ्गे देवले कोशीबराह क्षेत्रदेखि क्रमसः धनकुटा, पाँचथर, तेह्रथूम, संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न भूभाग वा थूमको यात्रा विवरणकासाथ मुन्धुम अघि बढ्दछ । मुन्धुमबाट साँबाहरुका पुर्खा ताप्लेजुङ साँबामा पुग्नअघि माथि उल्लेखित विभिन्न क्षेत्रहरु पार गर्दै आइपुगेको थाहा हुन्छ । साँबा वंशले अनिवार्य रुपमा मान्ने आफ्ना एक आराध्य देव तुङदुङ्गे पुर्खाको आशिर्वाद माग्ने क्रममा कोशी वराहक्षेत्र पुग्न विभिन्न स्थलहरुको नाम पुकार्दै तुङदुङ्गे मुन्धुमको माध्यममार्फत् आफू पुगेको ठान्दछन् ।

लिम्बूका अनेक थर, उपथर छन् । लिम्बू मध्ये साँबाको कूलदेवता तुङदुङ्गे देवता हो । साँबाको छोरीचेलीमार्फत् विस्तारित भई अन्य थरका लिम्बूमा पनि यो देवताको पूजा गर्ने चलन छ । तुङदुङ्गे देवता रक्षक र भक्षक दुवै शक्ति भएका देवता मानिन्छन् । तुङदुङ्गे विराट स्वरुपका, निराकार र अत्यन्त शक्तिशाली देवता भएको मुन्धुमले बताउँछ । उनी पहाड, पर्वत, डाँडाकाँडा, नदीनालामा डुलिहिड्ने र असल मानिसलाई मित्र बनाइ खराब मानिस विनाश गर्ने देवताका रुपमा पूजिन्छन् । उनी डुलिहिड्ने क्रममा बाटामा भेटिएका फागो, चङबाङ, थोप्रा, थल्लङहरुले उनलाई वास्ता गरेनन् तर मिक्केन्दाङ साँबाले उनलाई सेवा गरे । फाङफङदेक्मा भन्ने स्थानमा तुङदुङ्गे देवतालाई भक्तिभाव गर्दै आराधना गर्न उनीहरुले पूजास्थल निर्माण गरे (तुम्बाहाङ, २०६८) । यसरी समस्त साँबाहरुले तुङदुङ्गे देवताको शक्ति र प्रभावलाई आत्मसात गर्दै उनको पूजाआजा गर्न आरम्भ गरे ।

Continue reading कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल