गोरखाली आक्रमणबाट बिस्थापित खम्बुवानका सन्तान : एक अध्ययनको छोटो परिचय

गोरखाली आक्रमणबाट बिस्थापित खम्बुवानका सन्तान : एक अध्ययनको छोटो परिचय

– डा. नवराज सुब्बा

नेपाल एकीकरणको क्रममा गोरखालीले विजित क्षेत्रमा गरेका केही अत्याचारका घटना सुन्दा हामीलाई अनौंठो लाग्दछ । लेखक सि.के. लालले तत्कालमा गोरखालीले खम्बूवानमा राई महिलालाई गरेको अमानवीय व्यवहारका घटना उजागर गर्दा एकथरी मानिस उनीसँग रिसाए (त्यसलाई यत्ति मात्र कोट्याउँ) । अर्को कीर्तिपुरको १७ धार्नी नाक काटिएको प्रसंगमा गोरखालीले त्यसो गरेको हैन, कीर्तिपुरमा यसो चिनो लगाउन मात्र भनिएको थियो, बढी गरेछ अनि त्यसको पनि पछि नाक काटियो भन्ने अर्का विद्वान डा. जगमान गुरूङको हाईहाई छ । यसले हामी हाम्रो इतिहासको नराम्रो पक्ष सुन्ने, पढ्ने वा पचाउने अवस्थामा रहेनछौं, भन्ने जनाउँछ । जेहोस् इतिहासमा नेपाल एकीकरणको दौरान विवादास्पद घटना भएका थिए भनेर इतिहास स्पष्ट छ । यसै शिलसिलामा त्रिभुवन विश्व विद्यालयका सेवानिवृत्त प्राध्यापक डा. विष्णुसिंह राईले गोरखाली आक्रमणबाट खम्बुवानको एक सन्तानको कसरी विस्थापन भयो भन्ने सम्बन्धमा गरिएको एक अनुसन्धानमा आधारित तथ्यहरू राख्तैछु । प्रस्तुत आलेख प्रा. डा. मारोहाङ खवाहाङ लिम्बूले अनुसन्धानकर्ता डा. राईसंग गर्नुभएको अन्तर्वार्तामा आधारित छ ।

अनुसन्धानमा प्रवेश गर्नुपूर्व, आलेख लेख्ने क्रममा मैले एकदुई जना राई साथीहरूलाई सम्झिएँ । विराटनगरमा एकजना संगीत गुरू हुनुहुन्छ– कुशेश्वर राई । जन्मले उहाँ विहारवासी हुनुहुन्छ । संस्कृतिको हिसाबले विशुद्ध मैथिल चरित्रको हुनुहुन्छ । उहाँलाई यहाँ नेपालको राई संस्कृतिको ज्ञान कम छ । उहाँको बोलीचाली वा जीवनशैलीमा विशुद्ध मैथिल संस्कृतिको छ । कारण, उहाँका बाबुबाजे पुस्तौदेखि मैथिल क्षेत्रमा बसोबास गरेका राई थिए । उहाँ मात्र केही दशक अघिदेखि नेपालमा आएर बसोबास गर्दै हुनुहुन्छ । शास्त्रीय संगीत सिकाउनु हुन्छ । मलाई मनमा सधैं जिज्ञाशा लागिरहन्थ्यो, आखिर उहाँमा यस्तोपन कसरी हुन गयो । नभन्दै, करिव सात महिनाअघि एकजना मैथिल, हिन्दीका भारतीय कवि ध्रुवनारायण सिंह राईलाई विराटनगर निवासी कुशेश्वर राईले आफ्नो दाई भनेर विराटनगरमा साहित्यकारमाझ परिचय गराउनु भयो । उक्त कुरा मैले फेसबुकमा फोटोसहित जानकारी पनि गराएको थिएँ । मैले ठानें सुगौली सन्धिमा सीमाना सरेर उहाँहरू भारत भूमिमा पर्नु भएको होला । तर त्रिभुवन विश्व विद्यालयका एकजना प्राध्यापक तथा अनुसन्धाताले विहारमा लामो समय बस्ने राईबारे तथ्य हाम्रो सामू ल्याउनु भएको छ ।

इतिहास पढ्दा, गोरखालीहरूले शत्रुपक्षलाई धेरै ठाउँमा झुक्याएर, धोका दिएर हत्या गर्ने गरेका थिए । बहादुर शाहलाई मार्नुपूर्व पनि काठमाडौंका शासकले पाल्पाको राजालाई बहिनीको विवाहको कुरा छिनाउन भनी बोलाएको नाटक गरेर पाल्पाली राजा वाग्मति नजिक आइपुगेपछि उनलाई बन्दी बनाएर कैद गरियो र पछि काठमाडौंबाट आफ्ना सैनिक पठाएर पाल्पा हत्याएका थिए, भनेर इतिहासमा लेखिएको छ । किरातकालीन विजयपुरको इतिहासमा अन्तिम राजा बुद्धिकर्णलाई पनि गोर्खालीले खेदेर मारेका थिए, भनेर पनि इतिहासमा उल्लेख छ । त्यसबेला लडाईमा आत्मसमर्पण नगर्ने शत्रुका शाखासन्तानलाई सफाया गर्नुपर्छ भन्ने मान्यता थियो । नेपाल एकीकरण कालमा गोरखाली सामू नझुक्ने तर गोरखालीको क्रुरतासित केही नलागेपछि स्वाभिमानी खम्बूवानका सन्तान आफ्ना भूमिबाट कसरी पलायन भए, यही पृष्ठभूमिमा यो अनुसन्धान अगाडि बढेको छ ।

नेपाल एकीकरणको क्रममा जब गोरखाली सेनाले आक्रमण तथा खम्बुवान विजय ग¥यो तब धेरै राई राजाहरूले आत्मसमर्पण गरे । तर हतुवाका राजा अटलसिंह राईले आत्मसमर्पण गरेनन् । बरू उनी आफ्नो राज्य छाडेर आफ्ना सन्तान तथा जनताकासाथ पलायन भए । उनीहरू भागेर त्यसबेला ठूलो जंगल छिचोलेर हालको बिहार, भागलपुर डिस्ट्रिक्टमा पुगे । त्यसरी भागेर जाने राईहरूमा बान्तवा, चाम्लिङ र कोयु थिए । उनीहरूलाई मार्न गोरखालीहरू निकै पछ्याए । तर त्यहाँ बाक्लो जंगल भएकाले लुकेर ज्यान बचाएका थिए । अटलसिंह राईको बारेमा नेपालमा बुझ्दा कसैले उनी दार्जिलिङ भागे भने कसैले आसाम भागे भनिन्छ तर उनी चारकोशीदक्षिण बाक्लो जंगलमा लुकेर गोर्खालीबाट ज्यान बचाएका थिए, अनुसन्धानकर्ता बताउँछन् ।

अटलसिंहका सन्तान पछि कलकत्ता गएर ब्रिटिस भायसरायलाई भेटेर सुरक्षाको आग्रह गरेको र आश्वासन पाएको प्रमाण अनुसन्धानकर्ताले फेला पारेको बताए । यसरी अटलसिंह राईका सन्तानले ब्रिटिस संरक्षण पाए पनि नेपालमा आऊजाऊ नगरिकन गोरखालीबाट ज्यान बचाएको देखिन्छ । अदवमा नआउने शत्रुपक्षलाई त्यसबेला जसरी पनि मार्ने उर्दि पृथ्वीनारायण शाहले दिएका थिए, अनुसन्धानकर्ता बताउँछन् । यसरी दरसन्तानको आऊजाऊ नभएपछि उनीहरू नेपाल तथा खम्बूवानबारे अनभिज्ञ बने ।
हाल त्यहाँ उनीहरूको १०–१२ पुस्ता गुज्रेको छ । त्यहाँ उनीहरूको आफ्नै संसार छ । दुई पुस्ता अगाडिकालाई मात्र नेपाल छ भन्ने उनीहरुलाई थाहा भयो, अनुसन्धानकर्ता बताउँछन् । हाल उनीहरू बसेको क्षेत्र सुपौल, मधिपुराका १५–२० गाउँमा छरिएको अवस्था छ । हाल उनीहरूको जनसंख्या करिव ५०० रहेको छ । विराटनगरबाट करिब २ घण्टामा पुग्न सकिने उक्त क्षेत्रमा अध्ययनको क्रममा व्यक्तिगत र संस्थागत रूपमा धेरै आदान प्रदान गरिएको अनुसन्धाता प्रा. डा. विष्णु सिंह राई बताउनु हुन्छ ।
प्रा.डा. विष्णु सिंह राईले लामो समय लगाएर गर्नु भएको अध्ययनको पूर्ण पाठ तथा पुस्तक प्रकाशोन्मुख अवस्थामा छ । साथै मुन्धुममा आधारित ‘मृत्युपछि के हुन्छ ? चाम्लिङको एक आत्मिक यात्रा’ शिर्षकमा उहाँको अर्को एक अनुसन्धान कृति पनि प्रकाशोन्मुख अवस्थामा रहेको अन्तर्वार्ताको क्रममा जानकारी हुन्छ ।

अन्तमा, ओझेल परेको इतिहासको एउटा तथ्यलाई सबै सामु ल्याएर अनसन्धानकर्ता प्रा.डा. विष्णुसिंह राईले महत्वपूर्ण काम गर्नु भएको छ । यसैगरि युट्यूब च्यानलबाट महत्वपूर्ण जानकारी सेयर गर्नु भएकोमा प्रा.डा. मारोहाङ खवाहाङ लिम्बूलाई पनि धन्यवाद ।

Comments are closed.