‘म किन लेख्छु !’

‘म किन लेख्छु !’

(कृति परिचय तथा समीक्षा)
डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
यो प्रश्न पुस्तकका लेखक डा. तुलसी भट्टराईको हो । यो प्रश्न मेरो पनि हो । अनि यो प्रश्न समस्त लेखकहरुको हो । त्यत्ति मात्र हैन यो जिज्ञाशा पाठकको समेत हो । नपत्याए फेसबुकका वालहरुमा पोतिएका अक्षरहरु हेरौं ! लेख्नमा को भन्दा को कम छ र । अलि जान्नेले लामो पाराले लेख्छन्, सिकारुले अलि छोटो लेख्छन् । लेख्न नसक्नेले फोटो खिचेर तस्बिर फेसबुकवालमा राखेकै छन् । यिनीहरु अभिव्यक्तिकै स्परुपहरु हुन् ।
आज म लेखक डा. तुलसी भट्टराईको निबन्धसङ्ग्रह ‘म किन लेख्छु !’ भित्रका केही रचनाहरुबाट प्रभावित भएर हामी सबै पाठकलाई चासो र काम लाग्ने केही गुदी कोट्याएर यो छोटो समीक्षात्मक लेखमा राख्तैछु । हुन त पुस्तक अम्बाजस्तै क्वाप्पै खाए पनि हुने गरी स्वादिलो छ । ती सबै परिकार पस्कन म सक्दिन होला । त्यसैले ओखर फुटाएर मसित जेभएको मनभित्रको कनकुर्नीले गुदी कोट्याएझैं गर्दैछु । भनिहालें नि, यो कृतिलाई भान्सामा तुलना गर्दा सिंगै परिवारलाई पुग्ने भडुमा पाकेको तातो भातजस्तो छ । म भान्सेजस्तो पुन्युले पस्कने अवस्थामा नभएर फलैंचाको डिलमा बसेर यसो ओखरदाना फुटाएर गुदी आफू पनि खाने र छेऊछाऊमा आउनेलाई पनि बाँड्ने रुपमा मात्र प्रकट भएको हुँ ।

(ख) कृतिकार परिचय
कृतिकार डा. तुलसी भट्टराई नेपाली साहित्य जगतमा स्थापित नाम हो । तापनि सबैको माझ पुर्याउन तथा परिचितमाझ मनताजा पार्ने हेतुले कृतिको आवरणमा उल्लेखित विवरण यहाँ राख्तैछु । उहाँको जन्म २००६ साल पौषमा ओसे गाउँ ताप्लेजुङमा भएको हो । हाल उहाँको आगत ठेगाना दमक– १ झापा रहेको छ । वि.स. २०५८ सालसम्ममा उहाँका प्रकाशित कृतिहरुमा ‘रित्तो घर’ कथासङ्ग्रह, ‘म जन्मिएकै दिन’ (कवितासङ्ग्रह), ‘जीवन यस्तै हो’ (उपन्यास), ‘म पनि त मान्छे’ (उपन्यास) भएको पुस्तकको आवरणमा उल्लेखित छ । उहाँका अन्य कैंयौ कृतिहरु त्यसपछि प्रकाशित भैसकेका छन् ।

(ग) कृति ‘म किन लेख्छु !’ परिचय
यो कृति डा. तुलसी भट्टराईको आत्मपरक निबन्ध–सङ्ग्रह हो । श्री सर्वदा वाङमय प्रतिष्ठान काठमाडौंले वि.स. २०५८ सालमा प्रकाशित गरेको प्रस्तुत निवन्ध–सङ्ग्रहको आवरण विजय थापाले गरेका छन् । पुस्तकको परिचय खण्डमा १० पृष्ठ र निबन्धखण्डमा १२६ पृष्ठ गरी जम्मा १३६ पृष्ठको यो कृति हो । जसको मूल्य रु ८०/– मात्र राखिएको छ । भूमिका खण्डमा कृतिकारले भूमिका राख्न अस्वीकार गरेका छन् । तर लेखकले आफ्ना भनाईलाई भूमिका नभनिकनै भूमिकाभन्दा गतिलो कुरा पस्केका छन् । हुन त अन्य कसैलाई भूमिका लेखाएर राख्न पनि सकिन्थ्यो । सरसर्ति हेर्दा लेखक स्वमय् दृढता, आत्मविश्वासका साथ निबन्धसङ्ग्रह लिएर पाठकसामू उपस्थित भएका छन् ।

सङ्ग्रहभित्र जम्मा २२ वटा निबन्धहरु संग्रहित छन् । पुस्तकभित्र निबन्धहरु क्रमसः म किन लेख्छु (पृष्ठ न. १), म र परिवार (पृष्ठ न. ४), हुलाकी वार्ता (पृष्ठ न. ९), संस्कृति : समाज–राष्ट्रको संस्था (पृष्ठ न. १५), साहित्यिक पत्रकारिताबारे (पृष्ठ न. २२), आँखा ः जीवन हो (पृष्ठ न. २९), महामायाको भ्रमजाल हो – संसार (पृष्ठ न. ३३), ‘बनिता’ बारे घोत्लिँदा (पृष्ठ न. ३९), ‘घुयेँत्रो’ भएको छ – आजको मान्छे (पृष्ठ न. ४७), ‘प्रतिभा’ वरदान हो (पृष्ठ न. ५४), दैनिक व्यवहारमा ‘मर्यादा’ (पृष्ठ न. ५८), ‘मनोभाव’ केलाउने प्रयत्न (पृष्ठ न. ६३), ‘पहार’ को न्यानोमा अल्झिँदा (पृष्ठ न. ६९), ‘कल्याणश्री’ को कल्याण (पृष्ठ न. ७६), ‘कान्तिपुरी’ र साहित्यकार (पृष्ठ न. ७९), ‘ऋचा’ को समाजप्रति दायित्व (पृष्ठ न. ८४), खिमानन्दको ‘लालीगुराँस’ (पृष्ठ न. ९०), ‘देउराली’ लाई पाती (पृष्ठ न. ९६), वर्तमानका पीडा भुल्ने माध्यम – अतीत (पृष्ठ न. १०१), ‘पुष्पाञ्जली’ ज्ञान र साधना (पृष्ठ न. ११०), ‘अरुणोदय’ प्रत्येक कार्यको आरम्भ (पृष्ठ न. ११५), एक्काइसौं शताब्दीको साहित्य (पृष्ठ न. १२०) संग्रहित छन् । निबन्धहरु तीनदेखि नौपृष्ठ लामा छन् ।

(घ) निबन्धसङ्ग्रह नियाल्दा
मलाई पुस्तकको शिर्षकले नै तान्यो, त्यसैले यही शिर्षकको पहिलो निबन्धमा मैले पहिले आँखा दौडाएँ । निबन्ध पढ्दै जाँदा मलाई लेखकसित बातचित गरेको आत्मीयताको अनुभूति भयो, एकैचोटीमा पढेर सिध्याएँ । पढेर मलाई हलुङ्गो महसूस भयो । मैले पाठकलाई पनि सम्झिएँ, केही कुरा त बाँड्नु जाती नै हुन्छ भनेर । त्यसपछि म सङ्ग्रहभित्र क्रमसः प्रवेश गरें ।
संङ्ग्रहभित्रका जम्मा २२ निवन्धहरुमध्ये पहिलो निबन्ध ‘म किन लेख्छु !’ निबन्धले बाँकी सबै २१ निबन्धहरुलाई फनफनी बाँधेको रहेछ । अर्थात् यो पहिलो निबन्ध नै मियो बनेर सङ्ग्रहमा उभिएको रहेछ । बाँकी निबन्धहरु यिनकै वरिपरि घुम्दारहेछन् । दोस्रो निबन्ध ‘म र परिवार’ मा वस्तुपरक ढंगले मानव अस्तित्वको मूल्याङ्कन गरिएको छ । बाँकी निबन्धहरुमा विभिन्न पत्रपत्रिकासित अर्थात् सम्पादक वा पत्रकारसित साइनो स्थापित भएका आधारमा निबन्धहरु रचना भएको रचनागर्भ प्रकट भएको छ । माथि निवन्ध शिर्षकमा उल्लेखित आँखा, बनिता, घुयँत्रो, प्रतिभा, मर्यादा, मनोभाव, पहार, कल्याणश्री, कान्तिपुरी, ऋचा, लालीगुराँस, देउराली, पुष्पाञ्जली, अरुणोदय आदि सबै पत्रिका वा स्मारिकाका नाम हुन् । लेखकले तिनी पत्रिका वा स्मारिकाका लागि सम्पादकको अनुरोधमा तयार पारेका लेख र वार्तासङग्रहले यो कृति तयार भएको छ । यसमा कुन रचना कुन पत्रिका वा स्मारिकाको लागि लेख वा अन्तर्वार्ता हो त्यो निबन्धमै खुलेका छन् । यसैले रचनाको सन्दर्भ र महत्व बुझ्न पाठकलाई सहज भएको छ ।
विषयवस्तुको अतिरिक्त निबन्धहरुको समष्टिभाव हेर्दा लेखकले कसरी सामग्री रचना गर्ने गर्छन्, सम्पादकले कसरी प्रकाशित गर्ने गर्दछन् भन्ने कुरो गहिराईमै प्रकाश पारिएको छ । एउटा रचना तयार पार्न लेखकलाई जत्ति हम्मे पर्छ, त्योभन्दा बढी बोझ सम्पादक वा प्रकाशकको हुँदोरहेछ भनेर स्वयम् लेखकले महसूस गरेका छन् । यसैले म किन लेख्छु भन्ने प्रश्नको जवाफ पहिलो निबन्धले नै दिएको र बाकी प्रायः सबैले मैलै यसरी यस विषयमा निबन्ध वा मनोभाव वा विचार पोखें है भनेर रचनाहरु सतत रुपमा प्रकट भएका छन् ।

किन लेख्नु पर्यो ? प्रश्नको जवाफ लेखक निबन्धमा आफैभित्र खोज्दछन् । अभिव्यक्ति प्रकट गर्ने सशक्त माध्यम हो– भाषण र लेखन । भाषण कथ्य प्रवचन हो भने लेखन लेख्य माध्यय हो । यी दुईको तुलना गर्दा कथ्यभन्दा लेख्य सशक्त र स्थायी हुन्छ । एउटा लोकोक्ति नै पनि छ– लिखितम्का अघि बखितम्को केही लाग्दैन । यसैले पनि निबन्धकार भाषणभन्दा लेखनलाई प्राथमिकता दिएर यसमा लागेको सङ्केत दिन्छन् ।
निबन्धकार अलि भावुक भएर भन्छन्– लेख्नु भनेको आफूलाई चित्रित गर्नु र आफूलाई बाँड्नु पनि हो । यो शक्तिले उनलाई पनि आकर्षित गरेको पाइन्छ । निबन्धकार लेखनको शक्तिलाई उच्च मूल्याङ्कन गर्दै भन्छन् – यो अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो, जसले मुलुकमा मात्र होइन विश्वमा युगान्तकारी परिवर्तन ल्याउन सक्ने शक्ति लेखनमा रहेको हुन्छ । यसैले उनी लेख्न चाहन्छन् ।

लेखनकै क्रममा लेखक बाल्यकालतिर फर्कन्छन् । चारवर्षको उमेरमा धुलौटे पाटीमा लेख्न थालेदेखि अहिलेसम्म लेखेको लेख्यै छु, उनी भन्छन् । दिनमा सरदर दशपाना लेख्ने गरेको बताउने लेखक कहिले आफैले लेखेका कुरामा भने ठिकै लेखे कि लेखिन भनेर आफैलाई शङ्का पनि गर्छन् । बा कतै माथि आफूले मानेका मूल्य र मान्यता अनुरुप भएनन् कि भनेर चिन्ता पनि प्रकट गर्छन् । आफू किन लेखिरहेछु भन्ने सवालको जवाफमा आफू सचेत र सचेष्ट रहेको बताउँछन् । कसैको आग्रहमा लेखिने रचनाले कसैको आकांक्षाको सन्तृप्तिको चाह पनि बोकेको हुन्छ । मूल्य र मान्यता विपरित कतैबाट लेखकलाई आग्रह हुनु एक स्वतन्त्र लेखकको चाहना विपरितको अवस्था हो । यस्तो परिस्थितिमा लेखन फलदायी नहुने र यस्ता लेखनले गहिराई नभेट्ने संभावना रहन्छ । निबन्धकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ शिर्षक निबन्धमा सोचाईको एकातिर जुन स्वतन्त्रता र स्वच्छन्दता र अर्कातिर राष्ट्रियता अनि विचारको तीव्रता झल्किन्छ, त्यो केवल समयको माग थियो र उनको अन्तर्मनको आग्रह थियो, न कि कुनै सम्पादक वा प्रकाशकको चाहना ।

आग्रहवश लेखिने रचना स्तरीय हुदैनन् भन्ने पनि होइन । कसैले नकोट्याई लेखकलाई नजुर्ने, नफुर्ने वा नझक्झकाइकन कलम नउठ्ने स्वभाविक मानवीय स्वभावको वशमा लेखक पनि हुन्छ । सबै रचना स्वस्फूर्त भावविभोर भएर भएका छैनन् । आम मानिसले अचेतनमा भोगेका भाव र स्वादलाई कसैले उप्काइदियो भने पनि एउटा प्रतिभाशाली लेखकको लागि त्यो चुनौती अवसरमा परिणत हुन्छ । यसरी पनि सिर्जना गरिन्छ । यही परिदृष्य हामी निबन्धकार भट्टराईको निबन्धसङग्रह पढ्दा देख्न पाउँछौं ।
‘म र परिवार’ शिर्षकको निबन्धमा लेखक ‘म’ शब्दलाई परिभाषित गर्दै ‘म’ भनेको ‘आफू’ वा ‘स्वयम्’ भएको बताउँछन् । ‘म’ हरुको भेलालाई परिवार भनेका छन् । रगत, वीर्य, नाता, घर, वैवाहिक सम्बन्ध आदिबाट परिवार बन्दछ । एउटै लक्ष्य, उद्देश्य र कार्ययोजनाका लागि मानिस संगठित भएर समुदाय बन्दछ । यसैले परिवारको व्यापक अर्थ हुन्छ । दार्शनिकहरुले विश्वलाई नै एउटा परिवार मान्दछन् । लेखक भन्छन्– तर ‘म’ आज ठूलो बन्ने दौडमा लागेको छ । प्रत्येक ‘म’ मपाईको प्रचारमा छ । ‘म’ अरुको मात्र कमजोरी र दोष देख्ने गर्दछ । यस अवस्थामा ‘म’ को दुर्गतिमात्र हैन परिवार पनि विश्रृङ्खलित, विच्छिन्न र अस्तव्यस्त हुँदैछ भनी लेखक चिन्ता प्रकट गर्दछन् । जीवन अखण्ड प्रवाहित नदी हो । जीवनको कुनै निष्कर्ष हुँदैन । यसरी लेखकले प्रस्तुत निबन्धमा जीवन–दर्शनको कुरा उठाएर ‘म’, ‘परिवार’ लाई आदर्श मूल्य र मान्यतामा रहन आग्रह गर्दछन् ।

‘हुलाकी वार्ता’ निबन्ध सिक्किममा प्रकाशित हुने एक पत्रिकाका सम्पादकसित पत्रमार्फत् गरिएको अन्तर्वार्तामा आधारित छ । अन्तर्वार्तामा उनको बाल्यकाल, शिक्षा र साहित्यिक यात्राबारे कुराकानी गरेका छन् । ‘संस्कृति : समाज र राष्ट्रको आत्मा हो’ निर्माण संस्कृति विशेषाङ्क, सिक्किमको लागि लेखिएको लेख हो । यस लेखमा धर्म, संस्कृति, जात, भाषा, कला आदि विषयमा चर्चा गरिएको छ । ‘साहित्यिक पत्रकारिताबारे’ शिर्षकको निबन्धमा लेखकले साहित्यकार तथा ‘मन्जुषा’ पत्रिकाका सम्पादक ज्ञानुवाकरलाई आलेख लेखेर दिने सन्दर्भमा उक्त शिर्षक अनुरुप लेख तयार गरेका छन् । यसमा उनले नेपालका स्थापित साहित्यिक पत्रिकाका नामावली उल्लेख गरेका छन् । सम्पादन कार्य र सम्पादकको कार्यबोझप्रति लेखककोले सहाभुभूतिपूर्वक टिप्पणी गरेका छन् ।

यस्तैगरि, ‘आँखा : जीवन हो’ शिर्षकको लेख उनले बीरगञ्ज केडिया आँखा अस्पतालबाट प्रकाशित स्मारिकाको लागि लेखिएको लेख हो । यस लेखमा आँखा र ज्ञानको बारेमा रागात्मक शैलीमा व्याख्या गरिएको छ । ‘महामाया को भ्रमजाल हो– संसार’ शिर्षकको लेख ‘मायाजाल’ पत्रिकाको लागि लेखिएको लेख हो, जसमा गौतम बुद्धकी माता महामायाको बारेमा चर्चा गरिएको छ । ‘बनिता बारे घोत्लिँदा’ शिर्षकको आलेखमा लेखकले बनिता प्रकाशनको पत्रिकाको सन्दर्भमा लेख लेखेका छन् । बनिता पत्रिकाकी सम्पादक लक्ष्मी उप्रेतिलाई सम्बोधन गरेर नारीवादी पत्रिकाको सन्दर्भमा पूर्वीय दर्शन र चिन्तनको बारेमा लेखकले आफ्ना विचार पोखेका छन् । ‘घुयँत्रो भएको छ – आजको मान्छे’ शिर्षकको आलेख पनि ‘घुयँत्रो’ पत्रिकाकै लागि लेखिएको रचना हो । यहाँ ‘घुयँत्रो’ अर्थात् डोरीको बीचमा ढुङ्गो राखी हातले घुमाएर हान्ने एकप्रकारको शस्त्रविशेषलाई प्रतीक बनाएर आजकालका मानिसको नियतिलाई लक्षित गर्दै प्रक्षेपित विचारलाई चरितार्थ गर्न खोजिएको छ ।

‘प्रतिभा वरदान’ शिर्षकको आलेख ‘वरदान’ पत्रिकामा प्रकाशित निबन्ध हो । उनले यस निबन्धमा प्रतिभा बन्न व्युत्पत्ति, अभ्यास र शक्ति चाहिने र प्रतिभाबिना विवेक सिर्जना नहुने बताउँछन् । ‘मनुष्यको व्यवहारमा मर्यादा’ शिर्षकको लेख ‘मर्यादा’ पत्रिकामा प्रकाशित निबन्ध हो । शास्त्र–परम्परा आदिबाट निर्धारित सीमा–मानव जनजीवनलाई सुब्यवस्थित पार्न विभिन्न शास्त्र, स्मृति, सदाचार आदिका माध्यमबाट एउटा निश्चित सीमा तोकिएको हुन्छ जसलाई मर्यादा भनिएको छ ।

‘मनोभाव केलाउने प्रयत्न’ निबन्ध ‘मनोभाव’ पत्रिकामा प्रकाशित सामग्री हो । लेखकले रवीन्द्रनाथ टैगोरको भनाईजस्तै मानिसले आफ्नै मनका भाव पनि बुझ्न सक्दैनन् भन्ने महान उक्तिलाई सुरुमा राख्दै जुन वस्तुलाई जुन भावले हेर्यो त्यो त्यही रुपमा ग्रहण गरिन्छ भन्ने चाणक्य नीतिलाई पनि लेखनमा उतारेका छन् । ‘पहारको न्यानोमा अल्झिंदा’ शिर्षकको निबन्ध ‘पहार’ पत्रिकामा प्रकाशित रचना हो । यो ‘पहार’ शब्दको चर्चा लेखमा निकै गरिएको छ र यो तातोपना, न्यानोपना बोध गराउने शब्द हो ।
(ङ) विश्लेषण
‘कल्याणश्रीको कल्याण’ शिर्षकको रचना पनि ‘कल्याणश्री’ पत्रिकाकै लागि लेखिएको हो । ‘कल्याण’ शब्दको महत्व जनाउँदै वैदिककालदेखि एउटै अर्थ र भाव बोकेर आएको यो प्राचीन शब्दको पवित्रता र महत्वको बारेमा लेखकले लेखमा वर्णन गरेका छन् । ‘कान्तिपुरी र साहित्यकार’ शिर्षक निबन्धमा काठमाडौं अर्थात् कान्तिपुरी नगरी साहित्यकारहरुको कर्मभूमि भएको कुरा प्रकट भएको छ । यसमा विभिन्न साहित्यकारहरुको संस्मरण गरिन्छ । ‘ऋचाको समाजप्रति दायित्व’ शिर्षक लेख पनि ‘ऋचा’ पत्रिकामा पहिले छापिएको रचना हो । उक्त लेखमा लेखकले ऋचा प्रकाशनको माध्यमबाट कुनै वर्ग, जाति, सम्प्रदाय, उँच–नीच भेद जस्ता एकपक्षीय विचारको विरोध गरियोस् तथा अन्याय, अत्याचार, शोषण, कुरीति, अन्धविश्वास, एवं असमानता विरुद्ध वैचारिक क्रान्ति फैलाइयोस् भन्ने स्पष्ट आग्रह राखेका छन्, जुन स्वागतयोग्य छ ।

‘खिमानन्दको लालीगुराँस’ शिर्षकको लेख ‘लालीगुराँस’ मा प्रकाशित रचना हो । यसमा लेखकले लालीगुराँस पत्रिकाका सम्पादक खिमानन्द शारीरिक रुपमा कमजोर भए पनि मनका हिसाबले उनी उत्साही र जाँगरिला युवक हुन् भनेर सम्पादकलाई हौसला प्रदान गर्दछन् । खिमानन्द एक कवि, लेखक पनि भएको लेखबाट थाहा हुन्छ । ‘देउरालीलाई पाती’ शिर्षकको लेख पनि ‘देउराली’ पत्रिकामा प्रकाशनार्थ रचना गरिएको निबन्ध हो । जनकपुर चुरोट कारखानाको पत्रिका हो ‘देउराली’ । जनकपुरधाममा रहेको नेपालको अग्रणी उद्योगमध्येको जचुकाको स्मारिकाको लागि लेखिएको उक्त लेख रोचक छ । वि.स. २०२१ साल पौष २९ गते स्थापित यो कारखाना जम्मा २४ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । एउटा रमाइलो पक्ष उनले लेखमा के भनको छन् भने त्यो औद्योगिक क्षेत्रभित्र राई, लिम्बू, थारु, दनुवार, तामाङ, शेर्पा, भाषादेखि लिएर नेवारी, मैथिली, अबधी, भोजपुरी, उर्दू आदि भाषाहरु समेत बोलिंन्छन् । नेपालका सबै भूभागबाट कामको खोजीमा आएका मजदूरहरुलाई रोजगारी दिने उक्त उद्योग हाल बन्द भएको छ । प्रजातन्त्र वा लोकतन्त्रले सरकारी उद्योगहरु निजीकरण गर्ने क्रममा देशको औद्योगिक क्रान्ति भन्ने नारा केवल नारामा सीमित भएको आलो घाउलाई यो लेखले कोट्याउँछ ।

‘वर्तमानमा पीडा भुल्ने माध्यम – अतीत’ शिर्षकको लेख अतीतमुखी भएर उभिएको छ । नोष्टालजियाको स्वाद प्रस्तुत निबन्धले दिन्छ । बर्तमानभन्दा अतीत राम्रो भन्ने लेखकको निष्कर्ष छ । मेरो विचारमा लेखकले अतीत वा इतिहासको गर्व गर्नु राम्रो हो तर अतीतका सबैकुरा सम्झेर भावुक हुन ठिकै भए पनि सबै अतीत स्वीकार्य थिएनन् जस्तै सतीप्रथा, एकतन्त्रीय शासन आदि । ‘पुष्पाञ्जली : ज्ञान र साधना’ शिर्षकको रचना ‘पुष्पाञ्जली’ को लागि लेखिएको निबन्ध हो । यसमा ‘पुष्प’ र ‘अञ्जुली’ को अर्थ निरुपण गरिएको छ । फूल र देवीदेवताको आराधनाको चर्चा प्रस्तुत लेखमा गरिएकाृ छ । ‘अरुणोदय प्रत्येक कार्यको आरम्भ’ शिर्षकको लेख ‘अरुणोदय’ पत्रिकामा प्रकाशित लेख हो । उनले लेखमा नेपाल र नेपालीको अवस्था अरुणोदयकालमा रहेको र ‘छाना’, ‘नाना’ र ‘खाना’ को खोजी भइरहेको जनाएका छन् । यसरी जुन पत्रिका वा सन्दर्भमा लेख, रचना मागिएको हो, त्यही शब्दबाट सामग्री व्युत्पत्ति गरी सार्थक शिर्षक र लेख लेख्न लेखक खप्पिस छन् ।

सङ्ग्रहभित्र अन्तिम लेख छ– ‘एक्काइसौं सताब्दीको साहित्य’ । यहाँ आएर भने लेखक समयको प्रवाह देखेर टोल्हाएको प्रतीत हुन्छ । उनी लेख्छन् – साहित्यले समाज र राष्ट्र दुवैलाई प्राणवान बनाउने शक्ति बोकेको हुन्छ । यो सही कुरा हो । उनी अघि भन्छन्–साहित्य राजनीति जस्तो क्षणिक र परिवर्तनीय हुँदैन । उनको यो भनाईले अलिकति संशय पैदा गरेको छ । उनी अर्को अनुच्छेदमा लेख्छन्– ‘मूल्य र मान्यता कहिल्यै प्राचीन र नवीन हुँदैन । यो हटाइने, नासिने र अल्पिने चीज होइन भन्ने बुझेका– थाहा पाएका व्यक्तिहरु–लेखकहरु पनि बेलाबखत आफ्नो पीठ टक्टक्याउने गर्छन् ।’ लेखकको यो भनाईलाई चिन्तन गर्न सकिन्छ तर पूर्णरुपमा स्वीकार गर्न सकिने अवस्था छैन । या त यसमा व्याख्या पुगेको छैन । किनभने साहित्य परिवर्तनशील छ, साहित्यमा देखिने विभिन्न दर्शन र सिद्धान्तले यही भन्छ । अर्को कुरा सामाजिक मूल्य र मान्यता सबै स्थीर हुनुपर्छ भन्ने छैनन् । जस्तै प्राचीन मूल्य मान्यता अनुसार बाबुआमा, गुरुको आदर गर भन्ने मूल्य र मान्यता सर्वथा स्वीकार्य छ । तर कतिपय मूल्य मान्यता जस्तै हिन्दू शास्त्र र संस्कृतिमा नारीलाई जुन स्थानमा हिजो राखिएको थियो, त्यो मूल्य र मान्यता मान्न आजको एक्काइसौं सताब्दी सन्दर्भमा मान्न कोही तयार छैनन् । समयको कालखण्डमा सतीप्रथा जसरी दन्त्यकथा जस्तो सुनिन लाग्यो, यो मूल्य र मान्यतामा आएको परिवर्तनको परिणाम हो ।

(च) उपसंहार
निबन्धकार डा. तुलसी भट्टराईद्वारा लिखित ‘म किन लेख्छु !’ सङ्ग्रहभित्रका निबन्धमा प्रकट लेखकका विचारहरु अत्यन्त गुणग्राही र जीवनोपयोगी छन् । निबन्धका भाषा र शैली सरल र आकर्षक छन् । यसमा प्रकट भएका विचारभावले हाम्रा ज्ञानका आँखा खोल्दछन् । हिड्नलाई बाटो देखाउँछन् । लेखकले व्यस्त जीवनमा पनि जीवनका विविध पक्षलाई संवेदनशील ढंगले जुन अवलोकन, मन्थन र निरुपण गर्दै अमृतवाणी बाँडेका छन्, यसले पुस्तकको शिर्षक ‘म किन लेख्छु !’ को सार्थक जवाफ प्रस्तुत गरेको छ । पाश्चात्य दृष्टिकोणले हेर्दा स्वच्छन्दवादी शैलीमा यथार्थवादी चित्रण र यदाकदा अस्तित्वादी सोंच पनि प्रस्तुत कृतिमा झल्किन्छ । जेहोस्, कृतिले एक अब्बल सामाजिक निबन्धकारको रुपमा लेखकलाई स्थापित गरिदिएको छ ।

सन्दर्भ ग्रन्थः
डा. तुलसी भट्टराई, म किन लेख्छु, काठमाडौं : सर्वदा वाङ्मय प्रतिष्ठान, २०५८ ।

Comments are closed.