बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह
कवि- नवराज सुब्बा
प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं ।

कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका, दुःखी, कुष्ठरोगी, अपहेलित र निन्दितका आवाज हुन् ! सहअस्तित्वबोधका कविता । २०६३ सालको आयातनमा त्यस वर्षले ल्याएका रोग र शोकका, युद्ध र अग्निका, हडताल, बन्द र महामारीका, तराई र पहाडका गाउँगाउँ नै स्तब्ध हुने कथा छन् । नदी निदाएको बेला कविताले तिनै विपन्न र अन्धकारमा परेका माथिको अन्याय र अत्याचार देखाउँछ । जीवनको भयावहता एक कहाली लाग्दो परिस्थिति । कविले देखेका छन्—

रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा कतै उघ्रेनन्

यो महाभारत आदिम युगको नभई हाम्रै कालको हो, जहाँ निर्धाहरू (कतै बोक्सीको आरोपमा) लाई मृत्युदण्ड दिँदासम्म कोही बोल्दैनन् । अत्याचार चुलिएकै छ । त्यसैले कवि गुहार माग्छन्—

नदी ! ब्यूँझ निद्राबाट
बुद्ध ! अब त उघार आँखा !


Nepali Version Preview/Download

Links to Newspapers
सत्यम् शिवम् शुन्दरम्

Leave a Comment