पहिचानको मनोवैज्ञानिक आधार

पहिचानको मनोवैज्ञानिक आधार

डा. नवराज सुब्बा

नेपाल लगायत विश्वमा आजकल पहिचानको लहर उर्लेको छ । म फलाना जाति, म साहित्यकार, म महिला, म उच्च घराना, म फलाना व्यवसायी, म यो वा त्यो दलको मान्छे, म फलाना क्लब वा खेलाडिको प्रशंसक, म बेलायती आदि इत्यादि । यो पहिचानको सवाललाई राजनीतिक र सामाजिक दृष्टिकोणबाट मात्र विश्लेषण गर्दा यसले थप जिज्ञाशा निरन्तर जन्माउँछ । यसैले यो विषय सामाजिक अध्ययन र राजनीतिको लागि मलिलो बनेको छ । तर यस विषयमा पर्याप्त बुझाइ हुन नसके पनि आ–आफ्ना निष्कर्ष निकालिन्छन् । निष्कर्षलाई आफू अनुकूल व्याख्या र प्रयोग गरिन्छन् । आज प्राज्ञिक जगतका विविध आयाममा यसबारे के के काम वा अध्ययनहरू भइरहेछन् जान्न जरूरी भएको छ । यसबारे सामाज मनोविज्ञान क्षेत्रमा पहिचानलाई कसरी लिइन्छ वा बुझिन्छ भनेर विभिन्न धारणा र सिद्धान्तको विकास भएको पाइन्छ । यसले समाज र समाजको गतिविधि बुझ्न सहज बनाएको छ ।

ओजरमैन (२००७) द्वारा प्रतिपादित सिद्धान्त अनुसार कुनै व्यक्ति, उसको व्यक्तिगत धारणा तथा उसको पहिचान एक आपसमा गाँसिन्छन् । पहिचान मानिसको व्यक्तिगत गुण, चरित्र, सामाजिक सम्बन्ध, घरपरिवार तथा समाजमा खेल्ने भूमिका र कुनै समूहको सदस्यताले परिभाषित गर्ने विशिष्ठता हो । पहिचानलाई समयको दृष्टिकोणबाट हेर्दा मानिस अतीतमा के थियो, वर्तमानमा के गर्दैछ र भविष्यमा के हुन चाहन्छ भन्ने कुराले पनि पहिचान निर्धारण गर्ने गर्दछ । यही पहिचानले नै कुनै विषय वा वस्तुलाई हेर्ने चस्मा पनि प्रदान गर्दछ । त्यो चस्माले उसलाई अरूतिर भन्दा दिइएको विषयवस्तुमा केन्द्रीत हुन प्रेरित गर्दछ । पहिचानले मानिसभित्र एउटा व्यक्तिगत अवधारणा विकास गरिदिन्छ । फलस्वरूप उभित्र कुनै विषयवस्तुलाई हेर्ने आफ्नै धारणा बन्दछ भनेर निजर (१९९३) ले बताएका छन् ।

मार्कस र क्रस (१९९०) को अर्को “एक सिद्धान्त एक व्यक्तित्व” सिद्धान्त अनुसार मानिसलाई आफू बाँचेको वा आफूलाई लागेको कुरा मात्र सत्य लाग्दछ । मान्छेले आफ्नो व्यक्तिगत अवधारणा बनाएपछि उसले मनभित्र आफ्नो काल्पनिक छवि निर्माण गर्दछ । यसपछि आफै कल्पित छवि अनुसारको अनुभूति गर्न थाल्दछ अनि ऊ भौतिक रूपमा पनि सोही अनुरूप व्यवहार गर्न थाल्दछ । जबकि, यी सबै व्यक्तिगत व्यवहार तथा चालहरू स्वयम्मा सीमित प्रारम्भिक अवधारणागत अवस्था मात्र हुन् भनेर जेम्स (१८९०÷१९२७) ले बताएका छन् । मानिसले त्यसबेला आफूमा धेरै ज्ञानको भण्डार र अनुभव भएको पनि महसुस गर्दछ, भनेर फिभुस (२०११) ले बताएका छन् ।

हेनरी ताजफेल (१९७९) को ‘सामाजिक पहिचान सिद्धान्त’ अनुसार मानिस सामाजिक प्राणी हो । उसले आफ्नो पहिचान समूहबाटै पाउँछ । उसले पहिचानका साथै आत्मसन्तुष्टि र आत्मगौरव पनि उसले समूहबाटै हासिल गर्दछ । उसको व्यक्तिगत छवि सुधार हेतु उसले आफ्नो समूहको वकालत गर्ने गर्दछ । उदाहरणको लागि उसले म बेलायती हुँ मात्र भन्दैन, अमेरिकी र फ्रेन्च पराजितको झुण्ड हुन् भनेर अरूलाई होच्याउन समेत पछि पर्दैन ।

प्रस्तुत सिद्धान्तका अनुसार मान्छेमा ‘हामीहरू’ र ‘उनीहरू’ भन्ने भावनाको विकास हुन्छ । यसबाट सामाजिक वर्गीकरण आरम्भ हुन्छ । त्यसबेला ‘भित्री समूह’ र ‘वाहिर समूह’ को निर्माण हुन्छ । यसपछि आफ्नो छवि सुधार्नको लागि आफ्नो समूहको वकालत र वाहिर समूहको विरोध गर्ने गरिन्छ । यसरी कुनै एक भित्री समूहले अर्को बाहिरी समूहको नकारात्मक पक्ष उजागर गरेर आफ्नो छवि सुधार गर्ने प्रयत्न गर्नु नै यो सिद्धान्तको केन्द्रविन्दू हो ।

सिद्धान्त भन्छ, मान्छेको वर्गिकरण र विभेदिकरण मान्छेबाटै आरम्भ हुन्छ । मान्छेको पहिचान सम्बन्धि सामान्य ज्ञानले नै अन्तरसमूह असमानता र आन्तरिक समूहको समानताको मूल्याङ्कन गर्ने गर्दछ । फलस्वरूप, एकअर्कालाई हेर्ने दृष्टिकोण पूर्वाग्रही हुन जान्छ । यसबाट साम्प्रदायिक भावनाको विकास भएर असहिष्णु साम्प्रदायिक भावना विकसित हुन्छ । यसले अन्ततः उत्तर आयरलैण्डको जस्तो क्याथोलिक र प्रोटेस्टेण्टबीचको क्रिश्चियन तनाव, धनी र मध्यम र गरिबबीचको तनावको स्थिति मात्र नभएर जर्मनीमा भएको यहूदी र नाजीबीचको नरसंहार, रूवान्डामा भएको हुतु र तुत्सीबीचको नरसंहार, र हालसालै युगोस्लोभियामा भएको बोस्निया र सर्बबीचको नरसंहार जस्ता घटनाहरूको पुनरावृत्ति पनि गराउन सक्दछ ।

ताजफेल (१९७९) अनुसार सामाजिक पहिचान सिद्धान्त मानसिक स्थितिको तीन चरणमा विकासित हुन्छ । पहिलो चरणमा मान्छेले मान्छेलाई वर्गीकरण गर्दछ । जस्तै, मान्छे हिन्दू मुस्लिम, काला गोरा, विद्यार्थी पुलिस आदि समूहमा विभाजित हुन्छन् । दोस्रो चरणमा सामाजिक पहिचान हुन्छ । यस चरणमा मान्छेले आफ्नो समूहको पहिचान गरेपछि सोही अनुरूपको व्यवहार गर्न थाल्दछ । जस्तै यदि कुनै व्यक्तिले आफ्नो पहिचान विद्यार्थी भएको पाएपछि उसले पनि विद्यार्थीकै चालढाल र व्यवहार गर्न थाल्दछ । तेस्रो चरणमा तुलना गर्ने गरिन्छ । अर्थात् एक समूहले अर्को समूहसित आफूलाई तुलना गर्ने गर्दछ । यो तुलना गर्ने कार्य आत्मसम्मान हासिल गर्नको लागि गर्ने गरिन्छ । यसबाट पूर्वाग्रहको निर्माण र विकास हुन्छ । फलस्वरूप एक समूहले अर्को समूहलाई प्रतिस्पर्धी वा प्रतिद्वन्दी पाउँछ । यसपछि साधन स्रोतको लागि मात्र नभएर पहिचानको लागि प्रतियोगिता र हिंसाको आरम्भ हुन्छ ।

सामाजिक पहिचानको सिद्धान्तले सामूहिक भावना वा सदस्यता कुनै अप्राकृतिक वा बाहिरबाट थोपरिएको वस्तु नभएर कुनै व्यक्तिको वास्तविक, सत्य र आवश्यक तत्व पनि हो, भनेको छ । तर मान्छेले वाह्य समूह भनेर विभेद गरेको समूहमा खुट्याउन नसकेका मान्छे पनि पर्दछन् भनेर सिद्धान्तले सचेत गराएको छ ।

अन्तमा, सिद्धान्तहरूले पहिचानका विभिन्न अवधारणाहरू अघि सार्ने क्रममा मोटामोटी तीन स्थिति सिर्जना हुने तर्फ संकेत र सचेत गराएका छन् । पहिलो चरण हो प्रतिस्पर्धाको चरण, दोस्रो द्वन्द्वको चरण र तेस्रो चरण हो नरसंहारको । नेपाल पहिचानका सवालमा हाल दोस्रो चरणमा पुगेको अवस्था छ । अब यसलाई तेस्रो चरणमा धकेल्ने वा पहिलो चरणमा फर्काउने वा यही चरणमा रहिरहने भन्ने कुरा पनि हाम्रै हातमा रहेको छ । मानिसको मनोभावना, बानी, व्यवहार, प्रतिक्रिया र सामाजिक गतिविधिबीचको सम्बन्धबारे सूक्ष्म विश्लेषण गरेर बिना पूर्वाग्रह अघि बढेमा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सम्भव छ । यसबाट नै दिगो शान्ति र सहिष्णु वातावरण निर्माणको ढोका खुल्दछ ।

Comments are closed.