Samayako Swad

Samayako Swad


Essays by Nawa Raj Subba

समयको स्वाद – निबन्धसंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर ।

Preview/Download
निबन्धसंग्रहभित्र निम्नानुसार सचनाहरू संग्रहित छन् । संस्मरण खण्डः १ सुर्तीको स्वाद २ विष्टबाको सुन्तला ३ हारमोनियमको नशा४ मितज्यू !५ देउसी २०३८ ६ तेह«थूमको सम्झनामा७ पाथिभरादेवीप्रति मेरो अटल श्रद्धा छ ८ गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ ९ विदेशमा देखेका कुरा १० धन्यवाद फेसबुक ११ चामल र खुसी १२ सूर्यग्रहणको दिन१३ द्वन्द्व को पीडा १४ रिक्सावाला१५ नेपालीपन ढकमक्क फक्रेको दार्जिलिङ१६ नेपाली भाषाको गुरूत्वाकर्षण १७ साहित्यिक यात्रामा फूल र काँडाहरू१८ चार श्रीमतीहरू१९ स्व. देवकुमारी दिदीलाई काव्यात्मक श्रद्धासुमन२० जपरोग (व्यङ्ग्य) विचार–खण्डः २१ संवेदना, कला र ग्ल्यामर २२ गजल पजल होइन२३ स्रष्टा र सञ्चारको सम्बन्ध२४ रेडियोप्रति श्रोता र स्रष्टाहरूको अपेक्षा२५ द्वैध भूमिकाको अन्त होस् २६ रोकिन्नन् हातका कलमहरू !

सुर्तीको स्वाद
– नवराज सुब्बा
मैले सबैभन्दा धेरै आशीर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिंडी तथा सुर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशीर्वाद पाएँ । अँगेनाबाट चिम्टाले आगोको कोइला च्यापेर ल्याइदिँदा त्यसबेला मलाई धेरैले ‘ठूली–ठूली’ भनेर आशीर्वाद दिए । कसैले ‘जम्दार हुनु’ ‘सुब्दार हुनु’ भनेर आशीर्वाद दिए । कसैकसैले ‘जर्नेल हुनु’ ‘कर्नेल हुनु’ भनेर पनि आशीर्वाद दिए । तर मलाई भने सानोमा पाइलट बन्ने इच्छा थियो । किनभने कहिलेकाहीँ हाम्रो गाउँमाथिको आकाशमा हवाईजहाज, हेलिकप्टर उड्ने गर्दथ्यो त्यो देखेपछि मलाई भित्रैदेखि पाइलट हुने इच्छा जागेको थियो । ‘पछि तँ के हुन्छस् हँ ?’ भनेर कसैले सोध्दाखेरि म सोही ईच्छा प्रकट गर्ने गर्दथें । त्यो थाहा पाउने कतिपयले मलाई ‘पाइलट हुनु’ भनेर पनि आशीर्वाद दिएका थिए । तर त्यो आशीर्वाद पूरा भएन । मेरो घरमा दोकान पनि थियो । दोकानमा ग्राहकहरू शिव बिंडी, गणेश बिंडी किन्दथे । कसैले आशा चुरोट, गैंडा चुरोट र हुनेखानेले चाहिं याक चुरोट किन्दथे । र त्यो सल्काउन कतिपयले मलाई ‘आगो ले ले ! नवराज !’ भन्दथे । म पनि बडो फूर्तिकासाथ चुल्होमा पुग्दथें, आगो लिन । आज्ञाकारी बालकझैं चुल्होबाट चिम्टाले आगोको कोइला च्यापेर ल्याइदिन्थें । कहिले बल्दै गरेको दाउरा तानेर खुरूखुरू ल्याइदिन्थें । कहिलेकाहीं भर्खरै बल्न थालेको दाउरै उठाएर लुरूलुरू ल्याइदिन्थें । यसरी आगो झिक्दा अगेना निभेमा यता आमाको खप्की खानुपर्दथ्यो, त्यसैले त्यो काम प्रायः म आमाको आँखा छलेर गर्ने गर्दथें । त्यसबेला आगो पुर्याएपछि म उपर बर्सने आशीर्वाद पाएर म बुझिनबुझी फुरूङ्ग हुन्थें । उसबेला म सायद चुल्होबाट आगो जेनतेन ल्याउनसक्ने त्यस्तै चार–पाँच वर्षको बालक हुँदो हुँ । त्यसबेला कहिलेकाहिँ मलाई मनमा एकप्रकारको जिज्ञासा उठ्ने गर्दथ्यो– ‘कस्तो हुन्छ होला ? त्यो सूर्तीको स्वाद’ भनेर । एकपटक मैले उनीहरूले फालेका ठूटा उनीहरू उठेर गएपछि सल्काएर चाखें । तर, अहँ मलाई त्यो पटक्कै मीठो लागेन । मलाई त्यसको स्वाद बन्दै मन परेन ।

मलाई सानोमा मीठाई असाध्यै मन पर्दथ्यो । घरैमा दोकान भएकोले चोर्दै भए पनि म मीठाई अलि बढी नै खान्थें । मुखको सरसफाई नपुगेर होला सानैमा मेरो दाँत कीराले खायो । त्यसबेला अहिलेजस्तो अस्पताल जाने र उपचार गर्ने चलन थिएन । घरैमा घरेलु उपचार गर्ने गरिन्थ्यो र केही नलागेपछि मात्र अस्पताल खोजिन्थ्यो । फेरि त्यसबेला अहिले जस्तो गाउँगाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी हुँदैनथे । म त्यसबेला आना पीर ठूलालाई भन्न डराउँथें । ‘तैंले मीठाई धेर खाएर त त्यस्तो भएको हो नि !’ भनेर उल्टै बाआमाको खप्की पाइन्थ्यो, त्यसैले रोगलाई खप्न सकुन्जेल म आफैं खप्दथें । बरू निको पार्न आफै अनेंक प्रयत्न गर्दथें । दाँत दुखेको ठाउँमा के लाउँदाखेरि, के गर्दाखेरि अथवा के खाँदाखेरि जाती होला भनेर छट्पटाइरहन्थें । दाँत दुखेर खपिनसक्नु भएको बेला ‘दुख्यो !’ भनेर म बाआमालाई भन्न खोज्दथें तर घरमा राखिएको फलामको किला च्याप्ने सनासोले दाँत च्यापेर जबर्जस्ती फुकालिदेलान् कि भन्ने डर पनि थियो । एकदुइपटक यस्तै सनासाले दाँत च्यापेर फुकाल्दा मलाई साह्रै दुखेको थियो, धेरै रगत बगेको थियो । त्यसबेला मेरो गाउँ हाङपाङ ताप्लेजुङमा अहिलेको जस्तो सुई लगाएर अर्थात् गिजा लट्याएर दाँत उखेल्ने चलन वा सुविधा नै थिएन । एकदिन एकजना अलि जाती खालका अभिभावकसमक्ष मैले मेरो व्यथा फुकाएँ । उनले कीराले खाएको ठाउँमा बट्टेखैनी लगाऊ भनेर उनीसँगै भएको खैनी झिकेर दिए र लगाएँ तर गन्धले झण्डै उल्टी आयो । छिमेकी साथी सन्तोषले भन्यो– ‘बिँडी खा न ! त्यसको धुवाँले काठमा कीरा लाग्न नदिए जस्तै दाँतको पनि कीरा मार्छ’ । उसले उदाहरणस्वरूप ‘हेर फलाना मान्छे कत्ति सूर्ती खान्छ त्यसको कहिल्यै दा“त दुखेको देख्याछस् ?’ भनेर भन्थ्यो, मलाई पनि हो कि जस्तो लाग्यो । दाँतको त्यो पीडा दमन गर्न मैले निकै समयसम्म अनेक उपाय खोन्दैथें । एकदिन सहपाठी निलेलाई हाईस्कुलको खेलमैदानको एकान्त कुनामा छेलिएर बडो ठाँटले बिंडी तान्दै गरेको देखें । चुरोटको खरानी झार्न औंला पड्काउँदै अभिभावकहरूको दुरूस्त नक्कल गर्दै उसले पनि औंला प्याट्प्याट् फड्काएको देखेर म चकित परें । जीवनमा पहिलोचोटि हामी जस्ता केटाकेटी अर्थात् विद्यार्थीले पनि चुरोट खाएको देखें । यसबेला म त्यस्तै सात–आठ वर्षको थिएँ होला । आश्चर्य, डर र उत्सुकता एकसाथ जाग्यो । ‘के खा’को ? किन खा’को ? कस्तो हुन्छ ?’ भन्ने सवालको जवाफमा उसले धेरै कुरा बतायो । ‘मैले फलाना सरको देखासिकी गरेको हुँ !’ ‘हेर ! यो खायो भने जाडो भाग्छ, तेरै घरबाट त किनेर ल्याएको हो नि ! बरू तँ पनि झिकेर खा न ! हेर तेरो दाँतको कीरा पनि धुवाँले मर्छ’ भनेर सिकायो । उसले मलाई कतै सरलाई पोला लाउला कि भन्ठानेर हो वा किन हो धेरैबेर राखेर मजाले सम्झायो र भन्यो— ‘हेर भान्सामा भएका काठपात धुवाँले गर्दा कीराले खाँदैनन्, त्यस्तै त हो नि दाँत पनि !’ भनेर सुर्ती खान मलाई उक्साउनसम्म उक्सायो । उसका कुराले म निकै प्रभावित भएँ र त्यसपछि मैले लुकिछिपी एक–दुई मूठा बिंडी बाआमाका आँखा छलेर दोकानबाट चोरेर खाएँ । यसरी मैले सुर्ती खान थालेको एकमहिना जति पनि बित्न नपाउँदै दुर्घटना भयो (उसबेलाको लागि) । एकदिन हाम्रो सरस्वती हाईस्कुलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । जसलाई हामी ‘नाटक’ भन्दथ्यौं । नाटक साँझमा हुने गर्दथ्यो । नाटक हेर्न पाइने भो भनेर त्यसबेला हामी स–साना विद्यार्थीका भूईंमा खुट्टा थिएनन् । ‘आज स्कुलमा नाटक छ’ भनेर आमालाई कन्याएर छिटो–छिटो खाना बनाइ मागेर साँझ नपर्दै हामी नाटकस्थलमा पुग्दथ्यौं । बेलैमा नाटक मञ्चन हुने स्थलमा पुगेर मञ्च तयारी गरेको, माइक परीक्षण गरेको, कलाकारहरूको हाऊभाऊ, गुरूहरू र दाइदिदीहरूले सांस्कृतिक कार्यक्रमको चाँजोपाँजो मिलाएको हेर्न साह्रै मजा लाग्दथ्यो । त्यसबेला केटामान्छे केटी बनेको अनि केटीमान्छे केटा बनेको देख्दा झन् रमाइलो लाग्थ्यो ।
त्यो दिन साँझ परिसकेको थियो तर नाटक सुरू भैसकेको चाहिं थिएन । मैदानको एक छेऊमा छेलिएर म, शंकर र योवन तीनभाइ मजाले गफ हाँक्दै बिंडी तान्दै थियौं । हेडसर गणेशबहादुर राईको डेराबाट एकजना मानिस हातमा टर्चलाइट बालेर हामीतिर आयो । हामी हेडसरको डेरा र सांस्कृतिक कार्यक्रमस्थलको करिब बीचमा थियौं । दिउँसैदेखि दाइदिदीहरू हेडसरको डेरा र मञ्चमा ओहोरदोहोर गर्दै थिए । कोही विद्यार्थी दाइ वा दिदी आएको होलान् भन्ठान्यौं र टर्चवालालाई उति ध्यान दिएनौं । तर अचम्म ! त्यो टर्चलाइट त हामीतिरै पो सोझियो । ‘को हँ’ भनेर सोध्ने टर्चवाला त कुनै दाइ नभएर हेडसर गणेशबहादुर राई पो रहेछन् । उनको अनुहार अँधेरोमा देखिएन तर उनको आवाज र खप्की चिनिहाल्यौं । हत्तपत्त हातको बिंडी पछाडि लग्दै अर्को हातले माडमुड गरेर आगो मार्दै त्यहाँबाट कुलेलम् ठोक्यौं । त्यसबेला हाम्रो हंसले ठाउँ छाड्यो । किनभने हामीलाई थाहा थियो हेडसर अति कठोर हुनुहुन्छ, उहाँले बेतले हातमा हिर्काउँदाखेरि तर्तरी रगत आउँछ भनिन्थ्यो । हामी उहाँलाई सिधै हेर्न पनि डराउँथ्यौं । अब नाटक अर्थात् सांस्कृतिक कार्यक्रम हेर्ने हाम्रो उत्साह हावा फुस्केको भकुण्डोझैं चाउरी पर्यो र हामी सल्याकसुलुक पर्यौं । तैपनि नाटक हेर्न बिरालाझैं सुटुक्क दर्शकका बीचमा घुस्रियौं । कार्यक्रम सुरू हुने बेलामा विद्यार्थी युनियनका सभापति लक्ष्मीप्रसाद प्रसाईंले माइकबाट ‘एउटा अत्यन्त जरूरी सूचना’ भनेर उद्घोषण गरे । उनले भने— ‘आज केही विद्यार्थीहरूले विद्यालय परिसरमा अनुशासनहीन काम गरेको हँुदा, ती विद्यार्थीहरूलाई भोलि कडासेकडा कारबाही गरिनेछ ।’ यो सूचना हामीलाई नै लक्षित गरेर प्रसारण गरेको जस्तो लाग्यो र सुनेपछि मलाई सपना हो कि विपनाझैं भो । ‘त्यसै त बुहारी भट्मास खाएकी !’ भनेझैं त्यसै त यसअघि नै हराएको हाम्रो सातो त्यसमाथि त्यो सूचनाले त झन् अब हाम्रा बाँच्ने दिन गएछन् भन्ने लाग्यो र साह्रै निराश भएँ । त्यसै–त्यसै रून मन लागेर आयो । तर कसको सामू के भनेर रूनु र ! सायद, घरमा बाआमाका कुटाइ खाँदाखाँदा अनि स्कुलमा गुरूहरूका खप्की र कुटाइले होला मलाई हरेक दुखाइमा मरिन्छ कि भनेर डर लाग्दथ्यो ।
यसैले सायद मभित्र हिंसाप्रति सानैदेखि त्रास र त्यो भन्दा बढी घृणा उत्पन्न भयो । म बालक स्वभाविक रूपमा स्वच्छन्द भएर बाँच्न, हाँस्न र खेल्न खोज्दथें र किताबलाई गत्ता लगाएर राखेजस्तै गरेर जीवनलाई जानिनजानिकनै साह्रै जतन गर्दथें । तर आफ्ना पीडा आफ्ना बाआमालाई व्यक्त गर्न नसक्ने म लठुवा त्यस घटनापछि दिनभर साथीसँग भने रूञ्चे हाँसो मात्र हाँसें । सपनामा पनि कतिचोटि त म आफै मरेको पनि देखें । हामीलाई भोलि के कारबाही होला भनेर स्कुल नजाउँ भन्ने पनि लाग्यो तर के गर्नु ! नगए बाआमाले नै कुटिहाल्छन् । सरहरूले त झन् के बाँकी राख्लान् र ! भन्ने लाग्यो । जेहोस्, नून खाएको कुखुराझैं स्कुल गइयो । र धेरै दिनसम्म सातो हराएको बिरामीझैं भएँ म । राति नाटक हेर्दा पो तर्सिएर सातो गयो होला भनेर आमाले फेदाङ्बा लगाइ दिनुभयो । अहिले सम्झँदा लाग्छ, उसबेला हेडसरले तथा लक्ष्मीदाइले हामीलाई तर्साउनु मात्र भएको रहेछ ।
त्यसबेला घटेको यो घटना मेरो निम्ति उसबेला दुर्घटना भए पनि आखिर अहिले ओखती नै सावित भयो । जसले ममा भर्खरै सुरू हुन लागेको सुर्ती खाने कुलतलाई चटक्कै छुटाइदियो । उसबेला हेडसरको खप्की नखाएको भए सायद म यतिबेला पनि चुरोट खाइरहेकै हुन्थें होला । माइकबाट लक्ष्मीदाइले त्यसरी डर नदेखाएको भए यतिबेला चुरोट खाँदा लाग्ने रोगले सायद मलाई पनि च्यापिसकेको हुन्थ्यो होला । वास्तवमा, ‘ओखती र अर्ति तीतो हुन्छ’ भनेको ठीकै रहेछ । एक जनस्वास्थ्यकर्मीको हैसियतले म धुम्रपानबारे लेखरचना पत्रपत्रिकामा छपाएर जनचेतना फैलाउने कोशिस गर्दछु । कहिलेकाहीँ विद्यालयमा गएर ‘धुम्रपान गर्नु हुँदैन, अर्थात् सुर्ती खान हुँदैन है भाइबैनी हो !’ भनेर धुम्रपानबारे विद्यार्थी भाइबैनीलाई सम्झाउने पनि गर्दछु । मलाई कसैकसैले भन्छन् ‘फलाना डाक्टर आफैं चुरोट खान्छ तर अरूलाई नखाऊ भन्छ, नखाने चीज भए डाक्टरले चंै किन खान्छन् त !’ उसलाई चित्त बुझाउने जवाफ मसँग छैन ।

आजकल स्वास्थ्यचेतनामूलक लेख लेखिरहेको बेला अर्थात् विद्यार्थी भाइबैनीहरूसँग कुराकानी गरिरहेको बेला म समक्ष त्यही सवाल घुम्छ र मेरा अतीतको सम्झना एकसाथ आउँछ । धन्य ! म आफू सुर्ती नखाने भएँ र मात्र ! नत्र मलाई पनि विद्यार्थी भाइबैनीले ‘तपाई चै किन खानु हुन्छ त !’ भनेर सोधेमा मसँग जवाफ हुने थिएन । यसबेला म मेरो बाल्यकालको साथी, गुरू, अभिभावकलाई धन्यवाद दिन्छु । तर बाल्यकाललाई खोतल्दा चाहिं मलाई त्यो सुर्तीको स्वाद अर्थात् त्यो घटनाले गिज्याएजस्तो लाग्छ र कताकता आफैलाई मनभित्र कुरिकुरी पनि लागेर आउँछ !

२०६५ वैशाख १, भद्रपुर झापा ।

Comments are closed.