पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

डा. नवराज सुब्बा

लिम्बू जातिको एउटा मौलिक लोकगीत परम्परालाई पालाम् भनिन्छ । धान पाकेपछि काटेर बालाबाट दानालाई झार्न नाचिने नाचबाट ‘धाननाच’ सुरू भएको जनश्रुति छ । यही धाननाचमा पछि पालामको विकास गरियो भन्ने लिम्बू जातिको जनविश्वास छ । पाःलाम् (बोल्+नु+बाटो/माध्यम) बाट पालाम शब्दको व्युत्पत्ति भएको मानिन्छ । जसको अर्थ हो मनको भावना अभिव्यक्त गर्नु । कवि वैरागी काईला पालामबारे भन्नुहुन्छ– अनेक प्रश्नोत्तर धाननाचको पालाममा गर्ने गरिन्छन् । पालाम् गाउँदा गरिने यस्ता प्रश्नोत्तरहरूले पालाम श्रुतिपरम्परा (मुन्धुम), ज्ञान, लिम्बू जातीय प्रचलन समेतलाई व्यक्त गरिरहेका हुन्छन् । पालाम गाइँदा हुने त्यस्ता प्रश्नोत्तरहरू गहकिला र गहिरा हुन्छन (सम्बाहाम्फे, २०६२) ।

कवि काईलाको उक्त भनाइसित म सहमत छु । उहाँले भन्नु भएझैं पालाम वास्तवमा गहन हुन्छन् । पालाम सुन्दा वा अध्ययन गर्दा लाग्छ लिम्बू भाषा र साहित्य परिस्कृत र सुसंस्कृत पनि छ । गाउँमा अशिक्षित लिम्बूजनले त्यस्ता विम्ब र प्रतीक कसरी प्रयोग गर्न जाने होलान् भनेर हामी तीनछक्कै पर्दछौं । तर अघि कवि काईलाले भन्नुभो यो पालाम श्रुतिपरम्परामा आधारित छ । उनीहरूले सुनेकै भरमा काव्यको उत्कृष्टता बचाउँदै पुस्तौ हस्तान्तरण गरे । लिम्बू जातिमा प्रचलित यो धाननाच या पालाम कहाँबाट आरम्भ भयो भनेर भन्न चाहिँ गाह«ो छ । यही जिज्ञाशाले यो पङ्तिकारलाई यो आलेख लेख्न प्रेरणा दिएको छ । यो पङ्तिकारलाई पालामभित्रै प्रयुक्त बिम्व र प्रतीक सामात्दै त्यस धान नाचिएकोस्थलतिर पालामको माध्यमबाट पसेर नियाल्न अभिप्रेरित गरेको छ ।

पालामको उदाहरण प्रस्तुत गर्न अघि म एउटा नेपाली लोकगीतको टुक्रा पहिले राख्दैछु । यसमा प्रयुक्त स्थानहरूले उक्त लोकगीत सोही स्थानको भएको नाता गासेको देखिन्छ । जस्तै–
पोखराको बजारा बन्दीपुरे बजार
घरै छाडि गए पनि नजाउ भन्ने हाम्रो को छ र?

प्रस्तुत लोकगीतले गीतमा बोलिने पोखरा तथा बन्दीपुर क्षेत्रको प्रतिनिधित्व गर्दछ । होला, कुनै हुर्केबढेको छोरालाई घरमा बाआमा वा समाजले केही गर भनेर परदेश जान प्रेरित गर्दा, परदेशको अनिश्चय वा पीडा सम्झेर र आफ्नै गाउँले आज धकेले पनि त्यही गाउँकै माया लागेर आउँदा विष्मयको भूमरीमा स्वस्फूर्त रुपमा निस्केको यो सहज भावना हो । सबै भएर पनि आज कोही नभएको अनुभूति गरिएको अवस्था गीतमा पाइन्छ । यसरी लोकगीतमा हुने भावनापक्ष जति भावुक र खँदिलो छ त्यसमा प्रयुक्त भौगोलिक स्थानको उल्लेखले लोकगीतलाई अझ जीवन्त बनाएको छ । मैले भन्न खोजेको के भने लोकगीतले जीवनको शाश्वत सत्यको अतिरिक्त जगतको भौगोलिकताको पनि प्रतिनिधित्व गर्ने गर्दछ ।

अब म लिम्बू लोकसाहित्य पालामतर्फ आएँ । पालाममा गाइने केटा र केटीको प्रश्नोत्तरको सानो उदाहरण पहिले राख्दैछु । प्रमाणस्वरूप लिम्बू भाषाको केही हरफ पालाम तथा त्यसको पूर्णअंशको सार नेपाली भाषामा लेखक अम्बिकाकुमार सम्बाहाम्फेको ‘चार माया पालाम’ बाट साभार गरेको छु ।
नायिका (मेन्छ्या) को सवाल–
केवालुङ तेहिम् लुङ्मा पहिम्
बसाङाङाङ लुङे मिक्किी फुङ्ङे…
…सेमिक्ला सेम्लेङ युरेबारो
मेल्लेमी ताजेङ चुरेबारो ।
(पृष्ठ ६९–७२, अम्बिकाकुमार सम्बाहाम्फेको ‘चार माया पालाम’)

लयात्मक पालामको नेपालीमा भावार्थ गद्यमा (सम्पादित)–
नायिका (मायालु भाकामा सुर, ताल र लयका साथ भन्छिन्) ः–
“कठैबरी ! फूलजस्तो सुन्दर कञ्चन मेरो फूलमायालुले कति राम्ररी आफ्नो भावनाहरू पोख्दापोख्दै आफ्नो पालो सकेर अब भन्ने पालो मलाई दिनु भयो । त्यसको लागि मेरा दशऔंला जोडि हातमा थापेर शिरैमाथि हजुरलाई चढाएँ है । शिरमाथि यो चरणको कुरा यत्ति नै भो । अब मेरो मायालुले भनी ल्याउनु भएको कुराहरू सब नजाने पनि केही भनि हेर्छु है । हजुरले भनेको कुराहरू के–के हुन् भने हजुरले फूलहरूको बारेमा सबै कुरा बताउनु भयो । यो कुराले मेरो चित्त बुझ्यो । मन मेरो हाँस्यो, तन मेरो नाच्यो । अति आनन्द भयो । अनि फूलमाया खेलाउनलाई कमलको फूल रोज्नु भयो । यो कुराले झन् मेरो दिल रमायो । हजुरले छानेको कमलको फूललाई जगजगी जगाउँदै, गाउँदै, खेलाउँदै त्यो फूलबारीमा नाच्न म राजीखुशी नै छु । तर यसमा एउटा कुरा चाहीं सोध्न मन लाग्यो है । सोध्न चाहेको कुरा के भने– त्यो मायाको प्रतीक कमलको फूललाई कहाँ र कसरी खेलाउँनु? त्यो चाहीँ सविस्तार भन्नुहोस् है । भन्नलाई लौ पालो हजुरलाई दिएँ है । म नजान्ने मान्छेले अब कुरा बिसाएँ है ।”

नायिकाको विनम्रतापूर्वक नायकको प्रस्तावलाई स्वागत गर्दै थप जिज्ञासा राख्दछिन् । नायकले पनि ससम्मान नायिकाको सवाललाई सम्बोधन गर्दै जवाफमा आफ्ना दार्शन तथा गहन विचार यसरी व्यक्त गर्दछन् ।
नायकको जवाफ (थाङबेनले पालाम् नुक्मा)–
इसाङलुङ तेहिम् लुङ्मा पहिम्
सरिताङ हुरिक् कुधे नुरिक्…
…सिदिनु मादि युरेबारो
मेल्लेमी ताजेङ चुरेबारो ।
(पृष्ठ ७२–७६, अम्बिकाकुमार सम्बाहाम्फेको ‘चार माया पालाम’)

लयात्मक पालामको नेपालीमा भावार्थ गद्यमा (सम्पादित)–
नायकः– “कठैबरी ! मेरी मायालु ! हजुरले कति राम्ररी आफ्ना मनका कुरा भन्दाभन्दै मलाई पालो दिनुभयो । त्यो मेरो पालो स्वीकार गर्दछु । आफ्नो पालोमा स्वागत गर्दछु । मेरी मायालु ! धेरै कुरा नभनी सिधै उत्तर म दिन्छु । हजुरले फूलमायाको प्रतीक कमलको फूललाई कहाँ र कसरी खेलाउने भनेर मलाई सोध्नुभयो । त्यसको उत्तर दिनुहोस् भनेर मलाई भन्नुभयो । यसको जवाफमा म भन्छु हे मेरी मायालु ! मानसरोवरको तालमा कमलको फूल फुलेको छ । त्यसलाई सेती र काली नागले पहरा गरेका छन् । त्यसकारण पहिले तिनीहरूलाई मान–मर्यादा तथा दाम राखी विन्ति सेवा गर्नु पर्दछ । तागेरा माङलाई दण्डवत गर्नुपर्दछ । अनि उनलाई यसरी विन्ति गर्नु पर्दछ कि– हे ! तागेरा माङ हामी दुई फूल मायालु जोडी हौं । हामी दुई हजुरकै मायालु जोडी हौं । हामी फूलमायामा त्यो मानसरोवरको कमलको फूलमा जान्छौं भनेर विनयपूर्वक विन्ति बिसाउनु पर्दछ । साथै धरती र पानीमा हिँड्न र बस्न सक्ने भ्यागुत्ता देवलाई पनि मानमर्यादा र दाम राखी विनम्रतापूर्वक सेवा गरी हामी दुवैलाई त्यो मानसरोवरको तालबीचमा फुलेको कमलको फूलमा पु¥याइ दिनुहोस् भन्दै सेवाविन्ति गरौं । यो वाचावन्धन बाँधौं । यसरी अब हामी कमलको फूलमा पुगौं । अनि त्यो कमलको फूलजस्तै फुलेर फूलको बीचमा उभिरहौं । अनि कठैवरी मेरी मायालु ! सारा दुनियाँ संसार हेर्दै मुस्कुराउँदै, हाँस्दै अंगालोमा बाँधेर जगजग खेलाउँदै, नाच्दै र गाउँदै फूलमायाको चरम आनन्दमा डुबिरहौं । फूलजस्तै कञ्चन भएर उभिरहौं । जगजग जुनिजुनि फुलौं । कमलको फूललाई अंगालो हाली बयेली खेल्दै कमलको फूलमा मिलौं । मेरी फूलमायालाई कसरी र कहाँ फूलमाया खेलाउने भन्ने प्रश्नको उत्तर मेरो विचार अनुसार यसरी नै दिएँ है । अब हे मेरी मायालु ! हजुरको विचार पनि सुन्न पाउँ है । अब हजुरलाई आफ्नो मनको भावनाहरू भन्ने पालो दिएँ है । मेरा छोटा मनका भावनाहरू यही बिसाएँ है ।”

नायकले विनयपूर्वक आफ्ना गहन दर्शन, विचार र भावनालाई एकसाथ पालाममार्फत् पोख्तछन् । यसमा प्रयुक्त प्रतीक र विम्बको गहिराई बुझिनसक्नु छ । भावार्थमा जाँदा सरलदेखि गहिरो तह छिचोल्नु पर्दछ । जेहोस्, आज मेरो आलेखको उद्देश्य काव्यात्मक गहिराई नाप्नेतिर नभएर पालाम काव्यमा प्रयुक्त भौगोलिक स्थानलाई वर्तमानसंग जोड्ने प्रयत्न गर्नु मात्र हो । तसर्थ नायकले नायिकाको जवाफी पालाममा आएको मानसरोवर ताल नै मेरो अध्ययन र विश्लेषणको केन्द्रविन्दू हो ।

विश्लेषणः– लिम्बू मुन्धुम, दर्शन तथा किरात इतिहासले यो जातिको उत्पत्तिको बारेमा मूलतः दुई अवधारणा अघि सारेको पाइन्छ । पहिलो अवधारणा अनुसार लिम्बू जातिको उत्पत्तिस्थल कुम्भकर्ण (फक्ताङलुङ) क्षेत्र हो । दोस्रो अवधारणा अनुसार कुनै कालखण्डमा किरात असुर मंगोल भएर एउटै वंश भएता पनि बंशबृक्ष फैलिएर कालान्तरमा नेपाल भित्रँदा पश्चिम दिशाबाट गंगामैदान भएर खाम्बोङबा (काशीवंश), उत्तरबाट तिब्बतबाट झरेका मुनाफेन (ल्हासावंश) र पूर्वबाट ताङसाङबा मंगोल वंशको मिश्रण भएको मिश्रित जाति लिम्बू मान्दछ । आज नेपालको पूर्वी दिशामा रहेको सिक्किममा यूमाधर्मको प्रचार बढेको छ । त्यसैगरि उत्तरदिशाबाट आएका उबाहाङ, माबोहाङले यूमाधर्मको प्रचार गरेको इतिहासमा पाइन्छ (चेमजोङ, २००३) । यूमाको प्रार्थनामा तिब्बती भूभाग र त्यहाँबाट नेपाल चढाई गर्ने राजाहरूको उल्लेख छ । जस्तैः
…आदाङमे !!!
साक्चिम कुलुमथाङरेगः नाङजंग
सिङयुक मुदेनलेमेग युक्फुङ ताङमाए ।
फाङजङरेगः केकप्माकेलाङमे कोही फाङजङ ।।
रेगः केवामा केलाङमा माङमाए ताङमाए ।
वाबुन वाखोङ वादी वाथपफाङ लेगः माङमाए ।।
सूरित केजोङ फयोबासे केथामे ।
याक्लागेन याशक साँफे युक्फुङताङमा माङमाए ।।
लाशाहाङरेगः थकलिगेन साम्माङ तुम्मनेलो ।
आशुनु शुनु यूमाए तुमतुम्दो हेनालो ।। …
(किरात साम्यो नु येच्छाम्थिम्, आसमान सुब्बा, २०४५, पृ.२५)

उपरोक्त यूमा वन्दनामा प्रयुक्त भौगोलिक स्थल ल्हासा तथा त्यहाँका शासक राजाको उल्लेख हुनुले यूमाधर्म प्रवेशमार्ग ल्हासामार्ग भएको थियो अनि सहज अनुमान गर्न सकिन्छ । मेरो हालसम्मको अध्ययनको आधारमा यूमा धर्ममा प्रयुक्त निङवाफूमा देवीवोधक शब्दमा आउने ‘निङवा’ शब्द बोन धर्मबाट आएको हुनसक्छ । किनभने विद्वानहरू बोनधर्म तिब्बतको प्राचीन धर्म मान्दछन् । अझ गहिरिएर हेर्ने हो भने बोनधर्मको उदय तिब्बतको मानसरोवर क्षेत्र मानिएको छ (रिलिजियस फेक्ट, २०१८) । भाषागत दृष्टिले तिब्बती परम्परामा विद्यमान एक सम्मानित ‘निङ्मा’ शब्द र किरात लिम्बूको मूलदेवता बुझाउने ‘निङ्वा फुमा’ पदावलीमा रहेको ‘निङ्वा’ शब्दबीच अर्थ र ध्वनिबीच तात्विक सम्बन्ध देखिन्छ । शब्दार्थको दृष्टिले हेर्दा, ‘निङ्मा’ भन्नाले तिब्बती भाषामा प्राचीन, पुरानो, अतीत बुझाउँछ भने ‘निङ्वा’ भन्नाले लिम्बू भाषामा सम्झना बुझाउँछ (विकिपिडिया,२०१८) । पुराना कुरा वा सम्झना बुझाउने यी दुई पदहरू समानार्थी छन् । ध्वनि वा शब्दोच्चारणको हिसाबले पनि ‘निङ्मा’ र ‘निङ्वा’ करिव समान सुनिन्छन् । त्यति मात्र हैन बोनधर्मकी प्रमुख देवी ‘युम’ र किरात लिम्बू युमासाम्याकी ‘युमा’ को अर्थ पनि आमा नै हो । किरात युमामार्गमा गरिने कतिपय परम्परा बोन धर्मका परम्परासित मिल्दाजुल्दा छन् । बोन धर्ममा जादू, भूतप्रेत मन्छाउने र भोग दिने जस्ता रितीथिति छन् जुन युमापन्थसित मिल्दाजुल्दा छन् (व्रिटानिका, २०१८) ।

निष्कर्षः–
तिब्बत वा चीन भूगोलसित लिम्बू सम्बन्धित छन् भन्ने कुरा इतिहास र मुन्धुमले सावित गरेको छ । तिब्बतबाट आएका शासक र लिम्बूबाट युमाधर्म पनि आएको कुरा मुन्धुम, इतिहास र स्वयम् युमाको प्रार्थनाबाट सिद्ध हुन्छ । लोकसाहित्य पालामले कुनै समय लिम्बू जाति मानसरोवर क्षेत्रमा नाचीखेली गर्दथे भन्ने देखाएको र उक्त मानसरोवर क्षेत्र बोनधर्मको उद्भव स्थल भएकाले यसको प्रभाव लिम्बूमा पर्न गएको हुनसक्छ । संभवतः तागेरा निङवाफूमा को ‘निङवा’ शब्द बोनधर्मको ‘निङमा’ बाट प्रभावित भइ थपिएर आएको हुनसक्छ । यसको प्रमाणस्वरूप लिम्बू पालाममा जुनबेला मानसरोवर तालको चर्चा गरियो त्यसबेला लिम्बूका स्वयम्भू देवलाई ‘तागेरा माङ’ मात्र भनिएको छ । लिम्बू लोकसाहित्य पालामले संकेत गरेको उपरोक्त तथ्यलाई म एक सशक्त प्रमाणको रूपमा अघि सार्दै मानसरोवर वा तिब्बतमा बोनधर्मको प्रभावले ‘तागेरा माङ’ लाई ‘तागेरा निङवाभू माङ’ भनिएको हुनसक्छ ।

सन्दर्भग्रन्थहरूः
1. सम्बाहाम्फे, अम्बिकाकुमार (२०७२) चार माया पालाम, धरान, किरात याक्थुङ मुन्धुम समाज ।
2. सुब्बा, आसमान (२०४५) किरात साम्यो नु येच्छाम्थिम्, काठमाडौं, लीला सुब्बा, पृ.२५
3. Chemlong, Imansing (2003) History and Culture of Kirat People. Lalitpur, Kirat Yakthung Chumlung.
4. Britannica Encyclopedia, Retrieved on 2018-6-11.
5. ReligionFacts.com. “Bon.”, 28 Oct. 2016. Web. Accessed 16 Jun. 2018. www.religionfacts.com/bon
6. Wikipedia, Bon, Archived from the original on 2012-09-14 Retrieved on 2018-6-16.

Comments are closed.