All posts by nrsubba

Dr. Nawa Raj Subba is a Public Health Specialist, Researcher, and a Poet. He is an author of articles, books, and albums.

क्षयरोगमा नियन्त्रण गुम्नु भनेको नीतिको हैन नेताको असफलता हो

डा. नवराज सुब्बा

नेपालमा क्षयरोगको अवस्थाबारे विश्व स्वास्थ्य संगठनको संलग्नतामा गरिएको एक अध्ययन (२०१९) को नतिजा हालसालै सार्वजनिक भएको छ । जसअनुसार नेपालमा क्षयरोगको अवस्था र यसको व्यवस्थापन कार्यक्रम नियन्त्रण बाहिर गएको छ । अर्थात् क्षयरोगीको संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ । रोग नियन्त्रणमा राज्यले गरेका प्रयास निस्प्रभावी भएका छन् । यस्तै दुःखद खबर सुन्न हामी नेपाली बाध्य हुनुपरेको छ । अब यसको जिम्मेवारी क–कसले लिने हो ? उक्त प्रतिवेदन अनुसार वर्षेनी क्षयरोगीको मृत्युदर बढ्दो छ र मृत्यु संख्या हजारौका दरले उर्लंदो छ । केन्द्रले प्रदेश वा स्थानीय तहलाई दोष दिने अनि स्थानीय वा प्रदेशले केन्द्रलाई अपजस दिएर मात्र अब पुग्दैन । स्वास्थ्यकर्मीले नेतालाई अनि नेताले स्वास्थ्यकर्मीलाई दोष देखाएर पुग्दैन । राजनीतिक प्रणाली वा व्यवस्थालाई दोष दिएर पनि यसरी जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइदैन । संघियताको मर्म अनुरुप स्थानीय जनताको सेवा प्रदायक तह गाउँ वा नगरपालिकाले हो, यसले यसमा चिन्ता तथा जिम्मेवारी लिने कि नलिने? लिने भए कहिले लिने? कसरी लिने? यो सवाल आज जनस्वास्थ्य क्षेत्रमा गम्भीरतापूर्वक उठेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो पनि बढेको छ ।

Continue reading क्षयरोगमा नियन्त्रण गुम्नु भनेको नीतिको हैन नेताको असफलता हो

ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन

डा. नवराज सुब्बा

चारसय वर्षअघि काठमाडौं खाल्डोपूर्वको किरातकालिन इतिहासले आधुनिक नेपाल निर्माणको आधारशिला निर्माण गरेको थियो । हालको संघीय गणतान्त्रिक नेपालमा काठमाडौंपूर्व तीन प्रदेश निर्माण भएका छन् । ऐतिहासिक किराती राजा लोहाङ सेनको मकवानपुर हाल प्रदेश न ३ भएको छ । उनकै नामबाट रहेको लाहान नगर हाल प्रदेश न. २ मा पर्दछ । उनकै शासनकालमा स्थापित मोरोङ राज्यको राजधानी विजयपुर हाल प्रदेश न. १ मा रहेको छ । यति मात्र हैन, उनको शासनकालमा दखल गरिएको तर हाल नेपाली भूभागबाहिर पर्ने क्षेत्रलाई हाल नेपाली इतिहासले ग्रेटर नेपाल भूमिको रूपमा केवल रेखाङ्कन गरेको छ ।

शान मकवानवंशी महाराजधिराज लोहाङ सेन (वि.स. १६६६–१६९८) ले फेदापका राजा बाज हाङ खेवाङको सहयोगमा मकवानपुरदेखि पूर्वका साना साना राज्यहरू लगायत मोरोङको विजयपुर समेत अब्बल गरी पूर्वमा सिमाना टिस्टानदीको छेउ महानदी, पश्चिम बेतिया, उत्तर तिब्बत र दक्षिण पूर्णियाको जलालगढ तथा तिरहुतसम्म राज्य कायम गरे र विजयपुरलाई अधिराज्यको राजधानी बनाए (चेमजोंङ, सन् १९६७ र भ्यान्सीटार्ट, सन् १९१५) ।

Continue reading ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन

हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

डा. नवराज सुब्बा

इतिहास पढेर सामान्यतः घटना र पात्रको मूल्याङ्कन गर्ने गरिन्छ । यसैले जातीय इतिहास अध्ययनको विधिलाई वैज्ञानिक र पारदर्शी बनाउनु पर्दछ । प्राथमिक सूचना संकलन जस्तै भेटघाट, अन्तरवार्ता, अवलोकन भ्रमण, पुराना कागजात अध्ययन गरेर गरिन्छ । द्वितीय सूचना श्रोतको रुपमा वंशावली, इतिहास, लेख आदि अध्ययन गरिन्छ । तथ्यहरु सही प्राप्त गरेर मात्र पुग्दैन, प्राप्त सूचनाको सही विश्लेषण र खेलमा रेफ्रीको जस्तो तथ्यको आधारमा निष्पक्ष निष्कर्ष निकाल्नु चुनौतिपूर्ण काम हो ।

ताप्लेजुङ जिल्लाको हाङपाङ बस्ने फयङहाङ साँबाको इतिहास तथा वंशावलीको अध्ययनको क्रममा अन्य साँबा तथा लिम्बूहरुको वंशावाली, तथा इतिहास उपयोगी सावित भएका छन् । प्राथमिक श्रोतको रुपमा आफ्नै र अरु थरका बूढापाका जान्नेबुझ्नेसित अन्तरवार्ता तथा भनाईमार्फत् सूचना संकलन गरिएका छन् । यसरी एक थरीको इतिहास अध्ययन गर्दा स्वतः अन्य थरी लिम्बूको पनि जानकारी प्राप्त हुने गर्दछ जसले घटना तथा तथ्यको सम्पुष्टि गर्दछ ।

फयङहाङ साँबाका जानकार टेकबहादुर फयङहाङ साँबा लिम्बू अनुसार बाजे पुस्ताका वही थेबा (तुम्याहाङ हिरीका चौथो पुस्ता पञ्चनन्द) को भनाइमा साँबाहरु वि.स. १७३७ सालमा आफ्नो थूम ताप्लेजुङ साँबा छाडेर एक समूह हाङपाङ आएका हुन् । त्यो साँबा समूह सोवुवाखोलाको चुँङ्वा दोभानदेखि उँभो हाल हाङपाङको मध्य भूभागको जङ्गल फँडानी गरेर चारकिल्ला बाँधेर बसे । त्यसैले त्यसबेला साँबाले फँडानी गरेको जग्गालाई ‘खुर्पेठ्याक’ भनियो । उसबेला हाङपाङ गाउँको तल्लो भाग बिसमुरे जग्गामा हाङबाङ थरका लिम्बू र गाउँको माथिल्लो भाग सिंङ्सोबामा सुनेबा थरका लिम्बू बसोबास गर्दथे । हाङपाङमा आएर फयङहाङ साँबा त्यसबेला खुर्पेठ्याकमा मात्र हैन बिजिल्ले अर्थात् अर्कैको थूममा आएर बसेका लिम्बू जाति भए । साधनस्रोतलाई लिएर त्यहाँ पहिलेदेखि बसोबास गर्ने हाङबाङ र सुनेबा लिम्बूसित संभवतः साँबा लिम्बूको तनाव उत्पन्न भयो होला । साँबाहरुले तम्बरखोलाबाट यक्सोलाई जिम्मावाल जिल्ला बनाउन खोजेर ल्याए (टेकबहादुर लिम्बू, २०७५) ।

Continue reading हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

डा. नवराज सुब्बा

लिम्बू जातिको एउटा मौलिक लोकगीत परम्परालाई पालाम् भनिन्छ । धान पाकेपछि काटेर बालाबाट दानालाई झार्न नाचिने नाचबाट ‘धाननाच’ सुरू भएको जनश्रुति छ । यही धाननाचमा पछि पालामको विकास गरियो भन्ने लिम्बू जातिको जनविश्वास छ । पाःलाम् (बोल्+नु+बाटो/माध्यम) बाट पालाम शब्दको व्युत्पत्ति भएको मानिन्छ । जसको अर्थ हो मनको भावना अभिव्यक्त गर्नु । कवि वैरागी काईला पालामबारे भन्नुहुन्छ– अनेक प्रश्नोत्तर धाननाचको पालाममा गर्ने गरिन्छन् । पालाम् गाउँदा गरिने यस्ता प्रश्नोत्तरहरूले पालाम श्रुतिपरम्परा (मुन्धुम), ज्ञान, लिम्बू जातीय प्रचलन समेतलाई व्यक्त गरिरहेका हुन्छन् । पालाम गाइँदा हुने त्यस्ता प्रश्नोत्तरहरू गहकिला र गहिरा हुन्छन (सम्बाहाम्फे, २०६२) ।

कवि काईलाको उक्त भनाइसित म सहमत छु । उहाँले भन्नु भएझैं पालाम वास्तवमा गहन हुन्छन् । पालाम सुन्दा वा अध्ययन गर्दा लाग्छ लिम्बू भाषा र साहित्य परिस्कृत र सुसंस्कृत पनि छ । गाउँमा अशिक्षित लिम्बूजनले त्यस्ता विम्ब र प्रतीक कसरी प्रयोग गर्न जाने होलान् भनेर हामी तीनछक्कै पर्दछौं । तर अघि कवि काईलाले भन्नुभो यो पालाम श्रुतिपरम्परामा आधारित छ । उनीहरूले सुनेकै भरमा काव्यको उत्कृष्टता बचाउँदै पुस्तौ हस्तान्तरण गरे । लिम्बू जातिमा प्रचलित यो धाननाच या पालाम कहाँबाट आरम्भ भयो भनेर भन्न चाहिँ गाह«ो छ । यही जिज्ञाशाले यो पङ्तिकारलाई यो आलेख लेख्न प्रेरणा दिएको छ । यो पङ्तिकारलाई पालामभित्रै प्रयुक्त बिम्व र प्रतीक सामात्दै त्यस धान नाचिएकोस्थलतिर पालामको माध्यमबाट पसेर नियाल्न अभिप्रेरित गरेको छ ।

Continue reading पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत