समुन्द्रको आइसबर्ग अनि मुण्टो अर्थात् कविता (बैरागी काइँला)

समुन्द्रको आइसबर्ग अनि मुण्टो अर्थात् कविता (बैरागी काइँला)

HTML clipboard

समुन्द्रको आइसबर्ग अनि मुण्टो अर्थात् कविता

बैरागी काइँला

निकै वर्षअगाडी होला आठदश वर्षभो कि ! एकचोटी निकै ठूलो तामझामसँग विक्रम सुब्बाले आफ्नो कविताको विमोचन गराए होटल हिमालयमा । उनको कविता संग्रह पढेपछि एउटा अर्कै खालको टोन फक्कैले भन्ने एउटा शैली देखेपछि मैले आफ्नो भनाई राख्दा भनेँ- अब नेपाली साहित्यमा नेपाली भाषालाई माध्यम बनाएर लेख्ने गैरनेपाली मातृभाषीहरूको कविता बुझ्न, पढ्नको लागि एउटा नयाँ किसिमको समालोचना पद्धतिको विकास गर्न आवश्यक भयो होला । त्यो चाहिँ एउटा इथ्नोक्रिटिसिज्म भन्दा पनि हुन्छ कि भनेर मैले भनेकोमा पछि एउटा प्रसिद्ध समालोचकले भन्नु भयो- कुरा चाहिँ ठिक छ तर अलि विखण्डन-विखण्डन जस्तो कुरा आउँछ भन्नुभो । तर हाम्रो मुलुकमा राजनीतिक तवरले अहिले सबैको कुरा गर्नुपर्छ भन्ने दिनहरू आयो । राजनीतिक तवरले यो बहुलता श्वीकार गरियो, नसकेको एउटै हो साँस्कृतिक तवरले हामीले यसलाई स्वीकार गरिहाल्न सकेका छैनौं । र यसको प्रतिध्वनि अहिले राजनीतिक नेतृत्व तहमा पनि कताकता घन्किरहेको हामी देख्छौं ।

त्यसो त हामीले १२/१५ वर्षअघिका कुरा गर्‍यौं भने नेपाली कवितामा लेवनान दुख्थ्यो, भियतनाम दुख्थ्यो, प्यालेष्टाइन दुख्थ्यो, इजरायल दुख्थ्यो, तर नेपालको कुनै भाग दुखेको थिएन । २०४६ सालको जनआन्दोलनले ल्याएको एउटा सहभागितातिरको उन्मुखता भएको एउटा राजनीतिक परिपाटीले चाहिँ सबैले आफ्नो वरिपरि हेर्न  थाले । उनीहरूले रुकुम देखे, रोल्पा देखे, अग्रतलवको चन्द्रौटादेखि बारा पर्सा सबैतिर देख्न थालियो । पूर्वको लिम्वूवान, पश्चिमको मगरात, हिमाल, तराइ प्रदेश सबै देखिसके पछि, हाम्रो दृष्टि मलाई लाग्छ, त्यसले विखण्डित भएको छैन बरु फाँटिलो भयो, फाँटिलो दृष्टिले देखिएको हो । देखिएका कुराहरू बाहेक पारिएका हुँदैनन् सबै हाम्रै हुन् भनेर हेरिएको हुन्छ । र मुलुकमा आएको राजनैतिक परिवर्तनसँगै विश्वमा आएको जो विविधखाले परिवर्तनहरू छ त्यसको असर नजानिकन पनि नपढिकन पनि हाम्रो जीउमा पर्नु स्वभाविकै हो ।

हाम्रो मानिसहरूले अक्षर जान्या छैन, पढ्न जान्या छैन, चिन्तन जान्या छैन, खायो फ्याँक्यो । चलायो फ्याँक्यो । यो उपभोक्ताको सँस्कृतिसँग त अभ्यस्त भइसकियो । यूज एण्ड थ्रो, अ फास्ट फूड, सप्पै अभ्यस्त भइसकियो । अव त त्यत्ति सिरियसनेस पनि सबै कुरामा देखिदैंन । आ चलेगा टाइपको फिल एण्ड फर्गेट यस्ता किसिमका कता कता आइसकेको छ र यसको प्रतिध्वनि साहित्यमा पर्नु स्वभाविकै हो । परे होला तर सवैभन्दा बढी परेका चाहिँ अघि पनि सुरुमा कुरा आयो वास्ता नगरिएका, हिजोआज हाम्रा समालोचकहरू भन्नुहुन्छ, जस्तै डा.गोविन्दराजजीहरू, एउटा समाजान्तरणको कुरा, मार्जिनलाइज्डहरूका कुरा, यो आउनु पर्ने हो । यो विषयले प्रवेश पाउनु पर्ने हो नेपाली साहित्यको मूलधार र मूलधारलाई हाँक्ने स्रष्टाहरूमा ।

केही अगाडी निकै वर्षअगाडी मलाई त्यसै गफसफमा सोधे, म त साहित्यिक सिद्धान्तकार पनि होइन, अवको हाम्रो साहित्यिक मनोवृत्ति कता छ त ? कता ढल्कियो ? के हो त हाम्रो नयाटेन्डेन्सी ?  के हो त भोली चर्चा हुने कुरा ?  भोलि चर्चा हुने कुरा मैले देखेको दुइतीन ओटा कुराहरू । दलितहरू, जो पददलित छन्, आदिवासी जनजातिका विषयहरू छन्, आधा आकाश ढाक्ने महिलाको विषयहरू छन् । यी कुराहरूको अव साहित्यमा चर्चा हुन्छ । अरू लेखिन्छन्, राम्रो होला तर चर्चाको शिखरमा आउँदैन किनभने सोझो अहिलेको सरोकारसँग ती कुराहरूले मेल नखालान् । यी कुराहरू त्यसै मनमा आयो तर के हो भने हामीले सुनिराखेको कुरा चाहिँ के हो भने विश्व अव एउटा भयो । भयो होला । मल्टिनेशनल अव सबैतिर आयो, भयो होला । भूगोल नजितिकनै पनि वुद्धि र विवेकमा आक्रमण गरेर वुद्धि र विवेकमा वलशालीहरूले हामीलाई अधीनस्त गरे होलान् । हामी ग्लोवलाइज्ड भयौं होला तर साथसाथमा एउटा कुरा हामीले नेपाली समाजको सर्न्दर्भमा नविर्सनु पर्ने कुरा के हो भने, जति बढी हाम्रो समाजमा ग्लोवलाइजेशनको कुरा आयो उत्ति नै बढी हाम्रोमा लोकलाइजेशनको पनि कुरा छ । अर्थात् पहिचानको व्यग्रता,आइडेनटिटि पलिटिक्सको कुराहरू छ ।

नेपाली भाषा मातृभाषा नभएका गुरुङ, मगर, राइ, लिम्बू नेवार याक्खा राइ थारू वा अन्य जातिले लेखेको कविता र साहित्यको कुरा हामीले अध्ययन गर्‍यो भने यो पहिचानको व्यग्रता आफूलाई वास्ता नगरिएकोप्रति चिन्ता र आक्रोश, सीमादेखि उतापट्ट िधकेल्न प्रयत्न गरिएकोप्रति प्रतिरोध हामी देख्छौं । शायद नेपाली साहित्यले चर्चा गर्नुपर्ने सबैभन्दा बढी वहस गरिनु पर्ने विषयहरू यिनै हुन् । फरक यत्ति हो यी कुराहरूले एउटा सँयम्मा रहोस्, यी कुराहरूको एउटा अराजकतातिर उन्मुख नहोस् भन्ने कुराहरू हो ।

तर मलाई मजा लागेको चाहिँ के हो भने सुरु देखि नै यस विषयमा र यो धारका लेखकहरूलाइ बाटो देखाउने कुरामा कुरा हुँदा डा. गोविन्दराज भट्टराइसँग मेरो कुरा भा’थ्यो र वहाँले सवैभन्दा वढ्ता चर्चा गरिदिएर एउटा संयमतापूर्वक आफ्ना सारा दुःख, दर्द, प्रतिकार, विरोध आक्रोश व्यक्त गर्ने क्षमता विकास गर्न उनले सघाएका छन् । र मलाइ त लाग्छ, यो पद्वी दिँदा वहाँ रिसाउनु हुन्छ होला, यिनै आदिवासी जनजाति समुदायबाट आउने नेपाली स्रष्टाहरूका गुरु शुक्राचार्य ! अनार्यका गुरु हुन् उनी ।

वास्तवमा, एउटा पीडा छ हाम्रो मुलुकमा, यो पीडालाई जवसम्म हामी नेपाली साहित्यको विषयवस्तु मान्दैनौं, नेपाली साहित्यले पूर्ण रूपमा नेपाली समाजलाई प्रतिविम्व गर्न सक्तैन भन्ने कुरा हामीले बुझ्नुपर्छ । र जुन साहित्यले नेपाली साहित्यलाई समग्रमा प्रतिविम्व गर्न सक्तैन, सहि अर्थमा नेपाली साहित्य हो भनि हाल्नुपर्ने अवस्था आउँदैन । त्यसकारण हाल आएर धेरै कविहरूले लेखिराखेका छन् धेरै राम्रा अन्य कविता आफ्ना भाव पीडा वेदना र समसामयिक विषयमा चाहिँ एउटा, यो हामी भन्छौ नि, एउटा रेस्पन्स गर्ने प्रतिक्रिया जनाउने, अभिव्यक्तिका साथ आनो गाउँm आफ्नो पाखा, आफ्नो खोल्सा, आफ्नो गाउँmको नाम समेतलाई समेट्दै यी पददलित यी बाहेक पारिएका जात जातिका विषयमा कलम चलाउनुभो नवराज सुब्बाले पनि । राम्रा कुरा उहाँका कविताको अघि डा.बेञ्जु शर्मा, डा. गोविन्दराज भट्टराइले बोलिसक्नुभो । र उहाँले भूमिकामा अझ राम्रा कुरा लेखिदिनु भा’छ ।

मलाई त एउटा खुशी के लागेको छ भने, स्वभावैले वडो लज्जालु जस्तो लाग्यो वहाँ नवराजजीलाई उग्र कुरा गर्न नसक्ने नै होला उहाँले । झ्वाँक्किएर लेख्न नसक्ने नै होला उहाँले । तर विस्तारै भनिएका कुरा पनि त्यो भित्र कुरोको चुरो छ भने मनमा लाग्दा निक्कै तोडले लाग्दछ । र उहाँको शैली बडो सरल छ । सबै सरल कुरा नराम्रा हुँदैनन् र सबै सरल कुरा हल्का हुदैनन् । सबै जटिल कुरा वा जटिल संरचनामा लेखिएका कविताहरू राम्रा हुँदैनन् । बुझ्नु पर्ने कति रैछ भने सरलतापूर्वक लेख्न गाह्रो हुँदो रैछ । तपाईहरू भाषाशास्त्र सिकाउने प्राध्यापकहरू यहाँ हुनुहुन्छ । तपाईहरू आफै पनि, विद्यार्थीको त कुरै छोडौं, दशओटा वाक्य खुरुखुरु सिम्पल सेन्टेन्स लेख्नुपर्‍यो भने पसिना आउला, तीनघण्टा लाग्ला तर मुख्य कुरा मैले आफूले कविता लेख्ताखेरिको अनुभव देखेको, मान्छेले जतिसुकै जटिल वाक्यको संयोजनमा लेखे पनि व्यक्त गर्छु भनेको कुरामा स्रष्टा प्रष्ट छ भने शव्दहरू त डिक्सनरीबाट पल्टाएर हेर्दा त्यो सवैकुरा सरल हुन्छ । त्यस्तै सरलतामा पुग्नु भनेको विचारमा परिपक्वताले पुगिने कुरा हो । मनमा इमान्दारी छ निष्ठा छ भने भनिने कुरा सरल भनिने कुरालाई बोक्ने भाषाको माध्यम पनि सरल हुने नै भो ।

यसो भनेर म आफ्नो कुराको अन्तमा यो कितावमा कतै प्राध्यापक बालकृष्ण पोखरेलको सानो भनाइ पनि छ एउटा मार्मिक कुरा, निकै म्याचुर्ड भएर लेखे पछि लेखिएका कुराहरू धेरै सरलतापूर्वक भनिँदा पनि गम्भीर हुन्छन् भनेर उहाँले लेख्नुभो । वास्तवमा १२/१४ वर्षीय एउटी किशोरीले वच्चालाई जन्म दिइन् र अर्की २०/२२ का युवतिले जन्म दिइन भने जन्म पाउने शिशुको स्वास्थ्य निश्चय नै पछिल्लो युवतिको गर्भबाट जन्म पाउने शिशु बलियो र सर्भाइभ गर्ने खालको हुन्छ । त्यस्तै हो, मेरो अनुभव, मैले त केटाकेटीमा होहोरीमा लेखें, अहिले कतिवटा कृति त मैले लेखेको हैन भन्छु म अरूलाई, अहँ यो होला भनेर टारिदिन्छु । तर परिपक्वतासँगै व्यक्त गरिएका प्रयोग गरिएका भाषाहरू त्यसमा मेरै हो भनेर छाती फुकाएर सवैको अगाडी भन्दाखेरि पनि गर्वै लाग्ने भाषा प्रयोग गरेका हुन्छौं । र उहाँले खै मैले थाहा नपाएर होला हाल मात्रै लेख्तै गरेको देख्दैछु ५/६ वर्षअगाडी उहाँको एउटा कितावमा भूमिका मैले लेखें, यसपछाडी मात्रै उहाँको यो लेखनीको बाढ चलेको त भन्दिन तर सिर्जना र प्रकाशन दुवै क्षेत्रमा उहाँले अत्यधिक योगदान गरिरहनुभा’छ ।

यसो हेर्दा स्रष्टाहरूमा नवराज सुब्बा त एकजना एउटा आइसबर्ग थिए कि क्या हो ! जस्तो, अलिअलि मात्र मुण्टो देखिने ! मान्छे त कत्ति गहिरो रै’छ रै’छ समुन्द्रभित्र । यसो हुनाले मलाई के विश्वास छ भने उहाँको स्वभाव जति सरल छ भाषा त्यत्ति नै सरल छ, शायद जीवन जिउने शैली पनि उत्तिकै सामान्य र सहज होला । र यी कुराहरू सहितले व्यक्त हुन सकेको भाषामा काव्यात्मक अनुभूति निश्चय पनि नेपाली साहित्यको लागि अमूल्य निधि हुनेछ । र नेपाली साहित्यमा उहाँको यो योगदान जारी रहोस् मेरो पनि यही शुभकामना ।

(प्रस्तुत लेख वरिष्ठ कवि वैरागी काइँलाले कविता विमोचन समारोहमा दिनु भएको प्रमुख अतिथीय वक्तव्य हो जसलाई यहाँ लिपिवद्ध गरि प्रस्तुत गरिएको छ । काठमाडौंमा हालै सम्पन्न कवि नवराज सुब्बाको ‘वीच बाटोमा ब्यूँझेर’ कवितासङग्रहको विमोचन समारोह, जसमा डा. गोविन्दराज भट्टर्राई, तुलसी भट्टर्राई, डा.बेञ्जु शर्मा र कुमार कोइरालले विचारहरू व्यक्त गर्नुभयो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *