‘किरात तीर्थस्थल : सानो हात्तीबन’ पुस्तकको समीक्षा

‘किरात तीर्थस्थल : सानो हात्तीबन’ पुस्तकको समीक्षा

– डा. नवराज सुब्बा

(क) पुष्ठभूमि
इतिहास निर्माता तथा इतिहासकारलाई समयका विभिन्न कालखण्डमा जनताले जय मात्र हैन मूर्दावाद पनि भन्दारहेछन् । मन परे पनि नपरे पनि इतिहास पढ्नै पर्छ र त्यसबाट पाठ सिक्नै पर्छ, यो नै स्थापित मान्यता हो । इतिहासले इतिहासकारलाई प्रवेश गर्ने ढोका सदा खुल्ला राखेको छ, जसले भावी पिढीलाई इतिहास सुदृढ गर्ने, सच्याउने र पुनर्लेखन गर्न पनि मार्ग प्रसस्त गरेको हुन्छ । व्यक्तिगत स्वार्थ त्यागेर समुदाय, बर्ग, देशको लागि इतिहासको अनुकरण र सामञ्जस्य गर्ने वीरहरुको खोजी इतिहासले गरिरहेको हुन्छ । अर्कातिर घटना, पात्र, प्रभावभन्दा माथि उठेर बिना कुनै पूर्वाग्रह सत्यतथ्यको अनुसन्धान र उद्घाटन गर्ने ज्ञानी र विवेकी अनुसन्धाता तथा लेखकको खोजी प्राज्ञिक जगतले पनि गरेको हुन्छ ।
किरात इतिहासका इतिहासकार इमानसिंह चेमजोंङलाई हाल आएर आफू अनुकूलको व्याख्या गरेन भनेर कतिपय किरात लिम्बू समुदायले गुनासो गरेको सामाजिक सञ्जालमा देखें । किरात लिम्बू मुन्धुमलाई लिम्बू र नेपाली भाषामा स्तरीकरण गरेर अमूल्य योगदान पुर्याउने विद्वान बैरागी काईलालाई पनि युमा साम्योको सन्दर्भमा सन्चारमा आएको कुरालाई लिएर सामाजिक सन्जालमा अपमानजनक अभिव्यक्ति पोखिएको पनि देखियो । विमतिलाई सभ्य ढंगले राख्न सकिन्थ्यो, तर समुदायभित्रैबाट जुन अमर्यादित स्तरमा विचार र इशारा प्रकट भए ती सभ्य समाजका जोकोहीलाई अपाच्य रह्यो । सोही सन्दर्भमा ऐतिहासिक प्रमाण तथा आफ्नो अनुभवको आधारमा मञ्जुल याक्थुम्बाले पनि जिम्मेवार ढंगले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत राख्नुभो । तर त्यसलाई पनि स्वयम् आफ्नै समूदायका भिन्न आस्थाका लिम्बूले अमर्यादित शैलीमा विरोध जनाए । तर्कपूर्ण विरोध नभएर याक्थुम्बाको व्यक्तिगत जागिरे जीवनको आरिस गरेझैं झल्कने शैलीमा उनलाई प्रशासकको शैली देखाएको जस्ता तुक बिनाका आरोपले इतिहास र तथ्यलाई छोप्ने दुस्प्रयास गरेको पनि देखियो ।

इतिहासका तथ्यहरु आफै बोलिरहेका, कतिपय छोपिइरहेका, लुकिरहेका हुन्छन् । तिनीहरुलाई जजस्ले जेसुकै अर्थ लगाउन् त्यो बोल्दैन, बोल्छ त समय बोल्छ, ज्ञान बोल्छ, विवेक बोल्छ, पात्र बोल्छ, एकदिन सत्य स्वयम् बोल्छ तर त्यतिखेर आँखा, कान, मन खोल्नु, ध्यान र आत्मालाई भुल्नु हुँदैन । किरात राजाहरु, समाज सुधारक गुरुहरु बाहेक किरात इतिहासकार, विद्वान, र अभियन्ताको रुपमा एक एक जनाको नाम लिनु पर्यो भने म इतिहासकारको रुपमा इमानसिंह चेमजोंङ, विद्वानको रुपमा बैरागी काईला र अभियन्ताको रुपमा मञ्जुल याक्थुम्बाको नाम लिन चाहन्छु ।
इतिहासकार इमानसिंह चेमजोङको बारेमा नेपाली इतिहास जगत, किरात र किरात लिम्बू जगत सुपरिचित छ । यसैगरि बैरागी काईलाको बारेमा नेपाली साहित्य जगत, किरात जगत र किरात लिम्बू जगत राम्ररी जानकार छ । आज म किरात तथा किरात लिम्बू जगतलाई ठूलो गुन लगाएका मञ्जुल याक्थुम्बाको बारेमा उनको प्रकाशित एक पुस्तकको माध्यमबाट पाठकवर्गमा परिचय गराउँदैछु ।

(ख) लेखक परिचय
लेखक मञ्जुल याक्थुम्बाको जन्मस्थान ललितपुर तिखेदेवल हो, उनको पुर्खाको जन्मस्थान खाम्लालुङ तेह्रथूम हो । उनको जन्म वि.स. १९९२ मा भएको थियो । उनले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन् । नेपाल सरकारको विभिन्न प्रशासनिक पदमा रहेर उनले ३८ वर्ष सेवा गरे । उनी किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार हुन् ।

‘किरात तीर्थस्थल सानो हात्तीबन’ पुस्तकमा साहित्यकार बैरागी काईलाले सारगर्भित भूमिका लेखेका छन् । आफ्नो अस्तित्व जोगाउन हालसम्म सफल किरातहरु आज आएर नेपालभित्र लिम्बू, खम्बू, याक्खा र सुनुवार जातिमा सीमित हुन पुगेका छन् भन्दै उनी अघि लेख्छन् बाँकी रहेका यिनैलाई मात्र भए पनि एकतावद्ध गराउने अगुवाका रुपमा रहेका उनै अग्रणी व्यक्तिले अर्को चोला फेरेर प्रभावशाली भाषा र सुन्दर शैलीमा वर्तमानका किरात वन्धुहरु र भावी पिँढीलाई स्वर्णीम विगत सम्झाउन लेखनमा अग्रसर देखिनु सुखद कुरा हो । यसरी काईलाको भनाइले मञ्जुल याक्थुम्बा एक सशक्त किरात अभियन्ता मात्र नभएर संवेदनशील इतिहासकार पनि भएको झल्किन्छ ।

(ग) पुस्तक परिचय
मञ्जुल याक्थुम्बाद्वरा लिखित पुस्तक ‘किरात तीर्थस्थल सानो हात्तीबन’ पढेपछि यो एकप्रकारको रिपोर्ट जस्तो पनि लाग्यो । तर यसभित्र लेखकले जुन ऐतिहासिक तथ्य बडो सटीक र सरल ढंगले प्रस्तुत गर्नुभएको छ, म उनको लेखनको इमान्दारिता र अभियानप्रतिको प्रतिवद्धता देखेर प्रभावित भएँ । उनको नेपाल सरकारको सेवाकालीन अनुभव र प्रभावले पनि किरातकालीन सम्पदा संरक्षण, सम्बर्धन र संगठन गर्न सहयोग पुगेको अनुमान गर्न सकिन्छ । त्यो भन्दा पनि ठूलो उनको किरातप्रतिको मोह, लगाव, सेवाभाव, केही गर्ने अभिलाषा, प्रशासनिक दक्षता आदि पुस्तकमा प्रकट भएको देखिन्छ ।

पुस्तकमा परिचय र भूमिका आदि रहेको १० पृष्ठ र विभिन्न शिर्षकमा लेखहरुका ४१ पृष्ठ र अनुसूची १८ पृष्ठ गरी जम्मा ६९ पृष्ठहरु उनिएका छन् । श्रीमति बिमला निङ्लेखु याक्थुम्बा प्रकाशित रहेको उक्त पुस्तक २०६६ साल मंसिर १७ गते बुधवार प्रकाशित भएको हो । पुस्तकको आवरण लेखक स्वयम् र शंकर साम्पाङ राईले तयार पारेका छन् । पुस्तकको मूल्य रु १००/– रहेको छ ।

(घ) पुस्तकभित्र केही उल्लेखनीय तथ्यहरु
एकदिन राजा श्री ५ महेन्द्र ललितपुर सातदोबाटो भएर गोदावरी सवारी हुँदैथिए । सातदोबाटोबाट पर अलि तल झरेपछि पुगिने सानो हात्तिवननेर पुगेर रोकिए । रोकिएपछि रुखपात फाँडिएको बेस्याहार स्थितिमा रहेको मन्दिर जस्तो देखिने डाँडा देखेपछि राजाले त्यहाँ वरिपरि खेतमा काम गर्ने किसानहरुलाई बोलाएर सोधे– यो धार्मिक जंगलजस्तो भूभाग के हो ? किसानहरुले एकस्वरमा जवाफ दिए– महाराज ! यो किरातहरुले उधौली र उभौली पर्वको बेलामा भेला भएर मनाउने किरातहरुको पवित्र तीर्थस्थल हो । उनीहरुले उभौंली पर्व मनाए पछि सधैं पानी पर्छ र हामी खेतीपाती सुरु गछौं, भनेछन् । राजाले उक्त स्थान स्याहारको अभावमा रहेको किरात जातिको पवित्र स्थान भएको बुझेर तत्काल सम्बन्धित निकायलाई बृक्षारोपण गर्न आदेश दिएछन् । त्यसपछि यो वन हालसम्म हराभरा देखिन्छ । लेखक याक्थुम्बा राजा महेन्द्रलाई सम्झेर आभार प्रकट गर्दछन् । लेखकले व्यक्त गरेको राजाप्रतिको आभारयुक्त अनुग्रहप्रति यो पङ्तिकार पनि एकताभाव प्रकट गर्दछ ।

सानो हात्तीवनमा पूजा गर्ने स्थलको निर्माण गर्दा पाएको सहयोग, साथ, दुःख, कष्ट, प्रशासनिक झण्झट आदिको विस्तारपूर्वक जानकारी दिइएको छ । यहाँ खानेपानीको व्यवस्था गर्न, हिड्ने बाटो बनाउन गरेका प्रयास आदिको वर्णन र यसमा लागेका खर्चको पारदर्शी हिसावकिताव उक्त पुस्तकको परिशिष्टमा देखाइएको छ । पुस्तकमा उक्त मन्दिरलाई सत्तेहाङ पन्थीले बारम्बार कब्जा गर्न खोजेको, उक्त बनलाई सरकारले हडप्न खोजेको जस्ता चुनौतीहरु सविस्तार उल्लेख गरेका छन् । किरात समुदायभित्रैका विभिन्न समुदायले यो बनमा, मन्दिरमा आँखा गाडेर ललितपुरमा रहेको वन क्षेत्रको तथा मन्दिरको संस्थादर्ता काठमाडौंमा अनियमित ढंगले दर्ता गर्न खोजेर पटकपटक नानाभाति दुःख दिएको तर तिनको डटेर सामना गरेको उल्लेख छ । फलस्वरुप माङहिम मन्दिरको संस्था दर्ता तथा धार्मिक वनमा वनलाई दर्ता गर्न याक्थुम्बा सफल भएको पनि पुस्तकमा उल्लेख छ । जसको धनिपूर्जा तथा संस्था दर्ता प्रमाणपत्रको नक्कल परिशिष्ठमा राखिएको देखिन्छ । यो उनले किरात समुदाय र इतिहासलाई लगाएको गुन हो । हुन त यसमा अरु पनि धेरैको साथ छ तिनको पनि योगदानको कदर गरिनु पर्दछ । पुस्तकमा उनले किरात सभाहल बनाउने अभियानमा भने आफ्नै समुदायभित्र मन नमिलेर त्यसमा सफलता नमिलेको तीतो पनि पोख्तछन् ।

उनले पुस्तकमा ऐतिहासिक तथ्य लेख्ने क्रममा गोपालवंशावली अनुसार ३२ पुस्ता अर्थात् १७७९ वर्ष राज्य गरेपछि लिच्छवीको उपत्यका विजय पछि जब किरातकालको पतन भयो तब किरातहरु पूर्व लागे । किरातहरुले नेपालको पूर्वमा राज्य गरे । नेपाल एकीकरण भए पछि वि.स. १९०५ साल भाद्र १२ गते श्री ५ सुरेन्द्र शाहको पालामा किरात लिम्बूहरुलाई डाकेर लिम्बू मात्र रहेको भैरवनाथ पल्टनको गठनबाट भयो । पहिले यो कम्पनीको रुपमा गठन भएर पछि बटालियनको रुपमा आयो । हाल यो नेपाली सेनाको हवाईसेनाको रुपमा रुपान्तरित भएको छ । यसरी उपत्यकामा पुनः किरात लिम्बूहरुको सामुहिक प्रवेश भैरवनाथ पल्टनको गठनबाट भएको याक्थुम्बाको भनाई छ । उक्त पल्टनको पहिलो लिम्बू कमाण्डर लेफ्टिनेण्ट शम्शेरजंग फागो चोङबाङ थिए, जो मैवाखोला थुम ढुंगेसाँगु हात्तीखावा हाल ताप्लेजुङ जिल्लाका निवासी थिए । यो पल्टनले राजपरिवारले बाघ शिकार गर्दा जंगलमा अगुवाइ गर्ने गर्दथ्यो । विदेशीहरु नेपालमा भ्रमणमा आएका बेला पनि चितवन तथा मधेश झरेर महिना डेढ महिनाको काजमा पल्टन खट्ने गरेको र फर्केर आउँदा सुकुटी मासु पल्टनियाहरुले ललितपुर स्थित लिम्बूगाउँमा बाँड्ने गरेका अनुभव याक्थुम्बा पुस्तकमा उल्लेख गर्दछन् ।

यसरी नेपाली सेनाको विभिन्न पल्टनको गठनसंगै किरातहरुको उपत्यकामा आउजाउ पुनः बढेको देखिन्छ । वि.स. २००७ साल भन्दा अघि नेपालमा २४ पल्टनहरु थिए । त्यसबेला पल्टन तलब सुविधाको आधारमा र जातियताको आधारमा वर्गिकरण गरिएको थियो । त्यसबेला कालीबहादुर गणमा गुरुङहरु मात्र हुन्थे । पुरानो गोरख पल्टनमा मगरहरु मात्र हुन्थे । जङ्गी जगन्नाथ पल्टनमा तामाङहरु मात्र हुन्थे । श्री ५ महेन्द्रको पालामा नारायणहिटी राजदरवारमा शाहीरक्षक पल्टनको रुपमा भने गुरुङहरुको कालीबहादुर पल्टन राखिएको थियो, लेखक बताउँछन् ।
उनले पुस्तकमा किरातकालिन धार्मिक आस्थाको हाल कसरी विस्थापन गरिएको छ भनेर पनि उल्लेख गर्दछन् । ललितपुर तिखेदेवल गाउँमा किरातकालमा सत्ताइसौं राजा शङ्खाहाङद्वारा निर्मित हाङसाम थेबासाम्माङ र युमासाम्माङको मन्दिर थियो । त्यो किराती मन्दिरलाई हाल गैरकिरातीहरुले उमामहेश्वरको मन्दिर नामाकरण गरेर हिन्दूकरण गरी सक्कली धनीबाट किराती धरोहरलाई अलग पारियो । लेखकले इशारा गरेका यस्ता दृष्टान्त अरु पनि धेरै छन् । पूर्वी नेपालका किरात परम्परा अनुसार पूजाआजा गरिएका देवीदेवतालाई धमाधम हिन्दू देवदेवी नामाकरण गरिएको र त्यसको विरोध स्वरुप ज्ञापनपत्र किरात याक्थुङ चुम्लुङले नेपाल सरकारलाई दिएको छ । यस्तो संवेदनशील विषयमा राज्यपक्षले ध्यान दिन जरुरी छ । किरात समुदाय पनि यस्ता विषयमा सचेत रहनु पर्दछ ।

(ङ) उपसंहार
किरातकाल नेपाली इतिहासको महत्वपूर्ण काल हो । नेपाल एकीकरण र नेपाल निर्माणमा किरात इतिहास र समुदायको भूमिका उल्लेखनीय छ । किरात समुदाय आज इतिहासको पुनरावलोकन गर्नमा व्यस्त देखिन्छ । आ–आफ्नो इतिहासको अलिखित पाटोमा प्रकाश पार्न यो दत्तचित्त देखिन्छ । आफूले गुमाएको हक अधिकार खोज्न इतिहास र अभियन्तको खाँचो पर्दछ । हिजो नेपाल एकीकरणपछि तितरबितर भएका किरातीमध्ये पूर्वबाट किरात लिम्बू कसरी उपत्यका स्थापित हुँदैछन्, त्यसको लागि किरात सभ्यताको एउटा धरोहर सानो हात्तीवनको जगेर्नाको लागि किरातले कति संघर्ष गर्नु परेको थियो भन्ने दृष्टान्त लिएर प्रस्तुत पुस्तक ‘किरात तीर्थस्थल सानो हात्तीबन’ उभिएको छ । लेखकले पुस्तकमा किरात संस्कृति र धरोहरलाई आज हिन्दूकरण गरिएकोतर्फ सङ्केत गर्दै युमाथेबा साम्माङको रुपमा किरातीले मान्ने गरेको दवीदेवतालाई हिन्दूले आज उमामहेश्वरको रुपमा विस्थापित गरेको मार्मिक दृष्टान्त दिएर आँखा खोल्न खोज्छन् । यो किरात समुदाय, किरात इतिहासमा रुची राख्ने पाठक तथा अनुसन्धानकर्ताका लागि अत्यन्त उपयोगी पुस्तक हो । यसका लेखक मञ्जुल याक्थुम्बा ज्यूँदो इतिहास हुन् । उनी किरात, किरात लिम्बू समुदायको हक हितको लागि समर्पित व्यक्तित्व हुन् । उनको योगदानको उचित कदर गर्नु हामी सबैको कर्तव्य हो ।

सन्दर्भ ग्रन्थः
मञ्जुल याक्थुम्बा, किरात तीर्थस्थल सानो हात्तीबन, काठमाडौं : बिमला निङ्लेखु याक्थुम्बा, २०६६ ।

Comments are closed.