‘म एउटा च्यातिएको पोष्टरभित्र’ कवितामा बानिरा गिरी । (टिप्पणी)

‘म एउटा च्यातिएको पोष्टरभित्र’ कवितामा बानिरा गिरी । (टिप्पणी)

डा. नवराज सुब्बा

म मान्छे !
च्यात्तिएका वाक्यका टुक्राहरुका
पटक–पटक बेग्ला–बेग्लै अर्थ नलगाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।

अगेनाको छेउबाट
मीनपचासको ढिकीमा
एउटा बूढा
नाति–नातिनासंग लोककथा भन्छ ।
पारोहाङ र लेप्मुहाङ ओर्लन्छ
बूढाका आँखाहरुमा मानौं उ स्वयं
एउटा शिव एउटा युगको
र सतिदेवीलाई उसले हराइसकेको छ
दक्षको यज्ञमा ।
[…]
(‘म एउटा च्यातिएको पोष्टरभित्र’ वानिरा गिरी, साझा कविता, २०४९, पृ.३४०)

साझा प्रकाशनद्वारा (२०४९ पाँचौं प्रकाशनमा) प्रकाशित कवि वानिरा गिरीको प्रस्तुत कविता पढेर मैले आज कविताको धित मार्ने कोशिस गरें । सर्वप्रथम कविताको पहिला चार हरफले दिल छोयो म मन्त्रमुग्ध भएँ । त्यसपछि पढ्दै जाँदा पारोहाङ र लेप्मुहाङ एवम् शिवको बिम्बात्मक प्रस्तुतिले मलाई नतमस्तक बनायो । समयको प्रवाहमा छट्पटिएको मेरो मन एकछिन भए पनि शान्त भयो । कविले कवितामा जसरी एक बूढालाई शिवको रुपमा देख्नु भएको छ मैले पनि मेरो मन शान्त पारिदिने कविलाई मेरो अघि फलाकिरहेकी वा नाचिरहेकी फेदाङ्मा वा यूमाको रुपमा प्रकट भएको देखें । फेदाङ्माले देवात्माको आवाज मानव मनमा सार्ने काम वा सन्देशको रुपमा दिने काम गर्दछिन् । उनी त्यसबेला साक्षात देव वा देवीको रुपमा प्रकट भएको उनका वरिपरि जोखाना हेर्ने दर्शक वा कविता सुन्ने पाठकले विश्वास गर्दछन् । भनिन्छ, फेदाङ्मालाई शरीरमा देवता चढ्नु पर्छ । उसैगरी कविलाई पनि कविता फुर्न उसको शरीरमा कुनै शक्तिको प्रवेश हुन्छ भनेर स्वयम् कवि बताउँछन् । तर आफूलाई कवि ठान्ने कतिपय आधुनिक कविहरु पण्डित वा पुरोहितसंग तुलना गरेको सहन्छन् तर फेदाङ्मा, धामीझाक्रीसित तुलना गर्दा अपमानित भयो भनेर रिसाउँछन् ।

ख्याल गरौं, प्राचीन गुफामा कुँदेका चित्रलाई ब्याख्या गर्नलाई या त मानवशास्त्री चाहिन्छ या त धामीझाक्री नै चाहिन्छ भनेर आधुनिक विज्ञानले स्वीकार गरेको छ । धामीझाक्रीमा यस्तो शक्ति हुन्छ जसले मानवचेतनाको गहिरोभन्दा गहिरोतह अर्थात् बुझ्ने भाषामा आत्मामा प्रवेश गर्दछ । उसले जीवन र जगतको ब्याख्या मजाले गर्नसक्छ भलै त्यो व्याख्या आ–आफ्नै ढंगको किन नहोस् । करिव कवि पनि त्यस्तै हो जीवन र जगतको क्लिष्ट समाजको किरिङ–मिरिङ अस्पष्ट जीवनयात्रालाई कविले मजाले नियाल्न सक्छ र आफ्नै पाराले ब्याख्या गर्दछ । एउटा अमूर्त चित्रको अर्थ एउटा कलाकार र कविले गर्न सक्दछ ।

विश्वास गरौं–नगरौं, परम्परागत फेदाङ्मा वा धामीझाक्रीलाई सामान्य मानिसले बुझ्न र बुझाउन नसकिने तर सरल शब्दमा भन्नुपर्दा विशिष्ठ शक्ति वा दैवीशक्ति प्राप्त छ । जुन शक्ति एक कविमा पनि पाउन सकिन्छ । फेदाङ्माले आधुनिक कविले जस्तो कविता लेखेर सुनाउँदैन तर उसले आफ्ना काव्यात्मक शक्तिको प्रयोग विभिन्न मौखिक साहित्य वा मुन्धुममा गरेकै हुन्छ । यही शक्तिले मानव सृष्टिकालदेखिका कविता फेदाङ्बा साम्बाले आजसम्म ल्याएका छन् । आधुनिक कविहरु वर्तमानमै हराएका छन् तिनीहरु सृष्टिकालको चिन्ता गरेर पोखिन भ्याएकै छैनन् । विश्वास गरौं, बिना कवित्व सफल फेदाङ्मा वा धामी बन्न सकिदैन । यो कुरा विभिन्न अध्ययन अनुसन्धानले पनि पुष्टि गरेको छ । आधुनिक कविले त्यही शक्तिको नक्कल गरेका हुन्छन् आधुनिक स्वरुपमा । फेदाङ्माले जसरी एक विरामीलाई दुःखबिमार शान्त पार्दछ त्यसरी नै एक कविले आधुनिक पाठकको पनि मन शान्त पारिदिन्छ । यहाँ यिनीहरुको स्वरुप मात्र फरक छ । फेदाङ्मा वा धामीसित तुलना गरियो तथा कविलाई अवमूल्यन गरियो भन्नेलाई म के भन्न चाहन्छु भने– भाषागत दक्षता, काव्यिक चेतना, भावनात्मक यात्रा, आत्मिक प्रवाह र परम्परागत ज्ञानमा फेदाङमा वा धामी जति अगाडि छन् त्यसको सामू आजका कवि बच्चै छन् । त्यसैले कविको अवमूल्यन भएको छैन ।

यसैले मैले वानिरा गिरीलाई कवि मात्र हैन फेदाङ्माका रुपमा सम्मान गरेको छु । किनभने उहाँले किरात लिम्बू धर्म र संस्कृतिप्रति कति गहिरो लगाव राख्नु भएको छ । कविताको गहन सन्देशले मलाई साँच्चै आनन्द दियो । उहाँले प्रस्तुत गर्नु भएका बिम्बहरु पारोहाङ वा शिवको बारेमा मेरो पनि अध्ययन जारी छ । बिगत एकवर्षदेखि म लेप्मुहाङको विषयमा वैज्ञानिक तथा सामाजिक अध्ययन गर्दैछु । तथ्यलाई वैज्ञानिक र धार्मीक तथ्यहरुसित तुलना गर्दैछु । संक्षेपमा, हिन्दू धर्मग्रन्थ मत्स्यपुराणमा वर्णित जलप्रलयका नायक भगवान विष्णुका समकालीन हुन्– लेप्मुहाङ । जसरी भगवान विष्णुले मनु र आर्यवंशको रक्षा गरे उसरी नै लेप्मुहाङले पनि लिम्बू जातिलाई बचाएका थिए । यसलाई विज्ञानसम्मत तथा तुलनायोग्य बनाउने प्रयास विगत एकवर्षदेखि गर्दैछु । संभवतः अब चाँडै एक जर्नलमा प्रकाशित पनि हुँदैछ । म यसबारे अहिले यत्ति नै भन्न चाहन्छु ।

अन्त्यमा, भगवान विष्णुको अवतारवाद तथा हिन्दू जीवन दर्शनले मानवलाई जसरी मार्गदर्शन दिएको छ, लेप्मुहाङका परोपकारी भावना, कृषिक्रान्ति, सदाचारमा लाग्ने मार्गदर्शन किरात लिम्बू लगायत समस्त मानवजातिमा पुगेको छ । यही कुरा वानिरा गिरीको कवितामा जीवन दर्शनको महत्वपूर्ण पक्ष भएर उजागर गरिएको छ– हामीले जीवनलाई टुक्रा टुक्रामा हेर्यौं भने केही अर्थ रहँदैन समग्ररुपमा जोडेर हेरेमा मात्र समष्टिगत पोष्टरमय चित्र बन्दछ । जब हामी टुक्रिन्छौं तब हामीले हाम्रो समष्टिगत जीवनको अर्थ भुल्दछौं । मानिसबीचको वैमनस्यता भन्दा एकताको अर्थबोध गर्न एउटा सिङ्गो पोष्टरले सन्देश दिएको छ । कविले जुन सन्देश दिनु भएको छ त्यो अमृतवाणी पक्कै पनि देववाणीतुल्य छ । देववाणी टपक्क टिपेर कवितामा पस्कने सफल कवि जोसित मैले सम्मान गर्ने एक फेदाङ्मा वा यूमाको शक्ति पनि पक्कै छ, सेवारो ।

Comments are closed.