भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको मानवशास्त्रीय दृष्टिकोण

भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको मानवशास्त्रीय दृष्टिकोण

डा. नवराज सुब्बा

पृष्ठभूमि
नेपाली बाङ्मयमा भाषा अध्येताका लहरमा छुटाउनै नमिल्ने नाम हो भाषाशास्त्री बालकृण्ण पोखरेल । एकथरी भाषाविद् नेपाली भाषालाई पहाडी हिन्दी मानेर भारोपेली परिवारभित्रको एक भाषाको रुपमा चिन्दछन् । अर्काथरी भाषाविद् नेपाली भाषालाई संस्कृत र हिन्दीको एक भाषिकाको रुपमा समेत देख्दछन् । वि.स. २०१३ सालमा संखुवासभाबाट ‘नौलो पाइलो’ पत्रिकाबाट बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, कोशराज रेग्मी, तारानाथ शर्मा र चुडामणि रेग्मीले संयुक्त रुपमा नेपाली झर्रोवादी भाषिक अभियान आरम्भ गर्नुभयो (न्यौपाने, २०७५)। वि.स. २०६३ सालमा आन्दोलनको स्वर्णजयन्ति विशेषाङ्क प्रकाशित भइसकेको छ । उहाँहरुले नेपाली भाषालाई संस्कृतबाट प्रभावित तर भिन्न प्रजातीय मौलिक खस भाषालाई नेपालको राष्ट्रभाषा दावी गर्नुभएको छ । नेपाली भाषामा नेपाली माटोको सुवास आउने झर्रा लवज मिलाएर नेपाली भाषामा मौलिकता थप्ने काममा भाषाशास्त्री पोखरेलको समेत बलियो हात छ ।

परिचय
झर्रोवादी भाषा आन्दोलनले नेपाली भाषा र शैलीमा मानक स्थापित गरिदिएको छ । नेपाली भाषालाई भारोपेली भाषा परिवार तथा हिन्दी सगोत्रीय साइनो चुँडाउन संभव नभएता पनि अलग नेपाल राज्यजस्तै सार्वभौम राष्ट्रभाषा बनाउन उहाँहरूले भरमक्दुर प्रयास गर्नुभयो । नेपाली पर्वते पहाडी जनबोलीलाई नेपाली भाषा भनी वकालत गर्नुभयो । साक्षीस्वरुप भाषागत ठेट् नेपाली शब्दावली र विशिष्ठ शैली प्रक्षेपण गर्नुभयो । नेपाली भाषा भारोपेली भाषा परिवारको एक सदस्य तथा संस्कृत र हिन्दी भाषा भाषाका नातेदार भएको भाषाशास्त्रीय मत छ । खस भाषा प्राचीन कालमा जुम्ला, पर्वत, गोरखा क्षेत्रमा प्रचलित थियो । गोरखा राज्यविस्तार तथा नेपाल एकीकरणसंगै यो भाषाले विस्तारित र विकसित रुप ग्रहण गर्दै आयो । ऐतिहासिक खस भाषा हाल नेपालको एक राष्ट्रभाषा तथा सरकारी कामकाजको भाषा समेत बनेको छ । नेपाली भाषाका सैद्धान्तिक मान्यतालाई ठाडो उभ्याउन झर्रोवादले मानिसको शरीरमा एक नसोले झैं काम गरेको मान्नु अत्युक्ति नहोला ।

यो लेखको बारेमा भन्नुपर्दा यहाँ प्राध्यापक पोखरलेलका साहित्यिक योगदानबारे चर्चा हुने छैन । तापनि उहाँको लेखनशैलीबारे संक्षेपमा केही शब्द कोरिने छन् । हाल विश्वमा भएको संचार प्रविधिको विकास, अंग्रेजी तथा हिन्दी भाषाको प्रभावले नेपाली अखबारी भाषा तथा रेडियो, टेलिभिजनका बोलिचालि प्रभावित देखिन्छन् । त्यसबेला नेपाली व्याकरणले मात्र सम्हाल्न नसक्दा झर्रो नेपाली मौलिक सन्दर्भले काँध थाप्ने गर्दछन् । वातावरणीय प्रभावले संचार जगतमा आएका भाषागत तथा शैलीगत विकृतिका बाढीबाट नेपाली भाषाको विशिष्ठता जोगाइराख्न झर्रोवाद भित्तो झैं ठडिएको देखिन्छ । यसर्थ नेपाली भाषिक अभियन्ताका लहरमा उभिएका प्रा. बालकृष्ण पोखरेल तथा उहाँका साहित्यिक व्यक्तित्व नेपाली पाठकमाझ अध्ययन स्रोत बनेका छन् ।

प्राध्यापक पोखरेलको बौद्धिक ज्ञानभण्डार, सिर्जनशील मसी तथा सिद्धहस्त साहित्यिक कलम नेपाली पाठकलाई सदा आकर्षित गर्ने क्षमता राख्दछन् । उहाँले नेपाली भाषामा गतिला निबन्ध, समसामयिक समाजिक उपन्यास, कथा, कविता, लेख आदि प्रसस्त मात्रामा लेखेर नेपाली साहित्यको भण्डारलाई धनि बनाउनु भयो । उहाँको भाषाशास्त्रीय विशिष्ठ योगदानलाई म यतिमा नै बिट मार्दछु ।

पाठको उद्देश्य
माथि भनियो, उहाँका ती साहित्यिक कृतिउपर चर्चा गर्ने यो लेखको उद्देश्य होइन । उहाँले भाषाशास्त्रमा पुर्याएको योगदानबारे नेपाली साहित्यमा चर्चा भएका छन् । तर उहाँले भाषाशास्त्रको सेवा गर्दागर्दै मानवशास्त्रमा पुगेका योगदानबारे यथोचित चर्चा भएको छैन । एक अन्तर्वार्तामा भाषाशास्त्री टङ्क न्यौपानेले प्राध्यापक पोखरेलको नृतत्वशास्त्रीय ज्ञानको झल्कोसम्म दिनुभयो (न्यौपाने, २०७५) । उहाँको गहन व्यक्तित्व उजाजर गर्ने सवालमा खाडल भेटिन्छन् । त्यही कमीलाई कम गर्न यो लेख अघि सारिएको हो । उहाँको ‘खस जातिको इतिहास’ शोधमार्फत प्रकाशित ज्ञान र दर्शनको एक सार विभिन्न जातिबिच रक्तमिश्रण तथा रक्तगत अनन्याको विश्लेषण गर्नु यो लेखको ध्येय हो । उहाँले खस, आर्य, किरात लगायतका सांस्कृतिक विकासक्रम तथा व्यवहारको विवेचना ‘खस जातिको इतिहास’ शोधमा गर्नुभएको छ । त्यहाँ उहाँले किरात संस्कृति र व्यवहारको समेत यथेष्ट चर्चा गर्नुभएको छ (पोखरेल, २०५५) । कतिपय ती चर्चा विभिन्न पक्षसित तुलनीय देखिन्छन् । ग्रिसेली पुराकथाको विवेचना पोखरेलले गहन ढङ्गले गर्नुभएको छ । जसलाई म किरात मुन्धुमको पुराकथाको कथासारसित तुलनीय रहेको दाबी गर्दछु ।

प्रा. पोखरेलको मानवशास्त्रीय दृष्टिकोण
भाषाशास्त्री बालकृष्ण पोखरलेलको मानवशास्त्रीय चेतना र योगदानबारे थप चर्चा गर्न चाहन्छु । प्राज्ञिक जगतले प्राध्यापक बालकृष्ण पोखरेललाई सदा सम्झना गर्ने क्षेत्र हो अनुसन्धान । भाषाशास्त्रमा उहाँले गर्नुभएको अनुसन्धान ‘खस जातिको इतिहास’ नामक शोधग्रन्थ मानवशास्त्रीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । यो ग्रन्थ नेपाली भाषाशास्त्रको लागि मात्र सन्दर्भ ग्रन्थ नभएर यो अन्य विधा र क्षेत्रको लागि पनि उत्तिकै गहकिलो र गतिलो खुराकी हो । यो ग्रन्थले मानवशास्त्र, इतिहास र संस्कृतिका विद्यार्थीलाई गतिला ज्ञान पस्केको छ । मैले पनि किरात संस्कृतिको अध्ययनको क्रममा उक्त ग्रन्थमा प्रकाशित उज्याला ज्ञानका किरणलाई उपयोग गरेको छु । नढाँटी भन्दा, उहाँको उक्त शोधग्रन्थ यति गहन छ जसलाई एकफेर सरसर्ति हेरेर मात्र बुझिंदैन । त्यसलाई दोहोर्याएर मात्र पनि पुग्दैन । त्यसलाई बुझ्ने सही दृष्टिकोण, धैर्यता र चिन्तन समेत आवश्यकता पर्दछ । यो मभित्रको शोधार्थीको व्यक्तिगत अनुभूति हो । हो, उहाँले करिव चारदशक लगाएर तयार पारेको ग्रन्थ पक्कै चानचुने छैन । जोकोहीलाई शिर्षक हेर्दा यो खस जातिको इतिहास जस्तो मात्र लागे तापनि यो शोध ग्रन्थभित्र नेपालमा बसोबास गर्ने बाहुन, क्षेत्री, मगर, राई, लिम्बू, तामाङ, दनुवार, दलित आदि सबैका इतिहास र संस्कृतिसम्बन्धी महत्वपूर्ण सन्दर्भ प्रसस्त छन् ।
‘खस जातिको इतिहास’ शोधग्रन्थले बालकृष्ण पोखरेललाई एक मानवशास्त्रीको रुपमा स्थापित गरिदिएको छ । उहाँले नेपालका विभिन्न जातिका सांस्कृतिक विकासक्रम र व्यवहारको अध्ययन गर्नुभएको छ । उहाँले ग्रन्थको सारमा संसारका कुनै पनि जाति रक्तमिश्रणबाट अछूता छैनन् भनेर ठोकुवा नै गर्नुभएको छ । किरात र खसको रक्त अनन्यताको बारेमा उहाँले किरगिस पहाडलाई साक्षीको रूपमा उभ्याउनु भएको छ । किरातसित ब्राम्हण र दलितसित कसरी सम्बन्ध स्थापित (रक्तअनन्या) रहेको भन्ने तथ्य लाङ्गाराज (नागराज)को दृष्टान्तद्वारा बताउनु भएको छ । उहिले मानसरोवरमा लामो अवधिसम्म लाङ्गाराज (नागराज)को साहचार्य गरी शक्तिलाभ गरेका कुलु (कुनु/सुनु)वंश थिए । किरातमा गनिने सुनुवार त्यही वंशमध्येका हुन् । भारत हिमाञ्चल प्रदेशको कुल्लु उपत्यकाले अझै कुलवंशको नाम उच्चारण गरिरहेको छ । कुलु (कुनु)बाट शुनु भएर पनि कुल (गुल) वंशले आफ्नो अस्मिता कुकुर (कात्तिके÷काठो) ढाक्न सकेन । शकगण र कपिलले सत्ता खोसेपछि कत्युरी र कुलिन्दले ठूलो चोट सहनु पर्यो । तब एकथरी उत्तर भागी गेलाल (ब्राम्हण) भए, अर्कातिर शुनु (कुकुर)का रुपमा पुहुनीको काम गर्ने दास (दलित) भए र तेस्राथरी चाहिँ प्रतिष्ठा बचाउन सुनुवार नामक किरात सुनुवार वंशको संस्थापक भएर किरातमा मिसिए (पोखरेल, २०५५) । यसरी प्राध्यापक पोखरेलले खस र आर्यसित किरातको रक्तअनन्या रहेको दर्शाउनु भएको छ । त्यसैले नेपालमा आर्य, खस, किरातबिच रक्तमिश्रण सिद्धान्तलाई पुष्टि गर्ने अनगिन्ति दृष्टान्त शोधग्रन्थमा उहाँले पस्कनु भएको छ । मानवशास्त्र र समाजशास्त्रले उहाँका तथ्य र दृष्टिकोणलाई सारमा समर्थन गरेका देखिन्छन् (थुलुङ, २०४२; चेमाजोङ, २०६०; विष्ट, २०५५; Bista, 1972) ।

छलफल
प्राध्यापक बालकृष्ण पोखरलले ‘खस जातिको इतिहास’मा अघि किरातका पुर्खा सुमेर, कुर्म र कश्यपका पुर्खा काशी तथा गोथबिच मेसोपोटेमियामा रक्तमिश्रण भएको टड्कारो जनाउ दिनुभएको छ । उहाँको यो भनाइलाई अर्का इतिहासकार नारदमुनि थुलुङ र इमानसिंह चेमजोङद्वारा प्रस्तुत तथ्यहरूले पनि समर्थन गरिदिएका छन् (चेमजोंङ, २०६०क,२०६०ख; थुलुङ, २०४२) । रक्तमिश्रणका क्रममा सुमेर प्रभावित किरात र काशी प्रभावित खस, आर्य भए भन्ने पोखरेलको सिद्धान्तलाई किरात लिम्बू इतिहासले थप बल र ब्याख्या गरिदिएको छ । आज किरातका अग्रज लहर खाम्बोङ्बा जाति आफूलाई काशीगोत्र (कश्यप) भएको दावी गर्दछन् । यसबाट थाहा हुन्छ काशीगोत्र आर्य, खस जातिमा मात्र नभएर किरात जातिमा अझ टड्कारो देखिन्छ । अघि काशीले मानेको छाग धर्मको टोटेम हाल आर्य र खसमा हराएर गए तापनि किरातमा छागभक्षण तथा बाख्राको मासु बार्ना ९त्बदयय० अघिको पूर्वजाभासको रूपमा रहेको भाषाशास्त्री पोखरेलको ठहर छ । किरात लिम्बू आफूलाई सुमेर र काशी प्रभावित मान्दछन् । काशी प्रभावका किरात लिम्बू जाति हाल खस र आर्य निकट देखिनु त्यसैले स्वभाविक मानिन्छ । किरात पुर्खा आर्य पुर्खापूर्व नै शिवलाई कुलगुरु मान्ने गर्दथे (Danielou & Gabin, 2003) । त्यसैले शिवलाई किरातेश्वर पनि भनिन्छ ।

भाषाशास्त्री पोखरेलले समेत किरात लिम्बूको मुन्धुम (वेद)को लहरो आर्य, खस भन्दा पर ग्रिसेली संस्कृतिसम्म नियाल्नु भएको छ । किरात मुन्धुमको पुराकथा र ग्रिसेली पुराकथाको सादृष्यताले अघि किरात जाति र ग्रिसेली निकटवर्ति भ्राता थिए भन्ने जनाउ दिन्छ । पुराकथाको तुलनात्मक अध्ययनद्वारा उनीहरूबिच अघि भातृत्व सामिप्यता रहेको सङ्केत मिल्छ । पुराकथा भनेको सृष्टिकथा हो । यो दर्शन पनि हो । यसर्थ पुराकथाबारे संक्षेपमा चर्चा गरौं ।

ग्रिसेली मिथकमा सृष्टिकर्ता क्रोनोसको निर्देशनमा तितानहरुले सुनको मानिस बनाए परन्तु तिनले मानवको खाँचो टार्न सकेनन् । उनले त्यसपछि चाँदीको मान्छे बनाए । ती चाँदीका मानिस अति दुष्ट भएर निस्किए, तिनले सर्जक वा देउताकै अनादार गरे । चाँदीको मान्छे पनि काम नलागेपछि जेउसले काँसको मानिस बनाए । ती कासका मानिस भयङ्कर मात्र नभै झगडालु भएर निस्किए । जब काँसको मान्छे पनि काम लागेन । उनले फेरि कुन्नि के को मान्छे बनाए (‘Ages of Man -Greek Mythology’, 2019) । क्रोनोसले चौथो खाले मानिस बनाए तर केबाट बनाए त्यो हेसिओडले बताएनन् । ती मान्छे ट्रोय र थेबेस युद्धमा मरेर वीरगति प्राप्त गर्ने अर्धदेवहरु त्यसै जातका थिए भनी होसिओडले भनेका छन् । ग्रिसेली पुराकथाअनुसार हालको मानिस फलामको मानिस हो (पोखरेल, २०५५) । यहाँ फलामको मानिस भन्नाले फलामयुगीन मानिस भनेर बुझ्नुपर्दछ ।

मुन्धुमको रचनाकाल ईशापूर्व ३००० देखि ईशापूर्व ४००० अर्थात् आजभन्दा लगभग ५–६ हजारपूर्व देखि ईश्वी सन् बाह्रौँ, तेर्हौं शताब्दीसम्म मानिएको छ (कन्दङ्वा, २०७५)। किरात लिम्बू मुन्धुममा तागेरा निङ्वाफूमाङ परमात्माले मान्छे सृष्टि गर्ने क्रममा सर्वप्रथम सुनको मान्छेको मूर्ति बनाए र बोलाउँदा मूर्ति बोलेन । त्यसपछि चाँदीको मानिस बनाए त्यो पनि बोलेन । त्यसपछि काँसको मान्छे बनाए तर त्यो पनि बोलेन । उनी दिक्क भए र नजिकै रहेको खरानी र सुलीबाट मानिसको मूर्ति बनाएर बोलाउँदा अचम्म! त्यो मान्छे ‘हजुर’ भनेर बोल्यो । सृष्टिकर्ता माङले अचम्म र खिन्नता मान्दै त्यत्रो सुन, चाँदी, काँसले बनाएर बोलाउँदा नबोल्ने, जाबो खरानी, सुलीले बनाएर बोलाउँदा भने बोल्ने भनेर ‘थुक्क’ भनीदिँदा मान्छेको शिर तत्काल ढल्यो र मयो । तब उनले हतारहतार मानिसको शिर उठाएर मान्छेलाई बचाए । त्यसरी तागेरा निङ्वाफूमाङले मानिस सृष्टिगरी जीवनभोग गर्न अह्राएका थिए भन्ने मुन्धुमी पुराकथाको भनाइ छ (चेमजोङ, २०६०क,२०६०ख)।

मुन्धुमी पुराकथा अनुसार मान्छेको शिर उठाएर सृष्टिकर्ताले जवानी हालिदिएपछि सृष्टिले निरन्तरता पायो । सृष्टिकालमा मान्छेमा जवानी आएपनि एकअर्कामा लाज लागेकाले सृष्टि नचल्ने देखेर सृष्टिकर्ताले मर्चाको सृष्टि गरी जाँड बनाएर खुवाइदिएपछि मानिसमा लाज हट्यो । तब सृष्टिले विस्तारित रूप पायो । मुन्धुममा फेरि हाडनातामा मान्छे बिग्रेका कथा आउँछ । त्यसपछि सृष्टिकर्ताले हाडनातामा बिग्रिए चट्याङ लागेर अकालमा मरिने सजायको त्रासमय बन्दोवस्त गरिदिए । त्यसरी सृष्टिकर्ताले जीवन र जगत आरम्भ र व्यवस्थित गर्न पुराकथामार्फत लाक्षणिक शब्दशक्तियुक्त सन्दर्भ, सन्देश र शिक्षा दिएका छन् ।
ग्रिसेली मिथक र मुन्धुमी मिथक तुलनीय देखिने अर्को बलियो आधार पनि छ । ती दुवै पुराकथामा सृष्टिकर्तासित उनका सन्तानले झगडा गरेको घटनाक्रम आउँछन् । किरात मुन्धुममा पनि माथि ग्रिसेली मिथकमा झैं सृष्टिकर्तासित उनका सन्तानले झगडा गरेको सन्दर्भ आउँछ (चेमजोङ, २०६०क, २०६०ख) । मुन्धुममा आँधी हुरीबिच जन्मेका उनका सन्तानले सृष्टिकर्तासित झगडा गरेका थिए । सृष्टिकर्तासित झगडा गरेको प्रसङ्ग किरात मुन्धुमको पुराकथामा मात्र नभएर ग्रिसेली पुराकथामा पनि आउँछ । आफ्ना सृष्टिकर्तासित सन्तानले विद्रोह गरेको परिदृश्य ग्रिसेली मिथक र मुन्धुमी मिथकमा देखिनाले ती घटनाक्रम तुलनीय छन् ।
कतिपय कुरामा मुन्धुम ग्रिसेली मिथकभन्दा टड्कारो देखिन्छ । मानिसको सृष्टि सम्बन्धमा ग्रिसेली पुराकथामा मानिस के के बाट बनेको भनिएको छ । किरात लिम्बू मुन्धुममा वर्णित सृष्टिकथाको मानिस खरानी र सुलीबाट सृष्टि भएको बताउँछ (चेमजोङ, २०६०क)। ग्रिसेली मिथकको के केबाट बनेको वा मुन्धुमको खरानी र सुलीबाट बनेको मानिस चौथो जाति को हुन सक्छन्? यस सम्बन्धमा यो जाति त्यहाँ चलेको भयङ्कर युद्धमा मारिएका अर्धदेव जाति थिए भनी प्राध्यापक पोखरेलद्वारा विश्लेषण गरिएको छ । हिन्दू धर्मशास्त्रमा उल्लेख भएको देवासुर सङग्राम तथा आदिवासीको बोन धर्मको प्राथमिक कालको दर्शनमा वर्णित संसारमा ईश्वरीय र दानवीय शक्ति (पक्ष) विद्यामन रहेको र तिनैबाट मानवजातिको सृष्टि भएको भन्ने मिथकले पनि लाक्षणिक रुपमा देवासुर सङ्ग्रामतिरै सङ्केत गर्दछ । वोन दर्शनले पनि त्यही प्रसङ्लाई सङ्केत गर्दछ (Bon, 2016) । त्यसरी पश्चिम एशियामा भएको भनिएको देवासुर महासङ्ग्रामपश्चात किरात जाति ग्रिसेलीजातिबाट छुट्टिएर पश्चिम एशियाबाट पूर्व तथा उत्तरपूर्वतर्फ लागेको विश्लेषण गरिन्छ । किनभने भाषाशास्त्री बालकृष्ण पोखरेलको भनाइ छ– “पुराकथालाई वाच्यार्थमा लिने हो भने हामी भुमरीमा पर्दछौँ, त्यसैले तिनका व्यङ्ग्यार्थ र लक्षार्थबाट नै पुराकथाको सही अर्थ निकाल्न सकिन्छ” (पोखरेल, २०५५)।

उपसंहार
संक्षेपमा, ग्रिसेली पुराकथा र मुन्धुमी पुराकथा तुलनीय छन् । किरात साहित्यमा लोकप्रिय रहेको सृष्टिकथा र ग्रिसेली मिथकको पुराकथाका पात्रबिच रूपमा केही फरक परेता पनि घटनाक्रमका सारमा समान छन् । यसरी किरात साहित्य र दर्शनलाई पाश्चात्य दर्शनसित नाता गाँस्ने काममा ईमानसिंह चेमजोङ, नारदमुनि थुलुङ तथा बालकृष्ण पोखरेलका अध्ययन अनुसन्धानले सहज तुल्याएदिएका छन् । अतः नेपाली वाङ्मयका एक दरिला खम्बा बालकृष्ण पोखरेलले आफ्नो अध्ययनमा खस लगायत किरात, आर्यका सांस्कृतिक चिन्हलाई मिहिन ढङ्गले विश्लेषण गरी मानवशास्त्रलाई लगाउनु भएको गुन उल्लेख्य छ ।

सन्दर्भ–ग्रन्थ सूची
कन्दङ्वा, नन्द, २०७५, लिम्बू समुदायको विभाजन र विखण्डन, तान्छोप्पा मासिक, वर्ष २३, अंक ४।
चेमजोङ, ईमानसिंह, २०६०क, किरात मुन्धुम (किरातको वेद तेस्रो संस्करण, ललितपुर, किरात याक्थुङ चुम्लुङ ।
चेमजोङ, ईमानसिंह, २०६०ख, किरात दर्शनको सारंश, ललितपुर, किरात याक्थुङ चुम्लुङ ।
थुलुङ, नारदमुनि, २०४२, किरातको नालिबेलि, विराटनगर, अङ्गुर कन्दङ्वा ।
न्यौपाने, टङ्क, १२ फागुन २०७५, मेरो नजरमा स्वर्गीय बालकृष्ण पोखरलेल गुरु, प्रदेश पोर्टल अनलाइन पत्रिका ।
पोखरेल, बालकृष्ण, २०५५, खस जातिको इतिहास, विराटनगर, उदात्त अनुसन्धान ।
विष्ट, डोरबहादुर, २०५५, सबै जातको फूलबारी, ललितपुर, साझा प्रकाशन ।
“Ages of Man – Greek Mythology.” 2019, July 11. Retrieved from https://www.greekmythology.­com/Myths/The_Myths/Ages_of_Man/ages_of_man.html
Bista, D.B. 1972. People of Nepal, Kathmandu, Ratna Pustak Bhandar
Bon. 2016, October 28. Religion Facts.Com. Retrieved from www.religionfacts.com/bon
Danielou, Alain & Gabin, Jean-Louis. 2003. Shiva and the Primordial Tradition: From the Trans to the Science of Dream. Inner Traditions Rochester, Vermont 05767.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.