‘मान्छे हराएको देश’ भित्र कवि कृष्ण पहारीलाई खोज्दा

‘मान्छे हराएको देश’ भित्र कवि कृष्ण पहारीलाई खोज्दा

– डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
साहित्य अमर छ । साहित्यकारको भौतिक शरीर नरहे पनि उनका लिखित अनुभूति, स्वाद, आग्रह र सन्देश सधैं जीवित रहन्छन् । नेपालको एक ऐतिहासिक तथा सुन्दर जिल्ला पाल्पा निवासी कवि कृष्ण पहारीलाई म ‘स्वर्गीय’ शब्दले सम्बोधन गर्न त्यसैले चाहन्न । उनीसंग मेरो देखभेट कहिल्यै भएन । कुराकानी त भयो तर फोनमा, फेसबुकमा, म्यासेञ्जरमा मात्र । उनले केही वर्ष अघि मलाई उनको प्रकाशित कवितासंग्रह ‘मान्छे हराएको देश’ समीक्षार्थ कुरीयर मार्फत् पठाएका थिए । उनीसंगको कुराकानीमा मैले ‘हुन्छ गरौंला’ त भनें, तर भित्री मनमा म समीक्षा तथा समालोचनामा हात भरसक हाल्दिन भनेर एकप्रकारको अठोट गरेर सबैलाई टार्दै बसि रहें । उनले पछिपछि फोनमा समीक्षाको कुरा उठाउन पनि छाडे । उनी स्वास्थ्यकर्मी पनि भएकाले हाम्रो अर्को पनि नाता थियो, त्यतैतिर कुरा मोडियो । उनले एकपटक विराटनगर आउने इच्छा भएको कुरा प्रकट गरेका थिए । यसरी म पनि कुनैबेला उनीसंग रमाइलो भेटघाट होला भनेर आशामा बसेको थिएँ ।

एकदिन ‘पुष्पाञ्जली’ साप्ताहिकका सम्पादक पुष्प गड्तौलाले अचानक कवि कृष्ण पहारी बेलायतमा छोरालाई भेट्न गएको बेला परलोक भएको दुःखद खबर सुनाए । पत्याउँ कि नपत्याउँ भयो । फेसबुकमा यदाकदा दिवंगत भएको भावको सन्देश पनि देखें, तैपनि विश्वास लागेको थिएन । महिनौं बिते एकिदन उहाँको स्मृतिमा एउटा ग्रन्थ प्रकाशन गर्न लागिएकाले एउटा सामग्री पठाउन आव्हान गर्दै पाल्पाबाट हरि भट्टराईको सन्देश मलाई प्राप्त भयो । तब भने मलाई कृष्ण पहारी परलोक भएको एकिन भयो । मैले पुस्तक समीक्षाका केही पाना लेखेर अघि नै कविको जीवनकालमा ईमेल गरिदिएको भए उनी कति खुशी हुन्थे होला, मलाई ठूलो पछूतो महसूस भयो ।

अब म कवि कृष्ण पहारीबारे सोच्न र केही लेख्न म बाध्य भएको छु । म भित्र स्वस्फूर्त शक्तिसंचार भएको छ । मैले कृष्ण पहारीको आत्मा शान्तिका लागि भए पनि उहाँको बारेमा केही लेख्नु पर्छ भन्ने निष्कर्षमा म पुगेको छु । लेखनतर्फ मैले संस्मरणमा हात हालेको थिएँ कवि पहारीसंग देखभेट नभएकाले यसको लागि पर्यापत खुराक पुगेन । यसरी मैले उनको कृति समीक्षामा कलम चलाउनै पर्ने भयो । मैले ठानें, म पनि कवितामा हात चलाउने मान्छे, कविता केही बुझ्छु, त्यसैले आफूले बुझेका कुरा कसैलाई सुनाउनु पनि कृतिलाई पुनर्लेखन र पुनर्जीवन दिनु नै हो । यही ठानेर समीक्षामा हात हाल्न मनमनै पुरानो अठोटलाई उल्टाएँ । यसमा अर्को कुरा पनि छ । मलाई धेरै साहित्यकारहरूले उपहारस्वरूप कृतिहरू दिएका छन् । त्यसमध्ये कतिपयले समीक्षाको अपेक्षा पनि राखेका होलान् । कतिपय कृतिहरू पढेर त्यसउपर केही कोर्न म आफै अग्रसर हुने गरी प्रभावित पनि भएको छु । यसैले जानीनजानी केही कोरेर स्रष्टालाई साथमा साथ दिन म कृति समीक्षामा यसउसले प्रवेश गर्दैछु ।

(ख) कृति परिचय
आजकल कृति विमोचन समारोहमा कृति परिचय दिने समीक्षकले बढी मनोगत टिप्पणी तथा कम कृति परिचय दिने गरेका छन् । उनीहरूको कृति परिचय भन्दा समालोचना ज्यादा सुनिन्छ । त्यसबाट कृति र कृतिकारको समग्र प्रस्तुति के थियो, पत्तो लाग्दैन । यसैले प्राथमिक रूपमा कृति नै नपढेका पाठकलाई मध्यनजरमा राखेर कृतिको परिचय दिने र द्वितीय रूपमा कृतिको वस्तुगत समीक्षा गर्दा फलदायी हुन्छ कि भन्ने मेरो ठम्याई छ । समालोचना र समीक्षाका आ–आफ्नै परम्परागत विधानमुखी ढाँचा र स्वरूपहरू छन् । मैले पूर्वीय वाङमयका समालोचनाका सिद्धान्त र पाश्चात्य बाङमयका विभिन्न वादहरूका मर्मलाई स्वीकार गर्दै आफ्नै ढाँचामा कृतिको समीक्षा गर्दैछु ।

‘मान्छे हराएको देश’ शिर्षकको कविताकृति सुन्ने बित्तिकै जोकोहीलाई लाग्छ पक्कै देशलाई केन्द्रविन्दूमा राखेर काव्यको श्रृजना गरिएको होला । अर्थात् काव्यले देशमा हराएका मानिसलाई खोजेको होला । पुस्तकको शिर्षकमैं अस्तित्वादी आवाज बोकेर आएको कवि कृष्ण पहारीको कविता संग्रहलाई मैले आशाका साथ खोलेर सुरूदेखि अन्तसम्म पढ्दा मलाई लाग्यो कविले देशलाई जसरी छामेर कविता लेखे उसरी नै भूमिकामा समालोचकहरूले कवि र कविताका विषयवस्तुलाई छामेर सम्पूर्ण कुरा पस्कि सकिएको रहेछ । मलाई त कसैले पस्केको खाना खान बसेजस्तो आनन्द भयो ।

सर्वप्रथम म पुस्तक पढ्न नभ्याएका पाठकलाई यो मान्छे हराएको देश कवितासङ्ग्रहको बाहिरी अनुहार आकृति कस्तो छ, त्यो जानकारी दिन चाहन्छु । जम्मा ५५ ओटा गद्यकविता रहेको पुस्तकको बनावटमा परिचय, भूमिका, विषय सूची आदिमा ४२ पृष्ठ र कवितामा १०८ गरी जम्मा १५० पृष्ठको कवितासङग्रह रहेको छ । यसरी पुस्तकमा खुराकिला कवितामाथि यथेष्ट दृष्टिपात भइवरि पुस्तक प्रकाशनमा आएको देखिन्छ । पुस्तकलाई पोखराथोक साहित्य संगम, पाल्पाले प्रकाशनमा ल्याएको हो । पुस्तकको आकर्षक आवरणको डिजाइन राजेन्द्र तारकिणीले गरेका छन् । पुस्तकको मूल्य रू १५०/– राखिएको छ ।

(ग) कृतिकारको पहिचान
कृतिको पछाडि आवरणमा केही लेखकहरूले कवि पहारीलाई चिनाउन व्यक्त गरेका उद्गारहरू राखिएका छन् । कवि विष्णुविभू घिमिरेले पहारीलाई समकालीन कवि भनेका छन् । साथै उनले उनका कवितामा भावनाको सुन्दर इन्द्रेनी र सम्वेदनाको गहिरो अभिव्यक्ति भएको बताएका छन् । अर्का स्रष्टा स्याङ्जाका विश्वप्रेम अधिकारीले काव्यको मिहिन अध्ययन गरेर निचोडस्वरूप आफ्ना भनाई व्यक्त गरेका छन् । उनी भन्छन्– पहारीको कविता अभिधा अर्थमा मात्र सीमित छैनन्, लक्षणामूलक र ब्यञ्जनामूलक पनि छन् । अधिकारीलाई पहारीको कविता जीवनका मूल्यबोध भएका जीवनवादी कवि हुन् भन्ने लागेको छ । मेरो विचारमा पनि पहारीका कवितामा अभिधा शब्दशक्तिको बढी प्रयोग भएको छ, उनी कविताको भावभूमिमा एक अस्तित्ववादी आवाज बोकेर यथार्थवादी धरातलमा उभिएका इमान्दार समकालीन कवि देखिएका छन् ।

पाल्पाका डा. नेत्रप्रसाद न्यौपानेका अनुसार पहारीका कवितामा मुलुकमा विगत एकदशक यता भएगरेका घटनालाई यथार्थरूपमा कलात्मक विम्बहरूद्वारा स्थापना भएको छ । कवि पहारीलाई विसङ्गतिको केन्द्रमा एक विद्रोही र क्रान्तिकारी बन्दै अन्ततः विसङ्गति बढार्न खोजिरहेको एक स्रष्टाको रूपमा न्यौपानेले उभ्याएका छन् । यसैगरि बुटवलका स्रष्टा कृष्णप्रसाद कोइराला कवि पहारीका कवितामा सामाजिक तथा राजनीतिक विकृति–विसंगतिप्रति आक्रोस पोखिएको पाउँछन् । अर्का मकवानपुरका स्रष्टा विर्खे अन्जान पहारीमा प्रगतिवादी सञ्चेतनाको बुलन्दी पाउँछन् । उनी पहारीलाई भावनाको गहिराईमा पुगेर बौद्धिकताको प्रदर्शन गर्ने कविका रूपमा चिनाउँछन् । मलाई लाग्छ, कवि पहारी प्रगतिवादी चेतनाले अभिप्रेरित सामाजिक र राजनीतिक विषयवस्तुमा गहिरो दखल राख्ने अस्तित्ववादी प्रगतिशील कविका रूपमा कवितामा प्रकट भएका छन् । अतियथार्थवादी भएर भावनामा जादू वा भ्रम सृजना गरेर पाठकलाई रोमाञ्चित पार्न उनी लालायित छैनन् । सामाजिक पक्षको सरल र सटिक सम्प्रेषणशीलता उनको काव्यलेखनको वैशिष्ठ्यता हो । मलाई विश्वास छ, उनको कविता पढिसक्दा सर्लक्कै बुझिन्छ । यो कृति सर्वसाधरण पाठकको लागि लेखिएको सौन्दर्यपूर्ण, बौद्धिक, जीवनोपयोगी तथा लोककल्याणकारी काव्यात्मक खुराक हो ।

प्रकाशकीयमा पोखराथोक साहित्य संगम, पाल्पाका अध्यक्ष गंगानाथ कोइरालाले पहारीका यस कृतिमा उनको बाल्यकालदेखिका साठीवर्ष उमेरबीच अवधिको अनुभूति समेटिएको बताएका छन् । साथै उनले पहारीका यसअघि ‘बारूदका धुँवाहरू’ गजलसंग्रह २०६२, ‘परिवेश भित्रका पीडाहरू’ मुक्तकसंग्रह २०६५ प्रकाशित भैसकेको जानकारी गराउँछन् । भूमिका खण्डमा समालोचक उपेन्द्र पागलले कृतिको विस्तारपूर्वक समालोचना गरेका छन् । आलेखमा समालोचक पागलको ५५ ओटै कविताका विषयवस्तु सारवस्तु, कविता भित्रको द्वन्द्व, लय र परिवेश, भाषिक प्रयोग र अलङकार योजना, शीर्षकको सार्थकता र केही मूलभूत विशेषताहरूको १४ पृष्ठ लामो समालोचना कृतिभित्रै उपलब्ध छ । समालोचक पागलले पहारीका मूलभूत विशेषताका रूपमा केन्द्रीय कथ्य सामाजिक तथा राजनीतिक विकृति रहेको, नारीका समस्या आदि रहेको उल्लेख गरेका छन् । मेरो विचारमा कवि पहारी अस्तित्वादी मात्र हैन नारीवादी कवि पनि हुन् । उनले कवितामा जीवनको विसंगतिप्रति अस्तित्ववादी स्वर उचालेका छन्, नारी अस्मिताको पक्षपोषण गरेर नारीवादी कविका रूपमा कवितामा झुल्केका छन् ।

यसैगरि उपप्राध्यापक टंक पन्थको १६ पृष्ठ लामो समालोचना पढिसके पछि हामी पहारीलाई अझ विस्तृत रूपमा चिन्न सक्छौं । समालोचक पन्थले कवि पहारीलाई ब्यङ्य चेतना, नारी चेतना, राष्ट्रवादी चेतना, साँस्कृतिक चेतना, कलासाहित्यप्रतिको चेतना, विसङ्गतिवादी चेतना, मानवीय संवेदना, जीवन चेतना, विद्रोही चेतना, वात्सल्य चेतना, सुधारवादी चेतना, युगीन चेतना, आशावादी चेतना, प्रणय चेतना भएको कवि मानेका छन् । पन्थले कवि पहारीलाई मूलतः नेपाली समाजका समसामयिक यथार्थका प्रतिविम्बक कवि भनेका छन् । भूमिका लेखनकै क्रममा ‘अन्तरध्वनि त्रैमाशिक’ दाङका सम्पादक गिरिराज शर्माको चार पृष्ठ लामो एक सारगर्भित लेख पनि पुस्तकको भूमिका खण्डमा छापिएको छ । मैले यस लेखमा कृतिको मुटु नै भेटें । उनी भूमिकाका क्रममा लेख्छन्– “… अघि द्वन्द्वकालमा तीर्थस्थलमा हामीले राष्ट्रिय कविता महोत्सव आयोजना गरेका थियौं । कवितावाचन कार्यक्रममा कुनै कविले आफ्नो कवितामा भनेका थिए “चराहरू गुँड छोडेर गए, छोराहरू घर छोडेर गए…” उनी अगाडि लेख्छन्– “तत्कालीन समयमा छोराहरू युद्धमा समाहित हुन गएका थिए भने अहिले तिनै छोराहरू छाकबासको जोहो गर्न तेस्रो मुलुक प्रवेश गरेका छन् । अस्थिर सरकार, दलहरूको खिचातानी आदि कारणले गर्दा छोराहरूको अभावमा गाउँ अनिदो बनेको छ । खेतबारी बाँझै छ । पिंढीमा बसेर बुढा बाआमा रित्तो प्रतीक्षा कुरिरहेछन् ।” मेरो विचारमा, यो पुस्तकको शिर्षक कविता ‘मान्छे हराएको देश’ को मर्म पनि यही हो र यो कृतिको सार पनि यही मूलभावको वरिपरि कुदेको पाइन्छ ।

‘आफ्नै मात्र कुरामा’ कवि कृष्ण पहारीले मार्मीक ढंगले मनलाई स्वउद्घाटन गरेका छन् । उनको यो उद्गारले संभवतः सबै स्रष्टालाई प्रतिनिधित्व गरेको छ । उनी लेख्छन् – “रहरै रहरमा गजल लेखियो, गजलकार भइयो । पीडाबोधमा मुक्तक लेखियो मुक्तककार भइयो । लेख्दालेख्दै अचेल कविताको चाङ लाग्न थाल्यो । जिन्दगीको अनुभव बटुल्दाबटुल्दै ६० वसन्त पार हुन खोज्दैछ । दाह«ी जुँगा फुलिसकेछन्, पत्तै भएन । कहिले दुखेर लेखियो । कहिले दुखाएर लेखियो । जे देखियो, त्यो लेखियो । जे भोगियो, त्यो लेखियो । लेख्दालेख्दै जीवनका थुप्रै भोगाइहरू लेखियो ।” यसै क्रममा कविले विराटनगरलाई आफ्नो श्रृजनाको आरम्भस्थलको रूपमा उल्लेख गरेका छन् । जेहोस्, उनले सिर्जनाको ब्याड राखेको स्थल विराटनगर थियो, सगर्व सम्झेका छन् । वि.स. २०४२ सालमा ‘पुष्पाञ्जली’ साप्ताहिकमा आफ्नो पहिलो कविता ‘प्रेम’ छापिएको उल्लेख गर्दै उक्त घटनालाई साहित्यिक प्रेरणाको रूपमा उनले स्मरण गरेका छन् ।

(घ) कविताका मूलभूत प्रवृत्तिको लेखाजोखा
(घ–१) देशको पीडा दर्शाउने काव्यरचना
कहिलेकाहिं हामी बालकबालिकासित बोल्दाबोल्दै अनायास सोच्न बाध्य हुन्छौं, भावुक पनि हुन्छौं । बालकका कतिपय जिज्ञाशाले हामीलाई नाजवाफ बनाउँछन् । बेलाबेला रूवाउँछन्, हँसाउँछन् । यस्तै बालशुलभ जिज्ञाशा र आकांक्षा बोकेर ‘आमाका सम्झना’ कविता उभिएको छ । कविताभित्र कहिले आमाबा भएर यो मन रून खोज्छ पढ्दा पढ्दै छोराछोरी भएर रून खोज्छ । आमालाई धरति वा देशसंग तुलना गर्दा पनि मिल्ने प्रस्तुत कवितामा अभिधाका साथै लाक्षणिक शब्दशक्ति पनि भएको ठानेको छु । प्रस्तुत छ कविताको अंश–
आमा !
तिम्रो तस्बिरलाई
अंकमाल गरेर
आमा भनेर बोलाउँदा पनि
तिमीले एकफेरा
छोरा भनिनौं
मात्रै हेरिरह्यौ
कुन्नि किनहो आमा
तिमी अलि रिसाए जस्तो लाग्यो
मेरा गल्ति भए
म तिमीसित माफ माग्न तयार छु ।
(‘आमाको सम्झना’, पृष्ठ ७)

कवि गाउँवेसीको हाललाई देखेर भावविव्हल हुन्छन् । गाउँ रित्तो रित्तोझैं लाग्छ उनलाई । रोजगारी खोज्दै विदेश पलायन हुने कथासितै यसरी व्यथा लागेको छ आज देशलाई । सहन नसकेर कवितामा कवि भाव यसरी पोख्छन् –
देशमा मान्छे हराएपछि
गाउँ अनिंदो बनेको छ
खेतबारीहरू बाँझै छन्
छोराको अभावमा
अनिंदा आँखाहरू मिचेर
छट्पटिएका आमाहरूले
मान्छे हराएको सूचना टाँस गरेका छन्
गाउँमा हिजो आज
छोराको अनिकाल परेको छ
यो मान्छे हराएको देश हो
(‘मान्छे हराएको देश’, पृष्ठ २)
यसरी देशबाट हराउने छोराहरू मात्र जन्माएकोमा कविलाई दुःख र आक्रोश पनि उठेको छ । उनी प्रश्न गर्छन्– के हामी नेपाली अरू देशका नोकर हुन वा सुखसयल ताक्न मात्र जन्मेका हौं त ? यसरी विदेशी दास हुने सन्तान जन्माउने नेपाल आमालाई कवि गुनासोस्वरूप व्यङ्य गर्छन्–
मान्छे हराएको देशमा
विदेशीका दास बनाउन
आमाहरू जबर्जस्ती गर्भधारण गर्न
हतारमा परेका छन् …
(‘मान्छे हराएको देश’, पृष्ठ ३)
कविलाई देशको सीमाना मिचिएकोमा असाध्यै मन दुखेको छ । उनी देशको माटो र पानीलाई असाध्यै माया गर्दछन् । एक देशभक्त नागरिकमा हुनुपर्ने चरित्र कवि पहारीभित्र प्रचुर मात्रामा पाइन्छ ।
अचेल म
सुस्ता भएर खुम्चिदै गएको छु
कालापानी भएर मिचिदै गएको छु
माने भन्ज्याङ भएर गोली थापेको छु …
(‘नदी र मन’, पृष्ठ ८६)
(घ–२) समाजको पीडा दर्शाउने काव्यरचना
कवि पहारीले आज नेपाली समाजले अनुभूत गरेका कटु यथार्थलाई सटीक ढंगले प्रदर्शन गरिदिएका छन् । विसङ्गतिवादी शैलीमा लेखिएको कविताले नेपाली भावनाको प्रतिनिधित्व गरेको छ ।
बाँच्नुको अर्थमा
केवल आफ्नै देशभित्र पनि
शरणार्थी भएर बाँचेको मान्छे म
यतिबेला मलाई
नेपाली हुँ भन्न पनि
लाज लाग्न थालेको छ
गोर्खालीको छोरो भएर
खुकुरी भिर्न लाज लाग्न थालेको छ ।
(‘आफ्नै देश खोजिरहेको मान्छे म’, पृष्ठ ६५)

(घ–३) नारीको पीडा दर्शाउने काव्यरचना : कवि पहारीका कवितामा नारीवादी स्वरको प्रभाव बढी नै पाइन्छ । उनले नारीमाथिको अन्याय अत्याचारको विरोध र नारी अस्मिताको सम्मान आफ्नो काव्यसाधनामा गरेका छन् ।
हामी निरीह स्वास्नी मान्छे
युगौं युगदेखि शिकार बनेर
गोली थापिरहेका छौ
नाजवाफ छौं उत्तर दिन
कसैको आत्म–सन्तुष्टिको लागि
जीवन बेच्न तैयार छौं
तै पनि सृष्टिको निरन्तरता भित्र
आँसु नदेखाएर हाँसिरहेका छौं ।
(‘नाजवाफ छौं उत्तर दिन’, पृष्ठ १०)
+++
पटक पटक अग्निपरीक्षामा
सामेल भएर
सफलता हासिल गरेकी छे
र पनि आफू
नारी भएर बाँच्न पाउँदा
गर्व गरिरहन्छे ।
(‘मौन पर्दा भित्रको जिन्दगी’, पृष्ठ १२)

(घ–४) क्रान्ति चेतना : कवि कृष्ण पहारी क्रान्तिकारी कविका रूपमा धेरै कवितामा झुल्केका छन् । यसैले उनीभित्रको विद्रोहको चेतनाले काव्यसाधनालाई पनि प्रभावित पारेको देख्न सकिन्छ ।
… त्यसैले बुद्ध !
अब शान्तिका झुटा कुरा होइन
क्रान्तिका लागि मोर्चा कस्ने बेला आएको छ ।
(‘बुद्ध तिमीले पनि बन्दुक बोक्न थाल’, पृष्ठ २५)

(घ–५) गाउँ प्रेम : गाउँमै जन्मेका कवि गाउँलाई कहिल्यै माया मार्न सक्दैनन् बरू अझ मायाले रंगाएर र संवेदनशील नजरले सिर्जनामा जताततै पोखेका छन् ।
… गाउँका कविताहरू
मनभरि लालीगुराँस फुलाएर
मखमली र सयपत्रीको माला उन्छन् …
(‘गाउँकै कविता लेख्छु’ पृष्ठ ३०)
(घ–६) जीवनोपयोगी काव्यरचना : कविको काव्यसाधनाको सार्थकता उक्त कृति मानव जीवनमा कत्तिको उपयोगी छ भन्ने सवालमा गएर ठोक्किन्छ । उनको काव्यमा अन्तर्निहीत सन्देशले समाज परिवर्तन अर्थात् जीवन र जगतको लागि केही गर्ने क्षमता बोकेमा यसलाई जीवनोपयोगी काव्यको रूपमा पूर्वीय साहित्य दर्शनले मूल्याङ्कन गर्दछ । कवि पहारीको काव्यभित्र हामी त्यस्ता केही तत्व पनि पाउँछौं ।
… परिवर्तनका लागि
कविता कोर्न तम्सिएका
तिम्रा हातहरू, नथाकुन् कैले पनि…
(‘तिम्रो कवितालाई बधाई छ’, पृष्ठ ५७)
(घ–७) मानवोपयोगी काव्यरचना : जीवन आशाले बाँचेको हुन्छ । यदि यही आशा मारियो भने जीवनको अन्त्य हुन्छ । यही जीवन दर्शन हामी कवि पहारीको कवितामा पाउँछौं ।
यसरी नै,
नयाँ विहानीको स्वागत गर्न
काँचा आँखाहरू मिच्दै
मान्छेले जिन्दगीलाई सलाम गरेको छ । …
(‘जिन्दगी के छ र खै ?’, पृष्ठ ५९)
(घ–८) समाजोपयोगी काव्यरचना : उनका काव्य साधनाभित्र विभाजित समाजलाई जोड्ने सिमेन्टी पनि पाइन्छ ।
अब निर्धक्क बनेर
क्रान्तिको मुकाबिला गरौं
विश्वासका पर्खालहरू ठड्याएर
पर्खालका खाल्टा खुल्टी र प्वालहरूमा
सिमेन्ट दल्न थालौं । …
(‘हाम्रा भोगाइहरू’, पृष्ठ १००)

(ङ) उपसंहार
‘मान्छे हराएको देश’ कवितासङ्ग्रहमा कवि कृष्ण पहारीको मूलतः अस्तित्ववादी तथा प्रगतिशील चेतना झल्केको देखिन्छ । उनका कवितामा यथार्थवादिता छ । उनका कविताहरू सरल, सरस र सहज हुँदाहुँदै पनि बौद्धिक र भावुक दुवै पङ्खलाई समान रूपमा फट्फटाएर काव्यिक यात्रामा अस्तित्ववादी शैलीमा गतिशील छन् । उनको काव्यमा भावभूमि सामाजिक र राजनीतिक चेतनाले ओतप्रोत छ । उनका कविताहरू सन्देशमूलक, जीवनोपयोगी र जगतोपयोगी छन् । उनले काव्यमा स्वप्नसादृश मानसिक अवस्थाका विशिष्ठ विम्बविधानको प्रयोग गरेका छैनन् । थोरै कृति लेखेर पनि उनले समसामयिक आवाजलाई स्पष्ट ढंगले उठाएको हुनाले समकालीन कविका लाइनमा उनी सगौरव उभिन लायक कवि हुन् । यसर्थ, उनको काव्यसाधना सार्थक, अर्थपूर्ण र अमर भएको छ । यही अवसरमा म कवि कृष्ण पहारीलाई यही आलेख मार्फत श्रद्धाञ्जली प्रकट गर्दै आत्माको चीर शान्तिको कामना पनि गर्दछु ।

सन्दर्भ ग्रन्थः
कृष्ण पहारी, मान्छे हराएको देश, पाल्पा : पोखराथोक साहित्य संगम, २०७२ ।

Comments are closed.