कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल

कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल

डा. नवराज सुब्बा

तुङदुङ्गे साम्माङ (देव) ‘लोक्वादो साम्बादो माङ’ वराहदेव कौकहदेव देवताका कान्छापुत्र हुन् । तुङदुङ्गे मुन्धुममा यिनै तुङदुङ्गे देवले आफ्ना पिता लोक्वादो साम्बादो माङसित अंश र शक्तिका लागि आशिर्वाद मागेका छन् । आफ्ना दाजुहरुले पिताबाट आशिर्वाद पाएर ओरालो लागिसकेकाले आफू अरुणक्षेत्रमा बीउबीजन बाँडि आउँदा केही ढिला भएकाले आफूले समेत पिताबाट आशिर्वाद याचना गर्दछन् । तुङदुङ्गे देवले कोशीबराह क्षेत्रदेखि क्रमसः धनकुटा, पाँचथर, तेह्रथूम, संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न भूभाग वा थूमको यात्रा विवरणकासाथ मुन्धुम अघि बढ्दछ । मुन्धुमबाट साँबाहरुका पुर्खा ताप्लेजुङ साँबामा पुग्नअघि माथि उल्लेखित विभिन्न क्षेत्रहरु पार गर्दै आइपुगेको थाहा हुन्छ । साँबा वंशले अनिवार्य रुपमा मान्ने आफ्ना एक आराध्य देव तुङदुङ्गे पुर्खाको आशिर्वाद माग्ने क्रममा कोशी वराहक्षेत्र पुग्न विभिन्न स्थलहरुको नाम पुकार्दै तुङदुङ्गे मुन्धुमको माध्यममार्फत् आफू पुगेको ठान्दछन् ।

लिम्बूका अनेक थर, उपथर छन् । लिम्बू मध्ये साँबाको कूलदेवता तुङदुङ्गे देवता हो । साँबाको छोरीचेलीमार्फत् विस्तारित भई अन्य थरका लिम्बूमा पनि यो देवताको पूजा गर्ने चलन छ । तुङदुङ्गे देवता रक्षक र भक्षक दुवै शक्ति भएका देवता मानिन्छन् । तुङदुङ्गे विराट स्वरुपका, निराकार र अत्यन्त शक्तिशाली देवता भएको मुन्धुमले बताउँछ । उनी पहाड, पर्वत, डाँडाकाँडा, नदीनालामा डुलिहिड्ने र असल मानिसलाई मित्र बनाइ खराब मानिस विनाश गर्ने देवताका रुपमा पूजिन्छन् । उनी डुलिहिड्ने क्रममा बाटामा भेटिएका फागो, चङबाङ, थोप्रा, थल्लङहरुले उनलाई वास्ता गरेनन् तर मिक्केन्दाङ साँबाले उनलाई सेवा गरे । फाङफङदेक्मा भन्ने स्थानमा तुङदुङ्गे देवतालाई भक्तिभाव गर्दै आराधना गर्न उनीहरुले पूजास्थल निर्माण गरे (तुम्बाहाङ, २०६८) । यसरी समस्त साँबाहरुले तुङदुङ्गे देवताको शक्ति र प्रभावलाई आत्मसात गर्दै उनको पूजाआजा गर्न आरम्भ गरे ।

तुङदुङ्गे मुन्धुम श्रुतिपरम्परामा आधारित आख्यान हो । यसलाई लिखित रुपमा आजभन्दा करिव १६० वर्षअघि मात्र ढालिएको थियो । प्रस्तुत मुन्धुम नन्दप्रसाद चङबाङ साँबाले संकलन र भरत सुब्बा तुङखङ लिम्बूले अनुवाद गर्नुभइ चङबाङ वंशावली (२०६६) मा प्रकाशित भएको मुन्धुम सामग्रीलाई अध्ययनको आधार बनाएको छु । यस अघि नै भनियो साँबा लिम्बूको विशेष इष्टदेव तुङदुङ्गे देवता हो ।
मुन्धुममा यी देवतालाई ‘लोक्वादो साम्बादो माङ’ भनिन्छ । यसको अर्थ सुनकोशी, अरुण र तम्बर नदीहरुको त्रिवेणीस्थलका आराध्यदेव हो । आर्यग्रन्थमा यसलाई कौकहदेव वा कोकुदेव भन्ने प्रचलन रहेको छ । महाभारतकालदेखि आर्यग्रन्थमा बराहक्षेत्रको उल्लेख छ । भारतका कतिपय विद्वानहरुले बराहक्षेत्रको खोजी भारतमै गरे पनि डि.सी. सरकारले विभिन्न प्रमाणहरु दिंदै बराह क्षेत्र कोकाकोशी संगमस्थल नै भएको भनेर पुष्टि गरेकोलाई यथार्थमा आधारित भनेर नेपाली संस्कृतिवद् डा. सोम खतिवडाले भन्नु भएको छ (खतिवडा, २०६६) । महाभारतकालीन पाँच पाण्डव गुप्तवासमा लुक्न आएको बेला उत्तर बिहार, उत्तर बंगाल र आसाममा किरातीहरू राज्य गर्दथे । आर्यहरूले किरात पूर्वमा छन् भन्ने सुनेका थिए । आर्यहरूले आसाम र लोहित देशलाई म्लेच्छ देश नाम दिए । यही म्लेच्छ देशबाट म्लेच्छ र म्लेच्छबाट मेच वा मेचे जाति बनेको हो (चेमजोङ, २००३) । महाभारतकालमा विहारमा हर्वा हाङ र बंगालमा दर्बा हाङ र मोरङ क्षेत्रमा विराथ, झापा क्षेत्रमा किचक र सत्य नामका किरात राजाहरू राज्य गर्दथे । त्यसमध्ये विराथ नामी राजा थिए जहाँ पाँच पाण्डव गुप्तवास बसेका थिए (Chemjong, 2003)। यस आधारमा कोशीबराह क्षेत्र राजा विराथको राज्यमा पर्ने देखिन्छ ।

यो तुङदुङ्गे मुन्धुमले चङबाङ साँबा लिम्बू वंशावलीअनुसार उनीहरुका पुर्खा कोशीबराहबाट शिकारको खोजीमा तम्बरको शिरतर्फ जाँदा मेवाखोला साँबामा पुगेका थिए । मुन्धुमअनुसार यिनका पुर्खाले बँदेललाई तीर हानी मारेकाले सराहा दाप्पा (लिम्बू भाषामा बँदेल काँणले हानेर मार्ने) अर्थात् श्रादाप्पा पनि भनिन्छ । ऐतिहासिक रुपमा चङबाङ साँबा वंशावलीले उनीहरुका पुर्खा सेनेहाङ राई यही कोशीबराहबाट क्रमसः धनकुटा, पाँचथर हुँदै कालान्तरमा ताप्लेजुङको साँबामा पुगेर साँबा भइबसेको बताउँछ (चङबाङ वंशावली, २०६६) । उक्त वंशावलीले कोशीबराहबाट एक शिकारी समूह सेनेहाङ राईको नेतृत्वमा तम्बरखोलालाई दिशाबोधक मान्दै उकालो लागेको बताउँछ । योङहाङ वंशावलीले इस्वी सम्बतको चौधौं शताब्दीमा सिम्रौनगढबाट विस्थापित भएका सेनवंशी चौदण्डी हालको चतरामा केही समय राज गरेर त्यहाँबाट चारभाइ हालको साँगुरी भञ्ज्याङ नाघेर धनकुटा, पाँचथर, तेह्रथूम हुदैं ताप्लेजुङ पुगेर योङहाङ, साँबा तथा अन्य थरका लिम्बूमा रुपान्तरित भइ स्थापित भएको बताउँछ (योङहाङ वंशावली, २०६८) ।

यसैगरि फयङ साँबा लिम्बूको उत्पत्ति कथाले तिनका पुर्खा पनि कोशीबराह नदी क्षेत्रबाटै शिकार खेल्दै आएर ताप्लेजुङ साँबामा पुगेको र पुर्खा श्राताप्पा भएको भनी मुन्धुमका जानकार ताप्लेजुङ हाङपाङ निवासी टेकबहादुर फयङ साँबा लिम्बू (२०७५) ले बताउनु भयो । चङबाङ वंशावली (२०६६), फयङ साँबाको उत्पत्तिकथा र फयङ साँबा मुन्धुमका अर्का एक जानकार ताप्लेजुङ साँबा निवासी मोहनचन्द्र फयङ साँबाको थप सूचनाको आधारमा चङबाङ साँबा र फयङ साँबाको पुर्खाको निरुपण गर्ने क्रममा वंशवृक्षको एकै हाँगोबाट विभाजित भएको आधार फेला परेको छ । उपरोक्त तथ्यहरुका आधारमा चङबाङ र फयङ साँबा लिम्बूका पुर्खा सेनेहाङ राई, यबोहाङ, कम्बाहाङ, साईमोहाङ, साग्मोहाङ, यबोहाङ, केम्बुहाङ, योमुहाङ, थपोचङ, हैबा, केम्बाहाङ, केसाङनाहाङ, फेम्बुनहाङ, साम्सकहाङ आदि हुन् । त्यसपछि साम्सकहाङका जेठाछोरा सोरमुहाङबाट चङबाङ, माइलाछोरा फेक्वाछाङबाट लुङहिम्बा, फेन्छङवा, फयङ, कोदाङबा र कान्छा छोरा सेनिहाङबाट मिक्केन्दाङ साँबाहरु भएर फैलिए ।

यसरी पुर्खाको नाम वा उपाधिको आधारमा यो वंशले तय गरेको यात्राको आंकलन पनि गर्न सकिन्छ । नाममा रहेको सेने वा सेन, हाङ र राई वा राय जस्ता तीनैवटा पद्वीयुक्त शब्दावलीले उनीहरु तत्कालीन राजा वा सामन्त वा उनका सन्तान थिए भन्ने जनाउँछ । यी शब्दहरुले विशेष कालखण्ड र ऐतिहासिक क्षेत्रसित यिनीहरुको सम्बन्ध रहेको पनि संकेत गर्छ । यसको गहिराइ बुझ्न तथ्यहरुको विस्तारित स्वरुप आवश्यकता पर्ने हुँदा क्रमसः चर्चा गरिने छ । हाललाई वंशावलीमा उल्लेखित नामावलीको ऐतिहासिकताको आधारमा संश्लेषण गरिहेर्दा चङबाङ/लुङहिम्बा/फेन्छङवा/फयङ/काइदाङबा/मिक्केन्दाङ/मादेन साँबा लिम्बूका पुर्खा हाङ वंशीय, सेने वा सेन तथा राई वा राय थिए ।

अर्को एक मुन्धुमले चङबाङ/लुङहिम्बा/फेन्छङवा/फयङ/काइदाङबा/मिक्केन्दाङ/मादेन साँबाका पुर्खा कोशीबराह भन्दा अघि कुन कुन स्थल भएर आए भनि आँकलन गर्न सकिन्छ । ‘साम्बा येत्हाङ चङबाङ साँबा रे माङगेना मुन्धुम’ (चङबाङ वंशावली, २०६६ पृ.१४५) आरम्भको अंश यस प्रकारको छ–

“कोचीयो मेचीयो साहा यङगनताप्पा साराहा ताप्पा चङबाङ साँबा हाङदेन यो काशी क्षेत्र साम्याङले सिक्री युप्पारे सिक्री वान्छाङमु थासिङ काशी क्षेत्र साम्सो यमिङ वान्छिङ खुने युक्फुङमु कन्नु थाङे सावाङमु कन्नु थाङे थङगनमु नात्नु याङे साराहा भु नात्नु थाङमु, यो कोशी गंगा तेम्बे यो अतुदिङ योलाममु योङ सप्तकोशी दूधकोशी तामाकोशी यङगन तात्नु साराहा नात्नु युक्फुङ कन्नु सावाङ कन्नु वसादिङ योलाम थासिङलो पिच्छा कन्नु, साम्भोग कन्नु कई काक्नु फाङजाङ काक्नु चबतिङ थुङवा काक्नु विजयपुर ना वसा तोलाम लन्दे कई काक्नु फाइजङ काक्तुर कोचीयो बा मेचीयो बा यङगन ताप्पा साराहा ताप्पा रे मिनु होप्पा तम्बर होप्पा बसा योलाम खङकेलन्दे यङगन नात्नु साराहा नात्नु हाक्फारा नौं ढुंगे बसा थोलाम खडकेधाङे सिगेक्सुरुङ सिगी सोसाम सन्भेन्वोत्ते माता इभे मेन्बोन्ते सिगी सोसाम फोङनु माता इमे फोङनु मिनु होप्पा तम्बर होप्पा युक्फुङ कनु सावाङ कन्नु यङगन नात्नु साराहा नात्नु वशा योलाम थाङे रो मिनु होप्मा तम्बर होप्मा नुबोघाट सिम्राघाट युक्फुङदिङ सावाङ कन्न यङगन नात्नु साराहा नात्नु वशा थोलाम ताङेरो मिनु होप्मा तम्बर होप्मा नुबोघाट सिम्राघाट युक्फुङदिङ सावाङ कन्नु यङगन नात्नु साराहा नात्नु वसा योलाम खङकेलन्दे कई फाङजङ काम्नु मिनु होप्मा तम्बर होप्मा कर्कौले युक्फुङ बक्खिम युक्फुङ काक्तुर मिलु होप्मा तम्बर होप्मा साराहा नात्नु यङगन नात्नु वसा थोलाम खङकेलन्दे कोचीयो बा मेचीयो बा यङगन ताप्पा साराहा ताप्पेन बसा योलाम खन्केलन्दे, मिनु होप्मा तम्बर होप्मा खड्कुरे तरङ बसा थोलाम खडकेथारेथाङे कइफाङजङ काक्नु मिनु होप्मा तम्बर होप्मा यङगन नात्नु साराहा नात्नु खुक्वा धोरो लुङघारी रो चभत काक्नु चुङवा काक्नु साङजेलुङ सोबुवा दोभान रो बसा थोलाम खङकेलन्दे कोचीयो बा मेचीयो बा यङगन ताप्पा साराहा ताप्पा मिनु होप्मा तम्बर होप्मा बसा थोलाम खङकेथासिङ नागबेले रो केतक्कुम्लो मियामा वहङमिनु तेम्बे दोभान तेम्बे कोचियोबेन मेचीयोबेन यङगन नात्नु साराहा नात्नु युक्फुङ कन्नु सावाङ कन्नु कई फाक्नु फाङजङ काक्नु थिकपाकुङग चाःनु थिक पिच्छीङग थि थुङेर थिक याङलालक याङधोक्तेर मिनु होप्मा तम्बर होप्मा सुम्बो केरे हुक्बा केरे चुगे लाम्थो चुक्वामा लाम्थो केतक्कुम मियो होप्मेथो बसा थोलाम खङकेलन्दे रो, मिनु तेम्बे रामदली रो बसा थोलाम खङकेलन्दे चबत थुङवा खङकेलन्दे कइ कान्नु फाङजङ काक्नु कत्तुकुम्लो मिया होप्मा बसा थोलाम खङकेलन्दे यङगन नात्नु साराहा नात्नु युक्फुङ कुन्नु सावाङ कुन्नु लङजङ पाटी सक्राान्तेरो सा थोलाम खङकेलन्दे…”

प्रस्तुत साम्बा येत्हाङ चङबाङ साँबा रे माङगेना मुन्धुमले चङबाङ/लुङहिम्बा/फेन्छङवा/फयङ/काइदाङबा/मिक्केन्दाङ/मादेन साँबाका पुर्खाहरु काशीक्षेत्र अर्थात् गंगामैदानसित सम्बन्धित भएको देखिन्छ । त्यसपछि तामाकोशी, दूधकोशी, सप्तकोशी, मेची नदीहरु र यी भौगोलिक क्षेत्रमा बँदेलको शिकार गर्दै विभिन्न स्थलहरु नाघेको एक स्पष्ट मार्गचित्र मुन्धुमभित्र पाइन्छ । मुन्धुममा पुर्खाहरु तुङदुङ्गे मुन्धुममाझैं कोशीबराहबाट शिकारको खोजीमा तम्बरखोलाको शिरतर्फ लागेको देखिन्छ । कोशीबराहबाट पुर्खाहरु सिकारको खोजीमा उकालो लाग्दा क्रमसः हाक्फारा, नौढुंगे, नुबोघाट, सिम्राघाट, खुवाखोला, चुँवाखोला, सोबुवाखोला, मैवाखोला, मेवाखोला, रामदवाली पुगेको बयान मुन्धुममा गरिएको छ । यसले साँबा लिम्बूका पुर्खाहरु काशी गंगामैदानबाट सुनकोशी दूधकोशी सप्तकोशी बराहक्षेत्र हुँदै तम्बरको शिर मेवाखोलासम्म पुगेको मुन्धुमले बताउँछ ।

इतिहासकार इमानसिंह चेमजोङले गंगामैदान अर्थात काशीभएर आएका किरातलाई काशीवंश भन्नु भएको छ । यिनीहरुलाई किरात भाषामा ‘काशीथाङबा’ पनि भनिन्छ (चेमजोंङ, २०५९) । इतिहासकार चेमजोङले तत्कालीन डोटी पूर्व इलामसम्मको भूभाग आवाद गरी बस्ने किरात काशीवंश भए भनेर बताउनु भएको छ । उहाँका अनुसार यो काशी वंशलाई वंशावलीमा ‘खाम्बोङबा’ भनि उल्लेख गरिएको छ । चेमजोंङ लिखित किरात इतिहासको आधारमा चङबाङ/लुङहिम्बा/फेन्छङवा/फयङ/काइदाङबा/मिक्केन्दाङ/मादेन साँबा लिम्बू काशीथाङबा अर्थात् काशीवंश हुन् । आफ्ना पुर्खालाई सम्झेर यिनीहरुले आफ्नो नाम वा थरसंगै हाङ लेखेमा अर्थपूर्ण देखिन्छ । फेम्बुनहाङका सन्तान यी साँबाहरु पहिल्यै साँबा बसेर साँबा कहलाइने थूम वा क्षेत्रमा बसेकाले उनीहरुलाई पनि साँबा भनिएको हो भनेर चङबाङ बंशावलीले बताउँछ ।

मुदेन्छङ साँबा वंशावली (२०६४) अनुसार काठमाडौं उपत्यका, मोरङ तथा बिहार जलालगढसम्म विजय गर्ने मुरेहाङलाई तिब्बतबाट ल्याइपु¥याउन तम्बरखोलाको शिरसम्म मुदेनहाङका तेस्रो पुस्ताका मुनाहाङले साथ दिए । मुरेहाङ यलम्बरका १६ औं पुस्ताका कुकुहाङ जसलाई सोमवंशी राजा मिमिषले काठमाडौंबाट धपाएपछि तिब्बत दिगर्चामा गए । त्यहाँ दिगर्चामा उनले मुदेनहाङसित मिलेर शासन गरे । कोकुहाङका तेस्रो पुस्ताका राजा थिए मुरेहाङ । उनलाई पु¥याउन दिगर्चाका आएका कोकुहाङका साथी मुदेनहाङ राजाका तेस्रो पुस्ताका राजा मुनाहाङका सन्तान तथा अनुयायी थिए– मुदेन्छङ साँबाका पुर्खा । मुरेहाङ राजालाई तम्बरखोलाको शिरसम्म पु¥याउने अर्थात् लिम्बू भाषामा हाङ सा.बा. भनेर अरुले बोलाउँदा बोलाउँदै मुदेन्छङ साँबा भएको हो भनेर वंशावलीमा बताइएको छ (होमुसाँबा, २०६४) । यसैले मुदेन्छङ साँबा ल्हासातिरबाट प्रवेश गरेकाले उनीहरु ‘ल्हासामार्ग’ वा ‘ल्हासाथाङबा’ वा ‘ल्हासावंश’ भएको वंशावलीले जनाउँछ ।

हाल कोशीबराह क्षेत्र हिन्दू धर्मावलम्बीको मात्र तीर्थस्थल हो कि भने जस्तो प्रतीत हुन्छ । धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक ज्ञानको अभावमा यसका मूलधनी आदिवासी किरात हाल छेउकिनार लागे जस्तो देखिन्छ । विजयपुरको किरातकालीन इतिहासमा किरात शासकहरुले बराहक्षेत्रमा गरेको योगदानबारे छुट्टै आलेख तयार हुन्छ । यद्यपि धनकुटा बस्ने आठपहरिया राईले अझै पनि कोशीबराह क्षेत्रसित आफ्नो धार्मिक तथा साँस्कृतिक नाता राखेकै छन् । आठपहरिया राईहरुको मातृभाषाका अनुसन्धानकर्ता डा. टंक न्यौपानेले आफ्नो अध्ययनमा उनीहरुको पुर्खाको आगमन कोशीबराह क्षेत्रबाट नै धनकुटामा भएको भनि आफूले जानकारी पाएको यो पङ्तिकारलाई बताउनु भएको थियो । किरात आठपहरिया राईहरु अझै आफ्नो घरको महत्वपूर्ण कर्मसित कोशीबराह क्षेत्रलाई गाँसिराखेका छन् । उनीहरु आज पनि घरमा कात्र्तिक पूर्णिमाको अघिल्लो दिन मराउ प¥यो भने पनि भोलिपल्ट बराहक्षेत्र गएर कोकाखोलाको मरेको मानिसको दसी बनाएर बगाएर जल र फूलप्रसाद ल्याई घर चोख्याउने र बर्खी फुकाउने संस्कार गर्दछन् (श्रेष्ठ, २०४७) । यस सम्बन्धी रोचक आख्यान शिवकुमार श्रेष्ठले ‘किराती लोक कथाहरु’ भन्ने पुस्तकमा बताउनु भएको छ ।

मुन्धुमको अध्ययन बिना कोशीबराह क्षेत्रको अध्ययन अपूर्ण मानिन्छ । यसकारण मुन्धुम लगायतलाई अध्ययनको दायरामा ल्याएर यस कार्यमा यसका धनी किरातको अपनत्व हासिल नभएसम्म यो क्षेत्रको विकास एकलकाँटे छाँटको देखिन्छ । यसैले हिन्दू लगायत किरात तथा अन्य सबैले यसको पौराणिकता, मौलिकता, विशिष्ठताको महिमालाई बुझेर बहुआयामिक दृष्टिले कोशीबराह क्षेत्रको अध्ययन अनुसन्धानमा अघि बढ्न तथा संरक्षणमा हात बढाइ साँस्कृतिक विविधता र एकताको डोरी मजबूत बनाउन यो पङ्तिकार आग्रह गर्दछ । धार्मिक र पर्यटकीय आकर्षण बोकेको यो पवित्र स्थललाई सबैले आफ्नो पुर्खौली गौरवमय सम्पत्तिको रुपमा हेर्ने वा ग्रहण गर्ने वातावरण बनेमा यसले नेपाली संस्कृतिको प्राचीनता, मौलिकता, विशिष्ठता, पूर्णता, गौरव अनि राष्ट्रिय एकता ल्याउन थप बल पुग्ने देखिन्छ ।

सन्दर्भ ग्रन्थहरु
१. चङबाङ साँबा वंशावली (२०६६), नेपाल, चङबाङ साँबा वंशावली संकलन समिति ।
२. साँबा, होमु (२०६४), किरात ऐतिहासिक पृष्ठभूमिमा मुदेन्छङ साँबा वंशावली, नेपाल, मुदेन्छङ साँबा सेवा संघ ।
३. योङहाङ, वीरबहादुर (२०६८) योङ वंशावली, सम्पादक डा. भरत सुब्बा, इलाम, राघमान स्मृति प्रतिष्ठान गजुरमुखी नावालङ ।
४ . चेमजोङ, इमानसिंह (२०५९) किरात इतिहास, ललितपुर, किरात याक्थुङ चुम्लुङ ।
५. तुम्बाहाङ, गोविन्दबहादुर (२०६८), लिम्बू जातिको चिनारी, ललितपुर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, किरात याक्थुङ चुम्लुङ ।
६. श्रेष्ठ, शिवकुमार (२०४७), किराती लोककथाहरु, धनकुटा, गंगादेवी श्रेष्ठ ।
७. खतिवडा, सोम (२०६६), बराहक्षेत्रको साँस्कृतिक सम्पदा, सुनसरी, श्री राधाकृष्ण भक्तिसाधना आध्यात्मिक प्रतिष्ठान ।
8. Chemjong, Imansing (2003) History and Culture of Kirat. Lalitpur, Kirat Yakthung Chumlung.

Comments are closed.