ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन

ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन

डा. नवराज सुब्बा

चारसय वर्षअघि काठमाडौं खाल्डोपूर्वको किरातकालिन इतिहासले आधुनिक नेपाल निर्माणको आधारशिला निर्माण गरेको थियो । हालको संघीय गणतान्त्रिक नेपालमा काठमाडौंपूर्व तीन प्रदेश निर्माण भएका छन् । ऐतिहासिक किराती राजा लोहाङ सेनको मकवानपुर हाल प्रदेश न ३ भएको छ । उनकै नामबाट रहेको लाहान नगर हाल प्रदेश न. २ मा पर्दछ । उनकै शासनकालमा स्थापित मोरोङ राज्यको राजधानी विजयपुर हाल प्रदेश न. १ मा रहेको छ । यति मात्र हैन, उनको शासनकालमा दखल गरिएको तर हाल नेपाली भूभागबाहिर पर्ने क्षेत्रलाई हाल नेपाली इतिहासले ग्रेटर नेपाल भूमिको रूपमा केवल रेखाङ्कन गरेको छ ।

शान मकवानवंशी महाराजधिराज लोहाङ सेन (वि.स. १६६६–१६९८) ले फेदापका राजा बाज हाङ खेवाङको सहयोगमा मकवानपुरदेखि पूर्वका साना साना राज्यहरू लगायत मोरोङको विजयपुर समेत अब्बल गरी पूर्वमा सिमाना टिस्टानदीको छेउ महानदी, पश्चिम बेतिया, उत्तर तिब्बत र दक्षिण पूर्णियाको जलालगढ तथा तिरहुतसम्म राज्य कायम गरे र विजयपुरलाई अधिराज्यको राजधानी बनाए (चेमजोंङ, सन् १९६७ र भ्यान्सीटार्ट, सन् १९१५) ।

इतिहासकार चेमजोङ (सन् १९७४) का अनुसार महाराजा लोहाङ सेनले देशको सीमाना निर्धारण गरिसकेपछि विस्तारित राज्यलाई पाँच ठूल्ठूला प्रदेशमा विभक्त गरी प्रत्येक प्रदेश शासन गर्नका निमित्त एक–एकजना सुब्बा नियुक्त गरे । कोशी नदीपूर्व, टिष्टाछेउ महानदीको पश्चिम, जलालगढको उत्तर र विजयपुरको दक्षिणमा पर्ने चार किल्लाको भूभागमा फेदापका राजा बाज हाङका छोरा हाङ विद्याचन्द्र रायलाई सुब्बा पदमा नियुक्त गरी राजधानी विजयपुर गढीमा राखे ।

यसैगरि ताँबाकोशीको पूर्व, अरूणनदीको पश्चिम, सप्तरी प्रदेशको उत्तर, तिब्बतको दक्षिण यी चारकिल्लाको भूभागलाई खम्बुवान नामाकरण गरी नामदुङ हाङलाई सुब्बा पदमा नियुक्त गरियो । उक्त खम्बुवानको राजधानी खोटाङगढीमा राखियो ।

महाराजा लोहाङ सेनले कमला नदीको पूर्व, कोशी नदीको पश्चिम, खम्बुवान पहाडी प्रदेशदेखि दक्षिणको भूभागलाई सप्तरी प्रदेश नाम राखे र त्यहाँ चाङबाङ हाङलाई सुब्बा पदमा नियुक्त गरे । सप्तरी प्रदेशको राजधानी भीमगढी (भीमनगर) मा राखियो ।

महाराजा लोहाङ सेनले मकवानपुर गढीको पश्चिम, त्रिशुली गण्डकी नदीको पूर्वको भागलाई मकवानपुर प्रदेश बनाइ त्यहाँ शेरिङ हाङ रायलाई सुब्बा पदमा नियुक्त गरे । मकवानपुर गढीलाई मकवानपुर प्रदेशको राजधानी बनाए ।

इतिहासकार चेमजोङ (सन् १९७४) का अनुसार लोहाङ सेनको शासनकालमा उनको विशाल पहाडी भूभागमा किराती खस तथा ब्राम्हण जाति बस्दथे भने तराई खण्डमा थारू मावार, आइन्वार, बाँतर, मेचकोच, धिमाल, किराती जाति बस्दथे । देशको शासन व्यवस्था राजा, मन्त्री, काजी र देवानबाट चल्दथ्यो । चौतारिया वा मन्त्री पदमा किरातवंश मात्र हुने व्यवस्था थियो । राजाले मन्त्रीलाई बरू फाँसी दिन सक्थे तर मन्त्री पदबाट हटाउन सक्दैनथे । किनभने देशको सारा राज्यभार किराती जातिमा थियो (ह्यामिल्टन, सन् १८१९ पृष्ठ १४७) । यसैले माथि पाँच प्रदेशका सुब्बाहरू आलोपालो विजयपुर राजधानीमा मन्त्री हुने गर्दथे (चेमजोङ, सन् १९४८) ।

त्यसबेला राज्यले अवलम्बन गरेको आर्थिक प्रणाली हेर्दा जनता प्रत्यक्ष आर्थिक मारमा परेको देखिन्छ । जनताले करबापत तिर्ने गरेको तिरोबाट उठेको एकचौथाई रकम मन्त्रीले तलबको रूपमा लिने गर्दथे । काजी र देवान जुनसुकै जातिका पनि हुन्थे । काजीले जनताबाट उठाएको करको ६ खण्डको १ खण्ड पाउँथे । देवानले १० खण्डको १ खण्ड राजश्व पाउँथे । राज्यको आर्थिक श्रोत जुटाएर मन्त्रीले पाउने प्रतिशतमा २५ प्रतिशत, काजीले करिव १७ प्रतिशत तथा देवानले १० प्रतिशत कमिशन खाएपछि राज्यकोषमा ५० प्रतिशत भन्दा कम दाखिला हुने गर्दथ्यो (
चेंमजोङ, सन् १९७४) ।

त्यसबेला अदालति मुद्दामामिलामा पंचायतद्वारा फैसला हुन्थ्यो । यसका शिरपंचलाई विचारी भनिन्थ्यो । विचारीको अधीनमा दिवारिया र कोतवालहरू हुन्थे । यिनीहरूले अपराधीलाई पक्राउ गरेर पंचायतमा दाखिला गर्दथे । यहाँ पनि नालिश फरादमा आएको आम्दानीमध्ये एकचौथाई भाग राजाको र बाँकी तीनचौथाई भाग पंचायतका सदस्यको हुन्थ्यो (चेंमजोङ, सन् १९७४) ।

लोहाङ सेनका दुई खाले सैनिक थिए, एकखाले किराती र अर्को गैरकिराती । किराती सैनिक धेरै थिए । हरेक तीनचार सैनिक दलका एकजना सरदार हुन्थे । यी मूल सरदारलाई पहाडका जमिन दिइन्थ्यो तिनै जमिनको आम्दानीले सरदारहरू तथा सैनिकहरूको निर्वाह चलाइन्थ्यो । भनिन्छ, त्यसबेला जम्मा किराती सेना ९०,००० थिए । लोहाङ सेनले ३२ वर्ष विजयपुरमा बसेर शासन गरेपछि शासनको अन्तमा उनकै चौतारिया हाङ विद्याचन्द्र रायलाई मोरोंग विजयपुरको शासन जिम्मा सुम्पेर मकवानपुर फर्के (ह्यामिल्टन, सन् १८१९) ।

आज नेपाली इतिहासले सेनवंश को हुन् भनेर खुलस्त बताउन चाहेको देखिएन । नेपालभित्रै विद्यमान जातिमा विलय भएपछि हामी सेन थियौं भनेर कोही किन बोल्न चाहेनन् वा सकेनन् ? संभवतः शोध वा खोजको कमीले पनि यो भएको हुनसक्छ । कोही सेन भनेको मगर हुन् भन्छन् । कोही लिम्बू राई हुन् भन्छन् । वास्तवमा यी दुवै तथ्यहरू सत्य हुन् । आजभन्दा करिव चारसय वर्षअघि काठमाडौं खाल्डोदेखि पूर्वमा शासन गर्ने सेनवंश अर्थात् उनले नियुक्त गरेका पाँचै सुब्बाहरू हाल लिम्बू र राई भएका छन् । आज लिम्बू भित्रका चङबाङ, योङहाङ, थेगीम वा जबेगु वंशावलीले आफू सेनवंशी तथा काशीवंशी भएको भनेर उल्लेख गरेका छन् । उनीहरूलाई वंशावलीले प्राचीन नेपालको सिम्रौनगढ शासनकालमा पु¥याउँछ (चङबाङ वंशावली, २०६६/योङहाङ वंशावली, २०६८) ।

अन्तमा, हाल नेपाल एकीकरणपछिको लिम्बू इतिहासमा खासगरि राजनीतिक क्षेत्रमा छलफल र अध्ययन केन्द्रीत भएको देखिन्छ । यसलाई विभिन्न कोणबाट व्यापक बनाएर धुमिल किरातकालिन इतिहासलाई स्पष्ट, व्यापक र स्थापित बनाउन सकिन्छ । नेपालको मूलधारको इतिहाससित किरातभित्रका विभिन्न जातिहरूको जातीय इतिहासलाई पनि गाँसिदिएमा सबैको इतिहासको निर्माण हुनेछ । इतिहास र राष्ट्रप्रति अपनत्व बढ्नेछ र यसबाट राष्ट्रिय–एकताको भावनामा अभिवृद्धि हुनेछ ।

सन्दर्भग्रन्थहरू
१. इमानसिंह चेंमजोङ (सन् १९७४) किरातकालिन विजयपुरको इतिहास, काठमाडौं, त्रिविवि ।
२. ह्यामिल्टन (सन् १८१९) अकाउण्ट अफ नेपाल, लण्डन, पृष्ठ १४७ ।
३. इमानसिं चेमजोंङ (सन् १९६७) हिस्ट्री कल्चर अफ किरात, काठमाडौं, पृष्ठ ४९ ।
४. इमानसिंह चेमजोङ (१९४८) किरात इतिहास, कालिम्पोङ, पृ.४९ साभार– इमानसिंह चेंमजोङ (सन् १९७४) किरातकालिन विजयपुरको इतिहास, काठमाडौं, त्रिविवि ।
५ . भ्यान्सीटार्ट (सन् १९१५) गोर्खास्, कलकत्ता पृ.९३ साभार– इमानसिंह चेंमजोङ (सन् १९७४) किरातकालिन विजयपुरको इतिहास, काठमाडौं, त्रिविवि ।
६ . चङबाङ साँबा वंशावली (वि.स. २०६६), नेपाल, चङबाङ साँबा वंशावली संकलन समिति ।
७. योङहाङ, वीरबहादुर (वि.स. २०६८) योङ वंशावली, सम्पादक डा. भरत सुब्बा, इलाम, राघमान स्मृति प्रतिष्ठान गजुरमुखी नावालङ ।

Comments are closed.