‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (भूमिका)

डा. नवराज सुब्बा ।

मभित्र जब चेतना आयो, त्यसपछि मनमा खुलदुली चल्न थाले । म कहाँबाट आएँ होला ? यो रुख, ढुङ्गा कसले बनायो होला ? यो खोल्सा, खोला, नदी, कहाँ पुग्छ होला ? धाराबाट बग्ने पानी निरन्तर कसरी उम्रिरहन्छ ? यी डाँडाकाँडा, हिमाल, खोला, नदी, संसार, पृथ्वी, जून, तारा ब्रह्माण्ड कसले रचना किन गर्यो होला ? ती मेरा बालसुलभ जिज्ञासालाई अभिभावक, गुरू, शास्त्रले मात्र शान्त पार्न सकेनन् । सामाजिक वर्ग, भेदभाव, छुवाछूत, जातपात, राजनीति, संस्कृति, धर्म मानव उपज वस्तु हुन् भन्ने बुझेपछि थप जिज्ञासा उत्पन्न भए । ती अवस्था कसरी सिर्जना भए, विकास भए होलान् ? यी र यस्ता जिज्ञासाले मन भरिन गयो । हेर्दै, बुझ्दै, पढ्दै मेरा धेरै जिज्ञासा शान्त भए । यद्यपि बाल्यकालका सृष्टिसम्बन्धी जिज्ञासा भने शान्त भएनन् ।

अध्ययनको क्रममा पेशागत विषयमा जनस्वास्थ्य अध्ययन गरेँ । यसले जीवनयापन र सामाजिक सेवालाई टेवा दिए तापनि मनमा गढेका मेरा जीवन र जगतप्रतिका जिज्ञासा भने अनुत्तरित नै रहे । जीवन र जगत व्याख्या गर्ने साहित्यको अध्ययन गरेँ । अध्ययन गर्दै जाँदा साहित्यले सुरुमा जिज्ञासा शान्त पार्न खोज्यो तर थप जिज्ञासा यसले पनि मेट्न सकेन । अर्थात् एक तहको जिज्ञासा मात्र साहित्यले शान्त बनायो । यो छटपटी भुसको आगोजस्तो भित्रभित्रै सल्केको रहेछ । त्यही भएर मैले संस्कृति, मानवशास्त्र, समाजशास्त्र र जनसङ्ख्या, मनोविज्ञान विषयको अध्ययन गरेँ । त्यसबाट मलाई धेरै जिज्ञासाका जवाफ प्राप्त भए । यसले मनमा उठेका जिज्ञासा शान्त पार्ने आधुनिक क्षेत्रको ज्ञान भयो । विज्ञान जगत्मा भएगरेका ज्ञान र सिद्धान्तबारे जानकारी पहुँच सहज भयो ।

किरात मुन्धुम, वेदसम्बन्धी अध्ययन मेरो बाल्यकालदेखिको रुचिको विषय हो । मैले विद्यालय तहदेखि नै मुन्धुम, वेद तथा किरातसम्बन्धी अध्ययन सामग्री सङ्ग्रह गर्दै आएँ । कुनै दिन यसमा म गहिरो अध्ययन गर्नेछु भन्ने अठोट बाल्यकालदेखि थियो । मेरो घरमा पसल पनि थियो । त्यहाँ बिक्रीमा राखिएका पुस्तकमा केही लिम्बू ग्रन्थ पनि देख्दथेँ । ती पुस्तकका प्रति जतनले लुकाएर राखेको रहेछु । आजकल ती सामग्री बजारमा छैनन् । अहिले ती सामग्री मलाई असाध्यै काम लागेका छन् । हाल बजारमा किरात लिम्बूसम्बन्धी अध्ययन सामग्री प्रशस्त पाइन्छन् तर तिनमा राजनीतिक र रणनीतिक दृष्टिकोणले लेखिएका सामग्रीको बाहुल्यता छ ।

एकदिन वंशावली लेख्ने सन्दर्भ आयो । फयङ साँबाको १०-१५ पुस्ता कोरेर त्यसमा मुन्धुम र इतिहासका कुरा अलिकति थपेर मेवाखोला लिङ्थाङ माङ्गेना यकलाई फयङ साँबावंश उत्पत्तिस्थल मुनातेम्बे देखाएर हालसम्मको वंशावलीलाई फयङ साँबाको पूर्ण वंशावली लेख्न मलाई सल्लाह, आग्रह र दबाब आयो । बृहत्तर वंशवृक्ष देखाउँदा विवाद आउन सक्ने चेतावनीसमेत मलाई दिइयो । ज्ञानको भोक मर्न नदिन म दृढसङ्कल्पित थिएँ । त्यसैले म उहाँहरुको अवाञ्छित आग्रह र धारणाबाट प्रभावित नभई अध्ययनले मागेको क्षेत्र तथा मानवशास्त्रीय दृष्टिकोणबाट समष्टिगत र बहुआयामिक अध्ययनमा निरन्तर लागेँ । किनभने यो विषय सहमति गरेर लेख्ने भन्दा पनि विशुद्ध अध्ययन अनुसन्धानको विषय हो भन्नेमा म विश्वास गर्दछु । अध्ययन गर्दा जे जति देखिन्छ त्यो प्रकाशमा ल्याउनु मेरो दायित्व हो । त्यसैले मैले मेरो अध्ययनलाई आवश्यक पर्ने सूचना उपलब्ध गराउन सबैमा आग्रह गरेँ ।

मानवशास्त्रीय अध्ययनले कुनै जातिविशेषलाई नहेरेर समग्र मानवजातिको विकासको अध्ययन र तुलना गर्ने गर्दछ । यही प्रकाशमा जातिविशेषलाई केलाउँदै समग्र मानव इतिहासको विकासको अध्ययन र तुलनासहित स्थानीय ज्ञानलाई जोड्ने काम अध्ययनमा गरिएको छ । यो अध्ययन तुलनात्मक अध्ययन विधिमा आधारित छ । यसले विद्यमान ज्ञान र सिद्धान्तलाई तथ्य, आँकडा र तर्कवितर्कसहित प्रजातिविवरणका ज्ञान र हालको यथार्थसित तुलना र सम्बन्ध गाँस्ने काम गरेको छ । यसमा मानवशास्त्र र अध्ययन विधिका मूल्य, मान्यतालाई शिरोपर गरिएको छ । यतिमात्र नभएर मानवशास्त्रबाहिरका सिद्धान्त र ज्ञानलाई समेत तुलनात्मक अध्ययनमा समावेश गरिएका छन् ।

मानवशास्त्रीय अध्ययन गर्दा तीनवटा आयामहरु छिचोल्नुपर्दछ । पहिलो आयाम हो सांस्कृतिक सापेक्षता (Cultural Relativism) जसमा कुनै समुदायको व्याख्याविश्लेषण, सम्बन्धित जातिको सांस्कृतिक परिप्रेक्ष्य तथा दृष्टिकोणबाट गर्ने गरिन्छ । दोस्रो आयाम सांस्कृतिक जगत् (Cultural Universals) अन्तर्गत अध्ययन गरिने समुदायसित अन्य जातिको समान तत्व, ढाँचा, लक्षण, संस्थाको विकास र व्यवहारको खोज र तुलनात्मक अध्ययन गर्ने गरिन्छ । मानवशास्त्रीय अध्ययनको तेस्रो आयाम हो विश्व नागरिकता (Cosmopolitan) जसले विश्वलाई एक नगर मान्दछ र हरेक समुदायलाई एक नागरिकको हैसियतले हेर्दछ । यही समष्टिगत दृष्टिकोणले कुनै समुदायको विकास र व्यवहारको अध्ययन गर्नुपर्दछ (Rey, 2010) ।

मानवशास्त्रका उपरोक्त सिद्धान्त र मान्यतालाई प्रस्तुत अध्ययनको मेरुदण्ड बनाइएको छ । फयङ साँबाको मुन्धुमलगायत संस्कृतिलाई स्वजातीय दृष्टिकोणले समेत व्याख्याविश्लेषण गरिएको छ । फयङ साँबासित निकटतम रक्तअनन्या स्थापित याक्थुङ, राय, सेनको ऐतिहासिकताको विश्लेषण गरिएको छ । त्यसभन्दा दूरका गोत्र किरात, खस, काशी, कश्यप, सौमर विकासक्रम, व्यवहारलाई पछ्याउने काम अध्ययनमा भएको छ । अझ काशी (अर्क/भग), गुत (कुतिक) गोत्र मिश्रित शक/काशी जातिसित किरातका अग्रज कुर्म (सौमर) वंशको रक्तमिश्रणसम्मको इतिहास पहिल्याइएको छ । भाषाविज्ञानको दौराको फेर समातेर मेसोपोटेमियाली इतिहास नियाल्दै कालान्तरमा विकसित किरात, काशी (शक/कठ/खस) र काशी (कश्यप/कच्छप) को सङ्क्षिप्त रेखाचित्र खोजेर साझा गरिएको छ । जेहोस्, फयङ साँबालाई विश्व मानव समुदायको एक हिस्साको रुपमा स्थापित गर्ने प्रयास अध्ययनमा गरिएको छ ।

हेनरी डेभिड थोरे भन्छन्– “ब्यूँझनेको मात्र दिन उदाउँछ ।” यो लेखकको कोसिस अरु केही नभएर त्यही ब्यूँझने एक कोसिस मात्र हो । संसार देखेर, हेरेर, भोगेर, खोजेर, परीक्षण गरेर हरदिन आँखा खोल्ने प्रयत्न गर्दछु । टाढाबाट देखिने एउटा देउरालीमा पुगेपछि गन्तव्य अझ पर क्षितिजमा देखिने उज्यालो दृश्यले मन तान्छ । मनभित्रका तिनै तृष्णा र आँखाको दृष्टिमा म जीवनको अर्थ खोज्दछु । लाग्दछ, जुन दिन मान्छेमा जिज्ञासा र आशा मर्दछन् त्यसदिन मानिसका यात्रा र गन्तव्य पनि समाप्त हुनेछन् ।

अध्ययनमा प्राज्ञिक मर्म र धर्मलाई कर्ममा यथासम्भव उतार्ने प्रयास भएको छ । भनिन्छ, लेखक पूर्वाग्रहमुक्त र स्वतन्त्र भएर लेख्नुपर्दछ । पूर्णरुपमा यो सम्भव नहोला तर सक्दो कोसिस गरेको छु । आफ्नो ब्रह्मले देखेको कुरा लेखकीय राय र निष्कर्ष इमानदारपूर्वक पस्केको छु । राजनीतिक, रणनीतिक दृष्टिकोण नराखी अध्ययन, विश्लेषण गरेको छु । जातीय आग्रह, पूर्वाग्रहमुक्त रहेर कलम चलाएको छु । मूलतः प्राज्ञिक मूल्य र मान्यतालाई ध्यान दिएको छु । कुनै जाति, समुदाय, उचाल्ने वा खसाल्ने काम मबाट जानाजान भएको छैन । अनजानवश त्यसो हुनगए म माफी चाहन्छु ।

किरात लिम्बूको पहिचान जस्तो बृहद् विषय पर्गेल्न साँबा फयङ वंशावलीको लहरो समातेर तुलना गर्दै अघि बढिएको छ । वि.सं. २०५६ मा प्रकाशित पहिलो वंशावली (सङ्कलक- ऐतराज फयङ साँबा, प्रकाशक- नवराज सुब्बा) ढाँचालाई समेत आधार मानेर अध्ययन गर्दै अघि बढियो । त्यसमा आवश्यक सूचना सङ्कलन गर्ने काम पनि सम्पन्न भयो । दोस्रो चरणको अध्ययनक्रममा सूचना सङ्कलनमा मेरा भाइ धीरेन्द्रराज फयङहाङले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले विभिन्न ठाउँका व्यक्तिसित सम्पर्क गरी जुन मद्दत पुर्याए त्यसका लागि धन्यवाद छ । अभिलेख अद्यावधिक गरी वेभसाइटमा राख्न तथा सूचनालाई प्रविधिमैत्री बनाउन कौशलराज सुब्बा र निश्छलराज सुब्बाको योगदान पनि उल्लेख्य ठान्दछु ।

किरात लिम्बू विषयसँग सम्बन्धित बृहत्तर क्षेत्रको अध्ययन गरी त्यो जातिभित्रको एक थर/उपथर साँबा फयङको पहिचान निदान र निरुपण भएको छ । किरात पूर्व र उत्तरको वंशवृक्षको सैद्धान्तिक रेखाचित्र कोरिएका छन् । ऐतिहासिक कालका वंशावलीको खाका प्रस्तुत गरिएको छ । यस्ता वंशवृक्ष प्रस्तुतिमा जन्म र मृत्यु मिति पनि उल्लेख गरेको भए राम्रो हुन्थ्यो भन्ने सुझाव पाठकले दिने गर्दछन् । यसमा पहिलो कुरा त्यस्ता विवरण पाउन नै मुस्किल छ । अर्को कुरो पाए पनि त्यसलाई पुस्तकमा वंशवृक्ष बनाएर धेरै सूचना एकै ठाउँमा देखाउँदा प्राविधिक कारणले राख्न असहज हुने सम्भावना रहन्छ । त्यसलाई दूर गर्न सूचना प्रविधिको सहयोग लिन सकिन्छ । वंशवृक्षलाई सफ्टवेयरको मद्दतले सूचना डिजिटलाइज गरी अनलाइनमा थप तथ्याङ्क जस्तैः- जन्म, मृत्यु, फोटो, सङ्क्षिप्त विवरणसमेत राख्न सम्भव हुन्छ । यसबारे हाल अध्ययन भइरहेको छ ।

मैले करिब पाँच वर्ष अहोरात्र लागेर ग्रन्थ तयार गरे तापनि यसभित्र अनगन्ती त्रुटि भए होलान् । अनजानवश भएका ती कमीकमजोरीलाई यो लेखकको क्षमताले नभ्याएको अज्ञानता सम्झी माफ गरिदिनुभएमा म आभारी हुनेछु । रचनात्मक सुझाव दिनुभए अझ आभारी हुनेछु । एक वाक्यमा भन्नुपर्दा यो फयङ साँबा केन्द्रित किरात लिम्बूको मानवशास्त्रीय अध्ययन हो । यो एक तुलनात्मक अध्ययन भएकाले पुस्तक अनुसन्धाता, विद्यार्थी एवम् जिज्ञासु पाठकलाई उपयोगी हुने आशासमेत राखेको छु ।

विद्वान् अनुसन्धाता, इतिहासकार, लेखकहरुका अनेकन् ग्रन्थ, कृति र अनुसन्धान लेख, विचार अध्ययन गरेपछि उहाँहरुबाट प्राप्त ज्ञानको तेलरुपी ऊर्जालाई मैले मेरो जिज्ञाशाको दियोमा निरन्तर सल्काएँ । त्यही प्रज्वलित प्रकाशमा मैले यी अक्षरहरु खिपेको हुँ । अब म उहाँहरुलाई के गुरुभेटी चढाऊँ ! सबैलाई सन्दर्भसूचीमा राखी शिर निहुराइ नतमस्तक हुँदै साधुवादबाहेक केही चढाउन सकिनँ ।

पुस्तक प्रकाशन कार्य गरिदिएकोमा तथा पाठकका हातमा पुस्तक पुर्याउन वितरण कार्यमा महङ्खवपूर्ण भूमिका निर्वाह गरेकोमा अजम्बरी पब्लिकेशन तथा www.thuprai.com लाई धन्यवाद नदिई रहन सक्तिनँ । अतः प्रकाशन तथा वितरणमा आबद्ध हात र मनलाई समेत नमन । शुभेच्छुक सबैमा धन्यवाद छ ।

Book Online Available at 

  1. दाजु 🙏सेवारो! यो हजुर को ४/५ बर्ष को लगातार मेहनत परिश्रम गरि(बिहान देखि बेलुकिसम्म) तयार गर्नु भएको बङ्शावाली सहित को” किरात लिम्बू सस्कृती मानव शास्त्रीय बिबेचना एक ऐतिहासिक पुस्तक तयार गरि पाठक सामु पुर्याइ दिनु भएकोमा धेरै धेरै बधाई अनि आभार प्रकट गर्न चाहन्छु।🙏💐

Comments are closed.