लोक साहित्य र ‘मुन्धुम’ : एक चर्चा

लोक साहित्य र ‘मुन्धुम’ : एक चर्चा

डा. नवराज सुब्बा

आजकल ‘मुन्धुम’ अर्थात् किरात वेदको चर्चा छ । मुन्धुमको अर्थ लगाउन मुन्धुमका पंडित साम्बा, फेदाङ्बा पनि कतिपय सवालमा अड्किन्छन् । विभिन्न कालखण्ड, स्थलगत र जातिगत आधारमा मुन्धुमी वर्णन र भावार्थमा विविधता आउँछ । तथ्य बझ्न वा जिज्ञाशा शान्त पार्न मुन्धुमलाई साहित्यिक दृष्टिले पनि अध्ययन गर्नुपर्ने हुन्छ । मुन्धुम काव्यमा आउने अविधा, लक्षणा र ब्यञ्जना भावार्थ, प्रतीक र विम्बलाई गुरु, भक्त वा पाठकले आ–आफ्नै ढंगले ब्याख्या गर्ने गरेकाछ्न् । त्यसैले ग्रन्थउपर अन्त्यहीन शास्त्रार्थ र विभिन्न ब्याख्यान् हुने गरेको छन् । हिन्दू वेद अर्थात् किरात मुन्धुम श्रुतिस्मृति परम्परामा आधारित लोकगाथा हुन्, जो लेख्यरूपमा आउनुपूर्व लामो कालखण्डसम्म सयौं–हजारौं पुस्ता मुखमुखमा झुण्डिएर, धेरै भूगोल खेपेर मात्र एक–दुई हजारवर्षपूर्व लेख्य रूपमा आइपुगेका हुन् । श्रुतिस्मृति परम्परा लेखिनुपूर्व यो एक लोकसाहित्यको रूपमा उत्पत्ति र विकसित भयो । यसैले यसको अध्ययन गर्न लोक साहित्यसम्बन्धी सिद्धान्तको ज्ञान हुन पनि आवश्यक छ ।

‘लोक ’ शब्द संस्कृत भाषाबाट आएको शब्द हो । संस्कृतको ‘लोक दर्शन’ धातुमा ‘धञ’ प्रत्यय लागेर बनेको शब्द हो ‘लोक’ । जसको अर्थ हुन्छ देख्नेवाला, प्राणी, संसार, जनता आदि । लोक कल्याणकारी भावनाले अभिप्रेरित अभिव्यक्ति वा साहित्य नै लोकसाहित्य हो । यो शब्द ऋग्वेददेखि नै संस्कृत साहित्यमा प्रचलित भएर आएको हो । यसले विश्वव्यापी मान्यता र महत्व बोकेको छ ।

प्रसिद्ध नृतत्वविद् फ्र्यान्ज बोआसका अनुसार लोकसाहित्य भनेको लोकको आत्मजीवनी हो । डा. कृष्णदेव उपाध्याय भन्छन्– प्राकृतिक परिवेशमा निवास गर्ने आधुनिक सभ्यतादेखि टाढा रहेका आचार, विचार एवं जीवन परम्परायुक्त नियममा नियन्त्रित तथाकथित अशिक्षित एवं असंस्कृत जनतालाई ‘लोक’ भनिन्छ र तिनीहरूको सुख–दुखको साहित्य नै लोकसाहित्य हो ।

डा. वासुदेव त्रिपाठीका अनुसार सारांशमा जीवनको बहुमुखी सेरोफेरोको तीव्रतर अभिव्यक्ति नै लोक साहित्य हो । योगी नरहरिनाथका अनुसार लोक व्यवहारमा, लोकहितका लागि, लोकभाषामा, लोकविचारलाई प्रवाहमय शैलीमा लोकले प्रस्तुतगर्ने साहित्यलाई लोकसाहित्य भनिन्छ । माधव घिमिरेले लोकसाहित्यको चरित्रको बारेमा काव्यात्मक पारामा भन्छन्– ‘सर्छन् भाका अनि यस गलाबाट अर्को गलामा’ ।

धर्मराज थापा र हंसपुरे सुबेदी भन्छन्– लोकले सजिलै बुझ्न र अनुभव गर्नसक्ने भाषा र भावनामा निर्मित मानव मुटुको स्पन्दनबाट निस्केको मीठो आकर्षणमय मौखिक साहित्य नै लोकसाहित्य हो । तुलसी दिवस भन्छन्– सही अर्थमा लोक साहित्य लोकजीवन तथा संस्कृतिको प्रतित्रिम्ब मात्र नभएर सम्बाहक पनि हो । सरस्वती घिमिरे भन्छिन्– वेद भन्नु नै लोक साहित्य हो ।

यसरी माथिका परिभाषाहरूले हाम्रा वेद अर्थात् मुन्धुमलाई साहित्य अर्थात् लोक साहित्य मानेको छ । बुँदागत रूपमा लोक साहित्यसम्बन्धी चिन्तनको सार टिपोट यसरी गर्न सकिन्छ–
१. यो युगौं युगदेखि श्रुति परम्परामा जीवित रहेको हुन्छ ।
२. यो सरल वाणीमा लोकानुभूतिको अभिव्यक्ति हो ।
३. यो लोकजीवन तथा संस्कृतिको सम्बाहक हो ।
४. यो आदिमता र नवीनताको संगम पनि हो ।
५. यो लेख्य साहित्य पूर्व पीठिका हो ।
६. यो शास्त्रीय बन्धन विहीन निरन्तर परिवर्तनशील सहजानुभूति युक्त मौखिक साहित्य हो ।

लिखित साहित्य मात्र साहित्य होइन । लिपिको आविष्कार हुनुपूर्व संसारका हरेक भाषामा अलिखित लोक साहित्य समृद्ध थियो । यसरी यसको मूल सम्बन्ध लिपीसंग नभई भाषासंग भएको देखिन्छ । लोकसाहित्यको सर्वकालिक मूलतम् विशेषताहरू पनि यसप्रकार छन्–
१. रचयिता अज्ञात रहनु, २. मौखिक एवं परम्परागत हुनु, ३. सर्वाङ्गीण सामाजिक परम्पराको उद्वोधन, ४. सचेत अलंकरणबाट मुक्त प्राकृतता, ५. कोरा औपदेशिकताको अभाव, ६. ऐतिहासिकता र लोकसंस्कृतिको बाहक हुनु ।

पूर्व नेपालमा बसोबास गर्ने किरात अर्थात् किरात लिम्बू मुन्धुमलाई शाश्वत सत्य र पवित्र शक्तिशाली धर्मग्रन्थको रुपमा विश्वास गर्छन् । इतिहासकार राजबहादुर पन्धाक लिम्बू किरातका अनुसार मुन्धुमको शाव्दिक अर्थ ‘ठूलो बलको शक्ति’ हो । उनकाअनुसार मुन्धुम यस्तो महाकाव्य हो जुन विद्वानहरू, साम्बाहरू, कविहरू गीतको रूपमा कण्ठस्थ पारेर गाउँछन् । गीतमा दखल भएका ‘साम’ ‘बा’ अर्थात् साम्बाहरू किरात पुरोहित हन् ।

युगौंयुग मौखिक परम्परामा आएको मुन्धुमलाई ‘थङ्साप मुन्धुम’ भनिन्छ । लेख्य रूपमा आएपछि यसलाई यसलाई ‘पेशाप मुन्धुम’ भनिन्छ । यो चार भागमा बाँडिएको छ । १. सकसक मुन्धुम, २. येहाङ मुन्धुम, ३. सापजी (साम्जिक) मुन्धुम र ४. साप मुन्धुम । सकसक मुन्धुमले विश्व ब्रम्हाण्ड निर्माणका कथाहरू, मानव उत्पत्ति, पाप, धर्म तथा मानवीय रिस, राग, ईष्र्या, घृणा आदिको चर्चा गर्दछ । येहाङ मुन्धुमले आध्यात्मिक शिक्षा, शिक्षित र सभ्य मानव जीवनको बाटो देखाउँछ । अन्य मुन्धुमहरू पूजाआजा, जन्म, मृत्यु आदि कर्मकाण्डका विधि र सामग्री हुन् ।

आजभन्दा १०,१०६ वर्षपूर्व मुनातेम्बे अर्थात् बेबिलोन हालको मध्यपूर्व पर्सिया खाडीदेखि नै साम्बाहरूको उदय भएको बताउँदै इतिहासकार राजबहादुर पंधाक लिम्बू किरात ती साम्बाहरूको वर्गीकरण सिङफेदाङ्बा वा फेदाङमा, साम्बा वा साम्मा, येबा वा येमा तथा सिला साम्बा वा साम्मा (वैद्य)को रूपमा गर्दछन् ।

उक्त मुन्धुमलाई प्रथम किरात राजा यलम्बरहाङले नेपालमा प्रचलनमा ल्याएको र सोही क्रममा बाग्मति किनारस्थित गौरीघाट श्लेष्मान्तक बनको छेउमा आफ्नो इष्टदेवता किरातेश्वर महादेवको देवालय बनाई शिवलिङ्ग स्थापित गरेका थिए । नित्यपूजाको लागि फेदाङ्बा, फेदाङ्माको पनि व्यवस्था गरेका थिए । हिमहाङ साम अर्थात् ईन्द्रदेवको स्थान आफ्नो महलको माथिल्लो तलामा राखि अन्न, अनाज पाक्दा चसुपा अर्थात् न्वाँगी, नित्य दिन धुपबत्तीसमेत फेदाङ्मा पूजारी राखी सेवा भक्तिभावले पूजा गर्दथे भनी इतिहासकार राजबहादुर पन्धाक लिम्बू किरातले नेपालको इतिहासलाई उदृत गर्दै आफ्नो ‘विश्वको इतिहास तथा धार्मिक अभिलेख’ नाम पुस्तकमा बताएका छन् ।

किरातलाई मंगोल शब्दले सम्बोधन गर्न रूचाउने गुरूङ तमूँ वेद ‘के’ लेख्ने लेखिका भद्रकुमारी घले आदिम कालका चिम्सा, चेप्टा, नेप्टाहरू एउटै वर्ग र सृष्टिबाट सिर्जित हो भनेर तमूँ वेद ‘के’ बोल्छ भन्छिन् । उनका अनुसार श्रृजनाकालमा पहिलो समूह हिमाल काटेर चीन, मंगोलिया, कोरिया, भियतनाम, जापान गएको थियो । यसैगरि दोस्रो समूह पश्चिम लागेर थकाली, मगर, गुरूङ, उत्तर भारत, अफ्रिका गएको थियो । र तेस्रो समूह नेपालको पूर्वतिर तामाकोशीको तामाङ, राई, लिम्बू, तथा भारतको आसाम, नागालैण्ड, खासू, थाइलैण्ड, बर्मा, इन्डोनेशिया, जापान पुगे । यसरी भद्रा घले लिखित वेद ‘के’ ले पनि नेपालका किरात जाति प्राचीनकालमा हालको मध्यपूर्व एशियाबाट युराल पहाड नाघेर चीन मंगोलिया हुँदै दक्षिण एशिया, पूर्वी एशियामा फैलिएको देखाउँछ । ‘अफ्रिका बाहिर’ भन्ने मानवजातिको बसाईसराई सम्बन्धि महत्वपूर्ण एक वैज्ञानिक सिद्धान्तले पनि यसलाई पुष्टि गर्न मद्दत गरेको छ । ‘अफ्रिका बाहिर सिद्धान्त’ अनुसार आधुनिक मानिसको बसाईसराईको क्रम आजभन्दा ७५ हजार वर्षपूर्व अफ्रिकाबाट पश्चिम एशिया र त्यहाँबाट क्रमसः विभिन्न हाँगाहरू विभिन्न कालखण्डमा विभिन्न दिशातर्फ लागे । महत्वपूर्ण हाँगाहरू उत्तर, दक्षिण हाँगा भएर मध्यपूर्व एशियामा आए । त्यहाँबाट युराल पहाड नाघेर मंगोलया, चीन पुगे । जुन कुरा तमु वेद ‘के’ ले पनि किरात जातिको मंगोलया, तथा चीन प्रवेशकाललाई समेटेको छ । हेमिल्टनले नेपालसम्बन्धी आफ्नो पुस्तकमा अठारौं शताब्दीको नेपालको भौगोलिक, धार्मिक, सांस्कृतिक, राजनीतिक स्थितिको वर्णन गर्ने क्रममा पर्सिया उपत्यकामा इशापूर्व ४००० को पुरानो किरात (सौमर) लिपि भेटिएको तथ्य उल्लेख गरेका छन् । यसरी किरातको प्राचीनकालमा समृद्ध सभ्यता थियो र यिनीहरू विस्तारका क्रममा एशिया, यूरोप, अफ्रिका, अमेरिकाका भूभागमा फैलिएको विभिन्न तथ्यहरूले देखाउँछ ।

किरात धर्म संस्कृतिको बारेमा इतिहासका राजबहादुर पन्धाक लिम्बू किरातको भनाईले केही महत्वपूर्ण तथ्यहरू उजागर गरेको छ । मुन्धुमअनुसार बाघ, भालु, हात्ती, अजिङ्गर जस्ता राक्षस तस्करहरूसंग बच्नको लागि मानवहरू पाताल र फारसभित्रका गुफाहरूबाट निस्केर मध्यपूर्व पर्सिया खाडी मुनातेम्बे अर्थात् बेबिलोनमा स्याउला कटेरोको छहारी बनाई आगो बालेर बास बस्न थालेपछि तस्करहरूबाट बचेको थियो । मेरो विचारमा, यसरी नै हाल किरात लिम्बूले गर्ने गरेको एकराते, तीनराते देखि बाह«राते तङसिङ वा लिम्बूकै सत्तेहाङ पन्थीले गर्ने यज्ञ होमादीको आरम्भ, औचित्य र परम्पराको विकास भएको हुनसक्छ । भाषाशास्त्री बालकृष्ण पोखरेलको एक खसजाति सम्बन्धी एक शोधमा पाइएको मुन्धुमको मानवश्रृष्टिको कथा र ग्रीसेली मिथकबीच मूलभूत समानता मैले पाएको छु । यसबारे विस्तृत म छुट्टै लेखमा हुनेछ ।

किरात काललाई सम्बतको आधारमा विश्लेषण गर्न इतिहासकार राजबहादुर पन्धाक लिम्बू किरातको पुस्तकले एउटा आधार दिएको छ । उनको भनाई छ– किरातहरू ईशापूर्व ३००० मा चीन, जापान संगसंगै मंगोलिया, चीनमा पुगे । किरातहरू ईशापूर्व १००० तिर चीनको युनान प्रान्तदेखि शिलान्त भूमि झरे । द्वापरयुगको अन्तमा यलम्बरका पिता सेन्छेइङ्बा हाङको शासनकाल तथा ईशामसिहकाल समाप्त भयो । माथिका ५,००० वर्षभित्र सत्ययुग, त्रेतायुग र द्वापरयुग पर्दछन् । सेन्छेइङ्बाहाङ तथा यिनका छोरा यलम्बरको शासनकालदेखि कलियुग प्रारम्भ भयो भनेर, इतिहासकार बताउँछन् । यिनै यलम्बरकै कान्छिपट्टिका दरसन्तान विजयपुरको राजा सुसुवाहाङ र छोरा राजकुमार लिभुकहाङहरूका राज्यकालको मिति कलियुग ३०४५ भएको थियो, जुनबेला भारतका चक्रवर्ती राजा विक्रमादित्यले राजतिलक लगाई विक्रम सम्बतको प्रारम्भ गरेका थिए, बताइएको छ ।

धर्मको बारेमा किरातहरूको मान्यताका विषयमा पन्धाक लिम्बू किरात लेख्छन््– किरात लिम्बू समुदाय धार्मिक आस्थाले थेबा साम, युमा साम तथा प्रकृतिपूजक किरात हुन् । हाल चीन र जापानका मानिस आफू बुढा र बुढी मानिसको पूजक हौं भन्ने गर्दछन्, लेखक पुस्तकमा बताउँछन् । मुनातेम्बेदेखि लिम्बूवानसम्म आइपुग्दा थेबासाम्माङ किरात धर्मको जयन्ति १०,१०६ वर्ष भएको बताइन्छ । यिनका शाखाहरूमा– यहाङ धर्म, सत्यहाङमा धर्म, पारूहाङ सुम्निमा धर्म, हिन्दू सनातन धर्म, वैष्णव धर्म, प्रणामी धर्म, साइबाबा धर्म, रोमन क्याथोलिक धर्म, येशुक्रिष्ट धर्म, सिया मुसलमान धर्म, सुन्नी मुसलमान धर्म भएको इहिहासकार राजबहादुर पन्धाक लिम्बू किरातको मत छ । मेरो विचारमा, किरात धर्म तिब्बतकालदेखि लिम्बूवानकालमा वोन धर्म र वौद्ध धर्मबाट प्रभावित थियो, जसको बारेमा म छुट्टै लेख हुनेछ ।

अन्त्यमा,
मुन्धुमलाई वैज्ञानिक दृष्टिले समेत विश्लेषण गर्नुपर्दछ । यस कार्यमा लोकसहित्यका सिद्धान्तहरू उपयोगी हुनसक्छन् । मुन्धुम सत्य मान्ने हामीलाई वैज्ञानिक विश्लेषणले तथ्य सम्मुख पुर्याउँछ । हाम्रो आस्था बोकेको मुन्धुमलाई विश्वास गरेर मात्र पुग्दैन, हामी अन्धविश्वासमुक्त हुन पनि जरूरी छ ।

सन्दर्भ सामग्रीहरू :
१. डा. शम्भु प्रसाद कोइराला, लोक साहित्य : सिद्धान्त र विश्लेषण, विराटनगर : धरणीधर पुरस्कार प्रतिष्ठान, २०५६ ।
२. राजबहादुर पन्धाक लिम्बू किरात, विश्वको इतिहास तथा धार्मिक अभिलेख, ईन्दिरा लिम्बू, २०६४ ।
3. भद्राकुमारी घले, घलेको इतिहास, काठमाडौ ः भद्राकुमारी घले प्रतिष्ठान ।
4. बालकृष्ण पोखरेल, खस जातिको इतिहास, विराटनगर ः उदात्त अनुसन्धान अड्डी, २०५५ ।
5. Hamilton, F. B. (1819 Rerinted 1986). An account of the kingdom of Nepal. Delhi: Asian Educational Services.
6. Wikipedia, Early Human Migration, Out of Africa Theory, 1987

Comments are closed.